कृषि विश्वविद्यालयमा रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष र डिन नियुक्त
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्ट्रार, सेवा आयोगको अध्यक्ष र वन सङ्कायको डिन नियुक्त गरिएको छ । रजिष्ट्रारमा प्राडा शारदा थपलिया, सेवा आयोगको अध्यक्षमा प्राडा कल्याणी मिश्र त्रिपाठी र वन सङ्कायको डिनमा प्राडा बलराम भट्ट नियुक्त भएका हुन् । विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा थपलियालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । उनीसँगै प्राडा भूमिनन्दन देवकोटा र प्राडा केशव अधिकारीको नाम पनि उपकुलपतिले सिफारिस गरेका थिए । छनोट समितिबाट आएका नाममध्येबाट उपकुलपतिले कुलपतिलाई सिफारिस गर्नुपर्ने प्रावधान छ । थपलियाले यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति भई काम गरिसक्नु भएको छ । गएको माघ १२ गते प्राडा मनराज कोलाक्षपतिको पदावधि सकिएपछि विश्वविद्यालयको रजिष्ट्रार पद रिक्त थियो । रजिष्ट्रार नहुँदा विश्वविद्यालयका दैनिक कामकाज प्रभावित बन्दै आएका थिए । रजिष्ट्रारकै अभावमा विश्वविद्यालय सभासमेत हुनसकेको छैन । यसैगरी विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको सिफारिसमा कुलपति केपी शर्मा ओलीले त्रिपाठीलाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । तीन सदस्यीय आयोगमा कुलपतिबाट नियुक्त अध्यक्षसहित दुई जना र एकजना लोकसेवा आयोगका पदाधिकारी सदस्य रहने व्यवस्था छ । गएको साउन ५ गतेदेखि विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद खाली रहेको थियो । उपकुलपति रेग्मीले भट्टराई वन सङ्कायको डिनमा नियुक्त गर्नुभएको हो । छनोट समितिले प्रा वासुदेव पोखरेल र प्रा बलराम शर्मासहित भट्टको नाम सिफारिस गरेको थियो । भट्ट यसअघि पनि सोही सङ्कायको डिन थिए । सो सङ्काय हेटाैंँडामा छ । यता विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी रहेको छ । यस अघि उपकुलपति रेग्मीले डिन, अनुसन्धान निर्देशकलगायतको नियुक्तीमा विधिसम्मत नगरी मनोमानी गरेको भन्दै नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले तालाबन्दी गरेका छन् । उनीहरुले उपकुलपतिको राजीनामाको माग समेत गरेका छन् ।
खोटाङकाे एघार प्रस्तावित माविको स्तरोन्नति
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ११ प्रस्तावित माविलाई स्तरोन्नति गरेको छ । गाउँपालिकाले हालसम्म प्रस्तावित माविका रुपमा सञ्चालनमा रहेको शान्ति मावि छोरम्बु, सरस्वती मावि डाँडाखर्क सछितापोखरी, राम्चे निकेतन मावि इजारा बतासे, शान्ति निकेतन मीनाकर्ण मावि सापातेल छोरम्बु, शान्ति मावि टेम्मा, पञ्चौशिका मावि भण्डारेघाट बतासे, महेन्द्रोदय मावि याम्खा, धिप्लुङ मावि सेम्मा छितापोखरी, जनसेवा मावि दिहुँ छितापोखरी, सरस्वती मावि कुलागाउँ सछितापोखरी र याङसोला मावि छोरम्बुलाई माविमा स्तरोन्नति गरेको हो । हालसम्म मावि तहको पठनपाठन हुँदैआएको तर मावि शिक्षकको दरबन्दी नभएका प्रस्तावित माविलाई माविमा रुपान्तरण गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । गत वर्ष पञ्चकौशिका आधारभूत विद्यालयलाई मावि तहको पठनपाठनको स्वीकृति दिएको गाउँपालिकाको असोज ३० गते बसेको गाउँकार्यपालिकाको बैठकले एकैसाथ ११ प्रस्तावित माविलाई माविमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । सात वडा रहेको गाउँपालिकामा हालसम्म महेन्द्रोदय मावि ओख्रे डाँडागाउँ, कृष्ण मावि टेम्मा र जनता मावि भण्डारीडाँडा बतासे मात्र स्थायी मावि थिए । माविमा रुपान्तरण गरिएका विद्यालयमा स्थायी शिक्षकको दरबन्दी सिर्जना गरेर शिक्षक व्यवस्था गर्दै पठनपाठन शुरु गरिएको गाउँपालिका प्रमुख राईले बताए । अपुग शिक्षकका लागि दरबन्दी सिर्जना गरेर शिक्षक नियुक्ति गरिने गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसअघि सामुदायिकतर्फ ९३ माध्यमिक विद्यालय सञ्चलनमा थिए । यसैबीच साकेला गाउँपालिकाले तीनवर्षे डिप्लो(बिए) तहको बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँसभाबाट पारित आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्राविधिक धारतर्फ तीनवर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययन गर्ने छात्रछात्रालाई जनही ५० हजारका दरले छात्रवृत्ति प्रदान गर्ने भएको हो । तीन वर्षमा दश छात्रछात्राका लागि २० लाख खर्च गर्ने गरी प्राविधिक धारका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । छात्रवृत्ति गाउँपालिकाभित्रका विद्यार्थीले मात्र पाउनेछन् । साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माविमा सञ्चालन भइरहेको तीनवर्षे डिप्लो तहको बाली विज्ञान विषय अध्ययन गर्ने छात्रछात्रालाई लक्षित गर्दै गाउँपालिकाले छात्रवृत्ति कार्यक्रम ल्याएको थियो । छात्रवृत्ति कार्यविधि पास गरेरै गाउँपालिकाका पाँच वटै वडाका दुई/दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । वडाको सिफारिसमा विपन्न, महिला, दलित तथा जेहेन्दार छात्रछात्रालाई प्राथामिकता दिएर छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिका प्रमुख खड्काले बताए । गाउँपालिकाले छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन यही पुस २ गते सूचना जारी गरेको थियो । रासस
कक्षा ११ काे परीक्षा आउन ४ महिना बाँकी, पाठ्यक्रमकाे टुङ्गो छैन
काठमाडाैं । पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन । पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन । भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै रिट दर्ता गरेका थिए । रिटमाथि सुनवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएको थियो । त्यसपछि पनि चारपटक तोकिँदासमेत फैसला हुनसकेको छैन । अब फैसलाको पेसी पुस २७ लाई तोकिएको छ । अब पनि तोकिएकै मितिमा फैसला हुने अन्योल छ । यसैले विद्यालयहरूले नयाँ वा पुरानो पाठ्यक्रम पढ्ने टुङ्गो छैन । “अहिले त विद्यालय गयो/आयो मै बित्दैछ । सामान्य पढाइ हुन्छ तर कोर्ष फेरिएमा के गर्ने भन्ने लाग्छ, पढ्न मन लाग्दैन”, इलाम सदरमुकामको कक्षा–११ मा पढ्ने एक विद्यार्थीले भने, “नपढेर पनि सुख छैन । जेठमा परीक्षा हुने कुरा छ । पढौँ कोर्ष निश्चित छैन ।” त्यसो त यसको असर विद्यार्थीलाई मात्र नभई अभिभावक र शिक्षकलाई पनि उस्तै परेको छ । एकातिर कोरोना महामारीले कतिपय विद्यार्थी भर्ना हुनसकेका छैनन् भने भर्ना भएका विद्यार्थीका लागि पनि पढ्ने वातावरण छैन । पाठ्यक्रम निर्माणको प्रारम्भिक चरणदेखि नै गणितलाई अनिवार्य विषयका रूपमा समेटिनुपर्ने माग थियो । अदालतमा विचाराधीन मुद्दामा पनि यो माग गरिएको छ । अन्योलको विषय भएकाले पढाउन अत्यन्तै असहज भएको आदर्श माध्यमिक विद्यालय इलामका शिक्षक शिरोमणि भट्टराई बताउँछन् । नयाँ र पुरानो दुवै पाठ्यक्रम पढाउन अन्योलमा रहेकाले अनुमानका भरमा दुवै पाठ्यक्रम पढाउँदै गरेको भट्टराई बताउँछन् । “के पढाउने भन्ने नै थाहा छैन । त्यसैले दुवै कोर्षलाई बीचबाट पढाउँदैछाैँ”, भट्टराईले भने, “पूर्णाङ्क पनि मिल्दैन । पहिलेको ५०० को थियो नयाँमा ६०० को छ । कसरी मिलाएर पढाउने दोधारमा छौँ ।” नयाँ पाठ्यक्रममा कक्षा ११ र १२ मा सङ्काय प्रणाली अन्त्य गरेर अनिवार्य र ऐच्छिक विषय राखिएको छ । केही नयाँ काम त नयाँ पाठ्यक्रमले गरेको छ तर विद्यार्थी भने अन्योलमा परेका छन् । कक्षा ११ मा भर्ना आएका विद्यार्थी तिनै विद्यार्थी हुन्, जुन विद्यार्थी गएको वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) लेख्ने तयारी गर्दैगर्दा कोरोनाका कारण बन्दाबन्दी भएपछि आन्तरिक प्रक्रियाबाट नतिजा सार्वजनिक गरिएको थियो । परीक्षाको मितिभन्दा केही समयअघि मात्रै यस्तो निर्णय आएपछि विद्यार्थी हतोत्साहित हुँदै घर फर्किएका थिए । एसइईको नतिजा आन्तरिक प्रणालीबाट भएपछि समेत विद्यार्थी आलोचित हुनुपरेको थियो । सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा पनि ‘कोरोना ब्याच’, ‘सित्तैमा दिएको अङ्क’ भन्दै गालीगलौज गरिएको थियो । तिनै विद्यार्थी अहिले कक्षा ११ मा पुग्दा अर्को समस्या आएको छ । सामान्यतया कक्षा ११ को अन्तिम परीक्षा वैशाख अन्तिमबाट शुरु हुने गर्छ । यसरी हेर्दा चार महिना मात्र बाँकी छ तर यतिबेलासम्म विद्यार्थी सर्वोच्चको आदेश पर्खिएर बस्नुपरेको छ । सामान्यतया हरेक पाठ्यक्रम १०/१० वर्षमा परिमार्जन हुनुपर्ने प्रावधान छ । अहिले पाठ्यक्रम परिमार्जन हुने समय पनि हो तर शैक्षिक सत्रको बीचमा अन्योल देखिँदा विद्यार्थीमाथि ‘आघात’ पुगेको छ । नयाँ पाठ्यवस्तु बजारमा आइसकेको छ । कतिपय विद्यार्थीले किन्न थालेका पनि छन् तर पाठ्यक्रम नै अन्योलमा रहेकाले किन्न आउने विद्यार्थीलाई समेत बेच्न नसकेको जिल्ला पुस्तकालय सङ्घका अध्यक्ष एवं तेह्रथम पुस्तक पसल इलामका सञ्चालक टङ्क धमलाको भनाइ छ । “धेरै विद्यार्थी त के गर्ने भन्दै सल्लाह माग्छन्, जानकारी दिएपछि कतिले किन्छन्, कतिले नकिनी फर्कन्छन्”, धमलाले भन्नुभयो । नयाँ पाठ्यक्रम लागू भएको खण्डमा भने पाठ्यपुस्तक पाउन सहज छ तर सर्वोच्चले पुरानो पाठ्यक्रम लागू गर्न भन्दै फैसला गरेमा भने पुनः समस्या आउने अध्यक्ष धमलाको भनाइ छ । पुरानो पाठ्यवस्तु पर्याप्त नभएकाले यो शैक्षिक सत्रभर नै पढ्न नपाउने धमलाको भनाइ छ । रासस