सेयर बजारमा आएको उतारचढाव सामान्य हो: गभर्नर डा.नेपाल
काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले सेयर बजारको उचारचढाव सामान्य भएको बताएका छन् । नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष समेत रहेका गभर्नर नेपालले बजार घट्नु र बढ्नु सामान्य रहेको बताउँदै त्यसलाई ठूलो रुपमा नलिन आग्रह गरे । नेपाल आर्थिक पत्रकार समाजको १९ औ स्थापना दिवसको अवसरमा बोल्दै गभर्नर नेपालले सेयर बजार विश्वव्यापी रुपमा घटबढ हुने भन्दै यसलाई दीर्घकालिन लगानीको रुपमा हेरिनुपर्ने बताए । उनले सेयर बजारमा सवैभन्दा बढी हिस्सा बैंक तथा वित्तिय संस्थाको रहेकोले राष्ट्र बैंकले नजिकबाट नियाली रहेको पनि दावी गरे । ‘पुँजी बजार भनेको छरिएर रहेको पैसा एकीकृत गर्ने हो । सेयरबजारमा जम्मा भएको पैसा पनि कुनै न कुनै संस्थाले कुनै स्थानमा लगानी गरिहेको हुन्छ गभर्नर,’ नेपालले भने । ‘बाणिज्य बैंकहरुको पुँजी आठ अर्व बनाउँदा ठूलो हाउगुजी थियो अहिले तिनै मानिसहरु पुँजी १६ अर्व पुर्याउनुपर्ने, १२ अर्व पुर्याउनुपर्ने भन्दै हिडेका छन्’ उनले भने । बाणिज्य बैंकहरुको पुँजी आठ अर्व बनाउँदा पनि नेपाली जनताले नै आफ्नो पैसा हालेको उनले स्पष्ट पारे । सोही अवसरमा गभर्नर डा.नेपालले भारतीय ५०० र एक हजार रुपैयाँको विषयमा दैनिकजसो रिजर्भ बैंक अफ इन्डिया र भारतीय राजदुतसँग आफ्नो कुराकानी भइरहेको बताए । उनले भने –‘ हाम्रो प्रधानमन्त्री र अर्थमन्त्रीले भारतीय समकक्षीसँग दुईपटक कुराकानी गरिसक्नु भएको छ यसबारे भारत सकारात्मक रहेको छ । त्यसैले ५०० र एक हजार दरका नोट साटिने व्यवस्था अव छिट्टै हुन्छ ।’ त्यस्तै उनले रेमिट्यान्सको बृद्धिदर घट्दो रहेको जनाउँदै आयातमा निर्भर राजस्व र रेमिट्यान्सको भरमा राज्य सञ्चालन हुदा ठूलो दुर्घटना हुन सक्ने पनि बताए । उनले आन्तरिक रुपमा उत्पादन बढाउनका लागि राष्ट्र बैंकले व्यवसायीलाई कर्जा सहजीकरण गरिएको पनि दावी गरे । त्यस्तै कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले देशको व्यापार घाटा चुलिदो रहेको बताए । उनले भने –‘हामीले गतवर्ष ८ अर्बको तरकारी र २३ अर्बको चामल छिमेकी मुलूकबाट आयात गरेछौँ । कृषिको लागि उर्बर भूमीमा बसिरहेका हामी नेपालीले यति ठूलो मात्रामा कृषिजन्य वस्तु आयात गर्नु हाम्रो लागि लज्जाको विषय नै हो । आयात वृद्धि भएर व्यापार घाटा उच्च हुनु द्रुत आर्थिक विकास खोजीरहेका हाम्रो लागि चुनौतीको विषय पक्कै हो । तर, हामी आत्तिनुपर्ने अवस्था मैले देखेको छैन । ’ सोही कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले अव देश आर्थिक विकासमा लाग्नु पर्ने बताए । सो कार्यक्रममा सेजनद्धारा प्रकाशित गरिएको अर्थनीति पनि सार्वजनिक गरिएको थियो ।
सिंहदरबार प्लाजामा ह्याङ्गिङ पार्क बन्दै, महानगरपालिकासँग ८ संस्थाले गरे समझदारी
काठमाडौं, १५ मंसिर । सिंहदरबारको मुल प्रवेशद्वार अघि बायाँतर्फको करिब चार सय मिटर लम्बाइ रहेको स्थानमा अत्याधुनिक ह्याङगिङ पार्क निर्माण प्रक्रिया थालनी गरिएको छ । १ करोड ४२ लाख रुपैयाँ लगानीमा निर्माण हुन लागेको उक्त पार्क काठमाडौं महानगर र त्यस क्षेत्रमा रहेका सरकारी कार्यालयले निर्माण गर्न लागेका हुन् । केन्द्रीय प्रशासनिक सचिवालय अगाडि नमूना स्थान बनाउनु पर्छ भनेर युएन आइ नेपाल नामक ट्रेड युनियन संगठनको पहलमा पार्क निर्माण प्रक्रिया अघि बढेको हो । चालू आवमा निर्माण शुरु गरी आगामी आवसम्म उक्त पार्क निर्माण गरिसक्ने महानगरले बताएको छ । प्रायः पानी जमिरहने गहिरो उक्त स्थान हाल प्रयोगविहिन छ । उक्त पार्क निर्माण गर्नका लागि महानगर र पार्क निर्मण गर्ने स्थलका ८ ओटा कार्यालयबीच सहमति भैसकेको काठमाडौ महानगरपािलकका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए । त्यसमा राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल टेलिभिजनको व्यापार महाशाखा, नेपाल स्टक एक्सचेन्ज, राष्ट्रिय समाचार समित, महिला आयोग, खाद्य संस्थान, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल टेलिकम गरी ८ वटा कार्यालय छन् । सहरको विकासमा नागरिक र महानगर मिलेजस्तै यस क्षेत्रमा पार्क बनाउन सार्वजनिक– सार्वजनिक निकायबीच साझेदारी भएको महानगरपालिकाले जनाएको छ । केही दिनअघि आयोजना गरिएको सरोकार निकायका प्रमुख तथा प्रतिनिधिको बैठकले पार्क निर्माण साझेदारितामा सहमति गरेको हो । २०६८ सालबाट यस स्थानमा पार्क बनाउने विषयमा छलफल भएपनि ठोस रुपमा काम भएको छैन । आधुनिक मोडेलमा निर्माण हुन लागको उक्त पार्क बालबालिक, महिला, अपाङ्गत भएका तथा जेष्ठ नागरिकमैत्री बनाइने छ । पार्कमा सजाएका वस्तुहरु सबै झुण्डिएको जस्तो अवस्थामा देखिने छ । प्राकृतिक हरियाली सहित पार्कलाई मनोरम बनाउन विभिन्न सजावट तथा खेलकुदका सामान तथा वस्तुहरु राखिने तामाङको भनाइ छ । २०६९ सालमा पार्क निर्माणको लागत अनुमानसहित डिजाइन गरिएको थियो । शुरुमा डिजाइनमा काम गर्दा करीव ८२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । अहिले सोही पार्क बनाउन १ करोड ४२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पार्क निर्माणका लागि त्यस क्षेत्रमा रहेका सरकारी कार्यालयमध्ये नेपाल टेलिकमले ४० लाख रुपैयाँ, कृषि अनुसन्धान परिषद्ले ८ लाख रुपैयाँ, नेपाल टेलिभिजन र नेपाल स्टक एक्सचेन्जले ५/५ लाख रुपैयाँ रकम दिने प्रतिवद्धता जनाएका छन् । नपुग रकम महानगरपालिकाले जुटाउने भएको छ ।
४५ करोड खर्चिएर सिम्रिक एयरले दुई हेलिकोप्टर थप्यो, एक महिना भित्रमै नियमित उडानमा
काठमाडौं १५, मंसिर । निजी क्षेत्रको हेलिकोप्टर सेवाप्रदायक सिम्रिक एयरले नयाँ दुईवटा हेलिकोप्टर थप गरेको छ । दसैं आगाडि ल्याएको एउटा हेलिकोप्टर संचालनको तयारीमा रहेको छ भने मंगलबार बेलुकी अर्को एक हेलिकोप्टर काठमाडौं भित्र्याएको छ । यो वायुसेवाले मंगलबार बेल ४०७ जीएक्सपी नामक नयाँ हेलिकोप्टर ल्याएको हो । यो हेलिकोप्टर आज दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक जानकारी दिने पनि सिम्रिक एयरले जानकारी दिएको छ । सिम्रिक एयरका प्रमुख बजार निर्देशक दिलबहादुर ओलीका अनुसार हेलिकोप्टर काठमाडौं विमानस्थलमा आइसकेकोले आज सार्वजनिक गर्ने र आगामी एक महिनाभित्रमा उडान गरिने छ । सिम्रिकले दसैं अगाडि नै एएस ३५० बीथ्रई नामक ६ सिटरको हेलिकोप्टर भित्र्याएको थियो भने अहिले बेलको पाँच सिटर हेलिकोप्टर ल्याएको छ । यो हेलिकोप्टर सिगापुरहुँदै ढाका ल्याएको र हिजै विराटगरबाट काठमाडौं ल्याएको पनि सिम्रिकले जानकारी दिएको छ । सिम्रिकका अनुसार दसैं अगाडि ल्याएको हेलिकोप्टर एसेम्बलको अन्तिम चरणमा रहेको छ भने नयाँ हेलिकोप्टर भने उडाएरै ल्याएकोले तयारी आवस्थामा रहेको छ । सिम्रिकले तीन महिनाको बीचमा दुइवटा हेलिकोप्टर थप गरेको छ । सिम्रिक एयरको अनुसार यो वायुसेवाले करीक ४५ करोड रुपैयाँमा दुईवटा हेलिकोप्टर थप भएको बताएको छ । बजार मूल्य अनुसार पनि एयरवस हेलिकोप्टरको २५ करोड र बेलको करीब २० करोड रुपैयाँ बजार मूल्य रहेको छ । सिम्रिकले २ वटा हेलिकोप्टर थप गरेपनि यो वायुसेवासँग चारवटा हेलिकोप्टर भएको छ । यस अघि सिम्रिकसँग २ वटा एयरवस हेलिकोप्टरका एसएस ३५० बीथ्री ई नामका आधुनिक सुविधाका हेलिकोप्टर छन् । २ वटा थप भएसँगै अब सिम्रिकसँग चारवटा हेलिकोप्टर भएको छ । हेलिकोप्टरमा अर्को नयाँ कम्पनी थप हुँदै पछिल्लो समय आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनीेले धमाधम हेलिकोप्टर थप थर्न थालेका छन् । दसैं लक्षित गर्दै नेपाली आकासमा अल्टिच्युट थपिएको थियो भने अर्को नयाँ कम्पनी एभरेष्ट हेलिले पनि सेवा सुरु गर्ने अन्तिम तयारी गरिरहेको छ । एभरेष्ट हेलिकोप्टरले श्री एयरलाइन्सका दुई वटा एएस ३५० बी थ्री नामक हेलिकोप्टर किनेर सेवा सुरु गर्ने भएको छ । यो हेलिले नेपालको हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान संचालन अनुमति (एओसी) पाउने चरणमा रहेको छ । यो वायुसेवाले एओसीको लागि प्रारम्भि तयारी पूरा गरेकोले एक दुई साताभित्रै उडान गर्ने गरी तयारी थालेको पनि जानकारी दिएको छ । हेलिकोप्टर सेवामा क्रियाशील आधा दर्जन हेलिकोप्टरको तुलनामा फरक रविन्सन्स कम्पनीको सानो हेलिकोप्टरबाट सेवा दिइरहेको प्रभु हेलिकोप्टरल सोही कम्पनीको अर्को हेलिकोप्टर थप गरेको छ । हेलिकोप्टर सेवामा आफ्नो फरक पहिचान बनाएको फिस्टेल एयरले पनि दसैंलाई नै दृष्ट्रिगत गरेर एक नयाँ हेलिकोप्टर थप गरेको छ । यो वायुसेवा कम्पनीले एयरवस हेलिकोप्टरको एएस ३५० बी थ्री नामक हेलिकोप्टर थप गरेर दसैदेखि नै सेवा सुरु गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृति सुमन पाण्डेले बताए । फिस्टेलले सिम्रिक हेलि ट्रेडमार्फत बेलका दुईवटा हेलिकोप्टर खरिदको सम्झौता दसैं अगाडि गरिसकेको छ । नेपाली आकासमा नेपाली सेनाकोसहित फिस्टेल, अल्टिच्यूट, प्रभु, सिम्रिक एयर, श्री एयरलाइन्स, माउन्टेन हेलिकोप्टर्स, एयर डाइनेष्टि, मनाङ एयरले हेलिकोप्टरको सेवा प्रदान गरिरहेका छन् । एभरेष्ट हेलि थप भएपनि यो क्षेत्रमा हेलिकोप्टर सेवा प्रदायक कम्पनी नौ वटा निजी कम्पनी हुने छन् । यी सबै वायुसेवासँग एकदेखि चारवटासम्म हेलिकोप्टर रहेकोले दैनिक १८÷२० वटासम्म हेलिकोप्टर उड्ने गरेको मनाङ एयरका कर्पोरेट प्रमुख राजु न्यौपानेको भनाइ छ ।