गुहेश्वरी मर्चेण्डद्वारा विद्यालयलाई २ थान कम्प्युटर प्रदान
काठमाडौँ । संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको कार्यालयमा दिपावली सहित अतिरिक्त कार्यक्रम गरिएको छ । साथै, संस्थाको चाबहिल शाखा कार्यालयको समन्वयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा कामनपा वडा नं. ८, काठमाडौंमा रहेको सारदा आधारभूत विद्यालयलाई २ थान कम्प्युटर प्रदान गरिएको जनाइएको छ ।
सनराइज बैंक सुनवल शाखाद्वारा क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौँ । सनराइज बैंक लि., सुनवल शाखाले वडा नं. ४ स्थित महाकवि देवकोटा क्याम्पसलाई रु. ३२ हजार बराबरको शैक्षिक सामाग्री लगायतका सामान सहयोग प्रदान गरेको छ । क्याम्पसद्धारा आयोजित क्याम्पस सभा कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालद्धारा सो क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् । कार्यक्रममा संघीय संसद एवम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेल प्रमुख अतिथि तथा विशेष अतिथिमा सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा क्षेत्री (भरत) रहेका थिए ।
चितवन मेडिकल कलेजले ३० दिन भित्र बढी शुल्क फिर्ता गर्ने सहमति
चितवन । चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । शनिबार दिनभर जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सरकार र आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने वा साविककै शुल्कमा समायोजन गर्ने सहमति भएको हो । विद्यार्थीले सञ्चालन गरेका सबै विरोधका कार्यक्रम भोलिदेखि नै स्थगन गरेर पठनपाठन सञ्चालन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । विद्यार्थीले कलेज प्रशासनसँग राखेका आन्तरिक मागका सम्बन्धमा भने कलेज प्रशासन र अभिभावकबीच आपसी समन्वय गरी समस्या समाधान गर्ने सहमति भएको उनले बताउनुभयो । बढी शुल्क कसलाई कति फिर्ता गर्ने भन्ने विषयमा समिति गठन गरिएको र त्यसका आधारमा फिर्ता गर्ने रकम यकिन हुने प्रजिअ बस्नेतले बताए । मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपाने, आन्दोलनरत विद्यार्थीको तर्फबाट प्रकाश चन्दलगायतका विद्यार्थी, अभिभावक र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतबीच जिल्ला प्रशासन कार्यालय चितवनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म वार्ता चलेको थियो । सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनका कारण १९ दिनदेखि पठनपाठन ठप्प छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । कलेजले, सरकारले तोकेकोभन्दा रु १२ देखि १५ लाखसम्म बढी रकम लिने गरेको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए । शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो ।