कामना सेवा विकास बैंकद्वारा दरबार हाई स्कूलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) का गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयको १७२औँ स्थापना दिवस तथा अभिभावक दिवसका अवसरमा बैंकले उक्त सहयोग प्रदान गरेको हो । विद्यालयमा अध्ययनरत करिब १ हजार १०० भन्दा बढी विद्यार्थीमध्ये आर्थिक अभावका कारण पठनपाठन प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै बैंकले छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ । उक्त छात्रवृत्ति बैंकका मार्केटिङ विभाग प्रमुख पर्मा ढुङ्गेलले विद्यालयका प्रधानाध्यापक शारदा कुमारी पौडेललाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले जेहेन्दार तथा अनुशासित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी उनीहरूको हौसला बढाउन र उज्ज्वल शैक्षिक भविष्य निर्माणमा सहयोग पुर्याएकोमा बैंक परिवारप्रति धन्यवाद व्यक्त गरिन् । त्यस्तै, बैंकका मार्केटिङ विभाग प्रमुख ढुङ्गेलले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
एनआईसी एशिया बैंकद्वारा सातै प्रदेशका ७५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौं । एनआईसी एशिया बैंकले सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गता भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सुरु गरेको छ । बैंकले काठमाडौं उपत्यकाबाहिरका सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीबाट प्राप्त आवेदनमध्ये छनोट गरी ७५ जनालाई छात्रवृत्ति प्रदान गरेको हो । सातै प्रदेशका सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिनिधित्व हुने गरी बैंकले छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको थियो । यसअघि पनि बैंकले यस्ता विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई निरन्तर छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसका साथै बैंकले सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको जनाएको छ । सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गता भएका जेहेन्दार विद्यार्थीलाई प्रदान गरिएको यस छात्रवृत्तिले उनीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि हुनुका साथै व्यक्तित्व विकास र अध्ययन निरन्तरतामा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
त्रिभुवन विश्वविद्यालयको शिक्षा विभागले पायो अन्तर्राष्ट्रियस्तरको क्युएए
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यापन क्युएए प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले १२० प्रकारका विभिन्न मापदण्ड परीक्षण गरी शैक्षिक गुणस्तरको अन्तरराष्ट्रिय मापक मानिने ‘क्युएए’ विभागलाई प्रदान गरिएको हो । विभागद्वारा आज आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो । शिक्षा विभागका प्राध्यापक केशव पौडेलका अनुसार गुणस्तरीय शैक्षिक उपलब्धि एवं गुणस्तरीय भौतिक पूर्वाधारको पर्याप्त भएको अवस्थामा मात्र दिइन्छ । ‘यसका लागि उत्तीर्ण दर उच्च हुनुपर्ने, अनुसन्धानात्मक अध्ययनका लागि विशेष व्यवस्था भएको हुनुनपर्नेलगायतका पूर्वसर्त रहेका छन् । क्युएए प्राप्त भएपछि राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा पनि गुणस्तरीय शैक्षिक संस्थाको हैसियत प्राप्त हुने छ’, उनले भने । तीन चरणको क्युएएमध्ये विभागले अहिले पहिलो चरणको क्युएए पाएको हो । अहिलेभन्दा थप गुणस्तर सुधारेमा दोस्रो चरणको क्युएए प्राप्त हुन्छ भने तेस्रो चरणको क्युएए प्राप्त गरेपछि विभागले मानक विश्वविद्यालयको मान्यता पाउँछ । प्राप्त क्युएए मान्यतालाई जोगाउन र दोस्रो तहको क्युएए पाउन बेरुजु कम गर्न लगायतका आर्थिक सुव्यवस्था कायम गर्नुपर्ने प्राध्यापक पौडेलको भनाइ थियो । कार्यक्रममा बोल्दै सङ्कायका वेदराज आचार्यले विभागले धरै मेहेनतपछि क्युएए प्राप्त गरेका बताउँदै उनले अन्य क्याम्पसका लागि पनि यसले प्रेरणा प्रदान गर्ने बताए । अनुसन्धानमा पर्याप्त बजेट छुट्याउनुपर्ने उनको भनाइ थियो । सङ्कायका पूर्वडिन एवं प्राध्यापक चित्रबहादुर बुढाथोकीले थप राम्रो काम गर्न क्युएए मान्यताले प्रेरणा दिएको बताए । ‘धेरै क्युएए पाएका कलेजको अवस्था पाउनुभन्दा अघिको भन्दा नाजुक भएको देखिन्छ, यसतर्फ सगज हुनुपर्छ’, उनले भने । यसका लागि शिक्षक विद्यार्थीको नियमित उपस्थिति मात्र नभई समग्र शैक्षिक वातावरण सुधार्नुपर्ने उनले बताए ।