बैंकका निक्षेपकर्ता पनि संगठित हुनुपर्ने आवाज, ब्याजदर घट्दा सुनतिर सिफ्ट
काठमाडौं । बैंकिङ क्षेत्रमा तरलता अभाव थियो, निक्षेपको ब्याजदर निरन्तर बढ्दै गयो । निक्षेपको ब्याजदर बढ्दा कर्जाको ब्याज पनि स्वतः उच्च हुन पुग्यो । बैंकको ब्याजदर उच्च भएपछि देशभरका उद्योगी व्यवसायी एकत्रित हुँदै सडक आन्दोलनमा उत्रिए । आन्दोलित कर्जाका ग्राहकहरूले राष्ट्र समेत बैंक घेराउ गरे । विभिन्न सभा समारोहमा उच्च ब्याजदरको विषयले चर्चा पाउँथ्यो । सदनमा सांसदहरूले घाँटी सुक्नेगरी ब्याजदरकाे विराेधमा कुरा सुनाउँथे । तर, समय बदलिएको छ, बैंकिङ क्षेत्रमा पर्याप्त तरलता छ । निक्षेपमा लगानी नगरे हुन्थ्यो भन्ने बैंकरलाई लागिरहेको छ । अधिकांश बैंकले त निक्षेप नै लिन छाडिसकेका छन् । अहिले निक्षेपको ब्याजदर न्यून छ, कर्जाको ब्याजदर हालसम्मकै कम बिन्दुमा झरेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकका शाखा कार्यालयहरू अपरान्ह ५ बजेसम्म खुला हुनुपर्ने हो । तर, बैंकका शाखाहरू ५ बजे अगाडि नै बन्द हुन्छन् । जबकि तरलता अभाव हुँदा ढिलासम्म खुल्ने गरेका थिए । तर, निक्षेपकर्ताको हितमा बोल्दैनन् कोही, सुन्दैनन कोही । ब्याजदर कम हुँदा निक्षेपकर्ताको आवाजमा न सडक आन्दोलन छ, न सदनमा सांसदहरूको आवाज सुनिन्छ । विगतमा ब्याजदर उच्च भयो भन्ने ऋणीहरू न्यून ब्याजदर हुँदा पनि कर्जा लिन जाँदैनन् । जसको असर निक्षेपको ब्याजदरमा पर्न थालेको बैंक जानकारहरू बताउँछन् । बैंकिङ विज्ञ अम्बिर बोगटी कर्जा लिने ऋणीहरूको संघसस्था भएजस्तै निक्षेपकर्ताहरू संगठित हुनुपर्ने बताउँछन् । विगतमा ब्याजदर कम हुँदा क्यापिटल फ्लाई हुन्छ भनेर आवाज उठ्ने गरेको भएपनि पछिल्लो समय त्यो नभएको उनको भनाइ छ । ब्याजदर घट्दा निक्षेपवालालाई अन्याय भएको उनको ठहर छ । ‘कर्जा लिने उद्योगी व्यवसायीका चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत संघसंस्था छन् । नागरिक लगानी कोष (सीआईटी), कर्मचारी सञ्चय कोष, बीमा कम्पनीहरू लगायत निक्षेपकर्ताको संगठित हुनुपर्छ,’ उनले भने, ‘विगतमा ब्याजदर कम भयो भने पैसा भारत जान्छ, विदेशतिर जान्छ, विदेशमा निक्षेप राख्न लैजान्छन् भन्थे । त्यसैले ब्याजदर बढाउनुपर्ने आवाज उठ्थ्यो । तर, अहिले त्यो आवाज सरकारी निकायबाट आउँदैन । ब्याजदर घट्दा कोही पनि बोल्दैनन् । निक्षेपवालालाई अन्याय भएकै हो ।’ बाेगटीका अनुसार मूल्यवृद्धिसँग तुलना गरेर ब्याज पाउनुपर्छ । बैंकको कच्चा पदार्थ निक्षेपकर्ता रहेकाले सरकार, राष्ट्र बैंक, बैंक वित्तीय सस्थाहरूले विचार गर्नुपर्ने उनको भनाइ छ । साथै आफ्नो हकहितको लागि आवाज उठाउन निक्षेपकर्ताहरू एक हुनुपर्ने उनले बताए । ‘निक्षेपकर्ताले रकम जम्मा गरेनन् भने कुनै पनि संस्था चल्दैनन् । पहिलो खुड्किलो वा पहिलो हाँगा भनेकै निक्षेपकर्ता हुन् । बैंक सञ्चालन गर्ने ब्लड हुन् निक्षेपकर्ता,’ उनले भने, ‘त्यसैले बैंक वित्तीय संस्थाले निक्षेपकर्तालाई जहिले पनि धेरै माया गर्नुपर्छ । निक्षेपकर्ताको रकमबाटै ऋण प्रवाह हुन्छ । कर्मचारीले तलब पाउँछन्, सरकारले कर पाउँछ र लगानीकर्ताले लाभांश । त्यसैले निक्षेप राख्नेहरू पनि संगठित हुन जरुरी छ ।’ राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री ब्याजदर कम हुँदा निक्षेपकर्ता निरूत्साहित भएको बताउँछन् । हाल ब्याजदर कम भएपनि फेरी कुनै दिन निक्षेपका लागि लुछाचुँडी गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले समयमै सजग रहन उनले बैंकरहरूलाई सुझाए । बैंकले कम ब्याज दिन थालेपछि जोखिम मोलेर अन्य क्षेत्रमा लगानी गर्न बाध्य भइरहेको उनको बुझाइ छ । ‘लगानी नभएपछि केन्द्रीय बैंकमा निक्षेप राखिरहेका छन् । यो स्वस्थ कारोबार होइन भनेर मैले अप्रत्यक्ष भन्ने गरेको छु । जसबाट निक्षेपकर्ता निरुत्साहित हुनुपरेको छ । मुद्दती निक्षेप खाता नवीकरण भएका छैनन् । किनकि मुद्दती निक्षेपमा बचत खातामा भन्दा कम ब्याज पाउने भएपछि के का लागि नवीकरण गर्ने ? अहिले पैसा बढी भएपनि कुनै दिन फेरी बैंकहरूले लुछाचुँडी गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘सुनको मूल्य २ लाख हाराहारी छ । जोखिम मोलेर पनि सुनमा लगानी गरिरहेका छन् ।’ पूर्वगभर्नर चिरञ्जीवी नेपाल निक्षेपकर्ताको हकहितको लागि सबैले आवाज उठाउनुपर्ने बताउँछन् । ब्याजदर उच्च हुँदा व्यवसायीहरूले आवाज उठाउने गरेको भएपनि घट्दा ऋण लिन नजाने समस्या रहेको उनको भनाइ छ । ऋण लिन नआएपछि ब्याजदर घट्दा निक्षेपकर्ता समस्यामा परेको उनले बताए । ‘हामीले पनि बोल्नुपर्छ । ऋणको ब्याज बढ्दा व्यापारी व्यवसायीहरू कराउँछन् । तर, अहिले ऋण लिन पनि नआउने ? अनि निक्षेपकर्तालाई घाटामा राख्ने ? निक्षेपकर्तालाई पनि बैंकमा पैसा नराख, लगानी नगर भनेर दाबाव दिन खोजेको जस्तो देखिन्छ । तर, निक्षेपकर्तालाई घाँटी रेट्ने तरिकाले व्यवहार गर्नु भएन,’ नेपालले भने । स्विट्जरल्यान्ड, जापान जस्ता विकसित देशमा निक्षेप राख्नेलाई पैसा तिर्नुपर्छ । तर, नेपाल त्यति विकसित नभइसकेको हुँदा निक्षेपकर्ताहरू घाटामै रहेको उनले बताए । आफू पनि निक्षेपकर्ता भएकाले ब्याजदर घट्दा दु:ख लागेको उनको भनाइ छ । ‘कहिले धेरै ब्याज पाउने र कहिले थोरै ब्याज पाउँदा बैंकमा पैसा नआउने स्थिति हुन्छ । किनभने संस्थागत लगानीकर्ताहरूको आकार अझैपनि घट्न सकेको छैन । अर्थतन्त्रमा ब्याजदर तलमाथि गर्न उनीहरूको ठूलो योगदान छ,’ नेपालले भने, ‘म पनि निक्षेपकर्ता भएकाले ब्याजदर कम हुँदा दुख लागेको छ । संसारभर कुनै पनि देशमा निक्षेपकर्ता संगठित नभएपनि उचित ब्याज पाउनुपर्छ ।’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको नीति निर्देशन भित्र प्रत्येक महिना औसत १० प्रतिशत ब्याजदर घटबढ गर्ने गरेको बताउँछन् । अहिले निक्षेपको ब्याजदर मात्रै घटेको मात्रै नभई कर्जाको पनि प्रशस्त घटेको उनको भनाइ छ । ‘माग र आपूर्तिका आधारमा ब्याजदर घटबढ हुन्छ । हामी बोल्नका लागि बोल्छौं । कहिलेकाहीँ पीरमर्का परेको आवाज आउँछ त्यो भिन्नै विषय हो । कर्जाको माग बढ्यो भने निक्षेपको माग बढ्छ । त्यहाँ प्राइस बढ्दै जान्छ । तर, कर्जाको माग छैन, बैंकमा निक्षेप आइरहेको छ भने निक्षेपको रेट घट्छ, क्रेडिटको रेट पनि घट्छ । बढ्दा दुबै बढ्छन् घट्दा दुबै घट्छन्,’ उनले भने, ‘यो बढ्ने र घट्ने चक्र हो । विगतमा निक्षेपको धेरै माग थियो किनभने कर्जाको माग थियो । माग बढेपछि रेट पनि बढ्यो । अहिले कर्जाको माग कम छ निक्षेपकको रेट कम छ ।’ पाण्डेका अनुसार कर्जाका भन्दा निक्षेपका ग्राहक बढी छन् । बजारको मागले ब्याजदर निर्धारण गर्छ । हिजोका दिनमा आन्दोलन गरेपनि कर्जाको माग बढेको नै थियो । त्यो बेलामा बोल्दै नबोल्ने निक्षेपकर्ताको ब्याजदर पनि बढेको थियो । ‘ब्याजदर बढ्दा घटोस् भनेर बोल्नु स्वाभाविक हो । तर, बोल्दैमा ब्याजदर घट्ने होइन,’ उनले भने । धेरै घटिसकेकाले निक्षेपकर्ताको हितमा हुने गरी ब्याजदर कायम गर्नुपर्ने एक बीमा कम्पनीका सञ्चालकले बताए । निक्षेप र कर्जाका ग्राहकलाई सन्तुलित ब्याजदर निर्धारण गर्नुपर्ने उनको माग छ । ‘कर्जाको ब्याजदर घटाउनुपर्छ, आफ्नो ठाउँमा छ तर सबैजनालाई अनुरोध छ भोलिका दिनमा बैंक नै रहेन भने के अन्तर्राष्ट्रिय जगतले विश्वास गर्छ त ? निक्षेपकर्ताको हितमा ध्यान नदिएर ‘मनि फ्लाई’ (पुँजी पलायन) भयो भने त्यसको जिम्मेवारी कसले लिने ?, मौद्रिक नीतिमा सन्तुलन गरेर निक्षेपकर्तालाई पनि बचाउने गरी नीति आउनुपर्छ,’ पाण्डेले भने । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरूको बचत खाताको औसत ब्याजदर ३.३६ प्रतिशत, मुद्दती निक्षेपको औसत ब्याजदर ६.२७ प्रतिशत र कल डिपोजिटको १.२७ प्रतिशत रहेको छ । साथै, कर्जातर्फ भने औसत ब्याजदर ८.४० प्रतिशतमा झरेको छ ।
निर्जीवन बीमकको व्यवसाय ३२ अर्ब १३ करोड, शिखर सबैभन्दा अगाडि
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३२ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । आइतबार नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमकहरूले ९ महिनामा २१ लाख ३५ हजार २३३ बीमा लेख जारी गर्दा ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । नीर्जीवन बीमा कम्पनीहरूले चालु आवको ९ महिनाको अवधिमा आर्जन गरेको बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ७.११ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीहरुले २१ लाख ९३ हजार ५४७ वटा बीमालेख जारी गरी २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । निर्जीवन बीमकहरूले चैत्र महिनामा मात्रै २ लाख ९१ हजार ७७६ बीमा लेख जारी गर्दै ४ अर्ब १० करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । धेरै व्यवसाय गर्नेमा शिखर अगाडि बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ महिनाको अवधिमा सर्वाधिक व्यवसाय आर्जन गर्नेमा शिखर इन्स्योरेन्स अगाडि देखिएको छ । शिखरले चैत्रसम्ममा४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा २.८५ प्रतिशतले बढेको हो । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको थियो । दोस्रो धेरै व्यापार गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको) रहेको छ । सलिकोले ९ महिनाको अवधिमा ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ व्यवसाय गरेको छ । सलिकोले गरेको व्यवसाय गत आवको तुलनामा ५.८४ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । धेरै कुल बीमा शुल्क आर्जन गर्ने तेस्रो कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले चैत्र मसान्तसम्ममा ३ अर्ब १० करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ४९ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ७.४५ प्रतिशतले वृद्धि भएको देखिन्छ। चालु आवको चैत्रसम्ममा हिमालयन एभरेस्ट इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा ९.२८ प्रतिशतले व्यवसाय बढाएको छ । उक्त कम्पनीले गत आवको चैत्रसम्ममा २ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ व्यवसाय गरेकोमा चालु आवको यही अवधिमा २ अर्ब ७८१ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । अन्य नीर्जीवन बीमा कम्पनीहरूमा चालु आवको ९ महिनाको अवधिमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड ४६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब १३ करोड ४५ लाख रुपैयाँ, सानिमा जिआइसीले १ अर्ब ९२ करोड १९ लाख, नेपाल इन्स्यारेन्सले १ अर्ब ५५ करोड ८८ लाख र नेशनल इन्स्यारेन्सले ८७ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । ३ कम्पनीको व्यवसाय घट्यो चालु आवको ९ महिनामा तीन निर्जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ । राष्ट्रिय बीमा, युनाइटेड अजोड र प्रभु इन्स्याेरेन्सको व्यवसाय गत गत आवको तुलनामा चालु आवमा घटेको हो । राष्ट्रिय बीमा कम्पनीको व्यवसाय चालु आवको चैत्र मसान्तसम्ममा गत आवको तुलनामा १३.३१ प्रतिशतले कमी आएको छ । कम्पनीले गत आवमा १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ कुल व्यवसाय गरेकोमा चालु आवमा १ अर्ब १३ करोड २६ लाख रुपैयाँ मात्रै व्यवसाय गरेको हो । युनाइटेड अजोडको व्यवसाय गत आवको तुलनामा ६.२४ प्रतिशले घटेर १ अर्ब ८५ करोड ४९ लाख रुपैयाँ आर्जन भएको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीको व्यवसाय गत आवको तुलनामा चालु आवमा १.३१ प्रतिशतले कमी आएको छ । गत आवमा कम्पनीले १ अर्ब ३२ करोड ६८ लाख रुपैयाँ व्यवसाय गरेकोमा चालु आवको ९ महिनामा १ अर्ब ३० करोड ९४ लाख रुपैयाँ व्यवसाय गरेको छ ।
लोडसेडिङ बढेसँगै इन्भर्टर र जेनेरेटरको माग दोब्बर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नेतृत्व परिवर्तनपछि बजारमा इन्भर्टर र जेनेरेटरको माग दोब्बरले वृद्धि भएको व्यवसायीहरूले बताएका छन् । प्राधिकरणको नेतृत्व परिवर्तनसँगै उद्योग क्षेत्रमा दैनिक १२ घण्टा लोडसेडिङ हुँदा सर्वसाधारणको घरमा अघोषित लोडसेडिङ भइरहेको छ । सरकारले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दिएपछि एकातिर प्राधिकरण आर्थिक संकटमा परेको छ भने अर्कोतिर सर्वसाधारणको घरमा लोडसेडिङ ब्यूँतिएको छ । गत शुक्रबार प्राधिकरणमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले मूलतः लोडसेडिङ कै विषय उठाए । कार्यक्रममा सहभागी राजाराम तण्डुकारले पछिल्ला समय नियमित लोडसेडिङ भएकोमा आक्रोस पोखे । लोडसेडिङ गर्नै पर्ने अवस्था हो भने किन लोडसेडिङको तालिका सार्वजनिक नगरेको भनि प्रश्न गरे । तर प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पहिलाको तुलनामा बढी बिजुली जाने समस्या नरहेको दावी गरे । ‘विभिन्न कारणले समय-समयमा बत्ति जान सक्छ तर त्यसलाई लोडसेडिङ भएको भन्न मिल्दैन,’ उनले जवाफमा भने । लोडसेडिङ वृद्धि भएपछि इन्भर्टर तथा जेनेरेटरको व्यापार वृद्धि भएको छ । अशोक लेल्याण्डको आधिकारिक बिक्रेता आईएमई मोर्टसका सेल्स हेड सेचन ढकाल अहिले जेनेरेटर र इन्भर्टरको व्यापार दोब्बरले बढेको बताउँछन् । ‘आजभोलि जेनेरेटर र इन्भर्टरको माग बढिरहेको छ । दैनिक १०/१५ जना जेनेरेटर खरिदका लागि आउने गरेका छन्, विगतका महिनामा दैनिक औसतमा ५ जनासम्म आउँथे, इन्भर्टर किन्ने ग्राहक धेरै हुनुहुन्छ,’ उनले भने । ढकालका घरायसी ग्राहकदेखि उद्योगी समेतले जेनेरेटर र इन्भर्टरको माग गरिरहेका छन् । डिपार्टमेन्टल स्टोर, हाउजिङ, होटल, कार्यालयलगायत अन्य प्रयोजनका लागि पनि जेनेरेटर र इन्भर्टरको माग भइरहेको उनले सुनाए । महिन्द्रा ग्रुपको आधिकारिक बिक्रेता अग्नि मोटो इंकका महाप्रबन्धक प्रत्युष श्रेष्ठ पछिल्लो समय अघोषित लोडसेडिङ बढ्दै गएपछि जेनेरेटर, इन्भर्टरलगायत ऊर्जाका वैकल्पिक साधनको माग ह्वात्तै बढेको बताए । ‘यसअघि महिनामा एउटा/दुइटा मात्रै जेनेटर बिक्री हुन्थ्यो । तर, अहिले हप्तामा ३/४ वटासम्म बिक्री हुन थालेको छ,’ उनले भने । नेपाली बजारमा अहिले महिन्द्रा, आइसर, क्रिलोस्कर, पारवल ब्राण्डका इन्भर्टर तथा जेनेरेटर खरिद बिक्री हुने गरेका छन् । कुलमान प्राधिकरणमा आउनुअघि सर्वसाधारणले दैनिक १८ घण्टाको लोडसेडिङको समस्या खेप्नुपरेको थियो । त्यतिबेला मासिक ७ अर्बभन्दा बढीको इन्भटर र जेनेरेटर आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । लोडसेडिङको अन्त्यसँगै यस्तो व्यापार नगन्य भएको थियो । ईभीलाई पनि समस्या बिजुली नियमित नहुँदा विद्युतीय गाडी (ईभी) धनीलाई पनि समस्या भएको छ । विद्युतीय माइक्रोबस व्यवसाय गर्दै आएको सिन्धुली दूधौली नगरपालिकाका अमर गुरुङले लोडसेडिङका कारण व्यवसाय गर्न कठिन भएको बताए । उनले काठमाडौंदेखि दुधौलीसम्मको रुटमा दुइटै विद्युतीय माइक्राे बस चलाउँदै आएका छन् । तर, पछिल्लो समयमा दैनिक रूपमा आधा घण्टादेखि दुई घण्टासम्म बिजुली अवरुद्ध हुन थालेपछि गाडी चार्ज गर्न समस्या भइरहेको दुखेसो उनले सुनाए । ‘पहिला उत्साही भएर गाडी खरिद गरियो, अहिले समयमै चार्ज गर्न पाइएको छैन । अघोषित लोडसेडिङले हाम्रो व्यवसाय चौपट पार्ने डर लागिरहेको छ,’ उनले भने । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजन पनि प्राधिकरणमा कुलमान छँदा नगएको बत्ति अहिले दैनिक रूपमा जान थाल्नु स्वार्थसमूहको चलखेल भएको बताउँछन् । ‘कुलमान प्राधिकरणमा हुँदा लोडसेडिङ भएन तर अहिले नियमित बिजुली अवरुद्ध भइरहेको छ । यसमा व्यावसायिक राजनीति भइरहेको छ, जसका कारण उपभोक्ताहरू जेनेरेटर र इन्भर्टर खरिद गर्न बाध्य छन् । सरकारले जनतामाथि लोडसेडिङ गरेर आर्थिक भार थपिरहेको छ,’ उनले भने । लोडसेडिङ भएको छैन : प्राधिकरण नेपाल विद्युत प्राधिकरणले भने हाल देशभर विद्युत आपूर्तिमा कुनै समस्या नभएको दाबी गर्दै आएको छ । प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले घरायसी ग्राहकका लागि २४ सै घण्टा विद्युत सेवा उपलब्ध रहेको र आगामी दिनमा पनि लोडसेडिङ नहुने जिकिर गरे । प्राधिकरणका अनुसार कुल विद्युत जडित क्षमता ३ हजार ५१२ मेगावाट भए पनि उत्पादन औसतमा १ हजार १७५ मेगावाट रहेको छ भने विद्युतको उच्च माग २ हजार ७७ मेगावाट पुगेको छ । बाँकी माग भारतबाट विद्युत आयात गरी पूर्ति गरिँदै आइएको छ ।