बैतडीमा अपाङ्गता भएका विद्यार्थीकाे विशेष कक्षा बन्द
बैतडी । विद्यार्थी अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो । सुर्नयामा रहेको शङ्कर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए । विसं २०६१ देखि विशेष शिक्षा सञ्चालनमा रहेको भए पनि विद्यार्थीको अभावमा बन्द भएको हो । उनले भने, “अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा दिनका लागि विशेष शिक्षाको अवधारणा आएको भए पनि विद्यार्थीको अभाव देखाउँदै विशेष शिक्षा बन्द भएको छ ।” पछिल्लो समयमा कोरोना भाइरसका कारणसमेत विशेष शिक्षाका लागि विद्यार्थी खोज्न नसकेको सम्बन्धित विद्यालयले जनाएका छन् । एकातिर अपाङ्गता भएका विद्यार्थीको शिक्षामा पहुँच पुग्न सकेको छैन भने अर्कोतिर अपाङ्गता भएका विद्यार्थीका लागि खोलिएको विशेष शिक्षा बन्द भएको छ । अपाङ्गता भएका विद्यार्थीलाई विद्यालय पुग्नका लागि सहज वातावरण नै नबनेको जिल्ला अपाङ्ग सङ्घका उपाध्यक्ष लक्ष्मी विष्टले बताइन् । उनले भनिन्, “अपाङ्गता भएका विद्यार्थीका लागि अपाङ्गमैत्री संरचना नहुँदा झन समस्या छ, विशेष शिक्षामा अपाङ्गता भएका विद्यार्थीको पहुँच नै पुग्न सकेको छैन ।” अपाङ्गता भएका विद्यार्थीका लागि सरकारले शिक्षामा पहुँच पु¥याउने नीति लिएको भए पनि सो नीतिअनुसार काम हुन नसकेको उनीहरुको गुनासो रहेको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा दिनका लागि विशेष शिक्षाको अवधारणा ल्याइएको हो । रासस
गेट कलेज विश्वकै उत्कृष्ट ईएचएल विश्वविद्यालयको सञ्जालमा
काठमाडाैं । नेपालमा अन्तर्राष्ट्रिय पाठ्यक्रममा आधारित होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको काठमाडौंस्थित ग्लोबल एकेडमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले विश्वकै पहिलो र उत्कृष्टमध्ये मानिने ईएचएल (ईएचएल.इडियू) प्राविधिक विश्वविद्यालयबाट औपचारिक सम्बन्धन पाएको छ । विश्वकै सबैभन्दा पुरानो आतिथ्य सत्कार प्राविधिक विश्वविद्यालयका रूपमा रहेको स्वीजरल्यान्डको ईएचएलले काठमाडौंस्थित गेट कलेजलाई नेपालमा आधिकारिक सर्टिफिकेसन कार्यक्रमका लागि छनौट गरेको हो । सन् १८८३ मा स्थापित स्विजरल्यान्डको पहिलो होटल व्यवस्थापन तथा आथित्य सत्कारसम्बन्धी प्राविधिक विश्वविद्यालय ईएचएलको विश्वका चीन, जापान, साउदी अरब, भारतसहितका देशमा ‘सर्टिफाइड’ आतिथ्य सत्कार शिक्षण संस्था सदस्य रहेकोमा नेपालको गेट कलेजले पहिलो अनुमति पाएको हो । ‘अन्य मुलुकहरूमा ईएचएलको सम्बन्धन वा मान्यता त्यहाँका सरकारी आतिथ्य सत्कार वा होटल स्कुलहरूले पाउँदै आएकोमा नेपालमा गेट कलेजलाई औपचारिक रूपमा सर्टिफाइड स्कुलहरूको नेटवर्कको सदस्यका रूपमा चयन गर्नु हाम्रा लागि खुसी र गर्वको कुरा हो,’ गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईंले भने । गेट कलेज स्वीस होटल एसोसियसन (एसएचए)को सम्बन्धन प्राप्त होटल व्यवस्थापन कलेज हो भने ईएचएलको संस्थापक पनि सोही एसोसियसन हो । गेट कलेजले विगत डेढ दशकदेखि होटल व्यवस्थापनमा बीएचएम तहको औपचारिक पाठ्यक्रमसहित अल्पकालीन अवधिका होटल व्यवस्थापन तथा आतिथ्य सत्कारसम्बन्धी प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको कलेजले जानकारी दिएको छ । यसबाहेक कलेजले अस्ट्रेलिया सरकारकै राष्ट्रिय योग्यतामा आधारित पाक शिक्षा प्रशिक्षण प्रदान गर्दै आएको छ । सन् २००७ देखि सञ्चालन हुँदै आएको गेट कलेजमा हालसम्म नेपालीहरूबाहेक १९ देशका करिब साढे ४ हजार विद्यार्थीले होटल व्यवस्थापन र आतिथ्य सत्कारको शिक्षा लिइसकेको कलेजले जानकारी दिएको छ । ‘विश्व नै न्यु नर्मलको अवधारणाबाट अगाडि बढिरहेको अहिलेको अवस्थामा हामी कोभिड-१९ का प्रकोपमात्र भनेर बसिरहनु उपयुक्त हुँदैन, स्वास्थ्यका तोकिएका प्रोटोकल पालना गरेर नेपालको पर्यटन उद्योगलाई ब्युँताउनुको विकल्प छैन,’ गेट कलेजद्वारा आयोजित कार्यक्रममा लकाईँले भने, ‘अबको पुनर्बहाली हुने विश्व परिवेशमा पर्यटन उद्योगका लागि विश्वस्तरीय, प्रतिष्पर्धात्मक तथा गुणस्तरीय जनशक्ति चाहिन्छ, जुन गेटको ईएचएल सर्टिफिकेसनमा आधारित शिक्षणले पूरा मद्दत गर्नेछ ।’ यस्ताे छ प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईंको सन्देश ग्लोबल एकेडमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले विगत १४ वर्षमा निरन्तर वृद्धि हासिल गर्दै गएको छ । हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता व्यावसायिक तथा स्नातक तहका शिक्षा प्रदान गर्ने शिक्षालयका रूपमा रहेका छौँ, जसले आतिथ्य सत्कार उद्योगमा प्रवेश तह/प्रारम्भिक तहका रोजगारीमा संलग्न हुन चाहने सबै विद्यार्थीहरूलाई प्रशिक्षित/दीक्षित गर्दै आएका छौँ । यसको श्रेय हाम्रो मण्डिखाटारस्थित क्याम्पसलाई दिन चाहन्छौं, जसले वितेका डेढ दशकमा १९ देशका विद्यार्थीहरूलाई गेट कलेजमा भर्ना भइ शिक्षा प्रदान गर्दै आएको छ, जहाँ नेपाली युवालाई अन्तर्राष्ट्रिय सिकाइ/शिक्षणका वातावरण सिर्जना भएको छ । हामीले हाम्रा विद्यार्थीहरूको सेवाका लागि विश्वस्तरीय प्रशिक्षक, उपकरण र अवसर प्राप्त गरेका छौं। यी विद्यार्थीहरू आफ्ना आर्थिक स्थितिमा कुनै भेदभाव नराखी शहर र गाउँहरूबाट आएका छन् । शिक्षाको बाटोमा यी नयाँ हात थाम्दै जान हामी हाम्रो वास्तविक ‘ड्रिम टिम’ को दृष्टिकोण र विश्वासबाट सम्भव छ भन्ने कुरा प्रमाणित गराउँदै लैजानका लागि प्राप्त सहयोग/समर्थनप्रति ऋणी छौं। हामी हाम्रा बहुमूल्य सरोकारवालाहरू बाँडिएका दृष्टिकोण र परिणामहरूप्रति निरन्तर विश्वासको पनि कदर गर्छौं, त्यसबिना यी सपना र उपलब्धिहरू सम्भव हुने थिएनन् । आज सन २०२१ जनवरी १ देखि गेट, ईएचएल (www.ehl.edu) का सर्टिफाइड स्कुलहरूको नेटवर्कको सदस्य बनेको कुरा यहाँहरूसमक्ष राख्न पाउँदा मलाई गर्व अनुभव भएको छ । यससँगै गेट अब स्विजरल्यान्डको पहिलो आतिथ्य अग्रणी सर्टिफिकेसन कार्यक्रमको साझेदार बनेको छ, जुन सन् १९८३ मा स्थापित भएको थियो । यो सर्टिफिकेसन कार्यक्रम ज्याक स्कुमीद्वारा स्थापित गरिएको थियो र स्विस होटल एसोसियसनद्वारा यसलाई अन्तर्राष्ट्रिय मापदण्डमा विकसित गरिएको थियो । ईएचएल, क्यूएस ग्लोबल आतिथ्य शिक्षा र्याङ्किङमा पहिलो स्थानमा छ। हामी विश्वमा आतिथ्य शिक्षाको लागि पहिलो स्थानमा रहेको उत्कृष्टता केन्द्रको एउटा प्रमाणित सदस्य हुन पाउँदा हर्षित र गौरवान्वित छौँ ! विगत सात वर्षको अवधिमा हामीलाई यस योग्य तुल्याएकोमा स्वीस होटल एसोसियनप्रति हार्दिक आभारी छौँ । तपाईंहरूको कठोर पालनपोषणले प्रतिफल प्राप्त गरेको छ ! यस नयाँ मान्यताका साथ गेटले आफ्नो क्याम्पसमा सिकाइ गुणस्तरलाई थप सुदृढ बनाउनेछ र विश्वव्यापी आतिथ्य सत्कार उद्योगको लागि उच्च मापदण्डका प्रशिक्षित कर्मचारीहरूका लागि नेपाल चिनिनेछ । यस मान्यताले हाम्रा नेपाली युवाहरूलाई विश्वमा हाम्रो समृद्ध संस्कृति प्रदर्शन गर्न तथा उनीहरूका आफ्नै प्रवीणता कारण समाजमा माथि चढ्ने अवसर प्रदान गर्नेछ ।
हिउँदे बिदामा पनि जुम्लामा पठनपानठ शुरु
सिमकोट । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । कोरोनाका कारण पाठ्यक्रम पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए । बुधबारदेखि विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीको उपस्थित न्यून रहेको बताइएको छ । कोरोना त्रासका कारण जिल्ला बाहिरका शिक्षक आउन नमानेको र स्थानीय शिक्षकले विद्यालय खोलेर सञ्चालनमा ल्याएका हुन् । जिल्ला बाहिरका शिक्षक उपस्थित नहुँदा बुधबारदेखि खोलिएका गाउँपालिकाभित्रका विद्यालय नियमित सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा आज गाउँपालिका शिक्षा शाखाले निर्णय गर्ने भएको हो । विद्यार्थी कोरोनाको त्रासभन्दा चिसोका कारण विद्यालय उपस्थित हुन नसकेका हुन् । अदानचुली गाउँपालिकामा चारवटा मावि, चारवटा निमावि र १० वटा प्रावि गरेर १८ सामुदायिक विद्यालय छन् । कर्णालीका हिमाली जिल्लामा पुस र माघमा जाडो बिदा हुने गरेको छ । कोरोनाका कारण वर्षभरि अवरुद्ध भएको पढाइ नियमित गर्न हिउँदे बिदामा पनि विद्यालय बन्द नगर्ने निर्णय गरिएको गाउँपालिकाको शिक्षा शाखा स्रोतले जानकारी दिएको छ । फागुनमा वार्षिक परीक्षा सञ्चालन जिल्लाका अन्य छ वटा गाउँपालिकाले हिउँदमा चिसो अत्यधिक हुने भएकाले फागुनमा वार्षिक परीक्षा सञ्चालन गर्ने भएका छन् । गत वर्षको चैत महिनाबाट कोरोना सङ्क्रमण त्रासका कारण विद्यालय बन्द भएपछि हिउँदे बिदा सकाएर फागुनमा वार्षिक परीक्षा सञ्चालन गरेर नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा रहेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । हिउँदको समयमा हुम्लासहित कर्णालीका उच्च हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएकाले हिउँदको समयमा पठनपाठन नगरी फागुनमा नयाँ वार्षिक परीक्षा गरेर पुनः नयाँ शैक्षिक सत्र शुरु गरिने अध्यक्ष लामाले जानकारी दिए । नाम्खा गाउँपालिकाको महाबौद्ध याल्वाङसहित अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि शैक्षिक संस्था बन्द गरेर फागुनमा हिमपात नभएमा वार्षिक परीक्षा गरिने भएको अध्यक्ष लामाले बताए । मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर पुस, माघ दुई महिना हिउँदे बिदा हुने भए पनि यो वर्ष कोरोनाका कारण पठनपाठन नहुँदा फागुनभित्रै परीक्षा सञ्चालन गरी शैक्षिक सत्र शुरु गरिने भएको हो । उत्तरी नाम्खा गाउँपालिकामा चिसो अत्यधिक हुने भएकाले कात्तिक महिनामा नै वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र शुरु हुने गथ्र्यो तर यो वर्ष कोरोनाका कारण सिधै फागुनमा गर्ने तयारी गरिएको उनले बताए । रासस