काठमाडौं महानगरले बढायो कक्षा ११–१२ को छात्रवृत्ति, अब १५ प्रतिशतसम्म विद्यार्थीले पाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनका लागि विद्यार्थीलाई दिने छात्रवृत्ति बढाएको छ । जेठ ३ गते बसेको कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८३ मा छात्रवृत्ति बढाउने व्यवस्था थप गरेसँगै छात्रवृत्ति पाउने प्रतिशत बढाएको हो । यसअगाडि १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको महानगरले अब विद्यालयमा विद्यार्थीको संख्याका आधारमा छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ । जस अनुसार पाँच सय भन्दा कम विद्यार्थी संख्या भएका विद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुपर्ने छ भने ८ सय जनासम्म विद्यार्थी संख्या भएको विद्यालयले १२ प्रतिशत र ८ सयभन्दा धेरै विद्यार्थी भएका विद्यालयले १५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने छ । यसअघि अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७७ बमोजिम कार्यविधिमा यो वर्गीकरण राखेको महानगरले जनाएको छ । छात्रवृत्ति वितरणलाई व्यवस्थित, गुणस्तरीय, न्यायोचित र दिगो बनाउने उद्देश्यले कार्यविधि जारी गरिएको हो । कार्यविधिले महानगरपालिका भित्रका स्थायी बसोबास भएका संस्थागत र सामुदायिक जुनसुकै विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई १९ प्रतिशत, जुनसुकै स्थानका भए पनि संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूका लागि प्रदान गरिने छात्रवृत्तिको संख्या १० प्रतिशत बनाएको छ ।
हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो
अदानचुली । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गए राति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्याएको चङ्खेली–५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए । चङ्खेली–५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका भेँडाबाख्रामा क्षति पुगेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए । उनले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको बताए । हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् । गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ ।
नीति सुधार, गुणस्तरीय शिक्षा र रोजगारमुखी प्रणालीबिना ‘ब्रेन ड्रेन’ रोकिँदैन
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी बाहिरिने क्रम बढिरहेको अवस्थामा विद्यार्थीहरूलाई कसरी नेपालमै रोक्न सकिन्छ भन्ने विषयमा विज्ञहरूले चासो राखेका छन् । अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा नेपालमै पाइरहेको अवस्थामा समेत बाहिरिने विद्यार्थीको संख्या कम नहुँदा अब यो विषयमा आवाज उठाउन ढिलो भइसकेको विज्ञहरूको बुझाइ छ । मंगलबार काठमाडौंमा आयोजित ‘स्टडी इन नेपाल एण्ड ट्रान्सनेशनल एजुकेशन (टीएनई) फोरम २०२६’ सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाल उच्च शिक्षाका लागि अवसर भएको देश भएको बताउँछन् । यसका लागि भएका नीति नियममा संशोधन आवश्यक रहेको उनीहरूको भनाइ छ । नेपाललाई क्षेत्रीय शैक्षिक केन्द्रका रूपमा विकास गर्ने, उच्च शिक्षालाई विश्वस्तरीय बनाउने तथा स्नातकहरूको रोजगार अन्तर कम गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्ने, विदेशी विद्यार्थी आकर्षित गर्ने तथा शिक्षा र रोजगारबीचको दूरी कम गर्ने विषयमा गहन छलफल भएको थियो । कार्यक्रममा बोल्दै ग्लोकल प्रालिका अध्यक्ष आशीष ठाकुरले नेपाल पर्यटनमा आधारित अर्थतन्त्रबाट मात्र अघि नबढी ज्ञान, अनुसन्धान, नवप्रवर्तन र शिक्षामा आधारित अर्थतन्त्र पनि अघि सार्नुपर्नेमा जोड दिए । उनले नेपालमा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट मान्यताप्राप्त ५६ भन्दा बढी शैक्षिक संस्थामा सयौँ विद्यार्थी विद्यार्थी अध्ययन गरिरहेको बताए । उनका अनुसार यस क्षेत्रले कर तथा विद्यार्थी नियमन शुल्क मार्फत राज्यलाई करोडौं रुपैयाँ योगदान गरेको छ । नेपालले गुणस्तरीय तथा सुलभ शिक्षामार्फत अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अलग पहिचान बनाउन सक्ने अवसर प्रशस्त भएकाले सरोकारवाला पक्षले यस्ता कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ । विदेशी विद्यार्थी ल्याउन सकिने नेपाल पर्यटन क्षेत्रमा सुन्दर भएजस्तै शैक्षिक क्षेत्रमा पनि उत्तिकै आर्कषण र सुन्दर बनाउन सकिने शिक्षाका जानकारहरू बताउँछन् । काठमाडौं विश्वविद्यालयका निमित्त उपकुलपति ऋषिकेश वाग्लेले विदेशी विद्यार्थी नेपाली शिक्षाप्रति आकर्षण भएपनि नेपालमा पढ्न आउन झन्झटिलो अवस्थाको चुनौती रहेको बताउँछन् । विद्यार्थी भिसामा नेपाल आउन समस्या रहेको उनको भनाइ छ । काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति तथा अर्थशास्त्रका प्राध्यापक प्रा. डा. अच्युतप्रसाद वाग्लेले नेपाली विद्यार्थी विदेशिँदा खर्बौं रकम बाहिरिएको जानकारी दिए । यो वर्षको ९ महिनामा मात्र १२ खर्ब रकम बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको भन्दै यो रकम नेपालमै रोक्नुपर्नेमा जोड दिए । नेपालमा चिकित्सा शिक्षा, संस्कृत लगायतका विषयमा पढ्न अहिले विभिन्न देशका विद्यार्थी नेपाली विश्वविद्यालयमा आइरहेका छन् । अझ सबैभन्दा बढी काठमाडौं विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययनका लागि आउने विद्यार्थी रहेका छन् । यस्तै, आकर्षण अन्य विषयमा पनि बढाउन सके नेपाल शैक्षिकमात्र नभइ आर्थिक रुपमा समेत अब्बल हुने वाग्लेको भनाइ छ । अन्तर्राष्ट्रिय स्तरका ५६ कलेज शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार नेपालमा विदेशी विश्वविद्यालयबाट मान्यताप्राप्त ५६ भन्दा बढी उच्च शिक्षाका कलेजहरू सञ्चालनमा छन् । मलेसिया, थाइल्याण्ड, युके, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया लगायतका विश्वविद्यालयबाट मान्यता लिएका कलेज नेपालमा सञ्चालन भइरहेका छन् । ती कलेजले नेपाली विद्यार्थीलाई नेपालीमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरिरहेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव परशुराम तिवारीले यस्ता कलेजले नेपाली विद्यार्थीलाई अवसर र चुनौती दुवै भएको बताए । तीन वर्षे कोर्स र चार वर्षे कोर्स पढेका विद्यार्थीलाई नेपाली विश्वविद्यालयमा मास्टर्स डिग्री भर्नामा पनि समस्या देखिएको बताए । विदेशी विद्यार्थीलाई नेपालमा ल्याउने प्रसंगमा तिवारीले कानुनी प्रक्रिया संशोधन आवश्यक रहेको उनी बताउँछन्। ‘हामीले विदेशी विद्यार्थी नेपाल ल्याउन सबैभन्दा पहिले ऐन संसोधन गर्नुपर्छ, अर्को कुरा विदेशबाट पनि गुणस्तरका विद्यार्थीलाई नेपाल ल्याउन सक्नुपर्छ,’ उनले भने । उनले नेपाली विद्यार्थीलाई नेपालमै रोक्न पनि यस्ता संस्थाहरू कडा कदम चाल्नुपर्ने आवश्यकता पनि औंल्याए । नेपाललाई शैक्षिक हब बनाउनुपर्छ ग्लोकल प्रालिका प्रबन्ध निर्देशक काजोल झाले नेपाली विद्यार्थीले विदेशमा राम्रो शिक्षा र अवसर पाए जस्तै नेपालमा पनि अवसर प्रदान गर्न सकिने उल्लेख गर्दै यो क्षेत्रमा कदम चाल्न ढिला भइसकेको बताइन् । उनी भन्छिन्, ‘हामीसँग धेरै विश्वविद्यालयले साझेदारी गरेका छन् । नेपाली विद्यार्थी बाहिर गएकामात्र छैनन्, विदेशी विद्यार्थी पनि नेपाल आइरहेका छन् । तर हाम्रो प्रयास भनेको नेपाली विद्यार्थी १० गुणा बढी पैसा खर्च गरेर बाहिर गइरहेको अवस्थामा उनीहरूलाई यही रोक्नुपर्ने हो । साथै विदेशी विद्यार्थीलाई नेपाल ल्याउन हामीले सक्दो मिहिनेत गर्नुपर्छ ।’ झा गुणस्तस्तरीय शिक्षा नेपालमै प्रदान कसरी गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूलाई घच्घच्याउन र नेपाललाई उच्च शिक्षाको हब बनाउने उद्देश्यले आजको कार्यक्रमको आयोजना गरिएको बताउँछिन् । उच्च शिक्षाका लागि नेपालमा निकै धेरै अवसर रहेको जनाउँदै झाले नेपाललाई जसरी सगरमाथाको नामले चिनिन्छ, त्यसैगरी अब शिक्षाका नामले चिनाउन आवश्यक रहेको बताइन् ।