विद्यार्थीलाई दिने अंकमा चलखेल सुरु, मूल्यांकनको विधि राम्रोसँग बुझाउनु पर्ने अभिभावकको धारणा
काठमाडाैं । सरकारले यस वर्षको एसईई परीक्षा विद्यालयको आन्तरिक मूल्याकंनका आधारमा गर्न सकिने निर्णय गरेसँगै त्यसमा केही चलखेल सुरु भएको छ । चैत ६ गते हुने भनिएको एसईई परीक्षा यो वर्ष कोरोनाको कारण नहुने भएपछि सरकारले विद्यालयले विद्यालयलनै विद्यार्थीको मूल्याकंन गरी अकं दिन सक्ने निर्णय गरेसँगै केही चलखेलहरु बाहिररिन थालेका छन् । कोभिड १९ को कारण सरकारले एसईई लगायत सबै तहको कारण परीक्षा रोकेको छ । विशेष गरेर एसईई यो वर्ष नहुने नै भएपछि विद्यार्थीले अंक अर्थात ग्रेट पाउन अधिकार स्वयमं विद्यालयलाई दिइएको छ । विद्यालयले आन्तरिक मुल्यांकनका आधारमा विद्यार्थीलाई अंक दिने भन्दै जिम्मेवारी सुम्पिएसँगै यसमा अंकको चलखेल धेरै हुने देखिएको छ । विभिन्न अभिभावकले विद्यालय माथि आफ्ना बालबालिकालाई ए प्लस दिनुपर्ने भन्दै दबाब आउन थालेको सरोकारवालाहरु बताउँछन् । अहिले विभिन्न अभिभावकहरुले विद्यालयलाई अर्थात निश्चित शिक्षकलाई सम्पर्क गरेर आफ्ना विद्यार्थीलाई उच्च अंक दिन आग्रह गरिरहेको कुरा बाहिरिएको हो । नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरी कुनै पनि अभिभावकले त्यसरी आफ्ना विद्यार्थीहरुलाई उच्च नम्बर दिनु भनेर लविङ गर्न उचित नहुने बताउँछन् । विद्यार्थीलाई उनीहरुको क्षमताको आधारमा अंक दिइनुपर्ने उनको धारणा छ । तर, सम्बन्धित विद्यालयले अभिभावकलाई विद्यार्थीलाई गरेको मुल्यांकन विधि राम्रोसँग बुझाउनु पर्ने उनी धारणा राख्छन् । ‘विद्यार्थीलाई मन लागदो अंक दिँदा पनि विद्यालय र शिक्षा प्रणालीप्रतिको धारणा फरक बस्न जान्छ, जे गरे पनि हुँदो रहेछ भन्ने विद्यार्थीले सोच्छन्, कसैको दवावमा नरही सही र यथार्थ मुल्याकंन गरेर अंक दिनु नै राम्रो हुन्छ,’ उनले भने । यस्तै, एनप्याबसनका अध्यक्ष रितु राज सापकोटाले अभिभावकले भनेको आधारमा विद्यार्थीलाई अंक दिने कुनै आधार नै नभएको बताएका छन् । ‘केही अभिभावकले त्यस्तो दबाब दिएका होलान् तर त्यसो भन्दैमा विद्यार्थीलाई ए प्लस दिने कुनै आधार नै हुदैन,’ सापकोटाले भने । अध्यक्ष सापकोटाले हाल विद्यार्थीलाई कसरी आन्तरिक मुल्यांकनको आधारमा अंक दिने भनेर राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाइरहेका बताए । कार्यविधि बनाइसकेपछि विद्यार्थीले कसरी अंक पाउने भन्ने आधार निर्धारण हुने उनको भनाई छ । विद्यार्थीलाई कक्षा १० मा आइसकेपछि लिइएको विभिन्न त्रैमासिक परीक्षाहरुलाई आधार मानेर आन्तिरक मुल्यांकनका अंकहरु दिइने सम्भावना बढी भएको सापकोटाले बताए । ‘विद्यार्थीले दिएको विभिन्न परीक्षाहरुको आधारमा उनीहरुलाई अंक दिन सकिन्छ, तर यो मात्र एउटा आधार भने पक्कै हुनु हुँदैन,’ उनले भने । विद्यार्थीले विद्यालयको परीक्षा र बोर्डको परीक्षामा गर्ने मिहेनत धेरै फरक हुने गरेको सापकोटा बताउँछन् । त्यसैले विद्यालयको परीक्षा मात्र आधार बनाए विद्यार्थीहरु माथि न्याए नहुने सापकोटाको तर्क छ । ‘विद्यालयले परीक्षा लिएको एक महिनापछि एसईई हुने गरेको छ । त्यो समयमा विद्यार्थीले धेरै मेहेनत गर्ने गरेका छन्, त्यसलाई पनि एउटा आधार मानेर विद्यार्थीलाई अंक दिईनुपर्छ, सापकोटाले भने । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७६ को एसईईमा कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् । परीक्षा प्रकाशित बोर्डले नै गर्ने विद्यार्थीहरुको मुल्याकंन सम्बन्धित विद्यालयले नै गरेपनि परीक्षा प्रकाशित भने राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ । एसईई परीक्षा दिने विद्यार्थीको विद्यालयले तयार पारेको अन्तिम मूल्यांकन विवरण जिल्ला विकास तथा समन्वय एकाईमा पठाउनु पर्नेछ । सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला विकास तथा समन्वय एकाईमा विद्यार्थीको अन्तिम मुल्यांकन विवरण पठाउनु पर्नेछ । उक्त समन्वय एकाइले मुल्यांकन प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनु पर्नेछ । त्यसरी प्राप्त भएको विविरणको आधारमा बोर्डले परीक्षाफल तयारी र प्रकाशन गरी प्रमाणपत्र जारी गर्नुपर्ने छ ।
वाग्मतीमा नयाँ शैक्षिकसत्रको पाठ्यपुस्तक वितरण
काठमाडाैं । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड–१९ सङ्क्रमणको पर्वाह नगरी दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यहाँका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । नयाँ शैक्षिकसत्रको अध्ययन तथा अध्यापनलाई जोड दिन वाग्मतीले सो कदम पूर्ण गरेको हो । वाग्मतीका कूल ४७ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्ने काम सम्पन्न भइसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुमार चौलागाईँले बताए । उनले भने, “भौगोलिक विकटताका कारण हाम्रो गाउँपालिकाभित्र इन्टरनेटको पहुँच एकदमै कम छ । बालविकास केन्द्र तहदेखि माध्यमिक तहसम्म अध्ययनरत करीब ३ हजार ८ सय सामुदायिक विद्यालयका बालबालिकालाई हामीले पुस्तक वितरण गरेका हाैं । यहाँ हालसम्म एउटा पनि निजी विद्यालय सञ्चालनमा आएका छैनन् ।” घरघरमै बसेर विद्यार्थीले अध्ययनलाई निरन्तरता दिऊन् र बालबालिकाको शिक्षामा हालको स्थितिले बाधा नपुगोस् भन्ने गाउँपालिकाको ध्येय रहेको चौलागाईँले जानकारी दिए । सामाजिक सञ्जालको पहुँच कम गाउँपालिकाका चारपाँच विद्यालयमा मात्र सामाजिक सञ्जालको पहुँच भएकाले हरेक विद्यार्थीलाई शिक्षामा जोड दिन ‘अभ्यास पुस्तिका’ नामक व्यावहारिक तथा समुदायमा आधारित पुस्तिका प्रकाशन गर्ने योजना बनाइएको शिक्षक चौलागाईँले बताए । उनले भने, “गाउँपालिकाका हरेक विद्यार्थीको हातहातमा अबको १५ दिनभित्र सो पुस्तिका दिने निर्णय गरेका छाैं ।” हरेक बिद्यालयले लिने आवधिक परीक्षामा सो पुस्तकमा उल्लिखित केही प्रश्न पनि सोधिने चौलागाईँले जानकारी दिए । विद्यालयमा सिसी क्यामेरा गाउँपालिकाले केही दिनअघि वडा नं ३ स्थित भट्टेडाँडा आधारभूत विद्यालयमा चार सिसी क्यामेरा जडान गरेको छ । गत वर्ष वडा नं २ माल्टामा रहेको कालीदेवी माध्यमिक विद्यालयमा एउटा क्यामेरा जडान गरिएको थियो । गाउँपालिकामा रहेका कूल १० माध्यमिक तहका विद्यालयमा पनि क्यामेरा जडान भइसकेको अध्यक्ष वीरबहादुर लोप्चले बताए । रासस
असार १ गतेदेखि टिभी र रेडियो मार्फत कक्षा १० सम्मको पढाई हुँदै, यस्ताे छ तालिका
काठमाडौं । लकडाउनको कारण शैक्षिक संस्थाहरु लामो समय बन्द रहेका छन् । केही विद्यालयहरुले अनलाईन कक्षा संचालन गरिरहेको छन् तर अधिकांश विद्यालयहरु अनलाईनमा सबै विद्यार्थीहरु समेट्न सम्भव नहुँदा कक्षा राम्रोसँग संचालन गर्न पाईरहेका छैनन् । यसैलाई मध्यनजर गर्दै सरकारले असार १ गतेदेखि रेडियो र टिभी मार्फत विद्यालयका विद्यार्थीहरुलाई पढाउने भएको छ । यो लकडाउनको समयमा अधिकांश विद्यार्थीहरुले समेट्ने उदेश्यको साथ सरकाले टिभी र रेडियो मार्फत पढाउन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द«ले यसको व्यजस्था गरेको हो । केन्द्रको अनुसार कक्षा १ देखि कक्षा ८ सम्मको विद्यार्थीको लागि एनटिभी मार्फत दैनिक बिहान १० बजेदेखि ३ बजेसम्म पढाई हुनेछ । प्रत्येक कक्षा ३५ मिनेटको हुने केन्द«ले जनाएको छ । यस मार्फत अंग्रेजी, गणित र नेपाली पढाई हुनेछ । यस्तै डिसहोम, नेट टिभी र म्याक्स टिभीको विद्यालय शिक्षा च्यानल मार्फत कक्षा ९ र कक्षा १० को पढाई हुने केन्द्रले बताएको छ । कक्षा १० को बिहान १० बजेदेखि ११ ५५ सम्म ३५–३५ मिनेटको कक्षा संचालन हुने र कक्षा ९ को दिउँसो १२ बजेदेखि २ बजेसम्म ३ वटा भिन्न विषयको कक्षा संचालन हुनेछ । विज्ञान, अंग्रेजी, गणित, नेपाली, सामाजिक, जनसंख्या वातवरणको पढाई यस मार्फत हुनेछ । काठमाडौं महानगरपालिकाले पनि मेट्रो एफएम मार्फत कक्षा १ देखि १० कक्षा सम्मको विद्यार्थीलाई पढाउन सुरु गरिसकेको छ । मेट्रो एफ. एम. ९४ थोप्लो ६ मेगाहर्जकाे रेडियो शिक्षा कार्यक्रम मार्फत महानगरपालिकाले पढाउन सुरु गरेकाे हाे । देशभर विभिन्न ठाउँमा रेडियो मार्फत पढाई सुरु भईसकेकाे छ ।