अग्नी फाउन्डेसनको सहयोगमा शिक्षण अस्पतालमा पीआईसीयू र एनआईसीयू

काठमाडाैं । अग्नि फाउन्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बाल सघन उपचार कक्ष (पीसीआईसीयू) र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को पुनर्निर्माण/सुधारका लागि पुर्ण आर्थिक तथा अन्य सहयोग गरेको छ । स्वास्थ्य, शिक्षा, खेलकुद, प्राकृतिक प्रकोपको उद्धार व्यवस्थापनलयातका विभिन्न क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गर्दै आएको फाउन्डेसनले शिक्षण अस्पताललाई उक्त सहयोग गरेको हो । त्रिवि शिक्षण अस्पतालस्थित बाल चिकित्सा विभागअन्तर्गत पीआईसीयू र एनआईसीयूको पुनर्निर्माण/सुधारको कार्य सम्पन्न भएपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि फाउन्डेसनकी संस्थापक एवम अग्नि ग्रुपकी कार्यकारी निर्देशक सुुसन वैद्य श्रेष्ठले १६ माघ २०७६ का दिन पुनर्निर्मित बाल चिकित्सा विभागको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा अग्नि फाउन्डेसनकी संस्थापक एवम अग्नि ग्रुपकी कार्यकारी निर्देशक वैद्य श्रेष्ठले भने, “एनआर्ईसीयूले समय नै नपुगी जन्मिएका तथा जन्मिँदा निकै कम तौल भएका वा विशेष हेरचाह गरिनु पर्ने स्वास्थ्य अवस्था भएका नवजात शिशुका लागि महत्वपूर्ण भूमिका खेल्दछ । पिआईसीयुमा केहि दिन भन्दा बढी रहेका शिसुकै वरिपरि सबै पल सँगै रहनु भनेको शारीरिक तथा मानसिक रूपमा तनाव हुने हुंदा पिआईसीयूको सकारात्मक वातावरणसहितका सुविधाहरू, उचित हेरचाह र औषधोपचारले आमाबुवालाई अझ राम्रोसँग बालबालिकाको हेरचाह गरेर सम्पूर्ण परिवार सँगै घर फर्कने योजनामा सक्षम तुल्याउँदै परिवारको तनाव कम गर्न मद्दत गर्न सक्छ । हामी सदैव बालबालिकाकौ स्वास्थ्य र पारिवारिक मूल्यमान्यताहरूप्रति चिन्तित छौं । त्यसैले यस असल कार्यका लागि शिक्षण अस्पताललाई सहयोग गर्न पाउँदा खुसी छौं । आशा छ, अग्नि फाउन्डेसनको सानो पहलले एनआईसीयू र पिआईसियु बाट तुरुन्त र प्रभावकारी ढंगबाट लाभ प्राप्त गरी आवश्यकता परेका अभिभावक र बालबालिकाहरूलाई सहजीकरण र सुविधा प्रदान गर्नेछ ।” त्रिवि शिक्षण अस्पतालको बाल चिकित्सा विभागका प्रमुख प्रा. डा. लक्ष्मण श्रेष्ठ भन्छन्, “नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) बिमारी तथा समय नपुगी जन्मिएका शिशुहरूको उपचारका लागि स्थापित विशेष इकाई हो भने बाल सघन उपचार कक्ष (पीआईसीयू) गम्भीर रुपमा बिमारी भइ अस्पतालमा भर्ना भएका शिशु, बालबालिका र किशोरकिशोरीको विशेष हेरचाहका लागि स्थापित क्षेत्र हो । शिक्षण अस्पतालको नवस्थापित एनआईसीयू र पीआईसीयूले गहन हेरचाह आवश्यकता पर्ने शिशुहरूलाई उचित किसिमको एनआईसीयू सुविधा उपलब्ध गराउनेछ तथा आमाबुवा (विशेष गरी आमाहरू)लाई अझ बढी सहयोग गर्नेछ । हामीसँग योग्य कर्मचारी तथा उपकरणहरू छन्, जसले बच्चा र अभिभावक दुवैलाई सहयोग गर्छन् र उनिहरुको एनआईसियु र पीआईसीयूको बसाइ अवधिमा आवश्यक पर्ने बच्चाहरूको गहन निगरानी, औषधोपचार तथा नर्सिङ हेरचाहका लागि सुनिश्चितता प्रदान गर्छ ।” शिक्षण अस्पतालको बाल तथा नवजात शिशु सघन उपचार कक्षहरूको पुनर्निर्माण/सुधार गर्ने क्रममा अग्नि फाउन्डेसनले “अग्नि विंग” को नाममा अस्पतालमा भर्ना भएका बालबालिकाको अभिभावक र आगन्तुकहरुका लागी प्रतिक्षा कक्ष निर्माण गरेको छ । फाउन्डेसनले अस्पतालमा भर्ना भएका बालबालिकाका आमाबुवाहरूको पारिवारिक हेरचाहका लागि, विशेष गरी आमाहरूलाई अनुमति दिने गरी र हेरचाहकर्ताहरू जो बालबालिकासँगै रात बिताउनु पर्छ, उनीहरूका लागि ‘स्तनपान कक्ष’ र ‘आराम कक्ष’ बनाउनमा पनि केन्द्रीत रहेको छ । फाउन्डेसनले अस्पतालमा भर्ना भएका बालबालिकाहरूलाई आफ्नो उपचार र हेरचाहमा सहभागी हुने अधिकार हुने र उनीहरूका छेउमा आमाबुवा साथै रहनु आवश्यक पर्ने कुरामा विश्वास राख्दछ । अस्पतालमा आमाबुवाको निद्रा पूरा हुँदा र आरामले पूरै परिवारका लागि अस्पतालमा भर्ना हुँदाका सकारात्मक अनुभव प्राप्त गर्न सकिन्छ । नेपालका लागि महिन्द्रा सवारी साधनहरूका आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको गैर मुनाफाकारी संगठन अग्नि फाउन्डेसनले विभिन्न सामाजिक कल्याणकारी गतिविधिहरूद्वारा समाजलाई योगदान पुर्याउँदै आएको छ ।

संस्कृत विश्वविद्यालय वेलझुण्डीमा पिएचडी कक्षा शुरु

तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले वेलझुण्डीमा विद्यावारिधी पिएचडिको कक्षा सुरु भएको छ । विश्वविद्यालयले विगतदेखि नै विद्यावारिधीको कक्षा सञ्चालन गरेको भएपनि केन्द्रीय विश्वविद्यालयमै त्यसको अध्यापन हुने गरेको थिएन । विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरेर बुधबारबाट विद्यावारिधीको कक्षा सुरुवात गरेको हो । अनुसन्धान केन्द्रका प्रमुख डा.काशिनाथ न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा उपकुलपति रमेश ढकालले दाङ्गमै विद्यावारिधी शुरु हुनु यस क्षेत्रका लागि गर्वको कुरा भएको वताएका थिए । कार्यक्रमका विशिष्ट अतिथि कुलसचिव माधव अधिकारीले विभिन्न आधा दर्जन विषयमा विद्यावारिधीको अध्यापन शुरु भएको जानकारी दिएका थिए । कार्यक्रममा प्राध्यापक कृष्णचन्द्र शर्माले पिएचडिका बारेमा जानकारी गराएका थिए । दाङ्गमै विद्यावारिधीको कक्षा सुरु हुनुले यस क्षेत्रको प्राज्ञिक उन्नयनमा महत्वपूर्ण उपलब्धि हासिल भएको गणितका विद्यार्थी पर्शुराम चौधरीले बताए । उनले लामोसमयदेखि विद्यावारिधी गर्ने आफ्नो सपना पुरा भएको समेत बताए । विश्वविद्यालयमा गणित, राजनीति शास्त्र, अँग्रेजी, नेपाली, अर्थशास्त्र, संस्कृतका विभिन्न विषय र योगचिकित्सामा विद्यावारिधीको अध्ययन हुनेछ ।

मेगा बैंकद्वारा धापासीमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मेगा बैंक नेपालले काठमाडौंको धापासीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकिङ साक्षरता अभियान संचालन गर्ने क्रममा बैंकले माई युथ क्लवसँगको सहकार्यमा काठमाडौंको धापासीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मेगा बैंककी दायित्व विभाग प्रमुख जेनु थापा, बचत निक्षेप विभागका इन्चार्ज सुजन पोखरेल, मोनिल थापा लगायतले वित्तीय साक्षरता सम्बन्धी कक्षा लिएका थिए । कार्यक्रममा मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा जानकारी गराइएको थियो ।