योजना आयोग र त्रिविबीच सहकार्य, नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन

काठमाडौं । राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य हुने भएको छ ।  नीति अनुसन्धान प्रतिष्ठानको  गठन आदेश संशोधनसँगै योजना आयोग र त्रिविबीच समन्वय बढ्ने भएको हो ।      राजपत्रको भाग–३ मा प्रकाशित ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) आदेश दोस्रो संशोधन, २०८३’ मा बोर्डको संरचनामा हेरफेर भएसँगै योजना आयोगका उपाध्यक्ष पदेन अध्यक्ष रहने व्यवस्था छ  ।       बोर्डमा त्रिविका उपकुलपति र नेपाल सरकारबाट मनोनीत दुई सदस्य रहनेछन् भने कार्यकारी निर्देशकले बोर्डको सचिवको जिम्मेवारी बहन गर्नेछन् ।  योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको अध्यक्षता र त्रिविका उपकुलपति डा. भोला थापासहितको उपस्थितिमा बोर्डको पहिलो बैठक हालै सम्पन्न भएको छ ।       प्रतिष्ठानका सहायक प्रवक्ता कृष्णप्रसाद विकले नयाँ व्यवस्थाले आयोग र विश्वविद्यालयसँग नीतिगत र प्राज्ञिक समन्वय बढ्ने बताए ।     विशेषज्ञ समूह (थिङ्क ट्याङ्क) मानिने प्रतिष्ठानले अध्ययनका मुद्दा र विषयवस्तुका लागि संविधानका निर्देशक सिद्धान्त र राज्यका नीतिलाई अवलम्बन गर्दै आएको छ ।  नेपालको सामरिक मामिला, अन्तररष्ट्रिय सम्बन्ध, कूटनीति एवं परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनुपर्ने उपायका बारेमा नेपाल सरकारलाई नीतिगत सुझाव दिने कार्य प्रतिष्ठानले गर्दै आएको छ ।     निजामती वा सार्वजनिक सेवालाई थप प्रभावकारी, जवाफदेही, मर्यादित, कुशल तथा व्यावसायिक बनाउन गर्नुपर्ने सुधारलगायतका  सम्बन्धमा सरकारलाई सुझाव दिने जिम्मेवारी दिइएको छ ।          विसं २०७५ मा नेपाल सरकारले नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश जारी गरेको थियो । बोर्डले नेपाल सरकारसँग सम्पर्क गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत गर्दै आएको छ ।  

विदेश पढ्ने हजारौं विद्यार्थीको करिअर ठप्प

काठमाडौं । विदेशमा वर्षौं समय, श्रम र ठूलो रकम खर्च गरेर उच्च शिक्षा पूरा गरेका सयौं नेपाली विद्यार्थी अहिले आफ्नै देशमा एउटा कागजको पर्खाइमा छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले समकक्षता वितरण कार्य रोकेपछि उनीहरू रोजगारी, थप अध्ययन र पेशागत दर्ताजस्ता महत्त्वपूर्ण अवसर गुम्ने हो कि भन्ने चिन्तामा परेका छन् । विदेशबाट प्राप्त शैक्षिक उपाधिलाई नेपालमा आधिकारिक मान्यता दिन आवश्यक पर्ने समकक्षता प्रमाणपत्र अहिले उपलब्ध नहुँदा धेरै विद्यार्थीको योजना बीचमै रोकिएको छ । अध्ययन सकेर नेपालमै भविष्य बनाउन फर्किएकाहरू अहिले न जागिरका लागि सहज रूपमा आवेदन दिन सकिरहेका छन्, न त उच्च अध्ययनको अर्को यात्रा अघि बढाउन । समकक्षता नहुँदा कतिपय विद्यार्थीले नेपालका विश्वविद्यालयमा स्नातकोत्तर, एमफिल वा विद्यावारिधि अध्ययनका लागि भर्ना हुन पाएका छैनन् । सरकारी सेवामा प्रवेश गर्न चाहनेहरू लोकसेवा आयोग तथा अन्य सरकारी निकायमा आवेदन दिनबाट वञ्चित भएका छन् । निजी क्षेत्रका केही संस्थाले पनि विदेशी शैक्षिक योग्यताको आधिकारिक मान्यताका लागि समकक्षता प्रमाणपत्र अनिवार्य माग्ने गरेका छन् । यति मात्र होइन, चिकित्सक, नर्स, फार्मासिस्ट, इन्जिनियरलगायतका पेशामा आबद्ध हुन सम्बन्धित पेशागत परिषदमा दर्ता गर्न पनि समकक्षता अपरिहार्य छ । समकक्षता नहुँदा उनीहरू अध्ययन पूरा गरेर पनि आफ्नो पेशा सुरु गर्न नसक्ने अवस्थामा पुगेका छन् । सबैभन्दा बढी मार भने काठमाडौं बाहिरबाट आएका विद्यार्थीलाई परेको छ । समकक्षता प्रक्रिया पूरा गर्ने आशामा राजधानी आएका धेरै विद्यार्थीले अपेक्षाभन्दा लामो समय बस्नुपरेको छ । बसोबास, खानपिन र यातायातमा थप खर्च बेहोर्दै उनीहरू दिनहुँ सम्बन्धित निकायको चक्कर काट्न बाध्य छन् । सेवा कहिलेदेखि सुरु हुन्छ भन्ने स्पष्ट जानकारी नहुँदा उनीहरूको अन्यौल झन् बढेको छ । किन रोकियो समकक्षता ? विदेशबाट फर्किएका विद्यार्थीलाई अन्यौलमा पार्ने गरी समकक्षता वितरण सेवा रोक्नु त्रिभुवन विश्वविद्यालयको आफ्नै निर्णय भने होइन । यसको कारण सरकारले परिवर्तन  गरेको कानुनी व्यवस्था हो । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले असार ३२ गते जारी गरेको सूचनाअनुसार ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ मार्फत विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ संशोधन गरिएको छ ।  संशोधित व्यवस्थाले उच्च शिक्षाका विदेशी उपाधिको समकक्षता निर्धारण तथा प्रमाणपत्र वितरण गर्ने अधिकार त्रिभुवन विश्वविद्यालयबाट झिकेर विश्वविद्यालय अनुदान आयोगलाई दिएको छ । कानुनी व्यवस्था कार्यान्वयनमा आएसँगै त्रिविले आफूले गर्दै आएको समकक्षता वितरण सेवा रोक्न बाध्य भएको हो । पाठ्यक्रम विकास केन्द्रका अनुसार साउन १ गते (शुक्रबार) रातिदेखि समकक्षतासम्बन्धी नयाँ अनलाइन आवेदनसमेत बन्द गरिएको छ । २०३४ सालदेखि विदेशमा अध्ययन गरी फर्केका विद्यार्थीको शैक्षिक उपाधिको समकक्षता वितरण गर्दै आएको थियो । जहाँ बर्सेनि १ हजार पाँच सय भन्दा बढी विभिन्न विश्वविद्यालयबाट अध्ययन गरेर फर्केका विद्यार्थीले उपाधिको समकक्षताका लागि निवेदन दिँदै आएका थिए ।  सबैभन्दा बढी भारत, चीन, अष्ट्रेलिया, जापान, अमेरिका बेलायत लगायतका विश्वविद्यालयबाट अध्ययन गरेर फर्केका विद्यार्थी छन् । अहिले त्रिविमा समकक्षताका लागि ७ हजार विद्यार्थीले निवेदन दिएका छन् । अधिकार आयोगलाई, तयारी अझै अपूरो कानुनले उच्च शिक्षाका विदेशी उपाधिको समकक्षता निर्धारण गर्ने अधिकार विश्वविद्यालय अनुदान आयोग (यूजीसी) लाई दिएको छ । तर जिम्मेवारी हस्तान्तरण भए पनि सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा हुन नसक्दा विद्यार्थीले समकक्षता प्राप्त गर्न अझै पर्खिनुपर्ने अवस्था बनेको छ । आयोगले समकक्षता वितरणसम्बन्धी नियमावली तयार गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा स्वीकृतिका लागि पठाएको भए पनि हालसम्म त्यसमा निर्णय हुन सकेको छैन । आयोगका अधिकारीहरूका अनुसार नियमावली स्वीकृत भएपछि मात्रै समकक्षता वितरणको प्रक्रिया औपचारिक रूपमा सुरु गर्न सकिनेछ । अहिले नियमावली मन्त्रालयमै विचाराधीन रहेकाले सेवा सञ्चालन अन्योलमै छ । नियमावलीको ढिलाइ मात्र होइन, आयोगको आफ्नै संस्थागत अवस्था पनि अर्को चुनौती बनेको छ । समकक्षता वितरणका लागि आवश्यक जनशक्ति, विषयगत विज्ञ तथा प्रशासनिक संयन्त्र आयोगमा अझै तयार भइसकेको छैन ।  लामो समयदेखि आयोग अध्यक्ष, सदस्य सचिवसहितका महत्त्वपूर्ण पद रिक्त रहँदा नीतिगत निर्णय र प्रशासनिक प्रक्रिया प्रभावित भएको छ । यही कारण समकक्षताको अधिकार पाए पनि आयोग तत्कालै प्रभावकारी रूपमा सेवा दिन सक्ने अवस्थामा नरहेको सरोकारवालाहरूको बुझाइ छ । विश्वविद्यालय अनुदान आयोगका पूर्वसचिव प्रा. डा. शंकरप्रसाद भण्डारी पनि आयोगको वर्तमान अवस्थालाई हेर्दा तत्काल सेवा सुचारु हुनेमा आशावादी देखिँदैनन् । ‘आयोग आफै संस्थागत रूपमा पूर्ण छैन । आयोगमा अहिले आवश्यक जनशक्ति छैन । नेतृत्वका प्रमुख पद अध्यक्ष र सदस्य सचिव नै रिक्त छन् । यस्तो अवस्थामा तत्काल समकक्षता वितरणको काम प्रभावकारी रूपमा सुरु गर्न सकिन्छ भन्ने आधार देखिँदैन,’ उनले भने । समकक्षता वितरण सेवा अवरुद्ध हुँदा विद्यार्थी अन्यौलमा परिरहेका बेला शिक्षा तथा  खेलकुद मन्त्रालय भने यो समस्या लामो समय नटिक्ने दाबी गर्छ ।  मन्त्रालयका अधिकारीहरूका अनुसार समकक्षता वितरणलाई कानुनी र प्रशासनिक रूपमा सञ्चालन गर्न आवश्यक नियमावली अन्तिम चरणमा पुगेको छ र त्यसलाई छिट्टै स्वीकृत गरी विश्वविद्यालय अनुदान आयोगलाई कार्यान्वयनका लागि पठाइने तयारी भइरहेको छ । मन्त्रालयका प्रवक्ता विकुमार सापकोटा भन्छन्, ‘जिम्मेवारी हस्तान्तरणको संक्रमणकालका कारण केही समय सेवा प्रभावित भएको छ । तर यो अवस्था अस्थायी मात्रै भएको भन्दै आवश्यक कानुनी प्रक्रिया टुंग्याएर समकक्षता वितरणको काम यथाशीघ्र सुरु गरिने छ ।’ उनका अनुसार नियमावली स्वीकृत हुनेबित्तिकै आयोगले समकक्षता वितरणको प्रक्रिया अघि बढाउनेछ । उनी अहिले देखिएको अन्योल चाँडै अन्त्य हुने र विद्यार्थीले धेरै समय कुर्नु नपर्ने बताउँछन् । यद्यपि मन्त्रालयले सेवा छिट्टै सञ्चालन हुने आश्वासन दिइरहे पनि समकक्षताको प्रतीक्षामा रहेका विद्यार्थी भने आश्वासनभन्दा कार्यान्वयनको पर्खाइमा छन् ।                                                                                                                                                                                       

लियो डिस्ट्रिक्ट ३२५ जे नेपालको क्लब अफिसर्स स्कुलिङ, १५६ भन्दा बढीको सहभागिता

काठमाडौं । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालद्वारा आयोजित तथा काठमाडौंस्थित सम्पूर्ण लियो क्लबहरूको संयुक्त आतिथ्यमा ‘क्लब अफिसर्स स्कुलिङ’ कार्यक्रम शनिबार बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजमा सम्पन्न भएको छ । कार्यक्रम लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालका डिस्ट्रिक्ट भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो माधव तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर लायन कुश प्रसाद मल्लीले सेवामूलक नेतृत्व, अनुशासन, सहकार्य तथा उत्तरदायी कार्यशैलीमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन लियो सदस्यहरूलाई प्रेरित गरे ।  प्रमुख प्रशिक्षक लायन आर.बी. अधिकारीले प्रभावशाली तथा प्रेरणादायी प्रशिक्षण सत्र सञ्चालन गर्दै सहभागीहरूलाई नेतृत्व विकास, व्यक्तिगत क्षमता अभिवृद्धि तथा सेवामूलक जीवनप्रति उत्प्रेरित गरे ।  कार्यक्रममा डिस्ट्रिक्ट ३२५ जे नेपालका सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन कृष्ण प्रसाद शर्मा, लायन सुमित्रा खड्का, साउथवेस्टर्न स्टेट कलेजका एसोसिएट चिफ डा. हरि सिंह केसी, राजेन्द्र लामिछाने, कलश स्टक मार्केटका प्रतिनिधि सालिक अधिकारी, ग्रेस इन्टरनेशनल, गिफ्ट्स हेभेनका प्रतिनिधिहरू तथा डिस्ट्रिक्ट एड्भाइजरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।  कार्यक्रमको प्रारम्भ लियो बन्दना भट्टराई र लियो मोनिका भट्टराईद्वारा प्रस्तुत आकर्षक स्वागत नृत्यबाट भएको थियो भने डिस्ट्रिक्ट ट्रेजरर लियो बिनिता बोगटीले स्वागत मन्तव्य व्यक्त गर्दै सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए । कार्यक्रमको संयोजन लियो प्रतीक्षा पहाडीले गरेका थिए भने सञ्चालन ट्रेनिङ पुल सेक्रेटरी लियो गणेश पाण्डेले गरेका थिए । कार्यक्रममा विभिन्न लियो क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष, बोर्ड तथा समिति सदस्य एवं साधारण सदस्य गरी १५६ भन्दा बढी लियो नेतृत्वकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।  कार्यक्रमअन्तर्गत पदअनुसार छुट्टाछुट्टै प्रशिक्षण सञ्चालन गरिएको थियो । डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाले अध्यक्ष, उपाध्यक्ष तथा मेम्बरसिप ग्रोथ चेयरपर्सनहरूलाई प्रशिक्षण दिएका थिए । डिस्ट्रिक्ट एड्भाइजर लियो-लायन विशाल रिजालले सचिव तथा सह-सचिवहरूलाई, डिस्ट्रिक्ट एड्भाइजर लियो–लायन निरञ्जन डंगोलले कोषाध्यक्षहरूलाई, डिस्ट्रिक्ट एड्भाइजर लियो सबिन भट्टराईले टेमर, टेल ट्विस्टर तथा पब्लिक रिलेसन अफिसरहरूलाई प्रशिक्षण दिएका थिए । त्यसैगरी, इमिडियट पास्ट डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो बालकृष्ण परियारले डिस्ट्रिक्ट बोर्ड सदस्यहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो भने डिस्ट्रिक्ट डाइरेक्टर लियो सुदीप राज फुयाँल र डिस्ट्रिक्ट भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो माधव तिमिल्सिनाले अन्य बोर्ड तथा समिति सदस्यहरूलाई प्रशिक्षण दिएका थिए । साथै, नयाँ तथा साधारण सदस्यहरूका लागि लायनवाद, नेतृत्व विकास तथा संगठनात्मक जिम्मेवारीसम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।  कार्यक्रमलाई थप सभ्य, अनुशासित तथा व्यवस्थित बनाउन लियो सोनु प्रसाद यादवले टेल ट्विस्टरको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमका अवसरमा उत्कृष्ट सहभागिता तथा अनुशासन प्रदर्शन गर्ने क्लब र व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो । फस्र्ट रजिस्ट्रेसन अवार्ड लियो सुदर्शन श्रेष्ठले प्राप्त गरेका थिए । फस्र्ट फाइभ रजिस्ट्रेसन अवार्ड लियो क्लब अफ काठमाडौं यङस्टारलाई प्रदान गरिएको थियो भने हाइएस्ट पार्टिसिपेसन अवार्ड लियो क्लब अफ काठमाडौं सहयात्रीले प्राप्त गरेको थियो ।  त्यसैगरी, मोस्ट पार्टिसिपेसन फ्रम रिजन अवार्ड रिजन बुढानीलकण्ठलाई तथा मोस्ट फिमेल पार्टिसिपेसन फ्रम क्लब अवार्ड लियो क्लब अफ काठमाडौं सहयात्रीलाई प्रदान गरिएको थियो ।  लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालका डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाको लायोनिस्टिक वर्ष २०२६/२७ को वार्षिक मूल मन्त्र “कर्मसहितको नेतृत्व” लाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले नवनिर्वाचित तथा वर्तमान क्लब पदाधिकारीहरूलाई प्रभावकारी नेतृत्व, संगठन सञ्चालन तथा जिम्मेवारी निर्वाहका लागि आवश्यक ज्ञान, सीप तथा प्रेरणा प्रदान गरेको जिल्ला प्रवक्ता लियो डा. जनक राज बडूले जानकारी दिए । कार्यक्रम सफल बनाउन योगदान पु¥याउने आयोजक समिति, प्रशिक्षक, अतिथि, सहयोगी संस्था, प्रायोजक, स्वयंसेवक तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूप्रति लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालले हार्दिक आभार व्यक्त गरेको छ ।