आध्यात्मिक पुस्तकको माग बढ्दो, गीता प्रेस चार घण्टा खुला
काठमाडौं । बन्दाबन्दीमा आध्यात्मिक पुस्तकका पाठकको माग बढ्न थालेपछि सुरक्षित तवरले पशुपति क्षेत्रमा रहेको प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था गीता प्रेसको बिक्री केन्द्र चार घण्टा खुल्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा घरमै बस्न बाध्य मानिसमा आध्यात्मिक पुस्तक खोजीखोजी पढ्ने बानीको विकास भएपछि केन्द्र खोल्न अनुरोध भएको थियो । पाठकको मागका कारण एक हप्ताअघिदेखि दैनिक बिहान ९ बजेदेखि दिउँसो एक बजेसम्म चार घण्टा सुरक्षित तवरले खोलिएको केन्द्रका संस्थापक एवं सञ्चालक जयकिसन सारडाले बताए । नेपालमै पहिलो आधिकारिक बिक्री केन्द्रका रूपमा २०७३ जेठमा पशुपतिमा गीता प्रेस खुलेको हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पको त्रास बढेका बेला नेपाली पाठकमा आध्यात्मिक पुस्तक पढ्ने बानीमा वृद्धि भएपछि केन्द्र खोलिएको उहाँले बताउनुभयो । विपत्ति एवं महामारीका बेला मानिसमा आध्यात्मिक पुस्तकका साथै टेलिचलचित्र हेर्ने क्रमसमेत बढ्न थालेको छ । प्रेसले नेपालीलगायत १४ भाषामा मानव कल्याणका लागि आध्यात्मिक पुस्तक प्रकाशन गर्दै आएको छ । पशुपति वनकालीस्थित माधवराज सुमार्गी स्मृति भवनको पसल नं ६, ७ र ८ मा केन्द्र सञ्चालन भइरहेको छ । “केन्द्रमा ९७ हजार ३०० नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषाका पुस्तक छन्, प्रेसका ५० पुस्तक नेपालीमा अनुवाद भएका छन्, प्रेसले प्रकाशन गरेका सबै पुस्तक नेपालीमा अनुवाद गराई नेपालीको कल्याण गर्ने केन्द्रको उद्देश्य हुनेछ, प्रत्येक नेपालीको घरमा गीता पुस्तक पुर्याउने उद्देश्यले हामीले नेपालीमा अनुवाद गरी अभियान नै चलाएका छौं”, सञ्चालक सारडाले भने। प्रेसले विसं २०६२ मा ‘रामचरितमानस’ र ‘मानव मात्रको कल्याणका लागि’ गरी दुई पुस्तक नेपालीमा अनुवाद गरेको थियो भने भूकम्पपछि पाठकको मागअनुसार आठ महिनामै अन्य आठ पुस्तक अनुवाद गरेको थियो । ‘श्रीरामचरितमानस सुन्दरकाण्ड’, ‘शरणागति’, ‘श्रीहनुमानचालिसा’, ‘आदित्यहृदयस्तोत्र’, ‘श्रीनारायणकवच’, ‘रामरक्षास्तोत्र’, ‘गजेन्द्रमोक्ष’, ‘अमोघ शिवकवच’, ‘श्रीमद्भगवत्गीता’ लगायत नेपालीमा अनुवाद गरिएका हुन् । नेपालीमा अनुवाद गरिएका पुस्तकमध्ये ‘शरणागति’ वाल्मीकि विद्यापीठका प्राध्यापक पदमप्रसाद भट्टराईले अनुवाद गर्नुभएको हो भने अन्य पुस्तक केदारनाथ दासलगायत लेखकले अनुवाद गर्नुभएको हो । बाँकी पुस्तक पशुपति क्षेत्रमै बसेर विभिन्न लेखक एवं अनुवादकले अनुवाद गरिरहेका छन् । गीताप्रेसको मुख्यालय गोरखपुरले नेपालको पहिलो बिक्री केन्द्र पशुपति क्षेत्रमै खोल्ने र अनुवाद पनि पशुपति क्षेत्रमै बसेर गर्नुपर्ने शर्त राखेको थियो । केन्द्र प्रमुख सारडा यो शर्त मानेरै केन्द्र स्थापना गरिएको बताउनुहुन्छ । केन्द्रको स्थापनापछि नेपालमा भारतीय धार्मिक पर्यटकको भ्रमण पशुपति क्षेत्रमा अझ बढेको जनाइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि मानव कल्याणका लागि केही गरौं भन्ने भावना जागेकाले एक वर्ष प्रयास गरेर प्रेसको आधिकारिक बिक्री केन्द्र खोलिएको संस्थापक सारडा बताए । केन्द्रले नाफा लिने उद्देश्य नलिएको र कर पनि नलाग्ने भएकाले प्रेसले तोकेकै मूल्यमा पुस्तक बिक्री गरिन्छ । प्रेसले पुस्तक निःशुल्क पनि नदिने र तोकिएको भन्दा बढी मूल्य पनि नलिने नीति लिँदै आएको छ । भूकम्पपछि जस्तै बन्दाबन्दीका समयमा पनि आध्यात्मिक पुस्तक किन्नेको सङ्ख्या बढ्न थालेको कमलपोखरीमा गीता प्रेसका पुस्तक बिक्री गर्दै आएकाे रोशन अधिकारी बताए । “भूकम्पपछि दश जोड दुईमा अध्ययनरत किशोर–किशोरी पनि आध्यात्मिक पुस्तक किन्न आउन थालेका थिए, अहिले पनि रोगको त्रासका कारण पनि हुनसक्छ युवायुवतीसमेत गीता प्रेसका आध्यात्मिक पुस्तक खोज्दै आउने गरेका छन्”, उनले भने । केन्द्र खोलेपछि चार वर्षको समय आफ्नो जीवन सबैभन्दा खुसी बनेको प्रमुख सारडाको अनुभव छ । बन्दाबन्दीका कारण घरमै बस्न बाध्य हुनुपर्दा मानिसमा चिन्ता, थकान, दबाबलगायत नकारात्मक तत्वको वृद्धि हुन्छ । यस्तो बेलामा गीतालगायत आध्यात्मिक पुस्तक अध्ययन गर्दा भित्रैदेखि शान्ति मिल्ने गोठाटारदेखि हिँडेर आध्यात्मिक पुस्तक किनेर फर्किएकाे पाठक रामेश्वर पुडासैनी बताए । विसं १९८० मा भारतको गोरखपुरमा श्रीजयदयालजी गोयन्दकाले वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रचार गर्ने उद्देश्यले प्रेसको स्थापना गरेका हुन् । प्रेसले हालसम्म रु ६० करोड ४६ लाख आध्यात्मिक पुस्तक १४ भाषामा प्रकाशन गरेको जनाइएको छ । हाल नेपाललगायत भारतमा समेत प्रेसका २३ बिक्री केन्द्र छन् । गीता प्रेसका सबै बिक्री केन्द्रले प्रकाशनको लगानी मात्र लिने गरी पुस्तक बेच्ने गरेका छन् । रासस
चन्द्रागिरिमा प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गरिने
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले विद्यार्थीका लागि प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गर्ने भएको छ । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण दर नेपालमा समेत बढ्न थालेपछि काठमाडौं उपत्यका प्रवेशको मुख्य नाकामा रहेको नगरपालिकाले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न लागेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विद्यार्थीलाई अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए । अनलाइन कक्षा सञ्चालनबारे नगरपालिकाको शिक्षा शाखाको बैठकसमेत बसेर छलफल भइरहेको छ । “शिक्षा मन्त्रालयले अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे सबै स्थानीय तहसँग राय मागिरेहेको बेलामा हाम्रो नगरपालिकाले पनि रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमार्फत कक्षा सञ्चालनका लागि तयारी गरिरहेको छ”, प्रवक्ता महर्जनले भने । चन्द्रागिरिमा हाल ५२ संस्थागत विद्यालय र २४ सामुदायिक विद्यालय छन् । चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । यो नगरपालिकामा १५ वडा रहेका छन् । यस्तै नगरपालिकाले कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर क्वारेन्टिन व्यवस्थापनलाई समेत अगाडि बढाइरहेको छ । सरकारले विभिन्न मुलुकबाट नेपाल आउने व्यक्तिलाई हवाईजहाज चार्टड गरेर ल्याउन शुरु गरेसँगै चन्द्रागिरिले क्वारेन्टिन व्यवस्थापनलाई प्राथमिकता दिएको हो । “भारत र विभिन्न मुलुकबाट नेपाल आउने व्यक्ति बढेकाले चन्द्रागिरिले क्वारेन्टिनको क्षमतालाई विस्तार गर्न लागेको हो”, प्रवक्ता महर्जनले भने । चन्द्रागिरीले पछिल्लो समय पिसीआर परीक्षणलाई समेत तीव्रता दिएको छ । रासस
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चीनको सिजिआजुङबीच सम्झौता
काठमाडौं । शिक्षा, अनुसन्धान तथा संस्कृति आदानप्रदान र सहकार्य गर्ने उद्देश्यले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र चीनको सिजिआजुङ टाइडाओ विश्वविद्यालयबीच सम्झौता भएको छ । एमयूका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह तथा सिजिआजुङतर्फबाट उपकुलपति प्रा डा फेङ बेन्जीद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको एमयूले जनाएको छ । सम्झौताअन्तर्गत दुवै विश्वविद्यालयबीच बहुआयामिक क्षेत्रमा सहयोग एवं सहकार्य हुनेछ । सम्झौतापश्चात् मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरु उक्त चिनियाँ विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरी पढ्न सक्नेछन् । एमयूका सूचना प्रविधि सङ्कायका उपप्राध्यापक पञ्चदेव भट्टले अनुसन्धान, लेक्चर तथा शिक्षण सिकाइका लागि प्राध्यापकसमेत आदानप्रदान गर्न सकिने जानकारी दिए । “सम्झौता हस्ताक्षर भएको मितिबाट पाँच वर्षका लागि मान्य हुनेछ, त्यसपश्चात् यसको प्रभावकारिता र आवश्यकताअनुसार थप गरिने प्रावधान राखिएको छ”, उनले भने, “यो सम्झौता एमयूमा कार्यरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीका लागि निकै उपयोगी हुनेछ ।” सिजिआजुङ टाइडाओ विश्वविद्यालय यातायात, सूचना प्रविधि तथा इन्जिनीयरिङसँग सम्बन्धित चीनको एक प्रख्यात विश्वविद्यालय मानिन्छ । रासस