गणित विनाको विज्ञान शिक्षा र जग विनाको महलको कल्पना एउटै हो – प्रा.डा टंकनाथ धमला

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ बाहिर आएपछि कक्षा ११ र १२ को विज्ञान विषयमा भएको गणित हटाउने तयारीमा पाठ्यक्रम विकास केन्द्र लागिरहेको छ । यस कदमको शिक्षक, विद्यार्थी, अभिभावक लगायतले सवत्र आलोचना गरिरहेका छन् । हाल अध्ययन भैरहेको विज्ञान विषयमा भएको गणित हटाउदा हाम्रो विज्ञान शिक्षा कस्तो हुन्छ ? कक्षा ११ र १२ को विज्ञानको कोर्षमा गणितले कस्तो काम गरिरहेको छ ? गणित विनाको विज्ञान अपूर्ण हुन्छ ? विश्वको अनुभवले के भन्छ ? गणितीय ज्ञानविनाका प्राविधिकहरुले देशलाई के योगदान गर्न सक्छन्र ? गणितिय ज्ञान विनाका विज्ञानका विद्यार्थीहरुले विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न के कठिनाई भोग्नु पर्छ ? प्रस्तुत छ, यसै विषयमा विगत ३ दशकदेखि विश्वका विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरुसंगको सहकार्य गर्दे, गणित विषयको अध्ययन, अनुसन्धानको क्षेत्रमा क्रियाशिल रहि, थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कारहरु प्राप्त गरेका नेपाल गणित समाजका अध्यक्ष प्रा.डा टंकनाथ धमलासँग विकासन्युजका राजाराम न्यौपानेले गरेको कुराकानी । प्रा.डा टंकनाथ धमला, अध्यक्ष, नेपाल गणित समाज विज्ञान विषयमा गणित नहुदा के हुन्छ ? विज्ञान विषयको भाषा नै गणित हो । विना भाषाको सिकाईको कल्पनै गर्न सकिदैन । गणित, विज्ञानको आधार र मेरुदण्ड दुवै हो । विज्ञान गणितबाट सुरु हुने हो । विज्ञानका मोडल र इकोइसनमा गणित नै हुन्छ । विज्ञानको जुनसुकै विषयमा र क्षेत्रमा गणित हुन्छ । विज्ञानबाट गणित हट्यो भने विद्यार्थीले विज्ञान पढ्नै सक्दैनन् । कक्षा ११ र १२ को भौतिकशास्त्र समुहमा अहिले पनि गणित छ । जीवशास्त्र विद्यार्थीले गणित पढन नपाउने बनाउँदै छ । पहिले अनिवार्य विषय कम थिए अहिले बढेको छन् । अनिवार्य विषय धेरै भएपछि विद्यार्थीले ऐच्छिकमा गणित पढने अवस्था नै रहदैन । गणित पढेका पनि भौतिकशास्त्रको कक्षामा हुन्छन्, नपढेका पनि हुन्छन् अनि कसरी विद्यार्थीलाई शिक्षकले पढाउने भन्ने पनि हुन्छ । भौतिकशास्त्र कोर्ष हेर्ने हो भने पनि पहिलो पाठमा नै गणित छ । गणित हटाउने हो भने विद्यार्थी कमजोर हुनेछन् । त्यसैले गणित विनाको विज्ञान हुनै सक्दैन । विज्ञान विषयबाट गणित हटाउँदा जीवविज्ञानका विद्यार्थीहरुलाई उच्च अध्ययनमा के असर पर्छ ? कक्षा ११ र १२ का ऐच्छिकका रुपमा विज्ञानका विषयहरुमा भौतिक विज्ञान, रसायन विज्ञान, गणित तथा जीव विज्ञान आधारभूत विज्ञानका आधार स्तम्भ हुन् । तर यो पाठ्यक्रममा जीवविज्ञानका विद्यार्थीहरुले गणित पढ्न नपाउने गरि तयार गरिएको छ । जीवविज्ञानका विद्यार्थीहरु गणित पढ्नबाट वञ्चित हुँदा भविष्यमा उनीहरु उच्च अध्ययनको अवसरवाट समेत वञ्चित हुने देखिन्छ । जब कि कृषि तथा वन विज्ञान कार्यक्रममा भर्ना हुन आउने विद्यार्थी नै जीव विज्ञान समुहका हुन्छन् । त्यसैगरि पोखरा, काठमाडौं, पुर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयहरुमा इन्जिनियरि तथा सूचना प्रविधि कार्यक्रमहरुमा प्रवेश पाउन कम्तिमा १०० पूर्णाको गणित उत्तिर्ण गरेको हुन पर्ने प्रस्ट व्यवस्था हुँदाहुँदै पनि यो व्यवस्थाले गर्दा जीव विज्ञान समुहका विद्यार्थीहरुले उक्त विश्वविद्यालयहरुका यि कार्यक्रमहरु अध्ययन गर्न नपाउने भएका छन् । वायोलोजी पढेका विद्यार्थीहरु स्वास्थ्य क्षेत्रमा जान सकेनन् भने अब कता जान्छन ? यसको जिम्मा कसले लिन्छ ? वायोलोजी पढेका धेरै विद्यार्थीहरु मेडिकल क्षेत्रमा जान्छन, त्यो क्षेत्रमा जाने विद्यार्थीलाई चै गणितको ज्ञान कतिको आवश्यक छ ? मेडिकल क्षेत्रमा हुने अनुसन्धानको नतिजा गणितमानै आधारित हुन्छ । आज विश्वका मेडिकल क्षेत्रमा भएका उत्कृष्ट अनुसन्धानहरुमा गणितिय मोडेलहरुको महत्वपूर्ण योगदान छ । कक्षा ११ र १२ मा विज्ञानमा गणित नराखेर अन्य व्यबस्था गर्न सकिदैन ? हामी पनि यो कुरा पनि सुनिरहेका छौँ । कक्षा ११ र १२ को नियमित पाठ्यक्रममा नराखेर अतिरिक्त बिषयको रुपमा पढ्न पाउने व्यबस्था गर्ने भन्ने पनि सुन्दै छौं । यो वेतुकको तर्क हो । जुन विद्यार्थीलाई आवश्यक विषय हो । त्यो अतिरिक्त पढ्न लाउने जुन नहुँदा पनि हुन्छ त्यो चै जबरजस्ति लाध्ने ? यो भन्दा बहुलापन के हुन्छ ? अन्य मुलुकको शिक्षामा गणित विनाको विज्ञान अध्ययन भएका छन् ? विश्वका उत्कृष्ट विश्वविद्यालयहरुमा गणित विनाको विज्ञान अध्ययन भएको छैन । तर, नेपालमा कुन आधारले हटाउन लागेका हुन् । हामीले शिक्षा राम्रो बनाउदै लाने हो कि झन कमजोर बनाउदै लाने हो ? शिक्षालाई राम्रो बनाउने हो भने गणित हटाउँदा कसरी राम्रो हुन्छ ? त्यसको र्तार्किक जवाफ दिनु पर्याे । गणित विनाको विज्ञान शिक्षा र जग विनाको महलको कल्पना एउटै हो । ११, १२ पास भएपछि उच्च शिक्षाको लागि विदेश जाने गरेका छन् । पाढ्यक्रमको यो व्यबस्थाले उनीहरुलाई कस्तो असर गर्छ ? नेपाली विद्यार्थीहरु प्राय विदेशमा मेडिकल, इन्जिनियरि, विज्ञान, व्यवस्थापन आदि विषयहरु पढ्न जाने गरेका छन् । विदेशी विश्वविद्यालयहरुमा यी विषयहरुमा गणितलाई उच्च महत्व दिइन्छ । विदेशी विश्वविद्यालयहरुमा भर्ना पाउनैको लागि जीआरई, जीम्याट, स्याट जस्ता विशिष्टिकृत परिक्षहरुमा राम्रो अंक ल्याउनु पर्छ जसमा गणिलाई उच्च अंकभार दिईएको हुन्छ । अब गणितै पढ्न नपाएका विद्यार्थीहरुले यस्तो परिक्षामा कसरी राम्रो गर्न सक्छन र ? त्यसैले अब हाम्रा विद्यार्थीहरु अन्तराष्ट्रिय प्रतिस्प्रर्धामा कमजोर हुनेछन । यो हाम्रो शिक्षा क्षेत्रमा निम्तिन लागेकको ठूलो डिजास्टर हो । विज्ञान विषय बाहेकका विषयहरुमा गणितको उपयोगीता कतिको छ ? यसमा हामीले जवाफ दिनु भन्दानी सम्बन्धित विषयका विज्ञहरुबाटै यसको उत्तर आउनु राम्रो हुन्छ । तर म अन्तराष्ट्रिय स्तरमा मैले अन्य बिषयका धेरै अनुसन्धानकर्ता संगसंगै काम गरेको छु । उनिहरुको गणितिय ज्ञान धेरै उच्च छ । त्यसैले उनिहरुका अनुसन्धान उच्च स्तरका मानिन्छन । व्यवस्थापन, अर्थशास्त्र, जनसंख्या अध्ययन लगायतका विषयहरुमा गणितिय ज्ञान अति आवश्यक हुन्छ । तपाँईलाई यो पनि जानकारी गराउकी अर्थशास्त्र क्षेत्रका धेरै नोवेल पुरस्कारहरु गणितिय मोडेलहरुको प्रयोग भएका अनुसन्धानहरुका लागि प्रदान गरिएका छन् । तपाँईहरुले पाठ्यक्रम विकास केन्द्र, शिक्षामन्त्री र प्रधानमन्त्रीलाई विज्ञप्ती पनि बुझाउनु भयो । के भन्नु भयो त ? हामीसंग यो प्रारुप तयार गर्ने क्रममा कुनै छलफल भएको छैन । प्रस्तावित मसौदामा प्रायोगिक गणित अनिर्वाय विषयको रुपमा थियो । तर के कारणले पछि हटाउनु भयो थाहा छैन । त्यो कस्तो कोर्ष थियो हामीलाई जानकारी थिएन । तर एउटा अध्ययन र अनुसन्धान तथा विश्वका पाठ्यक्रमहरुलाई हेरेरै ल्याइएको थियो भन्ने लाग्छ । नेपाल गणित समाजले त्यसको स्वागत गरेको थियो । तर के आधारमा त्यो हटाईयो त्यसको जवाफ आएको छैन । त्यो हटेपछि जीवविज्ञान गणित विहिन हुन पुग्यो । हामीले पाठ्क्रम विकास केन्द्रका कार्यकारी निर्देशकलाई सोधेकाछौं । गणित विनाको विज्ञानको कसरी कल्पना गर्नु भयो ? भनेर । उहाँले त्यसको उत्तर दिनु भएन । हामी शिक्षामन्त्री र प्रधानमन्त्रीलाई भेट्ने प्रयासमा छौँ । अन्त्यमा, राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ बाहिर आएको छ, यो प्रारुप अनुसारको पाठ्यक्रमले देश विकासमा कस्तो योगदान गर्ला ? हामी २१औं शताब्दिको पूर्वाधमा छौं । ज्ञान, विज्ञान र प्रविधिको विकास र यसको प्रयोगले मानव जीवनमा ल्याएको सकरात्मक परिवर्तनलाई हामीले आत्मासाथ गरिरहेका छौँ । राष्ट्र निर्माणको यूगिन दायित्व पूरा गर्ने काम शिक्षाको हो । आज विश्वमा विकसित भनिएका देशहरु वास्तवमानै विज्ञान र प्रविधिको उच्चतम विकास तथा प्रयोगले नै यो अवस्थामा पुगेका हुन् । विद्यालय तहको पाठ्यक्रमले नेपालमा विज्ञान र प्रविधिको विकासलाई ध्यान राखेर आफूलाई परिमार्जन र परिस्कार गर्नु पर्ने थियो । ज्ञान, विज्ञान र प्रविधिको विकासका लागि जस्ता विषयहरु छनौट हुनु पर्ने हो, यसो हुन सकेन भन्ने हामीले बुझेका छौं । प्रविधिको यो समयमा विज्ञान तथा प्रविधिको आधार स्तम्भको रुपमा रहेको विषय गणित तथा विज्ञानका विषयहरुलाई उच्च महत्व दिनु पर्नेमा आज विपरीत दिशातिर फर्कन लागेको अनुभव हामीले गरेका छौं । अबको पाठ्यक्रम विज्ञान, प्रविधि मैत्री भएमा मात्र हामी विकासको सहि मार्ग पहिल्याउन सक्छौ । आज विश्वका धेरै देशहरुले पाठ्यक्रमको नविनतम धारणा अन्र्तगतमा जोड दिएका छन् । जसले गर्दा उनिहरु आर्थिक विकास तथा समृद्धिमा फड्को मारिरहेका छन् । यसलाई सकारात्मक शिक्षाको रुपमा हामीले लिनु पर्दछ । अन्यथा २१ औं शताब्दिमा ज्ञान, विज्ञान तथा प्रविधिक जनशक्तिको खाँचो राज्यले गरिरहने तर हामी भने देश तथा विदेशमा विक्न नसक्ने जनशक्ति उत्पादन गरिरहने छौं । यसको बारेमा राज्य संचालकहरुले बेलैमा ध्यान दिन जरुरी छ ।  

सीटीईभीटीलाई प्राविधिक शिक्षाको छुट्टै निकाय बनाउने योजना विफल

काठमाडौं । प्राविधिक शिक्षाका लागि छुट्टै निकाय बनाउने सरकारको योजना विफल भएको छ । संघीयतासंगै विद्यालय शिक्षाका अधिकार स्थानीय तहमा भएकोले केन्द्रमा थप निकाय राख्नुको औचित्य नहुने सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको अडानका कारण शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको योजना असफल भएको हो । सीटीईभीटीका कार्य प्रभावकारी नभएको मन्त्रीको निष्कर्ष थियो । सोहीअनुसार मन्त्री पोखरेलले प्राविधिक शिक्षाका लागि छुट्टै निकाय वा मन्त्रालयमा छुट्टै महाशाखाको लविङ् गरेका थिए ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मार्फत् नै प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन हुने भएको छ । सीईटीभीटीका सुचना अधिकारी मनोज शर्माले शिक्षाका साविकका शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्र मिलाएर शिक्षा तथा मानव श्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्र मात्रै गरी केन्द्रमा २ वटा मात्रै निकाय राख्ने मन्त्रीपरिषद्ले निर्णय गरेको थियो । उक्त निर्णय पछि प्राविधिक शिक्षाका लागि साविककै सिटिईभिटी मार्फत् कार्यक्रम सञ्चालन गर्नु पर्ने भएको शर्माले बताए । उक्त अवस्थापछि मन्त्री पोखरेलको अध्यक्षतामा बसेको सीईटीभीटीको बैठकले सात वटै प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । संघीयता अनुरुपको संरचनामा संस्थालाई सातै प्रदेशमा कार्यालय स्थापना गर्ने निर्णय गरिएको हो । यसका लागि उक्त बैठकले प्रदेश कार्यालय स्थापनाको निम्ती सम्भाव्यता अध्ययन, नीतिगत र कानुनी व्यवस्था बारे छलफल शुरु गर्न निर्देशन दिएको छ । संघियता अनुरुप अन्य निकायको ढाँचा तयार भए पनि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिईभिटीको संघीय स्वरुप तयार भएको थिएन । अहिले सिटिईभिटीको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा रहको छ भने चितवनको भरतपुर, ईटहरी र कोहलपुरमा क्षेत्रीय कार्यालय छन् । सिटिईभिटी अन्तर्गत राष्ट्रिय सिप परिक्षण समिति, परीक्षा नियन्त्रण कार्यालय र प्राविधिक प्रशिक्षण प्रतिष्ठान छन् ।  

राजधानीमा यस्तो विद्यालय, जहाँ विद्यार्थीलाई ध्यान र योगासहितको त्रिभुजीय शिक्षा दिइन्छ

काठमाडौं । तपाईले आफ्नो छोराछोरीलाई अलि फरक खालको शिक्षा दिने विद्यालय खोजिरहनु भएको छ ? सरकारले निर्धारण गरेको पाठ्यक्रम सँगसँगै योग र ध्यान गराउने शिक्षा दिन चाहानुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईको सोच अनुसारको शिक्षा पथिक ज्ञान निकेतन विद्यालयले दिइरहेको छ । पथिक ज्ञान निकेतनले योगासहित त्रिुभुजीय शिक्षा दिइरहेको छ । यो विद्यालयमा प्ले ग्रुपदेखि नै औपचारिक शिक्षाका साथै योगा र ध्यानसँग अध्ययन गराइन्छ । त्रिभुजीय शिक्षा प्रदान गर्ने यस विद्यालयमा विद्यार्थीको अन्य स्कुलको जस्तो पहिलो, दोस्रो र तेस्रो भनेर श्रेणी छुट्टाइदैन । यसले विद्यार्थीलाई प्रतिशोधको भावना भन्दा सहयोगको भावना विकास भैरहेको छ । पथिकले नेपालमा नै नमुना तरिकाले शिक्षा दिएको छ । पथिक पाउन्डेसनबाट संचालित स्कुलका प्रिन्सिपल विवेक सी एसले भनिन् नेपालमा अलिकति फरक खालको शिक्षा दिन फरक ढंगबाट माध्यामिक शिक्षा दिने स्कुल स्थापना गरेको बताइन् । विकास न्यूजसंग कुरा गर्दै उनले भनिन् “ध्यान गुरु आचार्यश्री पथिकले लेख्नु भएको पुस्तकमा त्रिभुजीय शिक्षाको प्रतिपादन भएको थियो । त्यही सिद्धान्तका आधारमा स्कुल संचालन भैरहेको छ ।” विद्यालयले १ हजार ७०० देखी २ हजार २०० सम्म मासिक शुल्क तोकेको छ । भर्ना शुल्क ४ हजार ५०० देखी ५ हजार ५०० रुपैयाँ सयसम्म तोकेको छ । हाल पथिकमा २०० विद्यार्थी अध्ययनरत छन् । विभिन्न देशबाट गोल्ड मेडालिष्टहरुले विद्यार्थीलाई पथिकमा पढाइरहेका छन् । हाल कक्षा ८ सम्म पढाइ भैरहेको छ । स्कुलमा विद्यार्थीलाई बेन्च नराखी भुइमै राखेर अध्ययन गराइरहेको उनले बताइन् । “विद्यार्थीलाई बेन्चमा राख्दा उनीहरु पूर्णरुपमा स्वतन्त्र हुदैनन् । त्यसैले विद्यार्थीलाई स्वतन्त्र रुपमा सिकाउँदा राम्र्रो र छिटो सिक्ने गरेका छन् ।” विद्यालयले विद्यार्थीलाई परीक्षाको तालीका पनि तोक्ने गरेको छैन । विद्यार्थीले प्राप्त गरेको अंकलाई रिपोर्ट कार्डमा मात्रै प्रस्तुत हुने गरेको छ । अरु विद्यार्थीहरुमा जस्तो पहिलो, दोस्रो भनेर छुट्टाइदैन । विद्यार्थीको रिपोर्ट कार्डमा स्वास्थ्य, सामान्य एकेडेमी र बानी उल्लेख गरिएको हुन्छ । एउटा परीक्षा हलमा २ जना शिक्षक विद्यार्थीहरुको आचरण कस्तो छ भनेर अध्ययन गर्ने गरेका छन् । “हामीले सरकारले नै निमार्ण गरेको पाठ्यक्रमको अध्ययन गराउने गरेका छौँ । हामो अध्ययन गराउने पद्धती फरक हो” उनले भनिन् । विद्यार्थीले विद्यालयमा पैसा बोक्न पाउदैनन् । स्कुलमा जङ्क फुड निषेध गरिएको छ । आफैले उत्पादन गरेको गाईको दुध विद्यार्थीलाई खुवाउने गरेको विद्यालयले जानकारी दिएको छ । स्कुलमा कार्यरत शिक्षक मास्र्टस र डाक्टर गरेका मात्रै छन् । विद्यार्थीलाई योगा र ध्यान गर्ने हलको व्यवस्था गरिएको छ । विद्यार्थीहरुलाई पढाइसँगसँगै योगा र ध्यान पनि गराइने विद्यालयले बताएको छ । के हो त्रिभुजीय शिक्षा ? मनुष्यको तीन अलग क्षमता र विशेषता बोकेका तीन मस्तिष्कबाट सुसज्जित हुन्छन् । तीमध्ये बायाँपट्टिको मस्तिष्कको बढिमा १५ प्रतिशतसम्म क्षमताको मात्र उपयोग हुन सकेको छ । अर्काे दायाँपट्टिको मस्तिष्क, जो सृजनात्मकता र दक्षताको उद्गम स्थल हो । त्यो ज्यादै न्यून मात्र विकास र उपयोग हुन सकेको छ । तेस्रो, पछाडि पट्टिको मस्तिष्क जसले मानवतामा अलौकिक दिव्यताको प्रस्फुटन गराउन सक्छ । त्यो त पूर्णत सुषप्त अवस्थामै छ । प्रचलित शिक्षा व्यवस्थाले बायाँपट्टिको मस्तिष्कको मात्र त्यो पनि न्यूनतम मात्रामा उपयोग गर्न सकेको छ । त्रिभुजीय शिक्षा यस्तोे शिक्षा नीति हो, जसले मानवका यी तीनवटै मस्तिष्कलाई जाग्रत र सक्रिय तुल्याएर दक्षता, सृजनात्मकता, मानवीयता र वैज्ञानिक दृष्टिले सम्पन्न मानिसको विकास गर्नेछ, जो चेतनाको अति उच्च स्तरमा हुने छ । यसले समग्र मानव सभ्यतालाई नै विलक्षण उचाइ दिनेछ ।