उपत्यकामा कहिले सुरु हुन्छ पठनपाठन ?

काठमाडाैं । कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महिनापछि कक्षा १२ को परीक्षा सुरु भएपनि विद्यालयहरुमा तत्काल पठनपाठन सञ्चालन नहुने संकेत देखिएको छ । संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन सुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो । उपत्यकामा संक्रमणको जोखिम अझै कायम रहेकाले विद्यालय सञ्चालन हुन केही समय लाग्न सक्ने उपत्यका मेयर फोरमको आंकलन छ । भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गदै परीक्षा सञ्चालन भएपनि औपचारिक रुपमा पठनपाठनका लागि अझै समय लाग्ने काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत मोतीप्रसाद भट्टराईले बताए। महानगरपालिका र उपत्यका मेयर फोरमले संघीय सरकारसँग समन्वय गरेर अगाडी बढ्ने निर्णय गरेको उनले बताए । सरकारले स्थानीय तहले विद्यालयहरुसँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने बताएपनि उपत्यकाको हकमा तत्काल मिति तोक्न सकिने अवस्था नभएको उनको भनाई छ । कक्षाको १२ को परीक्षा सम्पन्न भएपछि विद्यालय सञ्चालनको आधार तय हुने उल्लेख गर्दै उनले पूर्वाधार तयार गरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सक्ने विद्यार्थीहरुको भएको कक्षाहरुमा पढाई सुरु गर्ने गरी अगाडी बढ्ने बयारी भएको बताए । उनले भने, ‘‘समय दिन सक्ने अवस्था छैन् । देशभित्र मात्रै नभएर बाहिरका मान्छेको जमघट पनि हुने भएकाले फुर्सदमा पछुताउनुभन्दा अलि ढिलै भएपनि व्यवस्थित ढंगले पठनपाठन सञ्चालन गर्न उपयुक्त हुन्छ भन्ने सोचमा महानगर छ । उपत्यका मेयर फोरम पनि संघीय सरकारसँग समन्वय गरेर अगाडी बढीरहेको छ ।’’ चिसो मौसममा भाइरस बढी सक्रिय हुन सक्छ भन्ने आंकलन भइरहेकाले पनि संक्रमण काम भएका स्थानीय तह वा वडाहरुबाट विस्तारै विद्यालय खोल्ने गरी अगाडी बढ्नुपर्ने उनले बताए । गत वैशाखमै हुनुपर्ने कक्षा १२ को परीक्षा सुरु भएपछि विद्यार्थी र अभिभावकहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्न र विद्यालय सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश गएको उनले बताए । महामारीको समयमा आइपरेका ठूला चुनौतीकाबीच पनि परीक्षा सञ्चालन हुनु सकारात्मक पक्ष भएको भट्टराईको भनाई छ ।

एकैदिन ३९५ वटा अस्पताल शिलान्यस हुँदै, शिक्षा र स्वास्थ्यमा भएकाे लगानी बलजफ्ती राष्ट्रियकरण नहुने

काठमाडाैं । सरकारले ३९५ वटा अस्पतालहरूकाे  मंसिर १५ गते शिलान्यास गर्ने भएकाे छ ।  प्रधानमन्त्री केपी शर्मा वाेलीले शनिवार सचिवालय बैठकमा पेस गरेकाे राजनीतिक प्रतिवेदनमा उक्त कुरा लेखिएकाे छ । ‘इतिहासमै पहिलो पल्ट, स्वास्थ्य पूर्वाधारका क्षेत्रमानयाँ टर्निङ प्वाइन्ट कायम हुने गरी,यही २०७७मङ्सिर १५ गते देशका ३९६ पालिकाहरुमा ५ देखि १५ शैयासम्मका नयाँ अस्पतालहरुको एकैसाथ शिलान्यास गरिँदै  प्रत्येक’ उनले प्रतिवेदनमा लेखेका छन्-‘पालिकामा न्यूनतम पाँच शैयाको अस्पताल स्थापना गर्ने झण्डै एक खर्बको यस अभियानले आधारभूत तहसम्मै स्वास्थ्यसेवा विस्तारमा युगान्तकारीयोगदान गर्ने छ ।’ उनले घुमाउराे भाषामा नेपाली काँग्रेसले लिएकाे नीतिका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रकाे ठूलाे लगानी बताउँदै संविधानमा निजी सम्पत्तिको सुरक्षाको प्रत्याभूति गरेकाे यिनको बलजफ्ती राष्ट्रियकरण गर्न नमिल्दैन बताएका छन् । ‘शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रको लगानी कहिलेदेखि सुरु भयो र कुन आर्थिक नीति अन्तरगत राज्यले यी क्षेत्रका दायित्वबाट हात झिक्दै गयो, स्पष्ट नै छ । तर आज यसरी गरिएको लगानी र यसमार्फत खडा गरिएका संस्था या संरचना यथार्थ हुन्। हामीले संविधानमा निजी सम्पत्तिको सुरक्षाको प्रत्याभूति गरेका छौँ। यिनको बलजफ्ती राष्ट्रियकरण गर्न मिल्दैन ।’ सरकारले यस्ता निजी लगानीका क्षेत्रको विधिसम्मत नियमन गर्ने रअर्कातिर राज्यले राम्रा स्कुल, राम्रा अस्पताल र राम्रो प्रणाली मार्फत् नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन केन्द्रीत भएकाे उनले बताए । त्यसका लागि सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने र चिकित्सा शिक्षामा छात्रवृत्तिको प्रतिशत बढाउने काम अगाडि बढेको उनले बताएका छन् ।

स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै

काठमाडाैं । सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु गरेका हुन् । शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘विद्यालय पुनः सञ्चालनमा स्थानीय तह’ विषयक छलफलमा जनप्रतिनिधिले कार्यढाँचा आएपछि विद्यालय सञ्चालनको योजना बनाउन सहज भएको जनाएका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हाल जारी कक्षा १२ को परीक्षा सामाजिक दूरीसहित व्यवस्थित सञ्चालन भएकाले अबको विद्यालय सञ्चालनको ढाँचा यस्तै प्रकारको हुने बताए । उनले अनलाइनबाट पढ्न चाहनेलाई पनि सुविधा दिँदै विद्यालय सञ्चालन गर्दा बालबालिकाको चाहना सम्बोधन हुने र उनीहरु कुलतमा फस्ने सम्भावना कम हुने जनाए । लमजुङको मस्र्याङ्गी गाउँपालिकाकाका अध्यक्ष अर्जुन गुरुङले कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिनु चुनौतीपूर्ण भएका बेला जनस्वास्थ्यको माापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न थालिएको जानकारी दिए । उनले विद्यार्थी सङ्ख्या बढी भएमा समूह विभाजन गरेर व्यवस्थापन गर्न सकिने बताए । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले विद्यालय सञ्चालनका क्रममा अभिभावक पहिलो उपभोक्त भएकाले उनीहरुसँग परामर्श लिइ सहयोग लिने वातावरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहले योजना बनाउनुपर्ने बनाए । उनले विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्न र विद्यालयमा क्वारेन्टिन वा अस्पताल नराख्न आग्रह गरे । शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले आपत्कालीन अवस्थामा विद्यालय बन्द हुन सक्ने भए पनि शिक्षा निरन्तर चल्नुपर्ने भएकाले नयाँ कार्यविधिले विद्यालय सञ्चालनका लागि सहजता दिएको औँल्याए । भक्तपुरको वासु माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बिका न्याईंच्याईंले वैकल्पिक माध्यमको पढाइका लागि सूचना र प्रविधिमा स्थानीय तहले लगानी गर्नुपर्ने बताए । शिक्षा पत्रकार समाजका प्रदेश नं २ का संयोजक सुरेश यादवले नयाँ कार्यढाँचा आएपछि विद्यालय सञ्चालनका लागि स्थानीय तह सक्रिय भएको र बन्दाबन्दीका समयमा पनि आसमान नेपाललगायतका संस्थाले समुदायस्तरमा स्वयंसेवक परिचालन गरी पढाइ सञ्चालन गरेको अनुभव सुनाए । रासस