बैंकिङ फ्रड : कसले गर्छ, कसरी गर्छ ?
जलसाज (फ्रड) भनेको नभएका झुटा कुरा गरेको वा भएको भनि मिति अङ्क व्यहोरा आदी फरक पारी लेखेर सही छाप गरि लिने वा दिने काम हो । त्यसैगरि झुटो काम वा व्यवहारद्धारा अरुलाई छकाउने वा ढाँट्ने काम, छलकपट वा धुर्तता, बेइमानी गरि आर्थिक प्रलोभन र फाइदा लिने कार्यलाई जलसाज भनिन्छ । विश्वमा फ्रड इशापूर्व ३०० मा दुई ग्रिक समुन्द्री व्यापारीहरु हेजेस्टाटोस र जेनोस्थेमिसले आफ्नो जहाज र कार्वोमा एकतल्लो भाग बीमा नीति लिएर आफूलाई समृद्ध बनाउने योजना बनाएर फ्रड तथा जालसाज गरेको घटनलाई नै संसारको पहिलो धोकाधडी, जालसाज तथा फ्रड हो । नेपालमा पहिलो फ्रडको सुरुवातको मिति स्पष्ट तथा यकिन नभए पनि पुरापूर्व कालदेखि नै फ्रडहरू हुने गरेको विभिन्न इतिहासमा उल्लेख छ । बिशेष गरि बैंक तथा वित्तीय संस्था तथा लघुवित्त संस्थामा पछिल्लो समयमा विभिन्न किसिमका नयाँ–नयाँ फ्रड तथा जालसाजहरू बढ्दो मात्रामा देखिएका छन् । बैंक वित्तीय संस्थामा देखिने गरेको करोडौं तथा अर्बौंको फ्रड लघुवित्तमा देखिने सम्भावना न्यून हुन्छ । किनभने लघुवित्त संस्थामा स-सानो कारोबार हुन्छ । तथापि आवश्यक समयमा चेकजाचँको कमी, नियमित सुपरिवेक्षण तथा कमजोर आन्तरिक नियन्त्रण संयन्त्रको अभावमा लघुवित्त संस्थाहरुमा पनि विभिन्न किसिमका फ्रडहरु हुने गरेको देखिन्छ । यस किसिमका फ्रडमा बिशेषगरि लघुवित्तकै सदस्यहरु, कर्मचारीहरु र सदस्य तथा कर्मचारी वाहेक अन्य व्यक्तिहरु अर्थात थर्ड पार्टीबाट पनि फ्रड हुने गरेको विभिन्न लघुवित्तका घटनाहरुले देखाएका छन् । यस किसिमको फ्रडहरु लघुवित्त वित्तीय संस्थाले समयमै पता लगाई निराकरणको लागि आवश्यक संयन्त्रको निमार्ण गर्न अति नै आवश्यक छ । त्यसैगरि फ्रडहरूको संख्या तथा मात्रालाई समयमै पता लगाउन नसकेर कपितय वित्तीय संस्था घाटामा जाने तथा कतिपय संस्था नाजुक अवस्थामा पुगेको देखिन्छ । लघुवित्त संस्थामा अन्य क्षेत्रजस्तो फ्रडको मात्रा नदेखिए पनि भविष्यमा हुन सक्ने सम्भाव्यतालाई समयमै निराकरण, नियन्त्रण गर्न नसके कतिपय अवस्थामा यसबाट ठूलो दुर्घटना हुन सक्ने वा वित्तीय संस्थालाई ठुलो चुनौतिको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । फ्रड तथा जालसाजलाई पत्ता लगाउन नसक्दा घरमा दुध खान बिरालो आउने र दुधलाई खान प्रयास गर्ने तथा कहिले काहीँ दुध खान सफल पनि हुने र बिरालोलाई धपाउन खोज्दा पटकै पिच्छे बाटो परिवर्तन गर्दै भाग्न सफल हुने गरेको अर्थात बिरालोले दुध खाने संभावना जहिले पनि रही रहने अवस्था रहन सक्छ । यदि घरमा बिरालो आउनसक्ने सम्भावित बाटोहरु नै बन्द गर्न सके बिरालो घरभित्र छिर्न नसक्ने र दुध सधंैभरि बिरालोबाट सुरक्षित राख्न सकिने जस्तै लघुवित्त वित्तीय संस्थामा हुन सक्ने फ्रड तथा जालसाजलाई समयमै पता लगाई यसलाई न्यूनिकरण तथा निराकरण गर्न तर्फ लघुवित्त संस्था अग्रसर हुनु आवश्यक छ । दुधलाई सुरक्षित गर्न घरमा आउँदा बिरालो धपाउनुको साटो बिरालो आउन सक्ने सम्भावित बाटोहरु नै बन्द गर्नु नै उत्तम विकल्प भएझैँ लघुवित्त वित्तीय संस्थामा हुनसक्ने फ्रडको अवस्थालाई अाँकलन गरि फ्रडरहित कारोबारको लागि प्राथमिकता प्रदान गर्दा उत्तम अवस्थालाई मध्य नजर गरि फ्रडलाई पता लगाउन र न्यूनीकरण गर्नको लागि केहि महत्पुर्ण उपायहरू यहाँ प्रस्तुत गरिएका छन् ।लघुवित्त संस्थाहरुमा फ्रडका पात्रहरु मुख्यगरि कर्मचारी, सदस्य र बाह्य व्यक्तिहरु हुने गर्दछन् । कर्मचारीबाट हुने फ्रड -विभिन्न सामाग्रीहरु कम मुल्यमा खरीद गरेर बढी मूल्यको बिल अर्थात नक्कली बिल बनाउने, नक्कली तथा बनावटी कागजपत्र मिलाई वित्तीय संस्थाको नगद हिनामिना गर्ने (जस्तै कर्जा नक्कली कर्जा मागपत्र, नक्कली तमसुक, नक्कली बचत निकासा तथा भर्पाई आदी ।) -भाखा नाघेको कर्जा लुकाउने, फर्जी लगानी तथा असुली देखाई सतप्रतिशत असुली देखाउने । -एक सदस्यको खाताबाट सदस्यलाई थाहा नदिई रकम निकासा गरि अर्को सदस्यको खातामा चढाउने तथा उक्त रकम सदस्यबाट असुली गरि केहि हदसम्म रकम आफै चलाउने वा अपचलन गर्ने । -भाखा नाघेको सदस्यहरुबाट किस्ता तथा ब्याज रकम असुली गरि असुली गरेको सबै रकम सदस्यको खातामा जम्मा नगरी केही रकम स्वयं आफैंले परिचालन गर्ने । -बैंक तथा भल्टभित्र पुरै नगद देखाई भल्ट भित्रको केही मात्राको नगद रकम कर्मचारीले चलाउने । -सदस्यको हिसाब किताब सही नराख्ने, एक जनाले तिरेको रकम अन्यमा देखाउने तथा फर्जी कर्जा बचत देखाई केही रकम आफंैले चलाउने । -केन्द्रको कलेक्सनसिट वा पासबुकमा र कार्यालयको कलेक्सनसिटमा रकम फरक–फरक उल्लेख गरि केही रकम अपचलन गर्ने । -सदस्यता त्याग गर्दा सदस्यलाई पुरै रकम नदिई अन्य सदस्यको कर्जामा मिलान गर्ने वा केही रकम आफंैले अपचलन गर्ने । -फर्जी सदस्य पास गरि उक्त सदस्यलाई फर्जी कर्जा वितरण देखाई नगद आफैं परिचालन गर्ने । -सदस्यले जम्मा गरेको कर्जा तथा बचत रकम केरमेट गरी फरक पार्ने । -सदस्य तथा श्रीमान लघु बिमा बापत आएको क्षतिपुर्ति दावी रकम सम्बन्धित व्यक्तिलाई पुरै नदिई केही रकम अपचलन गर्ने । -शाखाको कर्मचारीहरुले एक अर्काको गल्तिलाई ढाकछोप गर्ने माथिल्लो निकायमा कुनै सूचना नदिई संकास्पद कारोबार गर्ने । -कर्मचारीहरुले आफ्नो नातेदार इष्टमित्रको घरपरिवारको नाममा कर्जा कारोबार देखाई उक्त कर्जा रकम आफैंले परिचालन गर्ने । -सदस्य तथा निजको अभिभावकसँग सर सापटी लिने । -सदस्य तथा निजको परिवारसँग आवश्यकता भन्दा बढी हिमचिम गर्ने वा आवश्यकताभन्दा बढी सम्बन्ध कायम गर्ने । सदस्य तथा थर्डपार्टीबाट हुने फ्रड -पुर्वनियोजित ढंगले रेडिमेट स्वार्थसहितको समूह तथा केन्द्र गठन गर्ने/गराउने । -अस्थायी रुपमा बास गरिरहेको सदस्यलाई स्थायी भनेर ढाकछोप गर्ने र समूहमा राख्न सिफारिस गर्ने । -यो मेरो घर तथा परियोजना हो भनेर अन्यको घर तथा परियोजना देखाउने । -केवाईसी ग्राहक तथ्याकं विवरण अध्यावधिक गर्दा विवरणहरु झुटो पेस गर्ने । -कर्जा माग गर्दा सही उद्देश्य तथा परियोजना नखुलाउने । -आम्दानीका श्रोतहरु ढाँट्ने, झुटो आम्दानी विवरण पेस गर्ने । -कर्जामा साक्षी तथा जमानी बस्ने गलत व्यक्ति ल्याउने । -एक प्रयोजनमा माग गरि अर्कै प्रयोजनमा कर्जा प्रयोग गर्ने । -कर्जा लिएर परियोजनामा लगानी नगरि अनावश्यक खर्च भोज भतेर गर्ने । -एक आपसी मिलेमतोमा गलत सदस्यलाई कर्जा माग गराउने । -कर्मचारीसँग अनावश्यक सापटी लिने दिने तथा सम्बन्धमा लिमिटेशन नगर्ने । -घरपरिवारसँग सल्लाह नगरि अन्य व्यक्तिको प्रलोभनमा परि कर्जा माग गरि अन्य व्यक्तिलाई कर्जा चलाउन दिने । -कर्जालाई आम्दानी योग्य कार्यमा नलगाई साथी, संगी तथा इष्ट मित्र र समुदायमा भोज भतेर पार्टी गरेर कर्जालाई दुरुपयोग गर्ने । -नियतबस २ जना ३ जना मिलेर पुरै केन्द्रकै सदस्यहरुको नाममा कर्जा निकालेर दुरुपयोग गर्ने तथा आफैंले परिचालन गर्ने । -तेस्रो व्यक्तिले केन्द्रको केन्द्र प्रमुखलाई फकाएर वा प्रलोभन दिएर फर्जी कर्जा निकाल्न लगाई ठाँउ छोडेर अन्यत्र गएर बस्ने । फ्रडको पहिचान कसरी गर्ने ? -आन्तरिक नियन्त्रणको संयन्त्रलाई प्रभावकारी पालना गरेर । (जस्तै मेकर, चेकर र अप्रुभलकर्ताको रोल प्रभावकारी लागु भए नभएको अवस्थालाई नियमित सुपरिवेक्षण तथा चेकजाँज गरेर ।) -कर्मचारीहरुबाट विभिन्न टिप्स तथा सूचना लिने र उक्त सूचनाहरुको आधारमा प्रमाणहरु संकलनको आधारमा । -नियमित कारोबारको कुनै अप्रत्यासित घटना तथा दुर्घटनालाई आधार बनाएर । -अप्रत्यासित परिणाम आउदाँ उक्त परिणामको लेखाजोखा तथा मापन गरेर । -कार्यालय रहेको घरपेटीसँगको भौतिक रुपमा अन्तक्र्रियाबाट वा टेलिफोन सम्वाद गरेर सूचना । -कर्मचारीहरुको साथी सँगतीबाट विभिन्न किसिमका सूचनाहरु लिएर । -कर्मचारीहरुको लवाई खवाईमा एक्कासी परिवर्तन भएको विवरण बारे सूचना पता लगाएर । -दैनिक रुपमा जाँडरक्सी सेवन गर्ने जुवातास खेल्ने कर्मचारीको गिरोहबाट विभिन्न कुराहरु पत्ता लगाएर । -सदस्य तथा अभिभावकसँग अफलाईन फोनबाट तथा भेटघाँट गरेर अन्तक्र्रिया गरेर सुचना प्राप्त गरेर । -केन्द्र तथा समूह निरिक्षणको क्रममा कर्मचारीको अनुपस्थितीमा कर्मचारीहरुको आनीबानी तथा व्यवहार बारेमा विभिन्न विषयहरू केन्द्र तथा समुहका सदस्य तथा अभिभावकहरु सँग अन्तरक्र्रिया गरेर । -एक्कासी भाखा नाघेको कर्जामा वृद्धि भएको र एकाएक उक्त भाखा नाघेको कर्जाको सामाधान भएमा उक्त कर्जा क्रृत्रिम रुपमा तत्कालको लागि मिलाएको हुनसक्ने भएकोले उक्त कर्जा जोखिम व्यवस्थापनको स्थायी रुपमा श्रोत खोज्ने, सही तरिकाले व्यवस्थापन भएको हो कि फ्रड तथा जालसाज गरेर व्यवस्थापन भएको यकिन गर्न विभिन्न सूचनाहरु संकलन गर्ने । -कर्जा लगानी भएको सदस्यहरुलाई अनुगमन कार्यालय वा केन्द्रिय कार्यालयबाट लगानी भएको बेलामा टेलिफोन सम्वाद, अन्तरक्रियाको अधारमा फर्जी लगानी पता लगाउन सकिन्छ साथै कर्जा लगानी बापतको सम्पूर्ण रकम प्राप्त भए नभएको भिड्न गर्ने जसले गर्दा फ्रड भए नभएको पता लगाउन सकिन्छ । -केन्द्रमा बिपन्न वर्ग तथा नपढेका सदस्यहरुलाई आवश्यक कारोबारहरु कर्जा कति लिनु भएको हो, कर्जा कुन परियोजनामा लगानी गर्नुभयो, किस्ता कसरी तिर्ने गर्नुहुन्छ, त्यसको बारेमा सोधपुछ तथा छलफल गर्दा पनि फ्रड तथा सालसाज भए, नभएको थाहा हुन सक्छ । -सदस्यता त्याग हुने सदस्यहरुलाई फोनबाट तथा सम्भव भएमा भौतिक रुपमै सदस्यसँग भेटेर के–कति रकम पाए नपाएको सूचना संकलन तथा भिडान गर्ने । -सदस्य तथा कर्मचारीहरुबीच बढी हिमचिम भएको नभएको साथै कर्मचारी तथा सदस्यहरुलाई बिशेष निगरानी राखी अन्य विवरणहरुको सुचना लिने । -कर्मचारीहरुले संचालन गर्ने केन्द्र तथा समूहलाई सकेसम्म वार्षिक रुपमा परिवर्तन गरेर पनि फ्रड भए नभएको पता लगाउन सकिन्छ । -शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई २ देखि ३ बष भित्र अनिवार्य सरुवा नीति बनाउने र कार्यान्वयन गर्ने यसो गर्दा केहि मात्रामा फ्रड भएमा तत्काल पता लाग्न सक्छ । -खरीद गरिएको समाग्रीको गुणस्तर चेकजाँच गर्ने, बजार दरभाउ सोधपुछ गर्ने । यसरी गर्न सकिन्छ फ्रडलाई न्यूनिकरण लघुवित्त संस्थाहरुमा हुन सक्ने फ्रड तथा जालसाजलाई न्यूनिकरणको लागि देहायमा उल्लेखित बमोजिमका टिप्सहरुलाई अबलम्बन गर्दा हुन सक्ने फ्रडलाई न्यूनिकरण गर्न, गराउन सहज हुन सक्छ । -शाखा कार्यालयहरु तथा कारोबारको नियमित स्थलगत र गैरस्थलगत सुपरिवेक्षण तथा निरिक्षणमा वृद्धि गरिनु पर्छ । जसले गर्दा अनुगमनकर्ताले विभिन्न कमी कमजोरीहरु समयमै पत्ता लगाई ठूलो घटना तथा दुर्घटना हुनबाट जोगाउनुको साथै शाखा कार्यालय स–सानो कमजोरीहरुलाई समयमै सुधार गराउन सकिन्छ । -सकेसम्म सबै कर्जा स्वीकृतीको अख्तियारी केन्द्रीय कार्यालयमा निहित राख्ने त्यसो भएमा फर्जि कर्जा लगानी हुनबाट रोकिन्छ साथै कर्जा प्रस्तावमा कर्जा माँग गर्ने, सिफारिस गर्ने केन्द्र प्रमुख तथा अध्यक्षको सम्पर्क नं उल्लेख गर्न, लगाउने दैनिक रुपमा भल्टमा रहेको रकम अफलाइन निरिक्षण गर्ने, बढि रकम राख्ने शाखा कार्यालयहरुको कारोबार भिडान गर्न उक्त दिनको कारोबारको विवरण मागँ गर्ने, पटक–पटक बढि नगद वा लगातार बढि नगद राख्ने शाखाहरुमा बिनायोजना आकस्मिक छडके चेकजाचँ गर्ने वा भिडियो कल गरेर पनि नगदको अवस्था चेकजाँज गर्ने जस्ले गर्दा फ्रड तथा जालसाजलाई न्यूनिकरण गराउन सकिन्छ । -एकै दिनमा बढी कर्जा लगानीको सेम्पलिङ्ग गरेर साथै ठुलो मात्राको बाँकी रहेका कर्जा रकम चुक्ता भई पुन त्यहि सदस्यलाई नयाँ कर्जा लगानी भएको कर्जाहरुलाई नमुना गरेर फ्रड भए नभएको यकिन गर्न सकिन्छ । -कर्जा लगानी गर्दा नगदमा भुक्तानी नगरिकन बैंक चेकमार्फत कर्जा लगानी गर्ने, जस्ले गर्दा एक व्यक्तिको नामबाट अन्य व्यक्तिले कर्जा चलाउन नपाओस । -अनुगमनकर्ताले शाखा चेकजाचँको बेला दैनिकी सम्भव भएसम्म २ वटा समुह तथा केन्द्र निरिक्षण गर्ने, चेकजाँच दौरानमा सदस्यहरुको जम्मा गरेको रकम बारे अन्तरकृया गर्ने यसो गर्दा कलेक्सनसिट वा असुली सिटसंग सदस्यले छलफलमा भनेका कुराहरु मेल खाए नखाएको भिडान गर्ने । केन्द्रको कलेक्सनसिटसंग शाखा कार्यालयमा रहेको कलेक्सनसिटसंग भिडान गर्न केन्द्रमा रहेको असुलीसिटको फोटो खिचेर कार्यालयको सिट र सिस्टममा भिडान गर्ने । -कर्मचारीहरुलाई सधै उत्प्रेरित गर्न, गराउन आन्तरिक र बाहय तालिममा सहभागी गराउने । -ग्राहकलाई बित्तीय साक्षरता जस्तै कर्मचारीलाई पनि बेला बेलामा सचेतना अन्तरकृया कार्यक्रम संचालन गर्ने । -केन्द्र बैठकबाट आउने कलेक्सनसिटमा केरमेट भएको कारोवारलाई टेलिफोनबाट सदस्यसँग सोधपुछ गरि केरमेट भएको कारण तथा विवरण भिडान गर्ने । -केन्द्रहरुलाई बेला बेलामा पुर्नताजगी तालिम, अन्तरकृया, अभिभावक बैठक र बितिय साक्षरता कार्यक्रम संचालन गर्ने । -संस्थाको नीति नियम परिपत्र तथा निर्देशनलाई अक्षरस पालना गर्ने, गराउने । -नियमित, तथा आकस्मिक रुपमा शाखा कार्यालयको आन्तरिक लेखापरिक्षण गर्ने, कमिकमजोरी भए सुधार तथा ल्याकिगं भएको खण्डमा समयमै आवश्यक कारवाही गर्ने । -कर्मचारीहरुलाई अति आवश्यक कार्यहरु गर्नका लागि स-सानो पेश्कि, सापट तथा कर्मचारी कर्जाको व्यवस्था गर्ने । -बैकिङ कसुर जन्य कार्यको कानुनी सजायहरुको बारेमा कर्मचारीहरुलाई प्रशिक्षण तथा अन्तरकृया गर्ने, साथै फ्रड तथा जालसाज गर्नेलाई के कति दण्ड, सजाय तथा क्षतिबारे जानकारी गराउने । -राम्रो कार्य गर्नेलाई पुरस्कार तथा गलत गर्नेलाई सजायको व्यवस्था गर्ने । -संख्यात्मक प्रगती भन्दा गुणात्मक बृद्धि तथा प्रगतीलाई प्राथमिकता दिने । -बेला बेलामा शाखा कार्यालय भएको स्थानमा जनप्रतिनिधी, समाजसेवी,अगुवा, अभिभावक र केन्द्र प्रमुखहरुलाई राखेर पब्लिक अडिट गर्ने,गराउने । -फ्रड तथा आर्थिक हिनामिना गर्नेलाई सुन्य सहनशिलता नीति अबलम्बन गर्ने । -शाखा कार्यालयहरुलाई असुहाउदो तथा एग्रेसिभ रुपमा लक्ष्य प्रदान नगर्ने, लक्ष्य निर्धारण गर्दा शाखा कार्यालयको बस्तु स्थिती तथा अन्य कुराहरुको बिश्लेषणको आधारमा बार्षिक तथा मासिक लक्ष्य निर्धारण गर्ने । -सकेसम्म केन्द्रमा ऋबकज भिकक कारोबार गर्ने डिजिटर कारोबारलाई प्राथमिकता दिने, नगद रहित कार्य गर्ने । -कर्मचारीहरुको समयसापेक्ष सेवा सुबिधाहरुलाई परिमार्जन गर्ने । -संस्थाको नीतिनियम,परिपत्र,कम्प्लयान्स मिचेर काम गर्ने जोसुकैलाई कारवाहीको लागि सिफारिस गर्ने । -शाखा कार्यालय निरिक्षण जादाँ तथा फर्कदा रुटमा पर्ने शाखा कार्यालयहरुमा १ घण्टा भएपनि सरप्राइज रुपमा भिजिट गर्ने । -धितोमा अधारित कर्जा लगानीको लागि जग्गा तथा धितोलाई मुल्याकंन गर्न बाहय मुल्याकंनकर्ताबाट मुल्याकंन गराएर धितो कर्जा लगानी गर्ने । -सदस्यहरुलाई प्रत्येक कारोबारहरुको एस एम एस आउने सिस्टम बनाउने तथा सो सम्बन्धमा ग्राहक सदस्यहरुलाई जानकारी तथ सचेत गराउने साथै सदस्यलाई एसएमएस आए नआएको यकिन गर्ने । -सबै शाखा कार्यालयहरुमा सिसिटिभि जडान गर्ने सो को प्रभावकारी चेकजाँच केन्द्रिय कार्यालयमा अप्रेशन विभागबाट गर्ने । -स्थानीय कर्मचारीलाई सकेसम्म स्थानिय शाखा कार्यालयहरुमा अति आवश्यक बाहेक अलिकति टाढा भएको शाखामा पदस्थापन गर्ने, स्थानिय कर्मचारीहरु भएकोलाई बिशेष निगरानी राख्ने । -शाखा प्रमुखको जिम्मेवारी प्रदान गर्दा अनुभवी कर्मचारीहरुलाई प्राथमिकता दिने सकेसम्म संस्थाकै सक्ष्म कर्मचारीहरु तथा योग्य कर्मचारीहरु बीच प्रतिस्पर्धा गराई जिम्मेवारी प्रदान गर्ने । -नयाँ खोलिने शाखाहरुमा कम्तिमा १ जना संस्थाको पुरानो कर्मचारीलाई व्यवस्थापन गर्ने । -मासिक रुपमा शाखा कार्यालयको बैंक स्टेटमेन्ट भिडान विवरण केन्द्रीय कार्यालयमा मागँ गर्ने । -नयाँ कर्मचारी न्युक्त गर्दा सेवा प्रवेश तालिमको व्यवस्था गर्ने र बित्तीय संस्थाको कोड अफ कन्डक्ट बारेमा प्रशिक्षण गर्ने । (लेखक साधना लघुवित्त वित्तीय संस्थाका नायब महाप्रबन्धकको रूपमा कार्यरत छन् )
विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा, ९० देशका ३०० बढी प्रतिनिधिको जमघट काठमाडौंमा
फाइल फोटो । काठमाडौं । विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) २१ बैठक नेपालमा हुने भएको छ । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो । आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । आइडीएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । नेपालले ६ वर्षअघि आइडिए-१९ बैठक काठमाडौँमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो । उदघाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । समाप नसत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन् । अर्थमन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेका छन् । विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडीए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोश्रो वरियताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, ९ उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदैछन् । यस्तै विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३ सय बढी प्रतिनिधि बैठकमा सहभागी हुने सह–सचिव नेपालले जानकारी दिए । सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकहरुका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो । आइडिएले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दा बढी मुलुकहरुमा सहायता उपलब्ध गराउँदै आएको छ । आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ । यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ । सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा भएको बताए । उनले साझेदारहरुसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रमबाट नेपाललाई कुटनीतिक लाभसमेत मिल्ने विश्वास सरकारले लिएको छ । बैठकमा आगामी तीन वर्ष आइडिएले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न श्रोतको सीमा लगायत विषयमा छलफल हुनेछ । बैठकपछि अध्यक्ष बंगासहित उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न ९ आयोजनाको स्थलगत निरीक्षणमा जाने तयारी छ । गत वैशामा सम्पन्न तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठक तयारीबारे छलफल गरेका थिए । त्यसअघि मन्त्री पुनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएका बेला वासिङ्टन डीसीस्थित विश्व बैंक मुख्यालयमा भएको भेटमा बैंकका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँग भेटमा पनि आइडीए बैठकबारे कुराकानी गरेका थिए । हरेक तीन वर्षमा हुने आइडीएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो । सो बैठकमार्फत विकास साझेदारहरूको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशहरूलाई कोभिड १९ महामारीको सामना गर्न र हरियाली प्रवद्र्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको थियो । विश्व बैंकले संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ
उच्च लाभांश दिने १० कम्पनी : १०० को मूल्य आधा लाखसम्म
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २४८ कम्पनी सूचीकृत भएर सेयर कारोबार गरिरहेका छन् । नेप्सेले ती कम्पनीहरूलाई १३ वटा समूहमा वर्गीकरण गरेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल एण्ड टुरिजम, जलविद्युत, इन्भेष्टमेन्ट, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, ट्रेडिङ्ग र अन्य समूह गरी १३ वटा समूहमा वर्गीकरण गरेर कारोबार भइरहेको छ । सेयरसहित नेप्सेमा सूचिकृत सबै प्रकारका धितोपत्रको कुल संख्या ३५९ रहेका छन् । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरूले ती कम्पनीको पफर्मेन्स मूल्यांकन गरेर लगानी गर्दै आएका छन् । जुन कम्पनीको राम्रो वित्तीय अवस्था छ, जसले लगानीकर्तालाई बढी प्रतिफल वितरण गर्छ सो कम्पनी नै सबैको आकर्षणमा पर्छ । लगानीकर्ताले कम्पनीमार्फत् प्रत्येक वर्ष प्रतिफल पाइरहेका हुन्छन् भने कम्पनीमा सर्टटर्म लगानी गरेर पनि लगानीकर्ताले नाफा असुल गरिरहेका हुन्छन् । त्यसका लागि पनि कम्पनीको वित्तीय अवस्था स्वस्थ नै चाहिन्छ । लगानीकर्ताले कम्पनीको लाभांश इतिहास, वित्तीय विवरण, सञ्चालक तथा व्यवस्थापन समूह, कम्पनीको प्रतिस्पर्धात्मक अवस्था, भविष्यप्रतिको भरोसा, विश्वास लगायत विषयको अध्ययन तथा मूल्यांकन गर्दै लगानी गरेर कम्पनीबाट प्रतिफल लिइरहेका हुन्छन् । अधिकांश लगानीकर्ताको रोजाइमा भने कम्पनीको लाभांश दर नै पर्छ । आज हामीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई सबैभन्दा धेरै लाभांश विवतरण गर्ने कम्पनीहरूको चर्चा गरेका छौं । १. युनिलिभर नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश वितरण गर्ने र मूल्य पनि बढी भएको कम्पनी हो युनिलिभर नेपाल । सन् २००७ जुलाई २९ तारिखका दिन नेप्सेमा सूचीकृत भएको पुरानो कम्पनीमध्येमा युनिलिभर पनि पर्छ । कम्पनीको चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । नेप्सेमा यस कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सेयर सूचीकृत छन् । युनिलिभर नेपालले आर्थिक वर्ष २०७९/८० मा १५८० प्रतिशत लाभांश दिएको छ । विगत एक वर्षमा नेप्से परिसूचक १८०० देखि २२००को बीचमा रहदा पनि यो कम्पनीको सेयर मूल्य प्रति ४९ हजार २५० रुपैयाँसम्ममा कारोबार भयो । न्युनतम मूल्य पनि ३० हजार २०० रुपैयाँ भयो । १०० रुपैयाँ अंकित यूनिलिभरको सेयर मूल्य मन्दीको समयमा करिव ५०००० नजिक पुग्दा यो कम्पनीको सेयर मूल्य अधिक भयो भन्ने आवाज बजारमा आएन । किनकी कम्पनीको लाभांश दर पनि उच्च नै रहेको छ । २. बोटलर्स नेपाल तराई बोटलर्स नेपाल तराई पनि सेयर बजारमा लगानीकर्ताका लागि आकर्षकमध्येमा पर्ने कम्पनी हो । यस कम्पनीले पनि वर्सेनि उत्कृष्ट लाभांश वितरण गर्दै आएको छ । कुल १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ६० प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले बोनस सेयर नदिएर ६० प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ । नेप्सेका अनुसार यस कम्पनीको सेयर मूल्य १२ हजार ९०६ रुपैयाँ छ । विगत एक वर्षअवधिमा यसको सेयर मूल्य अधिकतम १७ हजार ५०० र न्युनतम १० हजार ५०० रुपैयाँमा किनबेच भएको छ । ३. नेपाल टेलिकम नेपाल टेलिकम तेस्रो बढी लाभांश वितरण गर्ने कम्पनी हो । नेपाल दूरसञ्चार कम्पनीको नामबाट कारोबार भइरहेको यस कम्पनीले आर्थिक वर्ष २०७९/८० मा कुल ४० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले बोनस सेयर वितरण गरेको छैन । सरकारको ९१.५३ प्रतिशत स्वामित्व रहेको यस कम्पनीमा सर्वसाधारणको ८.४३ प्रतिशत मात्रै स्वामित्व छ । यस कम्पनीको १७ अर्ब ९९ करोड रुपैयाँ चुक्ता पुँजी छ । विगत एक वर्षमा यस कम्पनीको सेयर मूल्य अधिकतम एक हजार रुपैयाँ पुग्यो भने न्यूनतम ७६८ रुपैयाँमा कारोबार भयो । गत विहीबारमो अन्तिम कारोबार मूल्य ८३० रुपैयाँ छ । लाभांश दर उच्च हुँदा पनि सेयर मूल्य कम रहिरहने कम्पनी हो नेपाल टेलिकम । ४. सूर्यज्योति लाइफ इन्स्योरेन्स बीमा कम्पनीमा सबैभन्दा बढी लाभांश वितरण गर्ने कम्पनी हो सूर्यज्योति लाइफ इन्स्योरेन्स । यस कम्पनीले आव २०७९/८० मा कुल ३५ प्रतिशत लाभांश वितरण गरेको छ । यस कम्पनीले १०.२६ बोनस र २४.७४ नगद लाभांश वितरण गरेको छ । ५ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीको सञ्चालकको तर्फबाट केशबप्रसाद भट्टराईले नेतृत्व गरिरहेका छन् भने व्यवस्थापनको नेतृत्व प्रकाशविक्रम खत्रीले गर्दै आएका छन् । यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ छ । विगत एक वर्षमा यसको सेयर मूल्य अधिकतम ६४६ रुपैयाँ र न्यूनतम ४०० रुपैयाँमा कारोबार भयो । विहीबारको अन्तिम कारोबार ४११ रुपैयाँमा भएको छ । ५. सोल्टी होटल होटल क्षेत्रमा सबैभन्दा बढी लाभांश वितरण गर्ने कम्पनी सोल्टी हो । सोल्टी होटलले कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको छ । यस कम्पनीले ५ प्रतिशत बोनस र २६.५७८९ प्रतिशत लाभांश वितरण गरेको छ । ८५ प्रतिशत संस्थापक र १५ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको यस कम्पनीको कुल चुक्ता पुँजी भने ९ अर्ब २८ करोड रुपैयाँ छ । १० रुपैयाँ अंकित मूल्य रहेको यस होटलको सेयर गत वर्ष प्रतिकित्ता ३३५ देखि ५३६ रुपैयाँसम्म कारोबार भयो । अंकित मूल्य १०० रुपैयाँ भएको सेयरसँगको तुलनामा यस होटलको सेयर मूल्य अधिकतम ५ हजार ३६० सम्म पुगेको मान्न सकिन्छ । ६. एनआईसी एशिया बैंक बैंकिङ समूह अन्तर्गत वाणिज्य बैंकमा सबैभन्दा बढी लाभांश वितरण गर्ने एनआइसी एसिया बैंक रहेको छ । यस बैंकले कुल ३०.५ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा नगद १.५ प्रतिशत र बोनस २९ प्रतिशत वितरण गरेको छ । नियामकीय मापदण्ड पूरा नहुँदा अघिल्ला दुई आर्थिक वर्षमा बैंकले सेयरधनीलाई लाभांश दिन पाएको थिएन । पछिल्लो समय व्यापार व्यवसायमा पनि अगाडि रहेको यस बैंकको व्यवस्थापन तर्फको नेतृत्व रोशनकुमार न्यौपाने र सञ्चालक समितिको तर्फबाट तुलसीराम अग्रवालले नेतृत्व गरिरहेका छन् । बैंक निक्षेप संकलन र बर्जा लगानीमा पनि आक्रामक बनिरहेको छ । बैंकको कुल पुँजी १९ अर्ब ९१ करोड रुपैयाँ बढी छ । गत वर्ष बैंकको सेयर प्रतिकित्ता ३३१ देखि ४५२ रुपैयाँसम्म कारोबार भयो । गत विहीबार बैंकको सेयर मूल्य ४०८ रुपैयाँ छ । ७. नेपाल ल्युब आयल नेपाल ल्युब आयल म्यानुफ्याक्चर समूह अन्तर्गत पर्छ । यस कम्पनी बढी लाभांश वितरण गर्ने कम्पनीको उत्कृष्ट सातौं नम्बरमा छ । यस कम्पनीले कुल ३० प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस र ५ प्रतिशत बोनस लाभांश वितरण गरेको छ । ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको पछिल्लो सेयर मूल्य २५३.४० रुपैयाँ रहेको छ । यस कम्पनीको नेतृत्व अरुणकुमार चौधरीले गर्दै आएका छन् । ८. आइएमई लाइफ इन्स्योरेन्स आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० मा कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गरेको छ । यस कम्पनीले २५ प्रतिशत बोनस र १.३१५८ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कुल ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर रहेको यस बीमा कम्पनीको सञ्चालक समितिको नेतृत्व डा. रामहरी अर्याल र व्यवस्थापनको नेतृत्व कबि फुयालले गरिरहेका छन् । हाल यस कम्पनीको कुल चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । गत वर्ष यस कम्पनीको सेयर मूल्य न्यूनतम ४२८ र अधिकतम ६४० रुपैयाँमा कारोबार भयो । गत विहीबार प्रतिकित्ता ४३३ रुपैयाँमा कारोबार बन्द भएको छ । ९. सन नेपाल लाइफ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि बढी लाभांश वितरण गर्ने कम्पनीमा पर्छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा कुल २५.०५२६ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले २३.८ प्रतिशत बोनस र १.२५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस कम्पनीले पनि पछिल्लो समय राम्रो पफर्मेन्स गर्दै आएको छ । यस कम्पनीको व्यवस्थापनको तर्फबाट राजकुमार अर्यालले नेतृत्व गरिरहेका छन् भने सञ्चालक समितिको अध्यक्षको रूपमा अनुज केयालले काम गरिरहेका छन् । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड रुपैयाँ छ । पछिल्लो कारोबारमा सेयर मूल्य प्रतिकित्ता ४६४ रुपैयाँ छ । १०. हिमालयन डिष्टिलरी हिमालयन डिष्टिलरीले आर्थिक वर्ष २०७९/८० मा कुल २५ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले १० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यस कम्पनीमा संस्थापक सेयर ५८ प्रतिशत र सर्वसाधारण सेयर ४२ प्रतिशत रहेको छ । २ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २८२ रुपैयाँ छ । विगत एक वर्षमा यसको सेयर मूल्य प्रतिकित्ता १२६४ देखि २५१० रुपैयाँसम्ममा कारोबार भएको थियो ।