घोराहीका चार विद्यालय समायोजित

काठमाडाैं । दाङस्थित घोराही उपमहानगरपालिकाले चार विद्यालयलाई नजीकैको अर्को विद्यालयमा समायोजन गरेको छ । विद्यार्थी संख्या न्यून रहेकाले ती विद्यालयलाई समायोजन गरिएको उपमहानगरपालिका, शिक्षा, युवा तथा खेलकूद महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख विनोद गौतमले नगरपालिका बैठकको निर्णयानुसार घोराही –६को प्रावि गुरुवा गाउँलाई सोही वडाको मावि जजरागाउँ र प्रावि पक्वैलाई जयशेर माविमा समायोजन गरिएको जानकारी दिए ।  त्यस्तै वडा नं १८ को प्रावि मसिनालाई सोही वडाको मावि रझेना, वडा नं ७ को प्रावि घुस्रालाई सोही वडाको मावि सौडियार र वडा नं १२ को प्रावि पेदाको कक्षा ४ लाई मावि हापुर विजौरीमा समायोजन गरिएको गौतमले जानकारी दिएका छन् । विद्यालयको समायोजन पत्रानुसार उपमहानगरले निर्णय लिएको महाशाखाले जनाएको छ । महाशाखाले विद्यालयमा रहेका विद्यार्थी सङ्ख्याका आधारमा गत पुसमा उपमहानगरपालिकाभित्र शिक्षक दरबन्दी मिलान गरिसकेको छ । पाठ्यपुस्तक वितरण बन्दाबन्दी खुकुलो बन्दै गएपछि दाङका सामुदायिक विद्यालयले सामाजिक दूूरी कायम गर्दै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न शुरु गरेका छन् । विद्यालय नखुले पनि स्वाध्ययनका लागि पाठ्यपुस्तक वितरण शुरु गरिएको विद्यालयले जनाएका छन् । जिल्लाका १० स्थानीय तहका कक्षा १० सम्मका ४ सय २३ सामुदायिक विद्यालयमा पुस्तक वितरणशुरु गरिएको छ । विद्यालय क्वारेन्टिन बनाइएका कारण कतै विद्यार्थीको घरमै पुगेर पुस्तक उपलब्ध गराइएको छ भने कतै सम्पर्क शिक्षक वा कर्मचारी तोकी उनीहरुसँग सम्पर्क गरेर पुस्तक लिन विद्यार्थीलाई भनिएको छ । क्वारेन्टाइन नराखिएका विद्यालयमा भने विद्यालयबाटै सामाजिक दूूरी कायम गरी पुस्तक वितरण गरिएको स्थानीय पालिकाका शिक्षा शाखा प्रमुखले जानकारी दिएका छन् । जिल्लाका सामुदायिक विद्यालयले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यम प्रयोग गरी पुस्तक वितरणको काम अघि बढाएको जनाएका छन् । जिल्लाकै जेठो पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय भरतपुरले जेठको अन्तिम सातादेखि पुस्तक वितरण गरिरहेको प्रधानाध्यापक रामप्रसाद जैसीले जानकारी दिए । प्रभावकारी बन्दै रेडियो स्कूल कक्षा राजापुर– बर्दियामा एक महिनादेखि रेडियो स्कूल कक्षा शिक्षा कार्यक्रममार्फत विद्यार्थी घरमै बसेर अध्ययन गरिरहेका छन् । कोरोना भाइरसको जोखिम बढेपछि सञ्चालन गरिएको रेडियो स्कूल कक्षा कार्यक्रमबाट विद्यालय खुल्न नसक्दा घरमै बसेका विद्यार्थीलाई फाइदा भएको छ । बर्दियाका स्थानीय तहको समन्वयमा रेडियो स्कूल कक्षा कार्यक्रम निर्माण गरी विद्यार्थीका लागि स्थानीय एफएम रेडियोबाट स्कूल नमूना कक्षा शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । कक्षा ४ देखि १० सम्मका बिद्यार्थीका लागि सञ्चालन गरिएको रेडियो स्कूल कक्षाले सबै तहका विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न सहयोग पुर्याएको बारबर्दिया नगरपालिकास्थित युवक मावि जोगीगाउँका विद्यार्थी राकेश चौधरीले बताए । रेडियोबाट कक्षा सञ्चालन भएपछि सुनेर पढिरहेको मधुवन नगरपालिकास्थित आनन्द आधारभूत विद्यालयका कक्षा ८ उत्तीर्ण विद्यार्थी बमबहादुर शाहीले बताए । पढ्ने बानी हराउन थालेका बेला रेडियोबाट कक्षा सञ्चालन हुँदा विद्यार्थी पढाइप्रति उत्प्रेरित भएको मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्रीको भनाइ थियो । विद्यार्थीको पढाइ अवरुद्ध भएका कारण अध्ययन गर्ने क्रम नरोकियोस् भनेर शुरु गरिएको रेडियो स्कूल कक्षा कार्यक्रम प्रभावकारी भएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताए । बर्दिया, मधुवनमा रहेको रामज्ञानु एफएम ८९ मेगााहर्ज, गुलरियामा रहेको रेडियो बबई १०६ मेगाहर्ज, भुरीगाउँको रेडियो टाइगर एफएम ९९.२ मेगााहर्ज र बाँसगढीमा रहेको रेडियो गुरुबाबा एफएम १०६.४ मेगाहर्जबाट रेडियो कक्षा कार्यक्रम सञ्चालन गरिएको हो । नमूना माविमा छात्रावास भवन बन्दै रुकुमपूर्व– सिस्ने गाउँपालिका वडा नं ५ मा रहेको रुक्मिणी माविमा छात्रावास भवन निर्माणको काम शुरु भएको छ । कूल ९८ लाख रूपैयाँ बजेटमा निर्माण हुन लागेको छात्रावास भवन निर्माणको काम बन्दाबन्दीका कारण दुई साताअघि मात्र शुरु गरी असार मसान्तमा सक्ने लक्ष्य राखिएको छ । यस वर्ष ९८ लाख रूपैयाँ बजेटबाट एक तलाको १० कोठे भवन निर्माण गर्न लागिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र समालले जानकारी दिए । विद्यालयको लक्ष्य तीन तलाको बनाउने छ । चालु आर्थिक वर्षमा एकतलाको काम सक्ने र अर्को वर्ष अर्को तला थप्ने गरी काम हुने छ । छात्रावास भवन नमूना विद्यालयअन्तर्गतको हो । देशभरिका २२० नमूना विद्यालयमध्ये रुक्मिणी मावि पनि एउटा हो । नमूना विद्यालयमा छनोट भएका सबै विद्यालयलाई केन्द्र सरकारले प्रत्येक वर्ष रु डेढ करोड बजेट पठाउने गरेको छ । पहिलो वर्ष विद्यालयमा आएको डेढ करोड बजेटबाट माविले एउटा बस किनेको विव्यसका अध्यक्ष समालले बताए । उनका अनुसार सेनेटरी प्याड राख्ने यन्त्र र विद्यार्थीलाई दिवा खाजाको समेत व्यवस्था गरिएको छ । चालु वर्षमा छात्रावास भवन निर्माणसँगै बिदाका समयमा पठनपाठन सञ्चालन गरी शिक्षकलाई भत्ता, फर्निचर खरीद, थप शिक्षक व्यवस्थापनलगायत काम गरिएको छ । रुक्मिणी मावि जिल्लाकै पुरानो विद्यालय मानिन्छ ।  रासस

एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ २८ गते संवत् २०७६ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा यसलाई संरचनाका रुपमा विकास गर्न कानूनमा परिवर्तन आवश्यक हुन्छ । उक्त निर्णयलाई शिक्षा क्षेत्रमा सकारात्मक मानिएको छ । मुलुकमा सङ्घीयता लागू भइसकेको र माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्मलाई जनाइने नीति जारी भइसकेको अवस्थामा यसअघि नै कक्षा १० को एसइई परीक्षा राष्ट्रियस्तरमा गरिरहन आवश्यक नपर्ने शिक्षाविज्ञले आवाज उठाउँदै आएका थिए । सरकारले सङ्घीय शिक्षा ऐन जारी नभएको र बोर्डको प्रदेशस्तरमा संरचना तयार नभएकाले कक्षा १० को एसइईलाई निरन्तरता दिइ राष्ट्रियस्तरमा सञ्चालन गर्दै आएको थियो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पनि कक्षा १० को एसइई परीक्षालाई राष्ट्रियस्तरमा गरिरहन नपर्ने गरी प्रबन्ध गर्न सरकारलाई निर्देशन दिइसकेको छ । शिक्षा ऐन, २०२८ (आठौं संशोधन) २०७३ कार्यान्वयनमा आएपछि तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको थियो । बोर्डले कक्षा १० देखि १२ सम्मको परीक्षासम्बन्धी कार्यलाई क्षेत्राधिकार भित्र आबद्ध गर्दै आएको छ । विगतमा प्रवेशिका परीक्षा (एसएलसी) भनिने सो परीक्षाको थालनी नेपालमा विसं १९९० बाट शुरु भएको हो । बोर्ड मातहत हालसम्म कक्षा १० तथा कक्षा ११ र १२ का लागि अलगअलग परीक्षा नियन्त्रण कार्यालय सञ्चालित छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्मा पेश हुने सङ्घीयताअनुरुपको शिक्षा ऐन तर्जुमाका लागि हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल भइरहेकाले सो नयाँ ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रुपमा नयाँ व्यवस्थापन हुने बताए । गत चैत ६ गतेदेखि एसइई सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भएकामा कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थगित भएको थियो । शिक्षा मन्त्रालयले परीक्षाका विकल्पबारे सुझाव दिन बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो भने उक्त सुझावलाई मन्त्रिपरिषद्मा पेश गर्नुपूर्व सहसचिव दीपक शर्मा संयोजक रहेको कार्यदल गठन गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले विद्यालय तहको अन्त्यमा लिइने परीक्षा कक्षा १२ लाई उपयुक्त नाम दिई राष्ट्रिय परीक्षा बोर्डबाट केन्द्रीय तहको व्यवस्थापन सञ्चालन र प्रमाणीकरण गर्ने  र हालसम्म प्रचलनमा रहेको कक्षा कक्षा १० को अन्त्यमा लिइने परीक्षालाई एसइईका नामबाट नै प्रदेश तहबाट व्यवस्थापन, सञ्चालन र प्रमाणीकरण गर्ने गराउन उपयुक्त हुने बताए । बोर्ड मातहतको कक्षा १० का परीक्षा नियन्त्रक तथा सुझाव कार्यदलका सदस्य रामराजा खकुलरेलले कोरोना महामारीका कारण गत वर्षको एसइई परीक्षा पूर्व निर्धारित केन्द्रमा सञ्चालन गर्न सम्भव नहुने भएकाले सरकारको निर्णयबमोजिम सम्बन्धित विद्यालयले लिएको वार्षिक परीक्षाका आधारमा परीक्षा नियन्त्रण कार्यालयले ग्रेड निर्धारण गरी लब्धाङ्कपत्र दिने विधि तयारी भइरहेको जानकारी दिए । शिक्षा ऐन (२०२८) को आठौं संशोधनमा ‘माध्यमिक शिक्षाको कक्षा दश र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा बोर्डबाट सञ्चालन हुनेछ तर आधारभूत तहको परीक्षा जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन हुने’ उल्लेख छ । कक्षा दशको अन्त्यमा हुने परीक्षा क्षेत्रीयस्तरमा र आधारभूत तहको अन्त्यमा हुने परीक्षा जिल्लास्तरमा सञ्चालन गरिने र परीक्षा सञ्चालनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने भनिएको छ । शिक्षा अधिकारकर्मी एवं लुः निभा बाल सरोकार समूहका कार्यकारी निर्देशक नरेन्द्र डङ्गोलले माध्यमिक शिक्षाको अन्तिम परीक्षा कक्षा १२ लाई मान्यता दिने भएकाले कक्षा १० को एसइई परीक्षा राष्ट्रियस्तरमा गरिँदा विद्यार्थीलाई परीक्षाका कारण मनोवैज्ञानिक त्रास हुने बताए । गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीका कारण सबै तहका शिक्षालयको पठनपाठन र परीक्षा स्थगित भएका हुन् । गत वर्षको कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २ सय १९ विद्यार्थीले आवेदन दिएका थिए भने १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए । गत चैत ८ गतेदेखि हुने भनिएको कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो । कक्षा ११ र १२ को परीक्षाका बारेमा सरकारले चाँडै निर्णय गर्ने जनाइएको छ ।  रासस

त्रिविद्धारा स्नातककोत्तर प्रथम र तेस्रो सेमेस्टरको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातककोत्तर प्रथम र तेस्रो सेमेस्टरको नतिजा सार्वजनिक गरेको छ । विश्वविद्यालयले शुक्रबार साँझ मानविकी र सामाजिक विज्ञान संकायकाे प्रथम र तेस्रो सेमेस्टरको नतिजा सार्वजनिक गरेको हो । विश्वविद्यालयले मनोविज्ञान प्रथम सेमेस्टर, जनसंख्या अध्ययन तेस्रो सेमेस्टर, नेपाल भाषा तेस्रो सेमेस्टर,नेपाली प्रथम सेमेस्टर,नेपाली तेस्रो सेमेस्टर,अंग्रेजी तेस्रो सेमेस्टर, पत्रकारिता प्रथम सेमेस्टरकाे नतिजा सार्वजनिक गरेको हो । नतिजा हेर्न तलका लिंकहरू खाेल्नुस्:  Psychology 1st Semester Population Studies 3rd Semester Nepal Bhasha 3rd Semester Nepali 1st Semester Nepali 3rd Semester English 3rd Semester Journalism 1st Semester Gender Studies 1st Semester