कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

काठमाडाैं । दश महिनापछि काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो । कामपाको आइतबार बसेको शिक्षा समितिको बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो । समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका– २०७७’ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने पनि उनले बताए । गत मङ्सिरको पहिलो सातादेखि कामपाका केही संस्थागत विद्यालय पूर्णरूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने भने आंशिकरूपमा मात्र सञ्चालन भएका थिए । बैठकले वडा १२ बह्मटोलमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालय र वडा नं ३ महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई कम्प्युटर इञ्जिनीयरिङ र वडा नं ११ को विश्व निकेतन माविलाई इलेक्ट्रिकल इञ्जिनीयरिङ प्राविधिक विषय अध्यापनको अनुमति दिएको छ । यो कक्षा ९ देखि १२ को कार्यक्रम हो । अनुमति दिइएका विद्यालयलाई कामपाले ५० लाख अनुदान दिएर पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नेछ । बैठकले नेपाल भाषाका पाठ्यपुस्तक छपाइ गर्न प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी वडा नं २६ सामाखुशीमा रहेको हार्मोनी मन्टेश्वरी इलिमेन्ट्री स्कूललाई वडा नं ६ मा स्थानान्तरणको अनुमति दिने, वडा नं १५ स्वयम्भूमा रहेको सुप्रिम एजुकेशन फाउन्डेशन प्रालिको नाम परिवर्तन गरेर सुप्रिम शिवबाबा स्कूल कायम गर्ने निणय पनि गरेको छ । हाल कामपामा ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय रहेका छन् ।

हुम्लामा माघ १५ देखि पठनपाठन हुने

हुम्ला । यहाँका दुई गाउँपालिकाका ६० विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु हुने भएको छ । कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर विद्यालयमा पठनपाठन हुने भएको हो । कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा यही माघ १५ गतेदेखि पठनपाठन शुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताए । सदरमुकाम सिमकोट गाउँपालिकाभित्रका विद्यालयमा पनि यही माघ १५ गतेदेखि पठनपाठन सुचारु गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । गाउँपालिका र विद्यालयका प्रधानाध्यापकबीचको बैठकले पठनपाठन शुरु गर्ने निर्णय गरेको हो । रासस

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु

कन्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रुपमा उपस्थित भई कक्षा सञ्चालन गरिएको हो । विश्वविद्यालयको माघ ५ गतेको वैठकले प्रत्यक्ष रुपमा कक्षामा उपस्थित भई कक्षा सञ्चालन गर्ने निर्णयानुसार सञ्चालन गरिएको मानवीकी तथा सामाजिक शास्त्र सङ्काय विभागका प्रमुख हरिशचन्द्र भट्टले बताए । उनका अनुसार स्नातक छैटौ र आठौ सेमेस्टरका लागि बिहान १० बजेदेखि, स्नातक दोस्रो र चौथो सेमेस्टरका लागि बिहान ११ बजेदेखि र स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टरका लागि दिउँसो ३ बजेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यसैगरी, व्यवस्थापन सङ्कायका सम्पूर्ण कक्षासमेत सञ्चालन गर्ने निर्णय गरिएको छ । बिबिए दोस्रो, चैथो, छैटौ, आठौ, बिबिएस दोस्रो वर्ष, तेस्रो वर्ष, एमबिएम दोस्रो सेमेस्टर चौथो सेमेस्टरका कक्षा सञ्चालनका लागि समय निर्धारण गरिएको छ । बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म फरकफरक समयमा कक्षा सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ । शिक्षा शास्त्र विभागअन्तर्गत स्नातक र स्नातकोत्तरका कक्षा समेत बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएका छन् ।