बुद्ध र यति एयरलाइन्स आक्रामक बजार बिस्तारमा, बुद्धलाई २ र यतिलाई ४ वटा एटीआर थप्ने स्वीकृति
काठमाडौं, मंसिर १२ । आन्तरिक वायुसेवा कम्पनी बुद्ध र यति एयर आक्रामक बजार बिस्तारमा लाग्न थालेका छन् । दुबै वायुसेवाले क्षमता बढाउने र बजार बिस्तारमा नयाँ रणनीति बनाएर अगाडि बढ्ने प्रक्रिया सुरु गरेका छन् । दुबै वायुसेवाले नेपाली आकासमा एटीआर नामक आधुनिक वायुसेवा थप गर्ने भएका छन् । हाल बुद्ध एयरले संचालन गरिरहेको ७२ सिट क्षमताको एटीचार ७२-५०० नामक जहाज थप गर्न दुबै वायुसेवा कम्पनीले अनुमति लिएका छन् । बुद्धले २ वटा एटीआर ७२ सिट क्षमताको ल्याउन अनुमति लिएको दुई महिनाभित्रमै यतिले पनि चार वटा सोही प्रकृतिको एटीआर जहाज नै ल्याउन अनुमति लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार यतिले भर्खरै चारवटा ७२ सिट क्षमतका जहाज एक वर्ष भित्र ल्याउने गरी अनुमति पाएको छ । यस अघि बुद्ध एयरले पनि सोही प्रकृतिको जहाज थप गर्न अनुमति लिएर प्रक्रिया अगाडि बढाइसकेको छ । माघको दोस्रो साता भित्रैमा नयाँ एटीआर ल्याउँदै बुद्ध एयर निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले आगामी माग दोस्रो साता भित्रमा नै एउटा एटीआर जहाज ल्याउने भएको छ । यो वायुसेवाले जहाज ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाएको र जहाज किन्ने पैसासमेत पठाउन लागिसकेको जानकारी बुद्ध एयरले दिएको छ । बुद्ध एयरका अपरेशन निर्देशक सुवर्ण खरेलका अनुसार पुसभित्रैको लागि तयारी गरिएको भएपनि प्रक्रिया मिलाएर काम गर्दा माघ दोस्रो सातासम्म लाग्न सक्ने देखिएको छ । उनका अनुसार बुद्धले थप गर्न लागेको दुईवटा एटीआर मध्ये पहिलो माघ दोस्रो साताभित्रमा र त्यसपछिको ६ महिनामा अर्को जहाज ल्याउने गरी रणनीति बनाएको पनि उनले बताए । हाल बुद्ध एयरसँग ४७ सिट क्षमताको तीन र ७२ सिट क्षमतको २ वटा एटिआर जहाज रहेको छ । नयाँ दुई वटा थप भएपनि ७२ सिट क्षमतकै ५ वटा हुने छ । थप जहाज आएपछि बुद्धले जनकपुरमा पनि ठूलै जहाजबाट उडान गर्ने तयारी गरिहरेको छ । हाल बुद्ध एयरले त्रिभुवन विमानस्थलमा ४५ मिनेटको फरकमा जहाज उडान गर्ने गरेको छ । नयाँ आएपछि एक घण्टा फरक गर्ने र कुनै पनि उडान रद्द तथा डिले नगर्ने रणनीति बनाएको पनि बुद्ध एयरले जानकारी दिएको छ । यो वायुसेवाले खरीद गर्ने दुई नयाँ जहाजका लागि करीब दुई अर्ब खर्च हुने उल्लेख छ । पछिल्लो समय आन्तरिक उडानका वायुसेवा कम्पनी साना जहाज विस्थापित गरेर ठूलो क्षमतामा जान थालेका छन्। आन्तरिकमा नियमित उडान गरिरहेका यती, बुद्ध, सिम्रिक, सीता, सौर्यलगायतका वायुसेवा क्षमता विस्तार गर्न ठूला जहाज भित्र्याउन थालेका छन्। यती एयरले २९ र ३० सिट क्षमताका जहाज विस्थापन गरेर एटिआर ७२ नामक ठूलो जहाज ल्याउने भएको छ। बजारक आवश्यकता अनुसार चलेको बुद्ध एयरले अझै थप २ वटा एटिआर जहाज खरिद गर्ने भएको छ। आन्तरिक वायुसेवाले बजार हिस्सा बढाउन यात्रु क्षमता बढी भएको जहाज ल्याउने गरी आक्रामक रणनीति तय भएको पनि बुद्धको भनाइ छ ।
५४७ अर्बमा काठमाडौंको आकाश र जमिन मुनी मेट्रो रेल, चिनियाँ कम्पनीले देखाए इच्छा
काठमाडौं, १२ मंसिर । सन २०१२/१३ मा चुङसुङ इञ्जिनियरिङ नामक कोरियाली कम्पनीले काठमाडौंको आकाश र जमिनमुनी मेट्रो रेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर रेल विभागलाई बुझाएको थियो । तर त्यो सम्भाव्यता अध्ययनको फाइल अझै रेल विभागका महानिर्देशको कार्यकक्षको दराजमा थन्किरहेको छ । विभागका महानिर्देशकको दराजमा थन्किएको त्यो फाइलमा यतिबेला आधा दर्जन भन्दा बढि चिनियाँ कम्पनीको आँखा गडेको छ । ‘थुप्रै चिनियाँ कम्पनीले काठमाडौंमा मेट्रो रेल बनाउन इच्छा देखाएका छन, हामीसँग छलफल भैरहेको छ, म भर्खरै मात्र चिनमा पुगेर पनि केहि कम्पनीसँग यसैबारे छलफल गरेर फर्केको छु’, रेल विभागका महानिर्देशक अनन्त आचार्यले विकासन्युजसँग भने । निर्माण आरम्भ भएको १० बर्षभित्र निर्माण सम्पन्न गर्न सकिने मेट्रो रेलको लम्बाई ७७ दशमलब २८ किलोमिटर रहेको छ भने निर्माण, मर्मत तथा डब्बा खरिद लागत जम्मा ५४७ अर्ब अनुमान गरिएको छ । त्यसरी निर्माण हुने रेलको २५ दशमलब ५० किलोमिटर खण्ड जमिन मुनी अर्थात राजधानीका सडक मुनी अण्डर ग्राउण्डमा निर्माण हुनेछ । बाँकी ५१ दशमलब ७८ किलोमिटर रेल राजधानीको आकाशमा अर्थात सडक माथी फ्लाईओभर(फलामे पुलमा) निर्माण हुनेछ । सडकमाथी फ्लाईओभर बनाएर गुड्ने रेलको निर्माण, मर्मत तथा डब्बा खरिदको लागत प्रति किलोमिटर साढे ६ अर्ब लाग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, जमिन मुनी निर्माण हुने अण्डरग्राउण्ड रेलको लागत भने प्रति किलोमिटर १० अर्ब नाघ्ने देखिन्छ । पाँच वटा मेट्रो रेलको लाइनले राजधानीको सार्वजनिक सवारी साधनको अस्तव्यस्ततालाई हटाउने विभागका महानिर्देशक आचार्यले बताए । ‘चिनियाँलाई दिने हो भने पाँच वटै लाइन बनाइदिन्छौं भनेका छन् । यस्तो रेल मार्ग एक सय बर्षसम्म टिक्छ ।’ आचार्यले भने । अनन्त आचार्य, महानिर्देशक-रेल विभाग कहाँ कहाँ गुड्छ आकाशमा रेल ? सो अध्ययनले तीनवटा मेट्रो रेलको लाइन राजधानीका सडक माथी फलामका पुल बिछ्याएर निर्माण गर्ने उल्लेख गरेको छ । जस अनुसार पहिलो रेल वे लाइन १२ दशमलब १० किलोमिटरको हुनेछ । यो लाइन सातदोबाटोबाट, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज हुँदै नारायणगोपाल चौकसम्म पुग्नेछ । दोश्रो मेट्रो रेल लाइन कलंकीबाट सुरु भएर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, तिनकुने हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुग्नेछ र यसको लम्बाई ११ दशमलब १५ किलोमिटरको हुनेछ । तेश्रो रेलवे लाइनले भने चक्रपथ परिक्रम गर्नेछ । जुन २८ दशमलब ५३ किलोमिटरको हुनेछ । यसरी निर्माण हुने तीन वट रेलवे लाइनको कुल लम्बाई ५१ दशमलब ७८ किलोमिटरको हुनेछ । जमिनमुनी अण्डरग्राउण्ड रेल राजधानीका सडक मुनी निर्माण हुने अण्डरग्राउण्ड रेलवे लाइन भने कुल २५ दशमलब ५० किलोमिटरको हुनेछन् । यो रेल लाइन स्वयम्भु, छाउनी, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर, गौशाला, चावहिल, हुँदै बौद्धसम्म पुग्नेछ । चौथो रेल लाइनका रुपमा अघि सारिएको यो खण्डको लम्बाई ११ दशमलब ७० किलोमिटरको हुनेछ । त्यस्तै पाँचौै तथा अन्तिम लाइन भने धोबीघाटबाट सुरु भएर पुल्चोक, पाटन दरबार, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, डिल्लीबजार, टंगाल, नारायणहिटी दरबार, नयाँ बजार, हुँदै गोंगम्बु पुगेर टुंगिनेछ । यसको लम्बाई भने १३ दशमलब ८० किलोमिटरको हुनेछ । चिनियाँ कम्पनीले एकै पटक पाच वटै लाइन अथवा पाइलट प्रोजेक्टका रुपमा एक दुई लाइनबाट समेत निर्माण आरम्भ गर्न सकिने मनासाय व्यक्त गरिरहेको महानिर्देशक आचार्यले बताए । त्यसका लागि नेपाल सरकारले मन्त्रिस्तरिय निर्णयद्धारा डिपिआर निर्माणका लागि बाटो खुल्ला गर्नुपर्नेमा उनले जोड दिए ।
“लगानीकर्ता आत्तिनुपर्दैन, म्यानुपुलेसन पनि भएको छैन”-निरज गिरी
काठमाडौं, १२ मंसिर । असोज २० गते कारोबार बन्द हुँदा सेयर बजार परिसूचक (नेप्से) १८२० अंकमा अडिएको थियो । त्यसपछि दशैँ विदा भयो र असोज ३० गते बजार खुल्यो । यसदिन भने लगानीकर्ताहरु केही निरास भए । नेप्से एकैपटक १६.१४ अंकले ओरालो लाग्यो र १८०४ अंकमा झर्यो । त्यसपछि नेप्से निरन्तर रुपमा ओरालो लागिरहेको छ । मंसिर १२ गतेसम्म आएइपुग्दा बजार ३३४.५२ अंकले ओरालो लागिसकेको छ । यसदिन बजार १५ सय भन्दा तल झरेको छ । बजार यसरी ओरालो लाग्दा पनि धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने मौन बसिरहेको छ । यदाकदा समाचारमा उनीहरुको भनाई आएपनि आधिकारिक धारणा बाहिर आएको छैन । बजार उकालो लाग्दा लगानीकर्ताहरुलाई सम्हालिएर लगानी गर्न पटक पटक आग्रह गर्ने बोर्ड बजार ओरालो लागेर लगानीकर्ता आत्तिदा भने मौन छ । बजार ओरालो लागेर लगानीकर्ताहरु आत्तिदा पनि तपाईहरु किन मौन ? भनेर विकासन्युजले बोर्डलाई सोधेको थियो । धितोपत्र बोर्डका प्रबक्ता निरज गिरी भन्छन् – “अहिले बोर्ड बोल्ने समय आएको छैन । हामीले बजारलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौ, आत्तिनुपर्ने अवस्था छैन । बजारमा म्यानुपुलेसन पनि भएको छैन । उनका अनुसार नेपालको धितोपत्र बजार उकालो र ओरालो लाग्नुमा कुनै कारण हुदैन ।” गत वर्षको भन्दा अर्थतन्त्रका परिसुचक पनि उकालो लागेको छ । “कम्पनीहरुले पनि राम्रो प्रतिफल दिइरहेका छन् । पछिल्लो समय बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासिक वित्तिय विवरण हेर्दा पनि उनीहरुको नाफा राम्रो देखिन्छ । तर किन बजार ओरालो लागेको छ भन्ने विषयमा भने अहिले केही भन्न नसक्ने गिरीको भनाइ छ । सेयरको आपुर्ति बढेकाले बजार घटेको उनको तर्क छ । “बजारमा विभिन्न कम्पनीहले हकप्रद सेयर जारी गरिरहेका छन् । हकप्रद सेयर खरिदका लागि रकम जोहो गर्न लगानीकर्ताहरुले आफूसँग भएको सेयर बेचे जसको परिणाम सेयरको आपुर्तिमा बृद्धि भयो र बजार ओरालो लाग्यो” उनले भने । पहिले पनि ३९२ अंकसम्ममा बजार झरेको थियो र १९०० अंकसम्म उकालो लागेको थियो त्यतिबेला पनि बजार घट्नु र बढ्नुमा ठोस कारण नरहेको प्रबक्ता गिरीले दावी गरे । उनले म्युचुअल फन्डहरुलाई अहिले बजारमा लगानी गर्नको लागि दवाव दिन नसक्ने पनि बताए । “साना लगानीकर्ताहरुले जोखिम मोल्न डराउने भएका कारण नै म्युचुअल फन्डमा लगानी गरेका हुन्छन् । उनीहरुको रकममाथि हामीले दवाव दिनु उचित हुदैन” गिरीले भने । सेयर लगानीकर्ता संघका महासचिव नवराज सुवेदीका अनुसार समय समयमा बजारमा देखिएको कृत्रिम र शंकाष्पद गिरावटको कारकहरुलाई पहिचान गर्न बारम्वार संघले नेपाल धितोपत्र बोर्डलाई घच्घच्याइ रहेको छ । संघले लगानीकर्ताहरुलाई आश्वास्त पार्ने र मनोवल बढाउने कार्यहरु पनि गरिरहेको छ सुवेदीले भने हामी नियमनकारी निकायहरुबाट चालिने परिणाममुखी कदमहरुको प्रतिक्षामा रहेका छौ । उनले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको पनि स्पष्ट पारे । १५ सय भन्दा मुनि नेप्से, सबैभन्दा बढी बीमा समूह ओरालो लागे साताको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) ६४.५५ अंकले ओरालो लागेर १४६९.४८ अंकमा अडिएको छ । यसदिन बैकिङ ५२.५४ अंकले, होटल १४६.४ अंकले, विकास बैंक ६५.७७ अंकले जलविद्युत १०४.२९ अंकले फाइनान्स २६.७ अंकले विमा ५६२.९४ अंकले र अन्य १९.०८ अंकले ओरालो लागेको छ । आइतबार सबैभन्दा बढी कारोबार हुनेमा एभरेष्ट बैंक रहेको छ । यसदिन सो बैंकको ११ करोड १२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै शिखर इन्स्योरेन्स, बैंक अफ काठमाडौं लुम्बिनी, मिसन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमोटर सेयर रहेको छ । त्यस्तै सबैभन्दा बढी गुमाउनेहरुमा हिमालयन जनरल इन्स्योरेन्स, साना किसान विकास बैंक, लक्ष्मी लघुवित्त वित्तिय संस्था र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । दिनभर एकसय २८ कम्पनीको ९५ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।