सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि ढिलाइ नगर्नुस्ः मन्त्री विष्ट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले निजी विद्यालयलाई सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरणका लागि ढिलाइ नगर्न आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), काठमाडौँको आयोजनामा राजधानीमा आयोजित विद्यालय, शिक्षक र विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले सरकारले सहज ढङ्गले वातावरण निर्माण गरेकाले जतिसक्दो छिटो सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको औपचारिक घोषणा गर्न आग्रह गरेका हुन् । “फेरि कतैबाट कठिनाइ उत्पन्न भयो भने सरकारको काम कानूनको पालना गराउने नै हो, नियम सङ्गत भएको छ की छैन, बैंक खातामार्फत भुक्तानी भएको छ की छैन, त्यो माग्नु सरकारको कर्तव्य हो, सरकार त्यसतर्फ प्रवेश गर्न नपरोस् ।” उनले भने । उनले एकाध सञ्चारमाध्यममा सामाजिक सुरक्षा योजनामा जानुनपर्ने गरी लेख पढेकाले त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जानकारी दिँदै मन्त्री विष्टले भने “कानूनको पालनालाई चुनौती दिने गरी यस्ता लेख आए भने सबैभन्दा पहिला त्यही ठाउँ मै ध्यानाकर्षित गर्ने छौँ, सकेसम्म त्यहाँसम्म पुग्न बाध्य नबनाइयोस् ।” सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरण गर्न असोज मसान्तसम्मको समय सीमा तोकेको हुँदा विद्यालयका शिक्षक, कर्मचारीलाई राहत मिल्ने भएकाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको र कुनै पनि कार्यक्रम शुरुवात गर्दा केही कठिनाइ हुने उल्लेख गरेका छन् । युरोप, अमेरिकालगायत विकसित देशमा लागू भएको उक्त कार्यक्रमले वृद्ध अवस्थामा कसैले पनि अभाव झेल्नु नपरेको जानकारी दिए । विद्यालयको स्वस्थ्य विकासका लागि र विद्यालयको जनशक्तिको मर्यादित जीवन तथा आत्मसम्मान र उत्पादकत्व वृद्धिका लागि कार्यक्रम आएकाले गम्भीर भएर कार्यान्वयनमा ल्याउन उहाँले विद्यालय सञ्चालकलाई आग्रह गरे। प्याब्सन पदाधिकारीले मन्त्रालयमा पुगेर कठिनाइ राखेपछि सरकारको तर्फबाट उहाँहरुको सुझावलाई सम्मान गरेर ‘आधारभूत पारिश्रमिक’मा सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी व्यावहारिक समाधान सरकारले खोजेको उनले प्रस्ट पारे । शिक्षा मन्त्रालयले तोकेअनुसारको न्यूनतम तलब दिए नदिएकोृ बैंक खाताबाट भुक्तानी गरे नगरेको विषयमा विद्यालयलाई पत्र काट्न लागेको बेला प्याब्सनका पदाधिकारीको आग्रहमा तत्काल रोकेको जानकारी गराउँदै मन्त्री विष्टले भने, “सरकारको अभियानलाई धेरै खिल्ली उडाउने काम भयो भने सरकारको ध्यान जबरजस्त आकर्षित हुने खतरा हुन्छ, त्यतातर्फ जान बाध्य नबनाउनुहोस् ।” मन्त्री विष्टले शिक्षा नीतिको टुङ्गो लगाउत उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा समिति बनेकाले गम्भीरता साथ मनन गरेर यसको निकास निकालिने जानकारी गराए । उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी सम्मान प्याप्सन काठमाडौंले एसइई परीक्षामा सर्वोत्कृष्ट ल्याउने विद्यालय, दीर्घसेवा गर्ने शिक्षक र एसइईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । उक्त परीक्षामा सर्वोत्कृष्ट हुने रिलायन्स एकाडेमी कपन र सर्वोतृतीय हुने भ्याली भ्यू स्कुललाई आज कदरपत्रसहित सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा एसइईमा जिपिए ४ ल्याउने २४ विद्यालयका ३३ विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । यस्तै ६५ जना शिक्षकलाई प्याब्सन दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो भने । एसइईमा उत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यालयहरुलाई समेत सोही कार्यक्रममा सम्मान गरिएको थियो । रासस

नेपालको सर्वोत्कृष्ट कलेज बन्न सफल भयाे नेपाल इन्जिनियरिंग कलेज

काठमाडौं । नेपाल इन्जिनियरिंग परिषद्ले भक्तपुरको दुवाकोट चाँंगुनारायणस्थित नेपाल इन्जिनियरिंग कलेज (नेक) लाई इन्जिनियरिंगको पढाई हुने नेपालकै पहिलो सर्वाेत्त्कृष्ट कलेजको रुपमा घोषणा गरिदिएको छ । परिषद्को मूल्यांकनमा स्थायी मान्यताको स्वीकृतिलाई निरन्तरता प्रदान गरेर नेक सर्वाेत्कृष्ट कलेज घोषित भएको हो । परिषद्को पछिल्लो अनुगमन तथा मूल्यांकनमा गैरनाफामुलक सामाजिक संस्थाको रुपमा सञ्चालित नेपाल इन्जिनियरिंग कलेज अव्वल देखाएको हो । कुल एक सय नम्वरमा कम्तीमा ९० नम्वर ल्याउन सके मात्रै परिषद्ले स्थायी स्वीकृति दिने प्रावधान छ । सम्वन्धन प्राप्त इन्जिनियरिंग कलेजहरुमध्ये अहिलेसम्म नेपाल इन्जिनियरिंग कलेजले मात्रै स्थायी स्वीकृति पाउन सकेको नेपाल इन्जिनियरिंग परिषद्ले जनाएको छ । त्यसका लागि परिषद्ले अनुगमन तथा मल्यांकन टोली पठाई कलेजको मूल्यांकन गर्ने गर्दछ । नेपाल इन्जिनियरिग कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले कलेजको नियमित अनुगमन गरी दिइएको प्रतिवेदन परिषदको मिति २०७६ भदौ २२ गतेको बैठकमा पेश गरी छलफल हुँंदा कलेजलाई परिषद्बाट दिइएको स्थायी स्वीकृतिको मान्यतालाई निरन्तरता प्रदान गर्ने निर्णय भएको जानकारी गराए । कलेजमा वीई सिभिलमा एक सय ४४, विई सिभिल फर डिप्लोमा होल्डर्समा ४८, विई कम्प्युटरमा ९६, विई इलेक्टोनिक्स एण्ड कम्युनिकेशनमा ९६, विई इलेक्टिकल एण्ड इलेक्टोनिक्समा ४८, विई आर्किटेक्चरसमा ४८, विई आइटीमा ४८र विई सिभिल ०डड रुरलमा ४८ जना विद्यार्थी भर्ना क्षमता रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंकद्वारा दृष्टिविहीन सहयोग केन्द्रलाई कम्प्युटर हस्तान्तरण

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले महालक्ष्मी, ललितपुरस्थित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई २ थान कम्प्युटर हस्तान्तरण गरेको छ । उक्त कम्प्युटर बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले दृष्टिविहीन सहयोग केन्द्र नेपालका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीलाई हस्तान्तरण गरे । हस्तान्तरण समारोहमा बैंकका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।