कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र
काठमाडौं । कोरोनाकाे संक्रमण फैलिएसँगै सरकारले गरेकाे लकडाउनका कारण यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । कक्षा ११का विद्यार्थीहरूकाे आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिइने भएको हाे। पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्यांकन कसरी गर्ने भन्ने सम्बन्धमा कार्यविधि बनाउने जिम्मा पाएकाे छ । यसअघि कक्षा १० को एसईई पनि आन्तरिक मूल्यांकनकै आधारमै गर्ने निर्णय भइसकेको छ । कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन ।
विद्यालयमा राखिएका क्वारेन्टाइनको विकल्प खोज्दै प्रशासन
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका यहाँका सरकारी तथा सामुदायिक विद्यालयहरुको विकल्प खोज्न थालेको छ । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विद्यालय क्वारेन्टाइनमा प्रयोग भइरहँदा बालबालिकाको पठनपाठनमा बाधा हुने कुरालाई मध्यनजर गर्दै ती क्वारेन्टाइनको विकल्प खोज्न थालिएको कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए । “बैठकले भारत, तेस्रो मुलुकलगायत अन्य जिल्लाबाट मानिस आउने क्रम केही कमी भए पनि हालसम्म नरोकिएको र कोरोनाको सङ्क्रमणसमेत नियन्त्रणमा आउन नसकेकाले उच्च सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ”, उनले भने, “मूलतः सुरक्षा व्यवस्थामा सहजता ल्याउन र विद्यालयमा रहेका क्वारेन्टिनलाई पालिकास्तरमा एकीकृतरूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनेतर्फ जोड दिइएको छ ।” लामो समयसम्म कोभिड–१९ का कारण विद्यालय बन्द रही बालबालिकाको पठनपाठनमा बाधा परेको र क्वारेन्टिनमा बस्ने व्यक्तिहरुको सङ्ख्या क्रमशः घट्दै गइरहेकाले सम्भव भएसम्म अन्य भवनको प्रयोग गरी विद्यालयबाट क्वारेन्टिन हटाई पठनपाठन सहज हुने वातावरण मिलाउँदै जाने निर्णय गरिएको सूचना अधिकारी लामिछानेले बताए । उनका अनुसार सुर्खेतका आधारभूत विद्यालयदेखि विश्वविद्यालय गरेर १ सय ७५ शैक्षिक संस्थामा क्वारेन्टाइन सञ्चालन भएका छन् । भारतबाट आएका यो जिल्लाका १४ हजार ८ सय १९ मा उक्त शैक्षिक संंस्थाहरुमा सञ्चालन गरिएका क्वारेन्टाइनमा १२ हजार ८ सय ७० नागरिक बसेका छन् । क्वारेन्टाइन सञ्चालनले विद्यालयमा आगामी दिनमा पर्ने असरबारे पनि अध्ययन गर्ने जनाइएको छ । त्यस्तै विपद् व्यवस्थापनअन्र्तगत विभिन्न क्लष्टरको नेतृत्व गर्ने कार्यालय, सङ्घसंस्थाहरुले हुनसक्ने विपद्लाई मध्यनजर गरी आवश्यकतानुसार नियमित समन्वय र सम्पर्कको माध्यमबाट तयारी अवस्थामा रहने निर्णय गरिएको उनले बताए । हाल नेपालमा देखिएको सलहको प्रकोपबाट सुर्खेतसमेत प्रभावित भएकाले यहाँको कृषि बाली नष्ट हुनबाट बचाउने कार्यलाई पनि अघि बढाइने उनको भनाइ छ । सलहको झुण्डहरु कुन दिशाबाट आएको, कति सङ्ख्यामा रहेको साथै कुन दिशातर्फ जाँदैछन् भन्ने कुराको विषयमा स्थानीय तहमा रहेका कृषि शाखामार्फत जानकारी लिई नियन्त्रणका उपाय अपनाई सोको दैनिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालय सुर्खेतमा गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने विधिहरुबारे जनचेतना अभिवृद्धि गर्ने, यस वर्षको मनसुनले पार्ने प्रभावलाई मध्यनजर गरी सबै स्थानीय तहले खोज उद्धारका सामग्री, भारी यन्त्र उपकरण आदिको व्यवस्था मिलाउन निर्देशन दिने पनि निर्णय भएको छ । रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका स्थानीय पाठ्यक्रम निर्माण गर्दै
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार चालू आवदेखि नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो । स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृति भावि पुस्तालाई हस्तान्तरण गर्नमा सघाउ पु¥याउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माणको कार्य हुन लागेको छ । आधारभूत तहको कक्षा १ देखि ८ सम्म स्थानीय पाठयक्रम निर्माण गरी लागू गर्ने योजना बनाइएको छ । चालू शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम निर्माण गरिने नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताए । उनले भने, “पाठ्यक्रमको खाका (ड्राफ्ट) तयार गर्नका लागि नगरपालिकाका विद्यालयका प्रधानाध्याकहरुको विज्ञ समिति गठन गरी कार्य अन्तिम चरणमा पुगेको छ ।” खाका तयार भएपछि नगर क्षेत्रका शिक्षा क्षेत्र समृद्ध व्यक्तिसँग छलफल र परामर्श लिई खाकालाई अन्तिम रुप दिई पाठ्यक्रमका रुपमा लागू गरिने उनले बताए । अर्को शैक्षिक सत्रमा कक्षा ४ देखि ८ सम्मको स्थानीय पाठयक्रम निर्माण गरि लागू पर्ने उनको भनाइ छ । स्थानीयस्तरका विषयवस्तुहरु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने अभिप्रायले शैक्षिक सामग्री तयार गर्ने कार्य भैरहेको छ । पाठ्यक्रममा यस क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक, आर्थिक पक्षसँगै जैविक विविधता, नदी, ताल, तलैया, वन सम्पदा, खनिज पदार्थ, जलवायु परिवर्तन, विपद्, योग, खेलकुद, असल सामाजिक कार्यक्रमहरु, स्थानीय पेशा व्यवसायलाई पाठ्यक्रममा समावेश गरिनेछ । कक्षा १ देखि ३ सम्म पढाइने स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको हुनेछ । रासस