कन्सल्टेन्सी व्यवसायीलाई मन्त्री पोखरेल भने- ‘नाफाभन्दा गुणस्तरीय सेवालाई प्राथमिकता दिनूस्’
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका सरोकारवालासँग भएको छलफलमा मन्त्री पोखरेलले निजी क्षेत्र सरकारको साझेदार भएकाले समन्वय र सहकार्यलाई प्राथमिकता दिइने बताए । उनले विद्यार्थीको हितलाई केन्द्रमा राखेर शैक्षिक परामर्श दिने जिम्मेवारी कन्सल्टेन्सीहरूको पनि रहेको उल्लेख गरे । उनले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, जिम्मेवार र गुणस्तरीय बनाउन नयाँ नियमावली ल्याइएको जानकारी दिँदै आवश्यक परे कानुनी प्रक्रियाअनुसार त्यसमा संशोधन गर्न सरकार तयार रहेको बताए । नाफामुखी सोचभन्दा गुणस्तरीय सेवा र सही परामर्शलाई प्राथमिकता दिन उनले कन्सल्टेन्सी व्यवसायीहरूलाई आग्रह गरे । प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले निजी क्षेत्रका जायज माग सम्बोधन गर्न सरकार र संसद् दुवै सकारात्मक रहेको बताउँदै नियमावलीमा रहेका कमजोरी प्रक्रियाअनुसार सुधार गर्न सकिने धारणा राखे । उनले विद्यार्थी ठगी नियन्त्रण गर्दै व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याए । छलफलमा सहभागी कन्सल्टेन्सी व्यवसायीहरूले शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ लाई समग्रमा सकारात्मक बताए पनि संस्था दर्ताका लागि धरौटी रकम, स्वीकृति शुल्क र नवीकरण शुल्कजस्ता व्यवस्थालाई व्यवहारिक बनाउनुपर्ने सुझाव दिएका थिए । उनीहरूले नेपाललाई ’ग्लोबल एजुकेसन हब’ का रूपमा विकास गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको धारणा पनि राखे । मन्त्रालयका अनुसार छलफलमा शैक्षिक परामर्श क्षेत्रका समसामयिक विषय, गुणस्तरीय सेवा प्रवद्र्धन, नीतिगत सुधार, नियामकीय व्यवस्था तथा निजी क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे सुझाव संकलन गरिएको थियो । कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानिज भाषा स्कुल संघ (जालसान), नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ (नायर), नेशनल एजुकेसन कन्सल्टेन्सी एसोसिएसन (नेका) लगायत विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरू)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा विद्यार्थी समूहले नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरिएको भन्दै असन्तुष्ट विद्यार्थीहरूले मन्त्री पोखरेलविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘मेरिटोक्रेसी लागू गर’ र ‘नेपोबेबी शिक्षामन्त्री’ जस्ता नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए । विश्वविद्यालय परिसरमा असहज परिस्थिति सिर्जना भएपछि सुरक्षामा खटिएको प्रहरीले प्रदर्शनरत केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव तथा सभाको बैठकमा सहभागी हुन मन्त्री पोखरेल त्यहाँ पुगेका थिए ।
आइक्यानको अध्यक्ष आनन्दराज शर्मा वाग्लेले लिए शपथ, उपाध्यक्षमा काफ्ले
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को दशौं परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष सीए आनन्दराज शर्मा वाग्ले र उपाध्यक्ष सीए हेमकुमार काफ्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार आयोजित समारोहमा महालेखापरीक्षक तोयम रायासमक्ष अध्यक्ष वाग्लेले शपथ लिएपछि उनले उपाध्यक्ष काफ्लेलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सो अवसरमा निवर्तमान अध्यक्ष सीए नीलबहादुर सारु मगरले आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी दिँदै नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरेका थिए । समारोहका क्रममा बंगलादेशमा आयोजित साफा क्विज–२०२५ र साफा पब्लिक स्पिकिङ प्रतियोगिता–२०२५ का विजेता आइक्यानका विद्यार्थीलाई सम्मान गरिएको थियो । साथै, संस्थाको ब्रान्डिङ र संस्थागत पहिचानलाई थप सुदृढ बनाउने उद्देश्यसहित आइक्यानको नयाँ आधिकारिक लोगो पनि सार्वजनिक गरिएको छ । शपथ ग्रहण समारोहअघि आइक्यानले ‘डाइनामिक्स अफ बिजनेस भ्यालुएसन’ विषयमा सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा व्यवसाय मूल्याङ्कनका नयाँ प्रवृत्ति, विभिन्न मूल्याङ्कन विधि, व्यावहारिक प्रयोग तथा बदलिँदो व्यावसायिक वातावरणमा यसको बढ्दो महत्त्वबारे प्रस्तुति दिइएको थियो । त्यस अवसरमा आइक्यानले हालै प्रकाशन गरेको ‘आइक्यान भ्यालुएसन म्यानुअल–२०८३’ पनि सार्वजनिक गरिएको छ । मूल्याङ्कनसम्बन्धी सिद्धान्त, अभ्यास र व्यावसायिक मापदण्डलाई एकरूप, विश्वसनीय र गुणस्तरीय बनाउन सहयोग पुग्ने प्राविधिक सन्दर्भ सामग्रीका रूपमा उक्त म्यानुअल तयार गरिएको संस्थाले जनाएको छ ।