लर्ड बुद्ध एजुकेसन र लायन्स क्लबबीच सम्झौता, जेहेनदार विद्यार्थीले साढे ८ लाख बराबरको छात्रवृत्ति पाउने
काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउण्डेसन र लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी१ बीच शैक्षिक सहकार्यको लागी सम्झौता भएको छ । सम्झौताअनुसार लर्ड बुद्ध एजुकेसन फाउण्डेसनमा सञ्चालित शैक्षिक कार्यक्रमहरु ‘बी.एस्सी. आइटी’, ‘बीबीएम ईबीजनेश’, ‘एमबीए’ र ‘एम.एस्सी.आइटी’ मा प्रत्येक कार्यक्रमहरुमा हरेक वर्ष एक जना गरिब तथा जेहेनदार विद्यार्थीले ट्युसन फीमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् । लर्ड बुद्धले प्रदान गर्ने यो छात्रवृत्ति ८ लाख ६५ हजार रुपैयाँ बराबरको रहेको छ । विद्यार्थीहरुको छनौट लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी१ ले गर्नेछ । सम्झौता पत्रमा लायन्स क्लब अफ नेपालका तर्फबाट डिस्ट्रिक गभर्नर मन बहादुर रोका र फाउण्डेसनका तर्फबाट अध्यक्ष जालानले हस्ताक्षर गरेका थिए । यसको साथै लायन्स क्लब अफ नेपाल डिष्ट्कि ३२५ बी१ अन्तर्गत रहेका क्लबका सदस्यहरु र उनका परिवारले लर्ड बुद्धमा अध्ययन गर्न चाहेमा ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् । यस छात्रवृत्तिले डिष्ट्रिक गभर्नर मन बहादुर रोक्काले प्रस्तुत गरेको नारा “नरचर द फ्युचर” लाई सार्थक बनाउने विश्वास रहेको अध्यक्ष जालानले बताए । उनका अनुसार लायन्स क्लबका सदस्यले सिफारिस गरेका जो कोही योजनाबाट लाभाम्वित हुन सक्नेछन् । काठमाडौंको मैतीदेवीमा अवस्थित नेपालकै प्रथम आइटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन मलेसियाको एसिया प्यासिफिक यूनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था हो । यस संस्थाबाट हालसम्म करिब आठ हजार भन्दा बढी व्यक्तिले सुचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरि सकेका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले यस संस्थालाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति प्रदान गरेकोे छ र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ ।
विद्यालय पुनःसञ्चालनको अधिकार स्थानीय तह र व्यवस्थापन समितिलाई दिन सुझाव
काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनका लागि चाँडै कार्यविधि ल्याउने तयारी गरेका बेला सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल र शिक्षा पत्रकार समाजले आज आयोजना गरेको भर्चुअल संवादमा सबै पक्षसँग छलफल नभएको स्थितिमा हतारमा कार्यविधि जारी नगर्न सुझाव दिइएको हो । स्वास्थ्य सुरक्षा जोखिम कायमै रहेकाले विद्यालय तत्काल खोल्दा सङ्क्रमणको खतरा हुने भएकाले सुरक्षाको सुनिश्चिततापछि मात्रै विद्यालय खोल्न वा कम जोखिम भएका ठाउँमा मात्रै विद्यालय सञ्चालनका लागि उनीहरुको सुझाव छ । सरकारले आगामी भदौ १ देखि चालू शैक्षिक सत्रका लागि भर्नाका कार्यक्रम सञ्चालन गर्न यसअघि निर्णय गरिसकेको छ भने विद्यालय सञ्चालनका लागि शिक्षक र विद्यार्थीलाई तयारीमा रहन आग्रहगरिरहेको छ । हाल सूचना प्रविधिको सहयोगमा वैकल्पिक प्रणाली माध्यमबाट सिकाइ निरन्तरता भइरहेको छ । शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यालयमा सुरक्षाको जोखिम भएका र नभएका ठाउँको पहिचान गरी जोखिम भएका ठाउँमा शिक्षकको कोरोना परीक्षण गरी विद्यालय खुलाउन सकिने बताए । उनले केन्द्र सरकारले आदेश दिने र स्थानीय तहले मान्ने प्रवृत्ति सङ्घीयतानुकूल नभएकाले विद्यालय खोल्ने काम स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको हो भने । उनले जोखिम कायमै रहेमा निरन्तर वैकल्पिक प्रणाली, स्वयंसेवक परिचालन, टोलटोलमा शिक्षक परिचालन आदि तरिकाबाट नै सिकाइ निरन्तरता दिन सकिने बताए । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन ९एन प्याब्सन० का अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय यस शैक्षिक सत्रमा विद्यालय सञ्चालन नै नभएकाले पुनः सञ्चालन भन्ने शब्दावलीको साटो कार्यविधिमा सञ्चालनका शब्दावली हुनुपर्ने र खुलाउने अधिकार स्थानीय तहमा हुनुपर्ने बताए । महासङ्घका अध्यक्ष कृष्ण थापाले विद्यालय पुनःसञ्चालनका लागि स्थानीय सरकार र व्यवस्थापन समितिको सक्रिय भूमिका हुनुपर्ने आग्रह गर्दै विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ सालको मस्यौदामा सामुदायिक विद्यालयको प्रतिनिधिमूलक छाता सङ्गठनको अगुवाइमा विद्यालय व्यवस्थापन समिति सक्रियता बढाइ विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्य सुरक्षाको विधि अपनाउने गरी प्रबन्धन नगरिएकामा महासङ्घले ध्यानाकर्षण गराइएको बताए । महासङ्घका महासचिव गुणराज मोक्तानले विद्यालय खोल्नुपूर्व अभिभावको परामर्शमा हाल विद्यालयमा स्थापना गरिएका क्वारेन्टिन र आइसोलेशन कक्ष निर्मलीकरण गर्ने, विद्यार्थी र शिक्षकको सुरक्षाको वैकल्पिक योजना र बजेटको व्यवस्था गर्ने, मनो–सामाजिक सत्र सञ्चालन गर्ने, विद्यालयमा स्यानिटाइजर र मास्कको व्यवस्था गर्दै प्राथमिक उपचार कक्ष स्थापनासमेत गराउन सरकारलाई लिखित निवेदन दिइसकिएको जानकारी दिए ।
‘त्रिचन्द्र क्याम्पस सार्ने समाचारमा सत्यता छैन’
काठमाडाैं । रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि सार्ने विषयमा कुनै सत्यता नभएको प्रस्ट पारिएको छ । क्याम्पसद्वारा आज विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो । क्याम्पसका प्रमुख प्रा डा सुनिल अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्रिचन्द्र क्याम्पसको स्थानान्तरणसम्बन्धी हालै बाहिरिएका समाचार गलत एवं भ्रामक भएको र यससम्बन्धी कुनै पनि सम्झौता सम्बन्धित निकायसँग त्रिचन्द्र क्याम्पसकोतर्फबाट नगरिएको जानकारी गराउँदै सो समाचारप्रति क्याम्पस परिवार पूर्णरुपमा असहमति व्यक्त गर्दछ ।” रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि (पहिले त्रिविको परीक्षा नियन्त्रण कार्यालय रहेको स्थानमा) सार्ने समाचार सार्वजनिक भएको थियो । ती समाचार गलत र भ्रामक भएको त्रिचन्द्र क्याम्पसको भनाइ छ । एक सय वर्षभन्दा बढी पुराना ऐतिहासिक पुरातात्विक एवं शैक्षिक भवन तथा अन्य भवनका प्रयोगशाला र कक्षाकोठा २०७२ सालको भूकम्पले क्षति भएकाले पुनःनिर्माणका लागि अपिल मात्र गरेको विज्ञप्तिमा उल्लेख छ ।