किङ्स कलेजद्धारा दिक्षान्त समारोहको आयोजना, २३० विद्यार्थी दिक्षित
काठमाडौं । किङ्स कलेजले पहिलो दिक्षान्त समारोहको आयोजना गरेको छ जसमा सो कलेजबाट विभिन्न वर्षहरुमा बिबिए गर्ने ६४ र एमबिए पढाइ सम्पन्न गर्ने १६६ गरी जम्मा २३० विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सबै दिक्षित विद्यार्थीहरुलाई बधाई दिदै उनीहरुले हासिल गरेको ज्ञान तथा शिपलाई समाज र राष्ट्र विकासमा उपयोग गर्ने विश्वास व्यक्त गरे । शिक्षाका लागि वर्षेनी हजाराैं नेपालीहरु देशबाट बाहिर जानपर्ने बाध्यता रहेको परिप्रेक्षमा देशभित्रै सुपथ शुल्कमा विदेशी पढाइ संचालन गरेकोमा किङ्स कलेजलाई धन्यवाद दिँदै धेरैभन्दा धेरै विधार्थीहरु माझ विदेशी पढाइको पहुँच बढाउनुपर्ने बताए । “आधुनिकतथा अनुसन्धानमा आधारित शिक्षा दिन सकेको अवस्थामा मात्रै हाम्रा विधार्थीहरुले अन्तराष्ट्रिय तहमा प्रतिस्पर्धा गर्नसक्छन्,” उनले भने । शिक्षा क्षेत्रको विकास र उत्थानकालागिउनको मन्त्रालयले सबै प्रयासहरु गरिरहेको जनाउँदै मन्त्री श्रेष्ठले यस क्षेत्रको बृहत्तर विकासका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने आवश्यकता औंलाए । हाल अमेरिकाको वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा बिबिए र एमबिए कार्यक्रम संचालन गरिरहेको किङ्स कलेजले २ वर्षअघिसम्म अमेरिकाकै इन्टरनेशनल अमेरिकन विश्वविधालयको कोर्श संचालन गरिरहेको थियो । दिक्षान्त समारोहमा कलेजले यि दुबै विश्वविद्यालयको कोर्श पूरा गरेका विधार्थीहरुलाई दिक्षित गरेको कलेजले जनाएको छ ।
उच्च शिक्षा अध्ययनका लागि अनेरास्ववियुको छात्रवृत्ति
काठमाडौँ । अनेरास्ववियुले उच्च शिक्षा अध्ययनका लागि १५० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । अनेरास्ववियुले राजधानीमा एक कार्यक्रमको आयोजना गरी माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तीर्ण गरेका ती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । अनेरास्ववियुका पूर्वअध्यक्ष रामनाथ ढकालको स्मृतिमा सो छात्रवृत्ति स्थापना गरिएको छ । छात्रवृत्ति प्रदान गरिएका ती विद्यार्थीलाई उपत्यकाका विभिन्न सरकारी तथा निजी कलेजमा अध्ययन गराइनेछ । छात्रवृति प्राप्त गर्ने विद्यार्थीलाई कक्षा ११ र १२ का लागि विज्ञान, मानविकी, शिक्षा र व्यवस्थापन विषयमा लाग्ने शुल्क उपलब्ध गराउने अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिए । सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले छात्रवृत्ति प्रदान गरिएका विद्यार्थीलाई कलम र कापी प्रदान गरेका थिए । कैलाली, बर्दिया, कञ्चनपुर, दोखला, जुम्ला, प्यूठानलगायत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई मात्र सो छात्रवृत्ति उपलब्ध गराइएको उपाध्यक्ष आचार्यले बताए । पूर्वअध्यक्ष ढकालको स्मृतिमा स्थापित सो छात्रवृत्ति अनेरास्ववियुले गत वर्षदेखि प्रदान गर्दै आएको छ । रासस
काठमाडौं विश्वविद्यालयलाई चार अर्ब रुपैयाँ बजेट
धुलिखेल । प्रधानमन्त्री तथा काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको ७६ औँ सभा बैठकले आव २०७३/७४ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्नाका साथै आगामी आव २०७४/७५ मा गर्नुपर्ने कार्यक्रम र बजेट पारित गरेको छ । विश्वविद्यालयसभा बैठकले स्वास्थ्य विज्ञान कार्यक्रमको रु दुई अर्ब ६४ करोड १३ लाख ४२ हजार र अन्य कार्यक्रमको रु एक अर्ब २७ करोड २० लाख गरी रु तीन अर्ब ९१ करोड ३३ लाख ४२ हजारको बजेट पारित गरेको हो । बैठकले कार्यकारी परिषद्को सिफारिसअनुसार विश्वविद्यालय सभामा रिक्त सभासद्मा प्राचार्यमध्येबाट डा चन्दा कार्की, चन्दादातामध्येबाट राजेन्द्र खेतान र सञ्जीव राजभण्डारी, लब्धप्रतिष्ठित विद्वान्मध्येबाट रामेश्वर खनाल, डा बालगोपाल वैद्य, डा स्वर्णिम वाग्ले, डा तीर्थबहादुर श्रेष्ठ र विद्याधर मल्लिक, उद्योगपतिमध्येबाट ज्ञानेन्द्रलाल प्रधान र शिक्षक प्रतिनिधिका रूपमा डा धीरज गिरीलाई मनोनयन गरेको छ । बैठकले प्राज्ञिक परिषद्मा प्रा डा सुनिलकुमार शर्मा र प्रा डा अर्पणा न्यौपानेलाई तथा पुनरावेदन समितिमा मल्लिक, डा गिरी र महादेवप्रसाद यादवलाई मनोनयन गरेको छ । सभाले आगामी आवको लेखापरीक्षण सम्पन्न गर्न एमबी श्रेष्ठ एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गर्दै पदक तथा विभूषणसम्बन्धी नियम र छात्रवृत्तिसम्बन्धी नियम पारित गरेको छ । बैठकमा प्रधानमन्त्री देउवाले विश्वविद्यालय विपन्न वर्गका जेहेन्दार विद्यार्थीको पहुँचमा पुग्न सक्नुपर्नेमा जोड दिए । “विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक निकाय बनाउनुपर्छ, अनावश्यक विवादमा तान्नु हुँदैन”, उनले भने, “बाह्य र राजनीतिक हस्तक्षेपबाट पूर्णतया मुक्त राख्नुपर्छ ।” उनले आफ्नो संरचनालाई युग अनुकूल परिमार्जन गरी समय र समाजको आवश्यकतानुसार कार्यक्रम विस्तार गर्न निर्देशन दिए । उपप्रधानमन्त्री तथा शिक्षामन्त्री एवम् विश्वविद्यालयका सहकुलपति गोपालमान श्रेष्ठले देशमा भएका स्रोत साधनलाई जनताको हितमा अधिकतम उपयोग गराउन सक्ने किसिमका अनुसन्धान गर्नुपर्ने र देशभित्रका समस्याको समाधान गर्ने दिशामा विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व, क्रियाकलाप र अनुसन्धान लक्षित हुनुपर्ने बताए । उपकुलपति प्रा डा रामकण्ठ माकजू श्रेष्ठले विश्वविद्यालयले गरेको कार्य विवरण प्रस्तुत गर्दै समुदायलाई उत्पादनशील र सिर्जनशील बनाउन विभिन्न शैक्षिक तथा प्राज्ञिक कार्य भइरहेको, स्वदेशी तथा विदेशी सङ्घसंस्थासँग सहकार्य भइरहेको, यहाँको जनशक्तिलाई अझ दक्ष बनाई वृत्ति विकास र व्यक्तित्व विकास गराउन सबै तहमा ‘स्टाफ मोबिलिटी’ का अवसर दिन थालिएको र यहाँबाट प्राप्त हुने ज्ञान र सीप दुर्गम क्षेत्रका समुदायको हितमा उपयोग गराउन विभिन्न कार्य भइरहेको जानकारी गराएका छन् । उनले विपन्न वर्गका जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन रजत महोत्सवको अवसर पारी ‘उपकुलपति रजत महोत्सव छात्रवृत्ति कोष’ खडा गरिएको जानकारी दिए । रासस