नयाँ माध्यमिक परीक्षा एसइईको तयारी पूरा, परीक्षा बिहीबार बिहान ८ बजेदेखि
भक्तपुर। देशभर बिहीबार बिहान ८ बजेदेखि एकैसाथ शुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । परीक्षामा देशभरबाट दुईलाख ५९ हजार सातसय ३२ छात्र र दुईलाख ७८ हजार चारसय ५० छात्रा गरी कुल पाँचलाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभर कुल एकहजार नौसय २३ केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी, एकहजार नौसय २३ केन्द्राध्यक्ष, दुईहजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चारसय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँचसय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले जानकारी दिए । परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत ३ गते अनिवार्य अङ्ग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकतर्फ चैत १४ गते सम्पन्न हुनेछ । विगतका वर्षमा एसएलसी परीक्षाका रुपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरे पनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिएको हो । परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तर पुस्तिका र अन्य सामग्री सबै जिल्ला जिल्लामा पुर्याई सकिएको जानकारी दिँदै परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने बताए । उनले परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन सहयोग गर्न पनि सबैसँग आग्रह गरेका छन् । परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ हुने भएका छन् । परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ । त्यसैगरी, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको संयुक्त अनुगमन टोली पनि खटिनेछन् । परीक्षामा अमर्यादित काम गर्ने एवम् गराउनेलाई कडा कारबाही गरिने जनाइएको छ ।
कहाँ हराए ८ लाख विद्यार्थी ? भर्ना गर्दा १३ लाख १० पास गर्ने बेलासम्म जम्मा ५ लाखमात्रै
फाइल तस्बिर काठमाडौ । दश वर्षअघि (विसं२०६४)मा १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए। तिनैमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले चैत ३ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागिता जनाउँदै छन्। एक दशकको अवधिमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी बीचैमा हराएको सरकारी तथ्याङ्कले प्रमाणित गर्छ। ७ लाख ९६ हजार १३ अर्थात झण्डै ८ लाख विद्यार्थी कहाँ हराए तरु शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार सरकारले हालसम्म स्कूल भर्ना भएका नानीहरुलाई निरन्तर टिकाइराख्न सिक्नेरसिकाउने पद्धति बदल्न नसकेका कारण ठूलो संख्यामा विद्यार्थीले विद्यालय छाडेका हुन्। सरकारले हालसम्म शिक्षा प्रणाली सुधारका लागि जति पनि कार्यक्रम ल्यायो, ती सबै शिक्षक र कर्मचारीकेन्द्रित रहे शिक्षाविद् कोइरालाले भने, अबका विद्यार्थीलाई विद्यालयको कक्षाकोठामा निरन्तर टिकाउन सरकारले मोबाइल, नेट, फेसबुक, भाइबरजस्ता माध्यमबाट सीपमूलक शिक्षा सिकाउने कार्यक्रम ल्याएमात्र विद्यार्थीसँग न्याय हुन्छ। कक्षा १ मा भर्ना भएका तीन विद्यार्थीमध्ये १ मात्र कक्षा १० मा पुग्नुले हाम्रो विद्यालय शिक्षा कहाँ पुगेको छ भन्ने प्रस्ट पार्ने उनले औंल्याए। नागरिक दैनिकबाट ।
अब कक्षा ११ को नतिजा पनि ‘लेटर ग्रेडिङ’ पद्धतिमा, नौ कक्षामा पनि ग्रेडिङमै
फाइल तस्बिर काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ को नतिजा ‘लेटर ग्रेडिङ’ पद्धतिमा निकाल्ने तयारी गरेको छ । गत वर्षदेखि कक्षा १० को परीक्षा (तत्कालीन एसएलसी) लेटर ग्रेडिङ सुरु गरेको मन्त्रालयले यस वर्षदेखि कक्षा ११ को नतिजा पनि लेटर ग्रेडिङ पद्धतिमा निकाल्न लागेको हो । मन्त्रालयले यसका लागि आवश्यक कार्यविधि बनाउँदै छ । शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले कक्षा ११ मा लेटर ग्रेडिङमा नतिजा निकाल्न सैद्धान्तिक सहमति पाइसकेकाले कार्यविधि बनाउने प्रक्रिया सुरु भएको जानकारी दिए । कार्यविधि बनाउन पाठ्यक्रम विकास केन्द्रले शिक्षा मन्त्रालय, विभाग, राष्ट्रिय परीक्षा बोर्डलगायतका सदस्य राखेर कमिटी गठन गरेको छ । ‘कक्षा ११ मा विद्यार्थीको रिजल्ट पनि ग्रेडसिटमा दिन्छौँ, कक्षा १० को ढाँचामा आधारित भएर कार्यविधि बनाउँछौँ,’ कार्यकारी निर्देशक काप्रीले भने, ‘टेक्निकल कुराको तयारी प्रक्रियामा छ, चैतभित्रै कार्यविधि तयार पार्छौँ र राष्ट्रिय परीक्षा बोर्डमा बुझाउँछौँ ।’ कक्षा ११ पनि विद्यार्थीको उत्तरपुस्तिका अंकमा परीक्षण गरी लेटर ग्रेडमा परिवर्तन गर्ने तयारी छ । कक्षा १० को परीक्षामा जस्तै नौवटा ग्रेड राख्ने विषयमा छलफल भएको काप्रीले बताए । गत वर्षको एसएलसीमा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई गरी नौवटा ग्रेड छुट्याएको थियो । ९० देखि एक सय अंक ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, २० देखि ४० भन्दा कम ल्याउनेलाई डी, १ देखि २० भन्दा कमलाई ई ग्रडिङमा राखेको छ । नौ कक्षामा पनि ग्रेडिङ यस वर्षदेखि कक्षा नौ पनि लेटर ग्रेडिङमा मूल्यांकन हुने भएको छ । शिक्षामन्त्रीको अध्यक्षमा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले १० कक्षापछि तल्लो र माथिल्लो कक्षामा पनि लेटर ग्रेडिङमा मूल्यांकन गर्ने निर्णय गरिसकेको छ । काप्रीका अनुसार कक्षा नौको मूल्यांकन विद्यालय आफैँले गर्ने र त्यसको विषयमा पाठ्यक्रममा समेत जानकारी गराएकाले समस्या नहुने बताए । नयाँ पत्रिका दैनिकबाट ।