विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर केसी नियुक्त भएका छन् । बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । त्यसैगरी, सचिव पदमा प्रा.डा. रोजिश श्रेष्ठ नियुक्त भएकी छन् ।

सरकारले भृकुटीमण्डपको सार्वजनिक पुस्तकालयको ताला खोल्यो

काठमाडौं । सरकारले भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयकाे ताला खोलेको छ ।  समाज कल्याण परिषद्ले चैत ३० गते देखि बन्द गरेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला परिषद् बुधबार खोलिएको हो । समाज कल्याण परिषद्ले ताला खोलिने जानकारी सहित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयलाई प्रतिनिधि पठाइदिन पत्र लेखेको छ ।  पुस्तकालयले भाडा नतिरेको कारण देखाउँदै समाज कल्याण परिषदले अन्य व्यवसायीक स्टलसँगै पुस्तकालय पनि बन्द गरेको थियो ।  पुस्तकालय बन्द गरेपछि सरकारी निर्णयको चौतर्फी विरोध भएपछि सरकार आफैंले ताला खोल्न लागेको हो । 

शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका खारेज

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ । मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै मन्त्रिस्तरीय निर्णयबाट उक्त निर्देशिका खारेज गरिएको जनाएको हो । सूचनाअनुसार नेपाल सरकारले स्वीकृत गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेपछि निर्देशिका खारेज गरिएको हो ।  नियमावली कार्यान्वयनका क्रममा विभिन्न विवाद तथा अन्योल उत्पन्न अवस्थालाई मध्यनजर गर्दै २०८३ साउन १९ गते भएको मन्त्रिस्तरीय निर्णयबाट शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरिएको मन्त्रालयले जनाएको छ । उपसचिव सेमन्तराज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबै पक्षलाई उक्त निर्णयबारे जानकारी गराइएको उल्लेख छ ।