‘ग्यास्ट्रिक’ भनेर नबस्नूहोस्, हर्ट अट्याकको संकेत पनि हुनसक्छ’

धूम्रपानको लत र निष्क्रिय जीवनशैलीका कारण युवावस्थामै मुटुरोगको जोखिम बढ्दो

आज विश्व मुटु दिवस । नेपालसहित विश्वभर विविध सचेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । मुटु रोगबारे जनचेतना अभिवृद्धि गर्ने, नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । चिकित्सकहरूका अनुसार असन्तुलित खानपान, शारीरिक अभ्यासको कमी, अत्यधिक तनाव, धुम्रपान तथा मद्यपान जस्ता कारणले पछिल्लो समय मुटुसम्बन्धी समस्या तीव्र रूपमा बढिरहेको छ ।  समयमै रोगको पहिचान र जीवनशैलीमा सुधार गर्न सके मुटु रोगबाट हुने धेरैजसो जटिलताबाट बच्न सकिने विशेषज्ञहरूको भनाइ छ । यसै विषयमा पाटन अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. आनन्द जिसीसँग गरिएको कुराकानीको सम्पादित अंश :

आज विश्व मुटु दिवस, नेपालमा अहिले मुटुरोगको अवस्था कस्तो छ ?

सन २००२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । यसवर्षको नारा कुनै पनि पल नछुटाउनूहोस् भन्ने राखिएको छ । पछिल्लो समय नेपालमा मुटुरोगीको संख्या बढ्दो छ । यसको एउटा कारण पहिलेको तुलनामा मुटुरोगको पहिचान र निदान गर्ने क्षमता बढ्नु पनि हो । 

पहिले नेपालमा मुटुसम्बन्धी उपचार गर्ने अस्पतालहरू सीमित थिए । अहिले गंगालालसँगै शिक्षण अस्पताल, पाटन, वीर अस्पताल तथा निजी क्षेत्रका नर्भिक, मेडिसिटी, ग्रान्डीलगायत अस्पतालमा मुटुरोगको उपचार भइरहेको छ । उपत्यकाबाहिर पनि यस्ता अस्पतालहरू विस्तार भएका छन् । त्यसैले पहिलेको तुलनामा मुटुरोगको उचित निदान धेरै हुन थालेको छ ।

अर्कोतर्फ नेपालमा मात्र होइन, विश्वभर नै मुटुरोग बढिरहेको छ । यसको प्रमुख कारण जीवनशैलीमा आएको परिवर्तन हो । धूम्रपान, मद्यपान, शारीरिक गतिविधिको कमी, चिल्लो खानेकुरा बढी खानु, मोटोपना र नियमित स्वास्थ्य परीक्षण नगर्नुजस्ता कारणले पनि जोखिम बढेको छ । 

null

डा. आनन्द जिसी ।

धेरै मानिसलाई आफ्नो रक्तचाप, रगतमा चिनीको मात्रा वा कोलेस्ट्रोलको अवस्थाबारे जानकारी हुँदैन । समस्या जटिल भएपछि मात्रै अस्पताल जाने प्रवृत्ति पनि छ । पहिलेको पुस्ता खेतीपाती तथा शारीरिक श्रममा बढी संलग्न थियो । अहिलेको जीवनशैली बढी निष्क्रिय भएको छ । शारीरिक व्यायामको कमी, अस्वस्थ खानपान र मोटोपनाले पनि मुटुरोग बढाउन भूमिका खेलेका छन् ।

मुटुरोग भन्नासाथ धेरैले हर्ट अट्याकलाई मात्रै बुझ्ने गर्छन् । नेपालमा अहिले कस्ता खालका मुटुरोगी देखिएका छन् ?

विश्वमा मुटुरोगका कारण हरेक वर्ष ठूलो संख्यामा मानिसको मृत्यु हुन्छ । विभिन्न अनुसन्धान अनुसार विश्वमा बर्सेनि मुटुरोगबाट २ करोड मानिसहरुको मृत्यु हुने गरेको छ । 

तीमध्ये ८० प्रतिशत मृत्यु हर्ट अट्याकका कारण हुने गरेको बताइन्छ । यसलाई चिकित्सकीय भाषामा मायोकार्डियल इन्फाक्र्सन भनिन्छ । त्यसैले मुटुरोगका सबै मृत्यु हर्ट अट्याकका कारण हुँदैनन्, तर मुटुरोगबाट हुने मृत्युमा हर्ट अट्याक प्रमुख कारणमध्ये एक हो । 

पछिल्लो समय बोल्दाबोल्दै ढलेर कसैको मृत्यु भएको पनि सुनिन्छ । यस्तो अवस्थामा हर्ट अट्याक नै कारण हुन्छ कि अन्य कारण पनि हुन सक्छन् ?

अनुसन्धानअनुसार हर्ट अट्याक भएका २५ देखि ३० जना व्यक्तिको अस्पताल पुग्नुअघि नै मृत्यु हुने गर्छन् । कतिपय घरमै, कतिपय अस्पताल जाँदाजाँदै र कतिपय अस्पताल पुगेपछि मृत्यु हुन सक्छन् ।

कसैलाई छाती दुख्ने वा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएर तत्काल मृत्यु भयो भने मुटुसम्बन्धी कारणलाई पनि प्रमुख सम्भावनाका रूपमा हेर्नुपर्छ । विशेषगरी अचानक हुने मृत्युमा हर्ट अट्याक पनि एउटा प्रमुख कारण हुन सक्छ ।

मुटुरोग महिलाको तुलनामा पुरुषमा बढी हुन्छ भनिन्छ । यसको वास्तविकता के हो ? 

महिलामा महिनावारी भइरहँदा शरीरमा एस्ट्रोजन हर्मोनको भूमिका हुन्छ । यसले रक्तनलीलाई रिल्याक्स गर्न र रक्तसञ्चार सहज बनाउन सहयोग गछ । साथै राम्रो कोलेस्ट्रोल कायम राख्न र खराब कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्ने भएकाले महिनावारी भइरहेका महिलामा मुटुरोगको जोखिम तुलनात्मक रूपमा कम हुन सक्छ ।

तर महिनावारी बन्द भएपछि अवस्था परिवर्तन हुन्छ । त्यसपछि पुरुष र महिलामा मुटुरोगको जोखिम धेरै हदसम्म समान हुन सक्छ । महिनावारी बन्द भएपछि ७५ प्रतिशत महिलामा उच्च रक्तचापको जोखिम पनि बढ्न सक्छ, जुन मुटुरोगको प्रमुख जोखिम कारकमध्ये एक हो ।

पहिले मुटुरोग बढी उमेरका मानिसमा देखिन्छ भनिन्थ्यो । पछिल्लो समय युवावस्थामै मुटुरोग देखिनुको कारण के हो ?

पहिले मुटुरोगलाई बुढ्यौलीसँग जोडेर हेरिन्थ्यो । ५०–६० वर्षपछि मुटुरोग लाग्छ भन्ने धारणा थियो । तर अहिले ४० वर्षभन्दा कम उमेरमा मात्रै होइन, ३० वर्षभन्दा कम उमेरका मानिसमा समेत हर्ट अट्याक देखिन थालेको छ । २०–२१ वर्षका युवामा समेत हर्ट अट्याक भएर एन्जियोप्लास्टी गर्नुपर्ने अवस्था देखिएको छ ।

यसको एउटा कारण मुटुरोगको निदानमा आएको सुधार हो । पहिले गाउँघरमा अचानक मृत्यु हुँदा त्यसको कारण पहिचान नहुन सक्छ । अहिले स्वास्थ्य सेवा र निदानको पहुँच बढेसँगै वास्तविक कारण पत्ता लगाउन सहज भएको छ ।

null

अर्कोतर्फ युवामा बदलिएको जीवनशैली प्रमुख कारण हो । धूम्रपान, मद्यपान, सुर्तीजन्य पदार्थको प्रयोग, लागूपदार्थ, अस्वस्थ खानपान र शारीरिक व्यायामको कमीले जोखिम बढाएको छ । युवामा मुटुरोग बढ्नुको प्रमुख कारणमध्ये धूम्रपानलाई विशेष रूपमा लिनुपर्छ । 

हर्ट अट्याकलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । यसको सुरुवाती अवस्थामा छाती दुखाइबाहेक कस्ता लक्षण देखिन सक्छन् ?

सामान्यतया हर्ट अट्याकमा छाती दुख्ने गर्छ । छातीको दुखाइ देब्रे, बीच वा अन्य भागमा हुन सक्छ र देब्रे हात, चिउँडो वा ढाडसम्म फैलिन सक्छ । यस्तो दुखाइ ५–१० मिनेटभन्दा बढी रह्यो भने गम्भीर रूपमा लिनुपर्छ । तर सबैलाई छाती दुख्छ भन्ने हुँदैन । विशेषगरी लामो समयदेखि मधुमेह भएका व्यक्ति, वृद्धवृद्धा वा पहिले स्ट्रोक भएका व्यक्तिमा छाती नदुखीकन पनि हर्ट अट्याक हुनसक्छ ।
 
सास फेर्न गाह्रो हुने, बेहोस हुने वा बेहोसजस्तो हुने, असामान्य रूपमा धेरै थकाइ लाग्ने, वाकवाकी लाग्ने वा बान्ता हुनेजस्ता लक्षण पनि देखिन सक्छन् । त्यसैले छाती दुखेन भन्दैमा मुटुको समस्या होइन भनेर बेवास्ता गर्नु हुँदैन । यस्ता असामान्य लक्षण देखिएमा पनि अस्पताल जानुपर्छ । समयमै उपचार पाए ज्यान जोगाउन सकिन्छ ।

अहिले पनि धेरै मानिसले छाती दुखाइलाई मात्रै मुटुको समस्याका रूपमा बुझ्ने र अन्य लक्षणलाई बेवास्ता गर्ने अवस्था छ ?

हो छाती दुख्यो भने मानिसहरू अस्पताल जान्छन्, तर कहिलेकाहीँ हर्ट अट्याकमा छातीको माथिल्लो भाग अर्थात् इपिग्यास्ट्रिक क्षेत्रमा दुखाइ हुन सक्छ । त्यसलाई ग्यास्ट्रिक वा ग्यास्ट्राइटिस भनेर बेवास्ता गर्ने सम्भावना हुन्छ ।

त्यस्तै सास फेर्न गाह्रो हुँदा दम वा तनावका कारण भएको ठान्न सकिन्छ । बेहोस हुँदा खाना नखाएर वा रक्तचाप कम भएर भएको हुनसक्छ भन्ने सोच्न सकिन्छ । 

तर मुटुको कारणले पनि यस्ता समस्या हुन सक्छन् । त्यसैले असामान्य लक्षणलाई पनि गम्भीर रूपमा लिएर आवश्यक परे तत्काल अस्पताल जानुपर्छ । 

स्वस्थ व्यक्तिले आफ्नो मुटु स्वस्थ छ कि छैन भनेर के–कति समयमा जाँच गराउनुपर्छ ?

यसको कुनै एउटै निश्चित समय हुँदैन । व्यक्तिको उमेर, स्वास्थ्य अवस्था र जोखिमअनुसार फरक हुन्छ । पहिले ४० वर्षपछि रक्तचाप, सुगर र कोलेस्ट्रोल जाँच गर्नुपर्छ भनिन्थ्यो । अहिले कम उमेरमै उच्च रक्तचाप र अन्य जोखिम देखिन थालेका छन् ।

२० वर्षपछि पनि रक्तचाप, सुगरलगायत सामान्य स्वास्थ्य परीक्षण नियमित गर्नुपर्छ। सबै कुरा सामान्य छ भने दुई–तीन वर्षमा जाँच गर्न सकिन्छ । ३०–४० वर्षभन्दा माथि पुगेपछि सामान्य अवस्थामा पनि वर्षमा एकपटक स्वास्थ्य जाँच गर्नु उपयुक्त हुन्छ ।

यदि उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह वा अन्य समस्या छ र औषधी सेवन भइरहेको छ भने चिकित्सकको सल्लाहअनुसार नियमित फलोअप गर्नुपर्छ । रोगलाई प्रारम्भिक अवस्थामै पहिचान गर्न सके मुटुरोगको जोखिम कम गर्न सकिन्छ ।

null

मुटुरोगमा वंशानुगत प्रभाव कत्तिको हुन्छ ?

मुटुरोगमा वंशानुगत प्रभाव हुन्छ । कहिलेकाहीँ धूम्रपान नगर्ने, मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने, सुगर, रक्तचाप र कोलेस्ट्रोल सामान्य भएका व्यक्तिलाई पनि हर्ट अट्याक हुनसक्छ । यस्तो अवस्थामा पारिवारिक इतिहास पनि एउटा कारण हुन सक्छ ।

बुबाआमा वा परिवारका सदस्यमा मुटुरोगको इतिहास छ भने आफू अझ सचेत हुनुपर्छ । नियमित रूपमा रक्तचाप, सुगर र कोलेस्ट्रोल जाँच गर्ने तथा स्वस्थ जीवनशैली अपनाउने हो भने जोखिम कम गर्न सकिन्छ ।

पछिल्लो समय स्वास्थ्यसम्बन्धी समस्या हुँदा एआईसँग सोध्ने प्रवृत्ति बढेको छ । यसलाई यहाँले कसरी लिनुहुन्छ ?

च्याटजीपीटी वा एआईबाट केही जानकारी लिन सकिन्छ । तर स्वास्थ्यसम्बन्धी समस्यामा त्यसलाई अन्तिम निदानको आधार बनाउनु हुँदैन ।

जस्तै, छाती दुख्दा एआईले हर्ट अट्याक हुन सक्ने बताउन सक्छ र त्यसले अस्पताल जान प्रेरित गर्न सक्छ । तर पेटको माथिल्लो भागमा दुख्दा त्यसलाई ग्यास्ट्राइटिस होला भनेर मात्रै बुझेर घरमै बस्दा वास्तविक रूपमा हर्ट अट्याक भएको अवस्थामा जोखिम हुन सक्छ ।

त्यसैले एआईबाट जानकारी लिन सकिए पनि स्वास्थ्यसम्बन्धी गम्भीर लक्षण देखिएमा चिकित्सकसँग प्रत्यक्ष परामर्श लिनुपर्छ । 

नेपालमा मुटुरोगको उपचारको अवस्था के छ ? 

पहिले उपचारका लागि भारतलगायत अन्य देशमा जाने बिरामीको संख्या धेरै थियो । तर पछिल्लो समय नेपालमै राम्रो उपचार हुन थालेको छ । गंगालाल, टिचिङ, वीर, पाटन लगायत सरकारी तथा अन्य निजी अस्पतालहरुमा पनि अहिले उपचार हुन थालेको छ । 

उपत्यका बाहिर पनि क्याथल्याबसम्मको सुविधा रहेको छ । मुटुसम्बन्धी चिकित्सक तथा विज्ञहरूको संख्या पनि पहिलेको तुलनामा बढ्दो छ । त्यसैले मुटुसम्बन्धीका बिरामीहरूलाई भारत लगायत अन्य देशमा गएर महँगो शुल्क तिरेर उपचार गराउन भन्दा नेपालमै उपचार गराउन आग्रह गर्दछु । 

मुटुका बिरामीका लागि समय एकदमै महत्त्वपूर्ण कुरा हो । समस्या देखिसकेपछि जतिसक्दो छिटो उपचार गर्यो त्यति नै बाँच्ने सम्भावना हुन्छ । हो अझै उपचारमा सुधार गर्नुपर्ने धेरै कुरा छन् । तर पहिलेको तुलनामा उपचारको अवस्था एकदमै राम्रो छ । 

मुटुको उपचारमा नेपालमा नभएको सुविधा, सरकारले गर्न नसकेको यो काम भए हुन्थ्यो भन्ने केही छ कि ? 

मुटुको उपचारका लागि भन्दै सरकारले १ लाख रुपैयाँ दिने गरेको छ । त्यो एकदमै अपुग हो । किनकि मुटुका बिरामीलाई एक पटक एञ्जिओग्राम गर्दा नसा ब्लक देखियो भने ४ देखि ५ लाख रुपैयाँ लाग्ने गर्दछ । 

पैसा हुने मान्छेले त प्राइभेटमा या अन्य देशमा गएर पनि उपचार गराउन सक्छन् । तर पैसा नहुनेका लागि यो ठुलो समस्या हो । एञ्जिओग्राम गर्नुपर्ने बिरामीहरु दैनिक रुपमा आइरहेका हुन्छन् । बीमाले पनि हर्ट अट्याकका बिरामीहरुको एञ्जिओग्राम गर्छ । 

एञ्जिओग्राम गर्दा ब्लक देखियो भने सरकारले १ लाख दिन्छ बाँकी आफैले तिर्ने हो । त्यसैले बिरामीको आर्थिक अवस्था हेरेर सरकारले  निशुल्क उपचारका व्यवस्था गरिदिए धेरै बिरामीका लागि राहत हुने थियो । 

मुटुजस्तो संवेदनशिल अंगको उपचारमा लामो समय बिताउनुभएको छ । सेवा दिने क्रममा आफू चिकित्सक भएकोमा गर्व गर्न लायकको एकदमै खुशी भएको क्षण कुनै छ ? 

नेपालमा सरकारी अस्पतालको तलबको कुरा गर्ने हो भने खर्च धान्नै गाह्रो छ । तर उपचारका क्रममा त्यस्ता धेरै केश आउँछन् । जसले हामीलाई एकदमै खुशी दिन्छ । आफ्नो पेशाप्रति गर्व महसुस हुन्छ । 

हाम्रो उपचारकै कारण भेण्टिलेटरमा राखेको बिरामी हिँडेर जानसक्ने अवस्थामा पुग्छ । त्योभन्दा धेरै खुशी अरू केही गर्दा पनि लाग्दैन । कतिपय बिरामीलाई त गाडीमै सिपिआर दिँदै ल्याइएको हुन्छ । त्यस्तो बिरामीलाई जिवितै घर फर्काउन पाउँदा एकदमै गर्व महसुस हुन्छ । 

अन्तमा मुटुरोगबाट बच्नका लागि मुख्य के–के कुरामा ध्यान दिन सुझाव दिनुहुन्छ ? 

मुटुरोग भनेको एकदमै डरलाग्दो रोग हो भनेर डराउनुपर्दैन तर सचेत हुनुपर्छ ।  मुटुलाई अशर गर्ने खालको काम गर्दै नगरौं । 

जस्तै धुम्रपान, मद्यपान नगर्ने, सुर्तिजन्य पदार्थबाट टाढा रहने, रातो मासु कम खाने, चिल्लो खानेकुराहरु कम खाने लगायतका कुरामा ध्यान दिऔं । 

त्यस्तै, कम्तीमा पनि हप्तामा ५ दिन शारीरिक अभ्यास गर्ने, तनावरहित जिवन जिउने प्रयास गर्नुपर्दछ । यदि कसैलाई सुगर प्रेसर छ भने चिकित्सकको सल्लाहअनुसार त्यसलाई व्यवस्थापन गर्ने यी कुरामा विशेष ध्यान दिइयो भने मुटुरोगबाट बच्न सकिन्छ ।
 

Share News