बैंकको खराब कर्जा ८ प्रतिशत नजिक, १०५ प्रतिशतसम्म बढ्यो

काठमाडौं । आर्थिक सुस्ततासँगै विभिन्न अराजक गतिविधिले व्यवसाय विस्तारमा कठिनाइ भोगिरहेका बैंकहरूलाई कर्जा अुसलीमा समेत सकस परिरहेको देखिन्छ । बैंकहरूले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणका अनुसार कर्जा असुली थप पेचिलो बन्दै गएको देखिन्छ ।  चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तमसम्मको तथ्यांक अनुसार कर्जा असुली नहुँदा बैंकहरूको खराब कर्जा (एनपीएल) बढेको छ । गत आवको चैतसम्मको तुलनामा चालु आवको चैतमा वाणिज्य बैंकहरूको खराब कर्जा औसत ३४ प्रतिशत अर्थात् १.२३ प्रतिशत बिन्दुले बढेको देखिन्छ । चैतसम्म बैंकहरूको औसत खराब कर्जा अनुपात ४.८२ प्रतिशत रहेको छ । जबकी गत आवको सोही अवधिमा २० वटा वाणिज्य बैंकको खराब कर्जा औसत ३.६ प्रतिशत थियो । समयमा कर्जा भुक्तानी नगरेपछि ऋणीको सम्पत्ति जफत गर्ने, लिलाम गर्नेलगायत सम्पूर्ण अधिकार बैंकलाई  भएपनि बैंकरहरूलाई कर्जा असुली तनावको विषय बनेको छ । बैंकिङ प्रणालीमा खराब कर्जा (एनपीएल) बढ्नुले कर्जा उठाउन बैंकरहरूलाई सकस परिरहेको सहजै अनुमान गर्न सकिन्छ ।  समीक्षा अवधिमा नेपाल एसबीआई बैंकको खराब कर्जा सबैभन्दा धेरै बढेको देखिन्छ । यस बैंकको खराब कर्जा १०५ प्रतिशत बढेर ४.०६ प्रतिशत बिन्दुमा पुगेको छ । गत वर्षको चैतमा यस बैंकको १.९८ प्रतिशत एनपीएल थियो ।  साथै, यस अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको छ । हिमालयनको खराब कर्जा ५४.८३ प्रतिशत बढेर ७.६८ प्रतिशत बिन्दुमा पुगेको छ । जबकी गत वर्षको चैतमा एनपीएल ४.९६ प्रतिशत बिन्दुमा थियो ।   सार्वजनिक वित्तीय विवरण अनुसार एनआईसी एशिया बैंकको ८६.६८ प्रतिशत बढेर ५.७५ प्रतिशत बिन्दु, सानिमा बैंकको ८०.९५ प्रतिशत बढेर ३.४२ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको ७३.२८ प्रतिशत बढेर ४.५४ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको ६०.३१ प्रतिशत बढेर ४.०४ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । यस्तै, एनएमबि बैंकको ५६.२९ प्रतिशत बढेर ४.४७ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ५१.८६ प्रतिशत बढेर ५.७१ प्रतिशत बिन्दु, कृषि विकास बैंकको ५०.९० प्रतिशत बढेर ४.९८ प्रतिशत बिन्दु, कुमारी बैंकको ४१.०१ प्रतिशत बढेर ६.९८ प्रतिशत बिन्दु, प्राइम बैंकको ३१.७० प्रतिशत बढेर ५.६५ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३०.०४ प्रतिशत बढेर ६.०६ प्रतिशत बिन्दु, नबिल बैंकको २२.७७ प्रतिशत बढेर ४.९६ प्रतिशत बिन्दु, नेपाल बैंकको १२.३७ प्रतिशत बढेर ५.४५ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ९.०६ प्रतिशत बढेर ४.६९ प्रतिशत बिन्दुमा एनपीएल रहेको छ ।  लक्ष्मी सनराइज बैंकको ६.७३ प्रतिशत बढेर ५.८६ प्रतिशत बिन्दु, प्रभु बैंकको ५.८२ प्रतिशत बढेर ५.०९ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ५.०६ प्रतिशत बढेर ४.९८ प्रतिशत बिन्दुमा एनपीएल रहेको छ ।  तर, यसअवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकको खराब कर्जा भने घटेको देखिन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३२.७१ प्रतिशत घटेर १.४४ प्रतिशत बिन्दु र एभरेष्ट बैंकको ८.५७ प्रतिशत घटेर ०.६४ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् ।  खराब कर्जाहरू धेरै हुँदा बैंकहरूको वित्तीय अवस्था नै कमजोर हुने अवस्था सिर्जना हुन्छ । बैंकहरूले ऋण प्रवाह गरेपछि विभिन्न ५ क्याटागोरीमा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) गर्नुपर्ने हुन्छ । असल कर्जामा १ प्रतिशत, सुक्ष्म निगरानी कर्जामा ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था छ ।  बैंकको खराब कर्जा जति वृद्धि हुन्छ त्यति नै कर्जा नोक्सानीको रकम पनि बढ्दै जान्छ । तथ्याङ्अनुसार हिमालयन, कुमारी, एनआईएमबि, लक्ष्मी सनराइज, एनआईसी एशिया, सिटिजन्स, प्राइम, नेपाल बैंक र प्रभु बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा बढी छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता रामु पौडेल खराब कर्जा बढी भएका बैंकहरूलाई नजिकबाट अध्ययन गरिरहेको बताउँछन् । साथै खराब कर्जा घटाउन निर्देशन समेत दिइरहेको उनको भनाइ छ ।  ‘खराब कर्जा बढी भएका बैंकहरूलाई राष्ट्र बैंकले नजिकबाट हेरिरहेको छ । नीति तथा व्यवस्था अनुसार निर्देशन समेत दिइरहको छौं । सोही अनुसार पालना समेत गरिरहेका छन्,’ उनले भने, ‘एनपीएलको असर बैंकको क्यापिटलमा पर्छ । क्यापिटल कम हुने बित्तीकै लाभांश वितरण गर्न पाउँदैनन् । खराब कर्जा विस्तारै व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ । रणनीति बनाएर राष्ट्र बैंकलाई पेस गर्नु पर्छ ।’  

रेसिङमा हुन्डाईको नयाँ अध्यायः हाइपरकार इन्जिनको पहिलो परीक्षण सफल

काठमाडौं । जेनेसिस म्याग्मा रेसिङ जीएमआर- ००१ हाइपरकारको विकासले अर्को ठूलो प्रगति हासिल गरेको छ । वर्ल्ड र्‍याली च्याम्पियनसी (डब्ल्यूआरसी)- आधारित भी-८ ट्विन-टर्बो इन्जिनले फेब्रुअरीको अन्त्यमा हुन्डाई मोटरस्पोर्टको मुख्यालयमा सफलतापूर्वक पहिलो स्टार्टअप पूरा गर्‍यो । हुन्डाई मोटरस्पोर्टका पावरट्रेन प्रमुख जुलियन मोन्सेट र इन्जिन वर्कशप प्रमुख रोब बेन्सनको निरीक्षणमा उक्त स्टार्टअप प्रक्रिया योजनाअनुसार सम्पन्न भएकाे थियाे ।  यो इन्जिन विकासको एक महत्त्वपूर्ण क्षण हो । भी ८ पावरप्लान्टको आधारभूत संरचना हुन्डाई मोटरस्पोर्टको एफआईए वर्ल्ड र्‍याली च्याम्पियनसिप च्यालेन्जरमा प्रयोग भएको इनलाइन फोर-सिलिन्डर मोटरबाट लिइएको हो । फोर-सिलिन्डर इन्जिन एफआईएको ग्लोबल रेस इन्जिन नियमहरूमा आधारित छ । 'फोर-सिलिन्डर इन्जिन एकदमै परिष्कृत र प्रभावकारी इन्जिन हो,' हुन्डाई मोटरस्पोर्टका प्राविधिक निर्देशक फ्रान्स्वा-जेभियर डेमैसोनले भने, 'यो एउटा वास्तविक रेस इन्जिन हो, त्यसैले वर्ल्ड इन्ड्युरेन्स च्याम्पियनसीप (डब्ल्यूईसी) को लागि इन्जिन विकास गर्न यो राम्रो आधार हो । र्‍याली पनि एक प्रकारको इन्ड्युरेन्स रेस हो, त्यसैले २४ घण्टे ले म्यान्सका लागि इन्जिन बनाउन यो राम्रो थालनी हो ।' 'हामीसँग इन्जिन विकास गर्न धेरै समय थिएन । एउटा इन्जिनको मुख्य भाग डिजाइन, परीक्षण र उत्पादन गर्न धेरै समय लाग्छ,’ उनले थपे । भी८ इन्जिनको डिजाइन कार्य सन् २०२४ को जुनमा सुरु भएर चार महिनामा सम्पन्न भयो । हुन्डाईका डब्ल्यूआरसी कारका लागि इन्जिनहरू २०१७ देखि हुन्डाई मोटरस्पोर्ट्सद्वारा आफ्नै प्लान्टमा निर्माण हुँदै आएका छन् । सन् २०१३ मा केही इन्जिनियरहरूबाट सुरु भएको यो पावरट्रेन विभाग अहिले डिजाइन, वर्कशप, परीक्षण, इलेक्ट्रोनिक्स र सफ्टवेयर विभागसम्म विस्तार भइसकेको छ । यसले हुन्डाई मोटरस्पोर्ट्सलाई जेनेसिसको इन्ड्युरेन्स रेसिङ यात्रामा आफै इन्जिन निर्माण गर्न सक्षम बनाएको छ । 'हुन्डाई मोटरस्पोट्र्स जेनेसिस म्याग्मा रेसिङको मेरुदण्ड हो र जीएमआर- ००१ हाइपरकारको लागि इन्जिन विकास त्यसको प्रत्यक्ष प्रमाण हो,' जेनेसिस म्याग्मा रेसिङका टीम प्रमुख सिरिल अबिटेबुलले भने, 'हुन्डाई मोटरस्पोर्टसँग धेरै अनुभव छ, त्यसैले यसको पावरट्रेन विकासका लागि हामीले आफ्नै मानिसहरूमा भरोसा गरेका छौं ।' पहिलो इन्जिन स्टार्टअप सफलतापूर्वक सम्पन्न भएपछि अब विकासको दोस्रो चरण सुरु हुँदैछ । हुन्डाई मोटरस्पाेर्ट्स र जेनेसिस म्याग्मा रेसिङका कर्मचारीहरू अब बेन्च परीक्षणहरूमा केन्द्रित हुनेछन्, त्यसपछि इन्जिनलाई जीएमआर- ००१ को गियरबक्स र हाइब्रिड युनिटसँग जडान गरिनेछ । ट्र्याक परीक्षण वर्षको अन्त्यतिर सुरु हुनेछ । हुन्डाईले जेनेसिस जीएमआर- ००१ हाइपरकारको विकासमा हालसम्म कति खर्च गर्‍यो भन्ने सार्वजनिक भएको छैन । यद्यपि उपलब्ध जानकारीहरूबाट यो परियोजना निकै ठूलो लगानीसहितको रहेको अनुमान गर्न सकिन्छ ।​ सम्बन्धित समाचार  ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा

आयात १२ प्रतिशत बढ्दा व्यापार घाटा ११ खर्ब नाघ्यो, निर्यात ६५ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा मुलुकको आयात १२.१८ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार याे अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएका छन् । गत वर्ष सोही अवधिमा आयात ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ थियो । आयात वृद्धिसँगै व्यापार घाटा समेत बढेको छ । विभागका अनुसार यस वर्षको पहिलो ९ महिनामा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ थियो । व्यापार घाटा ६.४५ प्रतिशतले वृद्धि भएको हो । यसबाहेक कुल वैदेशिक व्यापार १६.८९ प्रतिशतले बढेर १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । निर्यात ६५ प्रतिशतले वृद्धि यस अवधिमा निर्याततर्फ भने उत्साहजनक सुधार देखिएको छ । नेपालले ९ महिनामा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा निर्यात १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँमा सीमित थियो । यो वृद्धिदर ६५.१६ प्रतिशत हो । निर्यातको अनुपात कुल व्यापारमा १२.५७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ८.८९ प्रतिशतको तुलनामा ४१.३० प्रतिशतले वृद्धि भएको हो । विभागका अनुसार नेपालले सबैभन्दा बढी डिजेल ९१ अर्ब २६ करोड, कच्चा सोयाबिन तेल ६६ अर्ब ०५ करोड, पेट्रोल ४७ अर्ब ७७ करोड र एलपी ग्यास ४६ अर्ब ५८ करोड रुपैयाँ बढीको आयात गरेको देखिन्छ । त्यस्तै, नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा सोयाबिन तेल रहेको छ । सोयाबिन तेल ६२ अर्ब ७८ करोड रुपैयाँ बढीको निर्यात भएको छ । सोयाबिन पछि सूर्यमुखी तेल ९ अर्ब २३ करोड, गलैँचा ८ अर्ब ०९ करोड र ठूलो अलैंची ६ अर्ब २६ करोड रुपैयाँ बढीको निर्यात भएको विभागले जनाएको छ ।