त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ हुने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिए । उनले कोभिड–१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थित गरेर कक्षा सञ्चालन गर्न थालिएको बताए । कोभिड–१९ पछि त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्दै आइरहेको थियो । त्रिविले कोभिड–१९ को कारणले यस वर्ष तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेको हो । उनका अनुसार केही क्याम्पसले स्थानीय तहको स्वीकृत लिएर पहिल्यैदेखि नै पठनपाठन सुरु गरिसकेका छन् । “कोभिड–१९ को कारणले हामीले तीन महिनापछि मात्र कक्षा सञ्चालन गर्न थालेका हौँ” उनले भने, “त्यो पनि कक्षा १२ को परीक्षाफल ढिला प्रकाशन भएकाले मात्र तीन महिना ढिला भएको हो ।” त्रिविले पढाइ सञ्चालनका लागि अहिले प्रवेश परीक्षा लिइरहेको छ । उनले बन्दाबन्दीले रोकिएका परीक्षा धमाधम लिँदै र नतिजा प्रकाशनको काम भइरहेको जानकारी दिए । “मङ्सिरदेखि अहिले पनि परीक्षा सञ्चालन भइरहेका छन्”, उनले भने, “ती सबै परीक्षाको परीक्षाफल यही फागुन–चैत महिनाभित्र प्रकाशन गर्ने योजना रहेको छ ।” कोभिड–१९ को कारणले गत चैतदेखि स्थगित त्रिविको परीक्षा गत मङ्सिरदेखि सञ्चालन भएको थियो । त्रिविअन्तर्गत देशभरि एक हजार १२४ क्याम्पस छन् ।

महोत्तरीमा आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको छ । विद्यालयले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद विज्ञानमा स्नातकको पढाइको शुरुआत भएको घोषणा गरेका हुन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को इजाजत प्राप्त गरेर गौशाला नगरपालिकाले नेपालमै पहिलोपटक आयुर्वेदमा सो तहको पठनपाठन शुरुआत गराउन सफल भएको भन्दै पूर्वमन्त्री पोखरेलले आयुर्वेदको शिक्षालाई सबैले आधुनिक विज्ञानसँग जोड्न आग्रह गरे । उनले पश्चिमी विज्ञानको पछि लाग्दा अहिलेका व्यक्तिले प्राचीन योग, ध्यान र आयुर्वेदलाई बिर्सिँदै गएको भन्दै प्राचीन विज्ञानलाई जीवन्त राख्न यस्तो शिक्षाको सदुपयोग गर्न आग्रह गरे । उनले अहिलेको युगमा स्वस्थ र सक्षम जनशक्ति उत्पादन गर्न तथा दीर्घजीवी हुन योग, ध्यान र आयुर्वेदको विकल्प नरहेको बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे प्रवेश परीक्षाकाे फारम अनलाइन मार्फत भर्न सकिने

काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे प्रवेश परीक्षाकाे फारम अनलाइन मार्फत भर्न सकिने भएकाे छ । विश्वविद्यालले विद्यार्थीकाे सहजताकाे लागि प्रवेश परीक्षाकाे फारम अनलाइन मार्फत भर्न सकिने गराएकाे जनाएकाे छ । सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्ना मातहतका सम्पूर्ण क्याम्पस, स्कुल तथा कलेजहरु अन्तर्गत स्नातक तहमा संचालित विभिन्न कार्यक्रमहरुका लागि भर्ना खुल्ला गरेको छ । विश्वविद्यालयकाे आवेदन फारम यस लिंकमा गई भर्न सकिने छ ।