विद्यालय नखुलेपछि विद्यार्थी अन्योलमा

बनेपा । तेमाल गाउँपालिका–३ कुडुवालका निखिल दोङको घरैमा बसेर किताब पढ्ने र काम गरेर दिन बितिरहेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिमको रोकथाम र नियन्त्रणको लागि बन्दाबन्दीले विद्यालय बन्द भएपछि नयाँ कक्षामा भर्ना भएर नयाँ किताब लिएपनि विद्यालयमा पुगेर पढ्न नपाएको निखिलको गुनासो छ । घर नजिकैको कालीदेवी प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत निखिलले विद्यालयमा गएर पढ्न मन लागेपनि पढ्न नपाएको बताए । “ भर्ना भएर नयाँ किताब त पाइयो तर विद्यालयमा गएर पढ्न पाइरहेको छैन,” उहाँले भन्नुभयो, “शिक्षकले त पढ्नु भनेर भन्नुभएको छ, हामीले कसरी पढ्ने रु कहिलेकाही नेपाली, गणित र अङ्ग्रेजीको अलिअलि पढ्ने गरेको छु ।” पढ्न लेख्न त बिर्सेको छैन तर विद्यालय गएर पढ्न मन लागेपनि जान नपाएको उनले बताए । नयाँ शैक्षिक सत्र शुरु भएर करिब तीन महिना बितिसकेको भए पनि बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि हिजो आज घाँस काट्ने र घरको काममा लागि रहेको उनले बताए । सोही विद्यालयका कक्षा ३ मा अध्ययनरत अर्का विद्यार्थी अमिर दोङको पनि चाहना उस्तै छ । कक्षा कोठामा रमाइलो गरेर पढ्ने मन भए पनि विद्यालय सञ्चालन नभएका कारण घरमा बस्ने र खेलेर समय बिताउने गरेको उनले बताए । घरमा नै खेल्ने, बस्ने र बेलाबेलामा आमा बुबाले अराएको काम गर्दै आएका छन् । निखिल र अमिर अध्ययन गर्ने विद्यालय बन्द मात्रै छैन, सो विद्यालयमा गाउँपालिकाले भारतलगायत तेस्रो मुलुकबाट गाउँ फर्केकाका लागि क्वारेन्टिन बनाएर राखिएको छ । जहाँ उनीहरुको लागि बस्ने, खाने, आराम गर्ने स्थल बनाएको छ । त्यसको लागि खाना, खाजाको ब्यवस्था गर्ने र सरसफाइ लगायतको काममा खटिने स्वयंसेविकाको बस्ने ठाउँ बनाएको छ । विद्यालयमा पढ्न नपाएको मात्रै होईन, मुख्य गेटबाट समेत प्रवेश गर्न पाइदैन । वडा नं ३ का वडाध्यक्ष विष्णुबहादुर तामाङले अहिले विद्यालयमा भारतबाट फर्किएका एक जना बसिरहेको बताए । गाउँपालिकाले हरेक वडामा क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेपछि विद्यालयलाई क्वारेन्टिन बनाएको उनको भनाइ छ । तेमाल गाउँपालिकाभित्र निर्माण गरेको १०५ वेडको क्वारेन्टिनमध्ये सबैजसो विद्यालयको भवन प्रयोग भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक शिवहरि पाठकले पालिकाभित्रमा स्थापना गरेको ९ स्थानको क्वारेन्टिनमध्ये अधिकांश क्वारेन्टिन विद्यालयमा भएको बताए । जनचेतना मावि, सर्वोद्धार मावि, कालीदेवी प्रावि, तेमाल मावि, पोखरी नारायणस्थान मावि, पुरानो स्वास्थ्य चौकी भवन, राधाकृष्ण मावि, नर्सरीडाँडा र तित्रेटारको विद्यालयमा नौ/नौ वेडको क्वारेन्टिन रहेको छ । बाँकी ६ वेडको स्वास्थ्य चौकी भवनमा रहेको छ । वडा नं ६ सिंगटीछाप पर्सेलका कालीदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक सार्कीमान तामाङले भने पालिका शिक्षा शाखाले प्रधानाध्यापकको बैठक राखेर वडा शिक्षा समितिले आ–आफ्नो सापेक्षतामा शिक्षासम्बन्धी गर्न सकिने गतिविधिहरु गर्न निर्देशन दिने काम भएको बताए । तर कतिपय मावि विद्यालयका शिक्षक पालिका बाहिरका भएको कारण टोलटोलमा शिक्षण गतिविधिहरु सञ्चालन गर्न सक्ने अवस्था नरहेको शिक्षकको भनाइ छ । गाउँपालिका शिक्षा शाखा प्रमुख केदार ढकालले भने विद्यालयका शिक्षक सक्रिय नै भइरहेको बताए । “हामीले गत शुक्रबार मात्रै प्रधानाध्यापकको बैठक राखेर विद्यालय र विद्यार्थीको बारेमा जानकारी लिने काम गरेका छौँ”, उनले भने, “विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर टोल/टोलमा जम्मा गर्ने र गृहकार्य दिने काम गर्न निर्देशन दिएका छौँ ।” भिड जम्मा नहुने गरी विद्यार्थीलाई निगरानीमा राख्ने र पढाउने अभ्यास गर्न सबै विद्यालयका प्रधानाध्यापकलाई समय÷समयमा विद्यालय खोल्न आग्रह गरेको ढकालले बताए । रासस

वैकल्पिक सिकाइ शैक्षिक सत्र गणनामा अन्योल

काठमाडाैं । विद्यालय खुल्न नसकेको अवस्थामा सञ्चालित वैकल्पिक विधिको सिकाइ नयाँ शैक्षिक सत्रमा गणना गरिएको छैन । सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट भइरहेको वैकल्पिक सिकाइ केवल लामो समयमा घरमा रहनुपरेका बालबालिकालाई सिकाइको निरन्तरता मात्रै भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्पष्ट गरेको हो । हरेक वैशाख पहिलो साता नयाँ शैक्षिक सत्रको थालनी हुँदै आएकामा यो वर्ष कोरोना महामारीले प्रभावित बनाउँदै आएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले बन्दाबन्दीका कारण प्रभावित विद्यालयमा वैकल्पिक सिकाइ प्रणाली कार्यान्वयनको अभ्यास र स्थानीय तहको भूमिकाबारे आज आयोजना गरेको भर्चुअल छलफलमा केन्द्रका निर्देशक माधवप्रसाद दाहालले भने, “वैकल्पिक विधिकै आधारमा नयाँ शैक्षिक सत्र शुरु भयो । पढाइ नै यही हो भन्ने होइन । यो मूल्याङ्कन प्रणालीमा आबद्ध भइहालेको छैन ।” दाहालले सूचना तथा सञ्चारमा पहुँच भएका र नभएका बालबालिकाको वर्गीकरणसहित ती विद्यार्थीलाई लक्षित गरी श्रव्यदृश्य, पाठ्यपुस्तक र स्वाध्यायन सामग्री विकास गरी विभिन्न माध्यमबाट पठाइएको जानकारी दिए । छलफलमा सिन्धुलीका विभिन्न स्थानीय तहका शिक्षा अधिकारीले वैकल्पिक सिकाइ सहजीकरण र अनुगनको अभ्यास भइरहेको अवगत गराएका थिए । जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नेत्र गजुरेलले जिल्लामा भएका र अन्य जिल्लाका १४ वटा रेडियोको सहयोगमा माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का लागि पनि तयारी कक्षा सञ्चालन गरिएको अनुभवका आधारमा अहिले तिनै माध्यमबाट सिकाइ शुरु गरिएको जानकारी दिए । उनले रेडियो नसुनिने र टेलिफोन नलाग्ने विकट गाउँमा टोलटोलमा शिक्षक परिचालन गरी ‘होमवर्क प्याकेज­’ सञ्चालन गरिएको बताए । स्थानीय तहले विभिन्न स्वाध्यायन सामग्री छपाइ गरी वितरण र रेडियो स्टेशनबाट कक्षा सञ्चालन भइरहेको तथा साप्ताहिकरुपमा गृहकार्य र पढाइको अनुगमन गरी विद्यार्थीका विषयगत समस्यालाई सम्बन्धित शिक्षकमार्फत समाधान गराएको जनाएका छन् । महासङ्घका अध्यक्ष कृष्ण थापाले हालसम्म वैकल्पिक सिकाइको पहुँच ४० प्रतिशतमा मात्रै पुगेको र सरकारले तयार गरेको सहजीकरण निर्देशिका पूर्वपरामर्श पर्याप्त नभएको स्थितिमा आफूहरुले स्थानीय तहसँग समन्वय गर्दै आएको बताए । शिक्षा मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी यही असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो ।   रासस

माइक्रोबाइलोजी पढेर अनुमतिपत्र नपाएपछि बेरोजगार

काठमाडौ‌ं ।  नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले मेडिकल माइक्रोवाइलोजीको अनुमतिपत्र नखुलाउँदा सयौं विद्यार्थी समस्यामा परेका छन् ।परिषद्ले २०६८ सालदेखि अनुमतिपत्र नखुलाउँदा सयौँं विद्यार्थी मुलुकमा नै बेरोजगार भएपछि विदेशिनु परेको छ । स्नातकोत्तर तह उर्तीण गरेका विद्यार्थीलाई माइक्रोवाइलोजी अनुमतिपत्र दिएपछि मात्र प्रयोगशालामा काम गर्ने गर्दछन् । तर परिषद्ले अहिलेसम्म अनुमतिपत्र नखुलाउँदा प्रयोशगालामा काम गर्ने दक्षजनशक्तिले काम पाएका छैनन् । परिषद्ले एक पटक मात्र अस्थायी अनुमतिपत्र खुलाए पनि त्यसपछि खुलाएको छैन । त्यो अस्थायी अनुमतिपत्र पनि नवीकरण भएको छैन । त्यतिबेला ११६ जनालाई अस्थायी अनुमतिपत्र दिएको थियो । विद्यार्थीले अनुमतिपत्र खुलाउनका लागि पटक–पटक परिषद्सँग आग्रह गरे पनि खुलाउन माग गर्दै पीडित विद्यार्थीले माइक्रोवाइलोजी सङ्घर्ष समिति गठन गरेका छन् । समितिका सञ्जीव घितालले अध्ययन गरे पनि अनुमतिपत्र नभएपछि आफ्नै देशमा सेवा गर्न नपाएको गुनासो गरे । ‘‘अनुमतिपत्र खुलाउन माग गर्नका लागि हामीले पटक–पटक परिषद्सँग आग्रह ग¥यौ,’’ उनले भने, ‘‘तर अहिलेसम्म खुलाएका छैनन् । हामीले काम गर्ने अवसर पाएका छैनाैँ । पढेको खेर गइरहेको छ ।’’ उनले २०७१ सालमा माइक्रोवाइलोजीमा स्नातकोत्तर तह उत्र्तीण गरेका हुन् । उनीजस्तै करिब दुई हजार ५ सय विद्यार्थीले अनुमतिपत्र नपाएर बेरोजगार भएका छन् । उनले आफूहरुले कोरोना सम्बन्धी अध्ययन गरेपनि मुलुकमा महामारी आउँदा पनि अनुमतिपत्र नभएपछि कोभिड–१९ को पिसिआर परीक्षण गर्ने काम नपाएको गुनासो गरे । त्रिभुवन विश्वविद्यालय केन्द्रीय माइक्रोवाइलोजी विभागका प्रमुख डा मेघराज वञ्जाराले परिषद्कै मापदण्डअनुसार आफूहले विद्यार्थीलाई पढाए पनि अनुमतिपत्र नपाउँदा सेवा गर्ने अवसर नपाएको बताए । उनले अनुमति पत्र नपाउँदा कोभिड–१९ को बेला प्रयोगशालमा यहाँ पढेका जनशक्तिले काम नपाएको गुनासो गरे । ‘‘हामीले ती जनशक्तिलाई कोरोना सम्बन्धी अध्ययनसमेत गराएका छाैँ’’,उनले भने,‘‘मुलुकमा यस्तो महामारीको बेला पनि उनीहरुले सेवा गर्न पाएका छैनन् । यो विडम्बना हो ।’’उनले नेपालमा सेवा गर्न नपाएपछि आफुहरुले उत्पादन गरेका जनशक्ति अमेरिका, बेलायत जस्ता ठाउँका प्रयोगशालामा काम गरिरहेको जानकारी दिए । उनका अनुसार अनुमतिपत्र नपाउँदा दुई हजार जनशक्ति विदेश पलायन भएका छन् । नेपालमा वर्षेनि १५० जना प्रयोगशालामा काम गर्ने माइक्रोवाइलोजी पढेका जनशक्ति उत्पादन हुँदै आएका छन् । विभागले परिषद्लाई माइक्रोवाइलोजीको कक्षा कोठाको अनुगमनका लागि ८० हजार बुझाए पनि अहिलेसम्म अनुगमन नगरेको विभागका प्रमुख डा वञ्जाराले बताए । उनले अनुमतिपत्रको समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र त्रिविका पदाधिकारीलाईसमेत जानकारी गराइसकेको बताए । परिषद्का रजिष्ट्रार पुष्पराज खनालले परिषद्मा शैक्षिक संस्था दर्ता नभएकोले अनुमतिपत्र नदिएको प्रष्ट पारे । ‘‘परिषद्को ऐनले परिषद्मा दर्ता भएका संस्थाका जनशक्तिलाई मात्र अनुमतिपत्र दिने भनेको छ’’ उनले भने, ‘‘हामीले त्यही अनुसार अनुमतिपत्र दिने हाैँ । उनीहरु परिषद्मा दर्ता नभएकाले अनुमतिपत्र नपाएका हुन ।’’उहाँले सम्बन्धित सरोकारवाला पक्षसहित उच्चस्तरीय सयन्त्र बसेर अनुमति पत्रबारे निकास निकाल्नुपर्ने बताए ।