नयाँ मौद्रिक नीतिः उत्पादनशिल क्षेत्रमा २५ प्रतिशत कर्जा अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था ल्याएको छ । केन्द्रिय बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युतमा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको न्यूनतम २५ प्रतिशत लगानी गर्नै पर्ने व्यवस्था ल्याएको हो । यस अघि त्यस्तो लगानी २० प्रतिशत मात्रै अनिवार्य गरिएको थियो । त्यस्तै, विकास बैंक र वित्त कम्पनीहरुले समेत प्राथमिकता प्राप्त क्षेत्रमा आफ्नो कुल कर्जाको न्यूनतम क्रमशः १५ प्रतिशत र १० प्रतिशत कर्जाप्रवाह गर्नुपर्ने व्यवस्था नयाँ मौद्रिक नीतिमा कायम गरिएको छ । वाणिज्य बैंकले आप्mनो कुल कर्जा लगानीको ५ प्रतिशत, विकास बैंकहरुले ४.५ प्रतिशत र वित्त कम्पनीहरुले ४ प्रतिशत कर्जा विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था थयावत कायम गरिएको छ । वाणिज्य बैंकहरुले विपन्न वर्ग अन्तर्गत प्रत्यक्ष रुपमा प्रवाह गर्नुपर्ने न्यूनतम २ प्रतिशतको कर्जा अनुपात अनिवार्य नहुने व्यवस्था गरिएको छ ।
पुनर्बिमा कम्पनीले नयाँ कोष स्थापना गर्दै, हवाइ, इन्जिनियरिङ र हाइड्रो समेट्ने
काठमाडौं । नेपाल रि-इन्स्योरेन्स कम्पनीले पुनर्बिमाका नयाँ पुल स्थापनाको लागि छुट्टै कोष बनाउने भएको छ । बिमाका सबै क्षेत्रलाई समेट्नका लागि कम्पनीले पुल खडा गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चिरायु भण्डारीले बताए । ‘हवाइ, इन्जिनियरिङ, लाइभस्टक, हाइड्रो पावर लगायतका क्षेत्रका लागि छुट्टै कोष निर्माण लागेका हौं,’ भण्डारीले भने ‘साइवर क्राइम, नविकरणीय ऊर्जाका क्षेत्रमा पनि विशेष प्याकेजको व्यवस्था गर्ने सोच बन्दैछ ।’ कतिको पुल बन्छ सो वारे भने छलफल भइरहेको छ । उक्त पुल खडा गर्नको लागि विभिन्न विज्ञ तथा अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ । छुट्टाछुट्टै पुल स्थापना भए कार्य सम्पादन गर्न सजिलो हुनाका साथै जोखिम न्यूनीकरण गर्न सजिलो हुने कम्पनीको भनाइ छ । सकभर छिटो कोष स्थापना गरेर विशेष व्यवस्था सहित सो योजनालाई अघि बढाइने छ । जसरी विपत व्यवस्थापनको पहिला सरकारले कोष स्थापना गरेको थियो त्यसरी नै यसको प्रक्रिया पनि अघि बढाइने छ । २०७१ कार्तिकमा कम्पनी स्थापना भएपनि २०७२ साउन १ गतेबाट पुनर्बिमा कम्पनीको रुपमा कार्य सम्पादन गर्न शुरु गरेको हो । त्यति बेला १७ वटा निर्जीवन र पाँच वटा जीवन बिमा कम्पनीसँग व्यवसाय शुरु गरिएको हो । नेपालले आतंककारी कृयाकलापको अतिरिक्त हुलदंगा, हड्ताल तथा रिस इवीपूर्ण जोखिमलाई न्यूनिकरण गर्ने २०६० सालमा आकस्मिक बीमा कोष स्थापना गरेको थियो । सोही कोषलाई पछि पुनर्बिमा कम्पनी स्थापना गरिएको हो । चालु आवमा देशमा सञ्चालित बिमा कम्पनीहरूले यस अवधिसम्म करिब ३ अर्ब रुपैयाँको पुनर्बिमा नेपाल रि-इन्स्योरेन्समा गराएका छन् । गएको वर्ष यस्तो पुनर्बिमा पौने दुई अर्ब रुपैयाँको थियो । बढ्दै गएको बिमा व्यवसायलाई व्यवस्थित र विस्तारित गर्न पुल खडा गरेर कार्य सम्पादन गर्दा सजिलो हुने भण्डारीले बताए । कम्पनीले चालु आवको सो अवधिमा मोटर, अग्नी, इन्जिनियरिङ, मरिनलगायतका पुनर्बिमा वापत २९ करोड १२ लाख दावी भु्क्तानी गरेको छ । जीवन बिमाको प्रिमियम हरेक वर्ष जोडिदै जाने भएपनि निर्जीवन बिमाको प्रिमियम भने हरेक आर्थिक वर्षबाट शुरु हुने र त्यो सालमा त्यसको अवधि सकिने हुन्छ । सरकारले आगामी आवको बजेटमा उल्लेख्य हिस्सा नेपाल पुनर्बीमा कम्पनीमा गराउनु पर्ने व्यवस्था गरेको छ । बजेटले गरेको यो व्यवस्थाले कम्पनीसँग नेपालका बिमा कम्पनीले स्वेदशी पुनर्बिमा कम्पनीसँग हाल १० प्रतिशतमा सीमित रहेको रिइन्स्योरेन्सलाई बढाउन सघाउने छ । यस सम्बन्धमा स्वदेशमा गर्नुपर्ने जति निश्चित प्रतिशत नेपालमा गरिसकेपछि मात्रै बाँकी अन्य विदेशी कम्पनीमा पुनर्बीमा गर्न सकिने छ ।
यी हुन निर्यात बढेका १० नेपाली उत्पादन
काठमाडौँ । चुलिँदो व्यापार घाटाका बिच १० नेपाली उत्पादनको निर्यात भने वृद्धि भएको छ । चालु आर्थिक बर्षको ११ महिनामा १० वटा नेपाली उत्पादनको निर्यात बढेको तथ्यांकले देखाएको हो । यसरी निर्यात बढेका नेपाली उत्पादनहरुमा चिया, छाला, जुस, जडिबुटी, तयारी पोशाक, फेल्टका समान, चाँदीका गहना, फलामका समान, प्राकृतिक तेल, प्राकृतिक रसायन छन् । यीनै १० उत्पादनहरुको निर्यात गत आवको ११ महिनाको तुलनामा २१ दशमलब ४९ प्रतिशतले बढेर २४ अर्ब ९९ करोड ८८ लाख पुगेको हो । गत आवको सोही अवधीमा यी उत्पादनको निर्यात जम्मा २० अर्ब ५७ करोड ५६ लाख रुपैंयाँको मात्रै भएको थियो । कुन उत्पादनको कति बढ्यो निर्यात जनावरको छाला निर्यात ६२ करोड १० लाखबाट बढेर ६८ करोड ४७ लाख पुगेको छ भने चियाको निर्यात २ अर्ब ११ करोडबाट बढेर २ अर्ब ३६ करोड पुगेको छ । तयारी पोषाकको निर्यात ३ अर्ब ३ करोडबाट बढेर ३ अर्ब ४ करोड पुगेको छ । चाँदीका गहनाको निर्यात पनि १२ करोडबाट ५६ लाखबाट बढेर १२ करोड ८८ लाख पुगेको छ ६५ को रकममा बढेको छ । प्राकृतिक तेलको निर्यात २२ करोडबाट बढेर ३६ करोड पुगेको छ भने जुसको निर्यात २ अर्ब ७२ करोेडबाट बढेर ४ अर्ब ८७ करोड पुगेको छ । कटन तथा पोलिष्टरको निर्यात ४ अर्ब ८२ करोडबाट वृद्धि भएर ६ अर्ब १५ करोड पुगेको छ । त्यस्तै, फलामका समानको निर्यात पनि ४ अर्ब २४ करोडबाट बढेर ४ अर्ब ८६ करोड पुगेको छ भने फेल्टको निर्यात १ अर्ब १४ करोडबाट बढेर १ अर्ब ३२ करोड पुगेको छ । प्राकृतिक तेलको निर्यात १ अर्ब ५४ करोडबाट बढेर १ अर्ब ५९ करोड पुगेको छ । नेपालको समग्र निर्यात ५ दशमलब ८ प्रतिशतले बढेर ६७ अर्ब ३५ करोड पुगेका बेला १० वस्तुहरुको निर्यात भने २१ दशलब ४९ प्रतिशतले बढेको हो ।