नेपाली विद्यार्थीबारे इक्यानकाे चाँसो, अष्ट्रेलियन सरकार भन्छ– त्यस्ता समाचारको समर्थन गर्दैनाैं
काठमाडौं । केही समय अघि अष्ट्रेलियाका सञ्चारमाध्यममा नेपाली विद्यार्थीबारे प्रकाशित समाचारमा नेपाल शैक्षिक परामर्शसंघ (इक्यान)ले अष्ट्रेलियन सरकारी अधिकारीसँग चाँसो व्यक्त गरेको छ । गतशुक्रबार इक्यान अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वड, अष्ट्रेलियन शिक्षा विभागका प्रथम सचिव ल्यान्डल कोर्वेट र अष्ट्रेलियन हाइकमिसनका नयाँदिल्लीका अधिकारी केइटलिन म्याकफेर्सनबीच भेट भएको थियो । जसमा इक्यान अध्यक्ष पाण्डेले अष्ट्रेलियाका सञ्चार माध्यममा प्रकाशित नेपाली विद्यार्थी गरिब भएको र अष्ट्रेलियामा उच्च शिक्षा आर्जन गर्न नसक्ने सम्बन्धि समाचारमा सरकारको आधिकारिक धारणा माग गरेका थिए । पाण्डेको जवाफदिँदै राजदूत वडले प्रकाशित समाचारमा उल्लेख भएको विषय सरकारको आधिकारिक धारणा नभएको भन्दै स्पष्ट पारेका थिए । राजदूत वड तथा अन्य अधिकारीहरुले अष्ट्रेलिया नेपाल र नेपाली विद्यार्थीको प्रशंसा गर्दै अष्ट्रेलियन सरकार सकारात्मक रहेको बताए । ‘अष्ट्रेलियन सरकार त्यस्ता समाचारमा प्रकाशित विचारलाई समर्थन गर्दैन, नेपाली विद्यार्थीहरुबारे नजिकबाट अनुगमन गरिरहेका छौं,’ भेटमा अधिकारीहरुले बताएका थिए । अध्यक्ष पाण्डे नेपालीको प्रतिव्यक्ति आय विकसित देशको तुलनामा कमभए पनि सबै नेपाली गरिब नभएको बताउँदै आर्थिक रुपमा धेरै परिवार सक्षम रहेको बताए । जसले आफ्ना सन्तानका लागि अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त विश्वविद्यालय वा कलेजमा पढाउन सक्छन् । ‘पछिल्लो समय नेपालबाट गएका विद्यार्थीहरु जुनसुकै तहमा सक्षम रहेको उल्लेख गर्दै उनले आर्थिक, शैक्षिक र भाषागत रुपमा सक्षमताको प्रमाणपत्र बुझाएर मात्रै अष्ट्रेलिया गएका हुन्, त्यसैले कुनै तथ्य बिना त्यस्ता समाचार प्रकाशित हुनु गलत हो,’ उनले भने । उनले अष्ट्रेलियन सरकारले उपलब्ध गराएको शिक्षा अन्तर्राष्ट्रिय स्तरमा निकै राम्रो रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीको लगानी र ज्यानको सुरक्षाका कारणले अष्ट्रेलिया गएको बताए । ‘नेपालबाट अत्यन्तै थोरै मात्रामा विद्यार्थी अध्ययन गर्न जाने अष्ट्रेलियाका एएनयू र सिड्नी विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापकसँग नेपाली विद्यार्थीको सामिप्यता, सम्बन्ध र सम्पर्क निकै कम छ ।
आगामी माघ ९ र १० गते ‘विद्यालय शिक्षा’ सम्मेलन गर्दै प्याब्सन
काठमाडौं । आगामी माघ ९ र १० गते प्याब्सनको आयोजनामा ‘विद्यालय शिक्षा’ राष्ट्रिय सम्मेलन हुने भएको छ । काठमाडौंस्थित होटल हायत हुने उक्त सम्मेलनमा देशभरीका निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था निजी तथा आवासीय विद्यालयको संगठन नेपाल (प्याब्सन) को आयोजना र सीटीएफ नेपालको सह आयोजनामा सम्मेलन हुनेतय भएको छ । कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले आगामी माघ ९ गते विहान १० बजे गर्नेछन् । उक्त सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको पनि उपस्थित रहनेछ । कार्यक्रममा देश र देश बाहिरका शिक्षा क्षेत्रमा लागेका प्रधानध्यापक, अध्यापक तथा नेतृत्वमा रहेका व्यवस्थापकबीच व्यवस्थापकिय उन्नयनका सत्रको संचालन हुनेछ । कार्यक्रममा स्वामी आनन्द अरुणले आध्यत्यमिक मूल्यमान्यता, प्रा.डा.वालचन्द्र लईटेल स्टिम एजुकेशन, डा.सुशिल कँडेल विद्यालयका मनोविज्ञान मेदिन लामिछाने, डा.विष्णु कार्की, हेमन्त दाहाल, डा. राजेश टायल, सुशिल उप्रेती, डा. टम रवरसन, डा. लक्ष्मण ज्ञावाली, डा.वटरअर्थ, डा.हरी लम्साल, पवित्रा लिम्बु र नरबहादुर कार्कीको लगायतको विषयगच प्रस्तुती रहनेछ । ३ सय जनाको सहभागिता रहने उक्त ‘विद्यालय शिक्षा’ सम्मेलनमा सरकारी निकायका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, निजी क्षेत्रका प्रिन्सिपल, संचालक, सामुदायिक विद्यालयका प्रधानध्यापक, शिक्षक, शिक्षा नितिमा निर्माण गर्ने कानुन विद्देखि शिक्षा पत्रकारको उपस्थिति रहनेछ ।
रेडक्रसद्वारा डोटी र वैतडीमा विपद् पूर्व तयारी परियोजना सुरू
काठमाडौं । डोटी र वैतडी जिल्लामा नेपाल रेडक्रस सोसाइटीले पश्चिम विपद् पूर्वतयारी परियोजना सुरु गरेको छ । केन्द्रीय कार्यालयमा आयोजित परियोजनाको परिचय कार्यक्रममा डोटी र वैतडी जिल्लाका दुई दुईवटा नगरपालिका वा गाउँपालिका तथा ती क्षेत्र भित्रका ६ वडाका २४ वटा समुदाय र १२ ओटा विद्यालयहरुमा समुदायको उत्थानशीलताका गतिविधिहरु सञ्चालन गरिने परियोजना संयोजक डम्वरवहादुर विष्टले जानकारी दिएका छन् । यही जनवरी महिना देखि सुरु भएको ३ वर्षे सो परियोजना नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय र अमेरिकन रेडक्रसको साझेदारीमा सञ्चालन भएको हो । “परियोजनाले विपत पूर्वतयारीको लागि जिल्ला विपत व्यवस्थापन समिति, सम्बन्धित नगरपालिका र वडाहरुको क्षमता विस्तारकालागि सफ्टवेयर र पूर्वाधार विकासमा सहयोग पुर्याउने छ । यसका अलावा एकहजार नौसय ४२ घरधुरीको क्षमता विकासमा जोड दिनेछ ।” नेरेसो विपद् व्यवस्थापन विभागका निर्देशक मोना अर्यालले बताइन् । सम्बन्धित जिल्ला र स्थनीय तहहरुमा विपद पूर्वतयारी योजना निर्माण र कार्यान्वयनका अलावा समुदायमा प्राथमिक उपचार, विपद प्रतिकार्य समुह, एक घर एक झटपट झोला, एक विद्यालय एक विपद् सिकाई केन्द्र जस्ता अवधारणा सहितको यो परियोजना समावेशी स्थानीय कार्यक्रमको नमूना बन्ने अपेक्षा गरिएको छ । स्थानीय अवस्थाअनुसार नगरपालिका वा गाँउपालिका र लक्षित समुदाय स्थानीय स्तरमै छनौट हुने र त्यसको लागि आवश्यक तयारी गरिएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाको अध्यक्षतामा सञ्चालित परियोजना परिचय कार्यक्रममा नेरेसोका उपमहामन्त्री हरी प्रसाद न्यौपाने, कार्यकारी निर्देशक उमेश ढकाल, आर्थिक व्यवस्थापन विभागीय प्रमुख धर्मदत्त विडारी, विपद् व्यवस्थापन विभागका उप निर्देशक हरीमोहन श्रेष्ठ एवीसीडी कन्सोर्टियम प्रमुख नुरीया, अमेरीकन रेडक्रसका क्षेत्रीय उप निर्देशक श्री रञ्जन लगायतको उपस्थिति रहेको थियो । यस अघि सन् २०१७ जुलाई देखि अमेरिकन रेडक्रसको सहयोगमा संचालनमा आएको महाकाली नदी समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण परियोजना डडेल्धुरा र कञ्चनपुर जिल्लामा १ वर्ष थप फलोअप गतिविधि सञ्चालन हुनेछन ।