पशुपति पुस्तकालयका महत्वपूर्ण २०० पुस्तक पूर्व पदाधिकारीसँग
काठमाडौं । पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु संकलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औँ वर्षदेखि फिर्ता गरेका छैनन् । नेपाल वेद विद्याश्रमले वि.सं. २०३१ मा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालयसमेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएको थियो । वि.सं. २०५६ साउनपछि वेद विद्याश्रमसमेत कोषले सञ्चालन गर्न थालेको छ । कोषले वेद विदाश्रम सञ्चालन गर्न थालेपछि दुवै पुस्तकालयलाई एउटै बनाइएको हो । पुस्तकालयमा रहेका पाँच हजार पुस्तकमध्ये महत्वपूर्ण २०० पुस्तक कोषका पूर्वपदाधिकारीले लगेको सूचना आफूले पाएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउँछन् । बाहिर रहेका पुस्तक संकलन गरी पशुपति क्षेत्रमा आकर्षक पुस्तकालय सञ्चालन गर्न लागिएको पनि कोषले जनाएको छ । ‘पूर्वपदाधिकारीले लगेका पुस्तक घरघरमै गएर संकलन गरी नमूना पुस्तकालय सञ्चालन गर्छौं, वेद विद्याश्रमका विद्यार्थीका लागि पनि पुस्तकालयले अध्ययनमा सहयोग गर्नेछ, पशुपति क्षेत्रमा आउने भक्तजनले समेत केही समय बसेर अध्ययन गर्न चाहेमा पढ्न पाउने व्यवस्था मिलाउँछौं’, उनले भने । कोष मातहत पुस्तकालय भए पनि विगतमा कमै खुल्ने गरेको थियो । कोषले हालै पुस्तकालय हेर्ने कर्मचारीसमेत तोकेको छ । वेद विद्याश्रममा अध्ययन गर्दै हाल अध्यापनसमेत गराउन थालेका मनोज घिमिरे विद्यार्थी र अध्यापक गरी २० वर्षे अवधिमा कहिलेकाहीँमात्र पुस्तकालय खुलेको सुनाउँछन् । वि.सं. २०५६ देखि कोषले चलाएको पुस्तकालयमा तोकिएका कर्मचारी कहिले आउने कहिले नआउने गर्दा प्रायजसो बन्द रहने गरेको उनले जानकारी दिए । राष्ट्रदेवका रूपमा पूजिने पशुपतिनाथको मन्दिर रहेको क्षेत्रमा स्वदेश र विदेशबाट समेत वार्षिक लाखौँ पर्यटक आउने गरेका छन् । ती पर्यटकका लागि पशुपतिनाथ, पूर्वीय दर्शनलगायत विषयमा जानकारी लिने पुस्तकालयको अभाव छ । पुस्तकालयमा विभिन्न वेद, शिवपुराण, नेपाली निघण्टुलगायत पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तक छन् । शहरी क्षेत्रमा इ–पुस्तकालयको समेत अवधारणा आइसकेको समयमा यहाँ भने भइरहेको पुस्तकालयसमेत व्यवस्थितरूपमा सञ्चालन हुन सकेको छैन । महाविद्यालयका रुपमा विकास गरिँदै वेद विद्याश्रम वेद विद्याश्रममा हाल २०९ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । एक सय नौ विद्यार्थीका लागि आवासीय व्यवस्था गरिए पनि कोरोना भाइरसको संक्रमण शुरु भएसँगै वेद विद्याश्रमको छात्रावास बन्द छ । कोरोनाका कारण बन्दाबन्दी भएका बेला विद्याश्रम बन्द गरिएको थियो । अन्य क्षेत्र खुला भएसँगै प्रशासन खोलेर अनलाइनमाध्यमबाट पठनपाठन शुरु गरिए पनि प्रभावकारी हुन नसकेको अध्यापकहरुको अनुभव छ । हाल कक्षा ४ देखि १२ सम्म पढाइ हुने विद्याश्रममा वि.सं. २०७६ देखि ११ कक्षा शुरु भएको हो । हाल कक्षा ११ मा २२ र कक्षा १२ मा १७ विद्यार्थी अध्ययनरत रहेको विद्याश्रमका प्रधानाध्यापक विष्णुप्रसाद पोखरेल बताउँछन् । संस्कृत माध्यमिक विद्यालय रानीपोखरी र उत्तर वाहिनी गुरुकुलमा समेत गत वर्षदेखि कक्षा ११ को पढाइ शुरु भएको छ । उपत्यकाका यी तीन संस्थामा कक्षा ११ र १२ मा संस्कृत पढाइन्छ । विद्याश्रमलाई कोषले सञ्चालन गर्नुअघि गुठी संस्थानले चलाउने गरेको थियो । वि.सं. २०५२ देखि २०५४ सम्म दुई वर्ष भने विश्व हिन्दू महासंघले विद्याश्रम सञ्चालन गरेको थियो । वि.सं. २०५४ देखि २०५६ सम्म फेरि संस्थानले नै सञ्चालन गरेको जनाइएको छ । संस्थानले २७ जना विद्यार्थीका लागि आवासीय व्यवस्था गरेको थियो । वि.सं. २०५५ मा पशुपतिनाथको दर्शनसहित नेपाल भ्रमणमा आएका काञ्चीकामाकोटी पीठका शंकराचार्य जयन्द्र सरस्वतीले पाँच विद्यार्थीका लागि आवासीय विद्यार्थी थप गरिदिएका थिए । वि.सं. २०५६ मा तीर्थराज आचार्यले पशुपति क्षेत्रमा लगाएको सोमयाग यज्ञबाट जम्मा भएको स्रोतबाट एक जना विद्यार्थीका लागि विद्याश्रमको आवासीय सुविधा थप गरिएको थियो । वि.सं. २०६० मा बलबहादुर केसी संस्कृति मन्त्री हुँदा विद्याश्रममा एक जिल्लाको एक जना विद्यार्थीलाई आवासीय रूपमा छात्रावासमा राखी पढ्ने व्यवस्था गरिएको प्रधानाध्यापक पोखरेल बताउँछन् । वि.सं. २०७६ देखि भने आवासीय विद्यार्थीको संख्या बढाएर १०९ पुर्याइएको छ । आवासीय विद्यार्थीको संख्या १०९ पुर्याएपछि कोरोनाका कारण १० महिनादेखि छात्रावास बन्द छ । कोषले विद्याश्रमलाई महाविद्यालयका रूपमा अघि बढाउने सोच अघि सारेको छ । यसका लागि विद्याश्रमका भवन जीर्णोद्धारसँगै बिस्तारसमेत हुन थालेका छन् । योग कक्षा, यज्ञशाला र कक्षाकोठा धमाधम निर्माण भइरहेको छ । पशुपति क्षेत्रस्थित वनकालीको ३१ रोपनी क्षेत्रफलमा फैलिएको विद्याश्रम नेपालमा वेदको औपचारिक पठनपाठन हुने महत्वपूर्ण शैक्षिक संस्था हो । यही विद्याश्रमकै कारण पाठ्यक्रम विकास केन्द्रले वेद विद्याश्रमको छुट्टै पाठ्यक्रम निर्माण गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक समेत छपाइ भइरहेको छ । यसबाट देशभर सञ्चालनमा रहेका करिब २०० गुरुकुललाई सहयोग पुगेको छ । विद्याश्रम पूर्वीय दर्शनको संरक्षणमा महत्वपूर्ण शैक्षिक संस्था भए पनि शिक्षक, कर्मचारीको वृत्ति विकासमा व्यवस्थापनले ध्यान नदिएको गुनासो हुने गरेको छ । वि.सं. २०५६ देखि कार्यरत शिक्षक, कर्मचारीमध्ये विद्याश्रमका एक जना अध्यापकमात्र स्थायी र अरु करारमा नियुक्ति हुँदा शैक्षिक क्रियाकलापमा असर पुगेको छ । करारमा काम गर्दा अवसर पाउनेबित्तिकै अध्यापक अन्यत्र जाने गर्नाले पठनपाठनमा समस्या आउने गरेको हो । रासस
भाैतिक रुपमा खुले काठमाडौं महानगरका विद्यालय
काठमाडाैं । कोभिड १९ को कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय भाैतिक रुपमा आइतबारदेखि खुलेका छन् । कोभिड १९ संक्रमणको कारण गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका छन् । काठमाडौं महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पुरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरुको उपस्थितिमा भौतिक रुपमा विद्यालय खोल्न सकिने बताएपछि आइतबारदेखि महानगरपालिका भित्रका केही विद्यालय खुलेका हुन् । कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेर विद्यार्थीहरुको चाप घटाएका छन् । विजय स्मारक माध्यामिक विद्यालयका प्रध्यानाध्यापक डिल्लीप्रसाद शर्माले आइतबारदेखि आफ्नो विद्यालय भौतिक रुपमा पठन पाठन गर्नेगरी खुलेको जानकारी दिए । नर्सरीदेखि कक्षा ५ सम्म एक सिफ्ट र ५ कक्षादेखि १० कक्षासम्म अर्को सिफ्ट गरी विद्यालय सञ्चालन गरीने प्रधानाध्यापक शर्माले बताए काठमाडाैंका केहि विद्यालयहरु आइतबारदेखि खुलेपनि सम्पूर्ण विद्यालय खुल्न भने अझै केही दिन लाग्ने भएको छ । कतिपय विद्यालयले भने पूर्वतयारी गरिरहेको र काठमाडौँ महानगरपालिकाको औपचारिक पत्र प्राप्त नगरेको भन्दै विद्यालय खोलिसकेका छैनन् । केही दिनपछि पठनपाठन सञ्चालन गर्ने उनीहरुको तयारी रहेको छ । रत्नराज्य माध्यामिक विद्यालयका प्रध्यानाध्यापक रामाशिस यादव शिक्षक र विद्यार्थी विद्यालय आउन उत्सुक भएपनि पूर्वतयारी गर्न समय लाग्ने भएकाले केही दिनमा विद्यालय खोल्ने बताउँछन् । कतिपय विद्यालयले अनलाइन प्रणालीमार्फत कक्षा सञ्चालन गरिरहेका थिए । भौतिक रुपमा विद्यालय सञ्चालन गरिएसँगै विद्यार्थीहरु मास्कको प्रयोगसहित विद्यालय जान थालेका छन् ।
काठमाडाैं विश्वविद्यालयकाे उपकुलपतिकाे लागि ४४ जनाले बुझाए व्यक्तिगत विवरण
काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालय (केयु)मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको बताइएको छ । केही दिनअघि उपकुलपति नियुक्त गठन गर्न सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक अपिल गरेपछि केयुको उपकुलपति बन्न ४४ जनाले आफ्नो व्यक्तिगत विवरण बुझाएका थिए । केयु प्राध्यापक सङ्घले विश्वविद्यालयको नेतृत्वमा उत्रेका उनीहरुमध्ये ३७ प्राज्ञिक व्यक्तित्वले प्रतिस्पर्धा गर्नु सकारात्मक सन्देश भनेको छ । “धेरै प्राज्ञिक व्यक्तित्वले केयुको नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको छ हामीले नेतृत्व गर्न चाहने आकाङ्क्षीसँग आजैदेखि छलफल शुरु गर्दैछौँ”, सङ्घका सभापति प्रा डा विवेक बरालले भने । उनका अनुसार उपकुलपति सिफारिस समितिलाई विश्व परिस्थितिअनुसार विश्वविद्यालयलाई नवीन सोचका साथ डो¥याउने, शैक्षिक क्षेत्रको उन्नयन तथा मार्गनिर्देशित गर्ने उद्देश्य बोकेको सक्षम, निष्ठावान् र उत्कृष्ट उम्मेदवार छनोट गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले छलफल शुरु गरिएको हो । सङ्घको छलफल कार्यक्रम तालिका अनुसार उपकुलपति आकाङ्क्षी उम्मेदवारसहित आज साँझ शुरुगरी आइतबार र सोमबारसम्म सङ्घ आबद्ध प्राध्यापक, कर्मचारी, विद्यार्थी, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालालाई आग्रह गरेको हो । सङ्घले केयुमा लामो समय एउटै व्यक्ति दोहो¥याउँदा उपकुलपति सिफारिस प्रक्रिया अपारदर्शी तथा सिफारिस समितिप्रति शङ्का पैदा हुने भएकाले बृहत् छलफल तथा आम चाहनाअनुसार उपकुलपति चयन गर्न आग्रहसमेत गरेको छ । “केयु कार्यकारी परिषद्ले आवधिक पदमा एक व्यक्ति एक पद र अधिकतम दुई कार्यकालको पद्धतिको विकास गर्नेमा निर्णय गरिसकेको छ”, डा बरालद्वारा हस्ताक्षरित सङ्घको विज्ञप्तिमा उल्लेख भनिएको छ, “यसर्थ हालका उपकुलपतिले नेतृत्व गर्ने लोभ नरहेको विषय विभिन्न अन्तवार्ता भनिसकेको र पद्धति विकासमा हस्तक्षर गरिसकेकाले एकै व्यक्तिलाई सिफारिस गरिनु हुन्न ।” विसं २०४८ मा स्थापित केयुमा प्रा डा सुरेशराज शर्माले २१ वर्ष र डा रामकण्ठ माकजुले आठ वर्ष नेतृत्व गरिसकेका छन् । डा माकजुको दोस्रो कार्यकाल यही हप्ता अर्थात् माघ ७ गते सकिँदैछ । उनको कार्यकाल माघ पहिलो हप्ता सकिने भएपछि विश्वविद्यालय सभाले गत पुसमै शिक्षामन्त्री एवं सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिका केयुका संस्थापक उपकुलपति डा सुरेशराज शर्मा र केयु संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना सदस्य छन् । सिफारिस समितिले तीन जनाको नाम सिफरिस गर्ने र त्यसमध्येका एकलाई उपकुलपति नियुक्त गर्ने प्रावधान छ । विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न पहिलोपटक सार्वजजिकरुपमा दर्खास्त आह्वान गरेपछि ३७ प्राध्यापक÷प्राज्ञिक तथा बाँकी सहप्राध्यापक, उपप्राध्यापक र प्राज्ञिक क्षेत्र बाहिरका सहित ४४ ले व्यक्तिगत विवरण बुझाएको मन्त्रालय स्रातले जनायो । वर्तमान उपकुलपति डा माकजुले पनि पुनःनियुक्तिका लागि व्यक्तिगत विवरण बुझाएको जनाइएको छ । सिफारिस समितिले व्यक्तिगत विवरण रुजु गरिसकेकाले आउँदो सोमबार थप छलफल गर्ने कार्यतालिका बनाएको छ । उपकुलपति नियुक्त गर्न पहिलोपटक सार्वजजिकरुपमा दर्खास्त आह्वान गरेकामा खुशी व्यक्त गर्दै सङ्घका महासचिव डा विकास अधिकारीले विवादरहित व्यक्तिलाई विश्वविद्यालयको नेतृत्वमा ल्याउन आग्रह गरे । उनले भने, “बद्लिँदो विश्व–परिस्थितिअनुसार विश्वविद्यालयलाई डो¥याउने योग्य, सक्षम, निष्ठावान् र कहीँकतै विवादमा नफसेको व्यक्तिको आवश्यकता छ, यो सिफारिस समितिले मनन गरोस् ।” शिक्षासँग सरोकार राख्ने विभिन्न संस्था एवं व्यक्तिले केही हप्तादेखि केयुमा विवादरहीत व्यक्तिलाई नेतृत्व प्रदान गर्न आग्रह गर्दै आएका छन् । रासस