काठमाडौं । वर्षौंदेखि नेपालको परीक्षा प्रणालीमाथि लाग्दै आएको एउटा प्रमुख आरोप थियो ‘नतिजा ढिलो आउनु ।’ माध्यमिक परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा सकिएको दुई-तीन महिनापछि मात्र नतिजा सार्वजनिक हुँदा विद्यार्थीले नयाँ शैक्षिक सत्र गुमाउँथे । विदेश अध्ययनको तयारी गर्नेहरू भर्ना, छात्रवृत्ति र भिसाको समयसीमा चुकाउँथे ।
विश्वविद्यालय र विद्यालयको ढिलासुस्तीप्रति निराशा बढ्दै जाँदा धेरैले नेपालको शिक्षा प्रणालीलाई नै प्रश्न गर्न थालेका थिए । यही आलोचनालाई चिर्न सरकारले यस वर्ष एसईई र कक्षा १२ दुवैको नतिजा विगतभन्दा निकै छोटो समयमा सार्वजनिक ग¥यो । समयमै नतिजा प्रकाशनलाई शिक्षा क्षेत्रको उपलब्धिका रूपमा मात्र प्रस्तुत गरिएन कि, सामाजिक सञ्जालदेखि सरकारी मञ्चसम्म यसको प्रशंसा पनि भयो ।
विज्ञहरूले समेत शिक्षा मन्त्री पोखरेलको तारिफ गरे । बोल्ने भन्दा बढी काम गर्ने, गर्न नसकेका कामलाई सार्वजनिक गर्दै आगामी दिनमा गर्ने प्रतिबद्धता जनाउने मन्त्रीको काम प्रति विज्ञहरू पनि सकारात्मक छन् । धेरैले यसलाई नेपालको परीक्षा प्रणाली सुधारतर्फको सकारात्मक संकेतका रूपमा व्याख्या पनि गरे । तर, छिटो नतिजा निकाल्ने यही हतारले अर्को गम्भीर प्रश्न जन्माएको छ, के नतिजा समयमै दिनकै लागि त्यसको विश्वसनीयतासँग सम्झौता गरियो ?
नतिजा सार्वजनिक भएको केही दिन नबित्दै देशभरबाट अंक फरक परेको, फेल विद्यार्थी पुनः जाँचपछि पास भएको, जीपीए परिवर्तन भएका घटनाहरू सार्वजनिक हुन थाले । कतिपय विद्यार्थीले ल्याउनुपर्ने जीपीए नल्याउँदा राम्रो कलेज भर्ना हुने अवसर समेत गुमाएका छन् भने, राम्रो विषय समेत पढ्न छुटाए । कसैले विदेश अध्ययनको प्रक्रिया समेत रोक्नुपरेको विद्यार्थीको गुनासो छ ।
एसईईमा राम्रो अंक ल्याएका एक विद्यार्थीले कक्षा १२ मा आएको नतिजाले आफूलाई ठूलो मानसिक तनाव दिएको बताए । १२ कक्षाको नतिजा सार्वजनिक भएको केही दिनमा माइतीघरमा भेटिएका उनले आफूले अपेक्षा गरेको भन्दा विपरित नतिजा आउँदा आफूसँग परिवारमा आमाबुबालाई पनि तनाव भएको सुनाएका थिए ।
कक्षा एकदेखि नै राम्रो नतिजा ल्याइरहेका उनले कक्षा १२ मा ए प्लसको अपेक्षा गरेकोमा उल्टै विषय लागेको नतिजा देख्दा अचम्म परेको सुनाएका थिए । उनी जस्ता आफ्नो नतिजाप्रति चित्त नबुझेका विद्यार्थीले रिटोटलिङका लागि आवेदन दिएका थिए । उनीहरू मध्ये धेरैको नतिजा अहिले सुधारिएर आएको छ ।
७४७ जनाको नतिजा फेरियो, प्रणालीमाथि प्रश्न
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गर्यो । ४ लाख १८ हजार १ सय ७० विद्यार्थी सहभागी भएको परीक्षाको नतिजा ४० दिन नपुग्दै सार्वजनिक भएपछि सरकारले यसलाई परीक्षा व्यवस्थापनको ठूलो उपलब्धि भन्दै खुसी बनायो । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले छोटो समयमै नतिजा सार्वजनिक भएको भन्दै सामाजिक सञ्जालमा खुसी मनाए ।
तर त्यो खुसी धेरै दिन टिकेन । नतिजा सार्वजनिक भएको केही घण्टामै सामाजिक सञ्जालदेखि सडकसम्म विद्यार्थीको आक्रोश पोखिन थाल्यो । आफूले राम्रो लेखेको विषयमै ’नन ग्रेडेड (एनजी)’ आएको, प्राप्तांक वास्तविक नदेखिएको र मूल्याङ्कनमा गम्भीर लापरबाही भएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिए । उनीहरूले नतिजा पुनः परीक्षण गर्न माग गर्दै सडक आन्दोलनसमेत गरे ।
बढ्दो दबाबपछि शिक्षा मन्त्रालयले छानबिन समिति गठन गर्यो । निष्पक्ष अध्ययन गर्ने प्रतिबद्धतापछि आन्दोलन स्थगित भए पनि विवाद भने रोकिएन । राष्ट्रिय परीक्षा बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीका लागि प्रति विषय एक हजार रुपैयाँ शुल्कसहित पुनर्योग (रिटोटलिङ) को व्यवस्था गर्यो । शुल्क अत्यधिक भएको भन्दै विद्यार्थीले त्यसको पनि विरोध गरे । तर विकल्प नदेखेपछि ३३ हजार २ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिए ।
पुनर्योगको नतिजाले भने विद्यार्थीको शंका निराधार नरहेको संकेत गर्यो । राष्ट्रिय परीक्षा बोर्डका उपनियन्त्रक कृष्ण घिमिरेका अनुसार पुनर्योगका लागि आवेदन दिएका ३३ हजार २ सय विद्यार्थीमध्ये ७ सय ४७ जना (२.२३ प्रतिशत) को नतिजा परिवर्तन भयो । त्यसमध्ये १ सय २९ जना विद्यार्थी, जसको नतिजामा पहिले ’नन ग्रेडेड (एनजी)’ उल्लेख थियो, पुनः परीक्षणपछि ग्रेड प्राप्त गर्न सफल भए । अझ कतिपय विद्यार्थीले पहिले एनजी देखिएको विषयमै पुनर्योगपछि ए प्लससम्मको ग्रेड प्राप्त गरे । यो तथ्याङ्कले पनि उत्तर पुस्तिाका परिक्षण गर्दा त्रुटी रहेको स्फष्ट हुन्छ ।
एसईईमा समेत गल्ती
उस्तै प्रश्न माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामाथि पनि उठेको थियो । सरकारले परीक्षा सकिएको करिब ३० दिनमै एसईईको नतिजा सार्वजनिक गरेर परीक्षा व्यवस्थापनमा नयाँ गति आएको दाबी गरिरहँदा त्यसको केही दिनमै विद्यार्थीले नतिजाको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए । आफूले अपेक्षा गरेभन्दा निकै कम ग्रेड आएको, उत्तरपुस्तिका सही रूपमा परीक्षण नभएको र प्राप्ताङ्कमा त्रुटि भएको गुनासो गर्दै हजारौं विद्यार्थीले रिटोटलिङ का लागि आवेदन दिए । पुनः परीक्षणपछि सार्वजनिक भएको नतिजाले विद्यार्थीको आशंका निराधार नभएको देखायो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई नतिजामा चित्त नबुझेका ३३ हजार ८ सय ७० विद्यार्थीले उत्तरपुस्तिका पुनः परीक्षणका लागि आवेदन दिएका थिए । तीमध्ये १ हजार ५ सयभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन भयो । अर्थात् प्रारम्भिक नतिजामा भएको त्रुटि पुनः परीक्षणपछि सच्याउनु पर्यो ।
परीक्षा नियन्त्रण कार्यालयका नारायण रेग्मीका अनुसार अधिकांश त्रुटि उत्तरपुस्तिका परीक्षणकै क्रममा भएको पाइएको छ । शिक्षकले प्राप्ताङ्क जोड्दा नै गल्ती गरेका, कतिपय उत्तरपुस्तिकामा अङ्क गणनामा त्रुटि भएको र त्यसबाहेक कम्प्युटरमा विवरण प्रविष्ट (इन्ट्री) गर्दा पनि गल्ती भएको उनले बताए । ‘धेरैजसो कमजोरी उत्तरपुस्तिका परीक्षणकै क्रममा भएको देखियो । धेरै उत्तरपुस्तिकामा शिक्षकले प्राप्ताङ्क जोड्दा गल्ती गरेका थिए । त्यसबाहेक कम्प्युटरमा इन्ट्री गर्दा पनि त्रुटि भएको पाइयो,’ रेग्मीले भने ।
पूरक परीक्षाको नतिजामाथि पनि विद्यार्थीले पुनः परीक्षणको माग गरेका छन् । रेग्मीका अनुसार हाल ६ हजार ४ सय ३७ विद्यार्थीले रिटोटलिङका लागि आवेदन दिएका छन् । पुनः परीक्षणको प्रक्रिया अन्तिम चरणमा रहेको र एक साताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
विश्वसनीयतामाथि प्रश्न
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने देशका दुई ठूला सार्वजनिक परीक्षा एसईई र कक्षा १२ को नतिजामा लगातार देखिएका त्रुटिले परीक्षा प्रणालीको विश्वसनीयतामाथि नै प्रश्नचिह्न खडा गरेको छ । एउटै वर्ष दुवै तहका परीक्षामा पुनः परीक्षणपछि सयौं विद्यार्थीको नतिजा परिवर्तन हुनु सामान्य प्रशासनिक कमजोरी मात्र नभई मूल्याङ्कन प्रणालीको गुणस्तरमाथिको गम्भीर प्रश्न बनेको छ ।
नतिजा सार्वजनिक गर्ने गति बढेको भन्दै सरकारले सफलता दाबी गरिरहँदा विद्यार्थी र अभिभावक भने के समयमै नतिजा दिनकै लागि त्यसको शुद्धतासँग सम्झौता गरिएको हो ? भन्दै प्रश्न गरिरहेका छन् । शिक्षा क्षेत्रका विज्ञहरू भने समस्या केवल छिटो नतिजा सार्वजनिक गर्नुमा मात्र नरहेको बताउँछन् । उनीहरूका अनुसार विगतमा पनि पुनर्योग (रिटोटलिङ) हुने गरेको थियो । तर यस वर्ष देखिएको त्रुटिको मात्रा र प्रकृतिले उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रमाणीकरण प्रक्रियाको गुणस्तरमाथि प्रश्न उठाएको छ ।
चाँडो नतिजा सार्वजनिक भएकैले मात्रै यी सबै गल्ती भएका हुन् भन्ने निष्कर्ष निकाल्न मिल्दैन, शिक्षाविद् डा. विष्णु कार्की भन्छन्, ‘मुख्य प्रश्न उत्तरपुस्तिका परीक्षणका लागि कस्ता जनशक्ति परिचालन गरियो, उनीहरूको क्षमता, तालिम र उत्तरदायित्व कस्तो थियो भन्ने हो । गुणस्तर नियन्त्रण प्रभावकारी नहुँदा यस्ता त्रुटि दोहोरिने जोखिम रहन्छ ।’
उनका अनुसार समयमै नतिजा सार्वजनिक गर्नु सकारात्मक पक्ष भए पनि त्यसको अर्थ त्रुटिपूर्ण नतिजा सार्वजनिक गर्ने छुट होइन । उनी भन्छन्, ‘यदि छिटो नतिजाको मूल्य विद्यार्थीले आफ्नो भविष्य, मानसिक तनाव, कलेज भर्ना वा विदेश अध्ययनको अवसर गुमाएर चुकाउनुपर्छ भने त्यसलाई उपलब्धि भन्न सकिँदैन ।’
गल्ती स्वीकार्न तयार छैन बार्ड
एसईई र कक्षा १२ दुवै तहका परीक्षामा सयौं विद्यार्थीको नतिजा पुनः परीक्षणपछि परिवर्तन भएपछि विद्यार्थी र अभिभावकले यसको जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्ड र सरकारमाथि थोपरेका छन् । छिटो नतिजा सार्वजनिक गर्ने हतारमा सरकार र बोर्डले गुणस्तरमा सम्झौता गर्दा विद्यार्थीको भविष्य जोखिममा परेको विद्यार्थीको आरोप छ ।
तर, यी आरोप स्वीकार्न न शिक्षा मन्त्रालय तयार देखिन्छ, न राष्ट्रिय परीक्षा बोर्ड । बोर्डका पदाधिकारी भने पुनर्योगपछि नतिजा परिवर्तन हुनु अस्वाभाविक नभएको दाबी गर्छन् । उनका अनुसार हरेक वर्ष पुनः परीक्षणका क्रममा केही विद्यार्थीको नतिजा परिवर्तन हुने गरेको छ, त्यसैले यसलाई बोर्डको लापरबाहीका रूपमा व्याख्या गर्न नमिल्ने उनीहरूको तर्क छ ।
राष्ट्रिय परीक्षा बोर्डकी सहसचिव तथा प्रवक्ता जयन्ती सत्याल भन्छिन्, ‘अघिल्ला वर्षहरूमा पनि नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनः परीक्षणका लागि आवेदन दिने र त्यसक्रममा कसैको नतिजा परिवर्तन हुने, कसैको नहुने हुँदै आएको हो। यस वर्ष पनि त्यही प्रक्रिया दोहोरिएको हो ।’
बोर्डले भने नतिजामा देखिएका अधिकांश त्रुटिको जिम्मेवारी उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकहरू माथि राखेको छ। सत्यालका अनुसार कतिपय अवस्थामा शिक्षकले कुनै प्रश्न नै परीक्षण गर्न छुटाउने, कतै प्राप्ताङ्क जोड्दा त्रुटि गर्ने र कतिपय अवस्थामा उत्तरपुस्तिकाबाट प्राप्ताङ्क पोस्टिङ गर्दा गल्ती हुने गरेको पाइएको छ । ‘हामी शिक्षकले पोस्ट गरेको प्राप्ताङ्कका आधारमा मात्रै डाटा इन्ट्री गर्छौं। त्रुटि एउटै प्रकृतिको हुँदैन। कतै प्रश्न परीक्षण गर्न छुटेको हुन्छ, कतै प्राप्ताङ्क पोस्टिङमै गल्ती हुन्छ,’ उनले भनिन् ।