कान्ति भैरव मावि पुनःनिर्माणका लागि शिलान्यास, २६ करोडमा बन्ने
काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा पुनःनिर्माण हुने काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासका मिसन उपप्रमुख नामग्या खम्पाले बिहीबार संयुक्तरूपमा विद्यालय भवन शिलान्यास गरेका हुन् । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा पुनःनिर्माण हुन लागेको नमूना विद्यालय भारतीय अनुदान सहयोगमा पुनःनिर्माण हुन लागेको सबैभन्दा ठूलो बजेटको विद्यालय हो । मूल्यअभिवृद्धि करबाहेक २६ करोड ५८ लाख ६० हजार ७४१ मा ठेक्का लागेको कार्यक्रममा जानकारी गराइएको छ । शिलान्यासपछि मन्तव्य राख्नुहुँदै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाली वास्तुकला झल्कने डिजाइनसहित नमूना भवन बन्न लागेकामा खुशी व्यक्त गर्नुहुँदै शैक्षिक गुणस्तरमा समेत विद्यालय नमूना हुने विश्वास व्यक्त गरे । “सामुदायिक विद्यालयमा भवनसहितका पूर्वाधार निर्माणमा भएको आन्तरिक लगानी र बाह्य सहयोगले शिक्षाको गुणस्तर वृद्धि मात्र होइन, शिक्षा प्राप्तिमा देखिएको विभेद कम गर्न पनि पक्कै योगदान गर्नेछ”, उनले भने । भारतीय राजदूतावासका मिसन उपप्रमुख खम्पाले विद्यालय पुनःनिर्माण क्षेत्रमा भारतीय अनुदान सहयोगको संक्षिप्त चर्चा गर्दै कान्ति भैरव माध्यमिक विद्यालयको पुनःनिर्माण दुई देशबीचको मित्रताको अनुपम नमूना हुने विश्वास व्यक्त गरे । शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य दीपकप्रसाद कुइँकेल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाले पनि मन्तव्य राखेका थिए । फर्निचर तथा प्रयोगशालासहितका सुविधासहित पुनःनिर्माण हुन लागेको यस पाँच तले नमूना विद्यालयमा कूल ६० वटा कोठा हुनेछन् । त्यसमा ३० वटा कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयका लागि पाँचवटा कोठा, प्रधानध्यापकका लागि एउटा कोठा, दुईवटा अभिभावक भेटघाट कोठा, एउटा प्रशासन कोठा, एउटा लेखा कोठा, शिक्षक तथा शिक्षिकाका लागि आठवटा कोठा र विद्यालयको आवश्यकतानुसार प्रयोग गर्न मिल्ने थप आठ कोठा रहनेछन् । यसैगरी चमेनागृह, आगलागी नियन्त्रण गर्ने संयन्त्र, तीनवटा ब्याडमिन्टन कोर्ट र दुईवटा बास्केटबल कोर्ट, कार्यक्रम गर्ने मञ्ञको पनि निर्माण हुनेछ । भवनको हरेक तलामा दुवैतर्फ छात्र र छात्राका लागि अलग अलग शौचालय हुनेछन् । विद्यालयका शिक्षक विष्णुप्रसाद पौडेलका अनुसार विद्यालयमा करिब ९०० विद्यार्थी अध्ययनरत छन् । निर्माण अवधि १५ महिना भए पनि निर्माण कम्पनी योगी हनुमान जेभीले एक वर्षमै निर्माण सक्ने प्रतिबद्धता जनाएको जानकारी कार्यक्रममा दिइएको थियो । शिलान्यास आज भए पनि गत माघ २६ गतेदेखि नै निर्माण शुरु भएको छ । भूकम्पपछि शैक्षिक क्षेत्र पुनःनिर्माणमा भारतीय अनुदान आयोजनाअन्तर्गत बन्न लागेको यस विद्यालयको परामर्शदाता भारतीय संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान, रुरकी रहेको छ । भारत सरकारले विद्यालय पुनःनिर्माणमा पाँच करोड अमेरिकी डलर (बिहीबारको विनिमयदर ११६ अनुसार करिब पाँच अर्ब ८० करोड रुपैयाँ) सहयोग गरेको छ । अनुदान सहयोगमा आठ जिल्लामा ७१ वटा संरचना निर्माण हुनेछन् । तीमध्ये आठवटा सम्पन्न भइसकेका छन् भने ५६ वटा पुनःनिर्माणको विभिन्न चरणमा छन् । कान्ति भैरवसहित थप छ वटा विद्यालयको बिहीबारकै कार्यक्रममा प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटा र भारतीय दूतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्माबीच सझदारीपत्रमा हस्ताक्षर भएको छ । रासस
नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुन्छः मन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताएका छन् । मंगलबार सफलता एच. आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूँजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्र असार महिनादेखि शुरु हुने बताएका हुन् । यस निम्ति मन्त्रालयले तयारी गरीसकेको उनको भनाई छ । त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाईएको र छिट्टै टुंगो लाग्ने जानकारी दिए । आगामी दिनमा एच.आई.भी. संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट बिनियोजन गर्ने समेत मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले समाजमा चेतनाको कमीले एच.आई.भी. संक्रमितहरुले अपहेलित र उपेच्छित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरुको कदर र सम्मान हुनुपर्ने बताए । सबै विद्यालयहरुमा सामाजिक रुपान्तरण रहेको उनको भनाई छ । मन्त्री श्रेष्ठले सफलता एच.आई.भी. सक्रमित बालबालिकासँग सरस्वती पूजा मनाएका छन् । मन्त्रीसँगै कार्यक्रममा पुगेका विभिन्न समाजसेवी व्यक्तिहरुले सफलता एच.आई.भी. शिक्षा सदनलाई आर्थिक सहयोग पनि गरेका थिए ।
सगरमाथा इन्जिनीयरिङ कलेज ‘सगरमाथा जस्तै उँचो बन्दै’
काठमाडाैं । ललितपुर सानेपास्थित सगरमाथा इन्जिनीयरिङ कलेजले स्थापनाका एक दशकमा नै उल्लेख्य सफलता हासिल गरेको छ । साथै कलेज इन्जिनीयरिङ विषयमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीका रोजाइमा परेको छ । विश्वस्तरीय इन्जिनीयरिङ जनशक्ति स्वेदशभित्र नै उत्पादन गर्ने, इन्जिनीयरिङ विधाका विविध विषयमा अध्ययन गर्ने एवं अनुसन्धान गर्ने ध्येयले त्रिभुवन विश्वविद्यालय, इन्जिनीयरिङ अध्ययन संस्थानद्वारा सम्बन्धन प्राप्त गरी विसं २०६७ देखि कलेज सञ्चालनमा आएको थियो । सुरुवातमा वर्षदेखि स्नातक तहअन्तर्गत सिभिल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनीयरिङ कार्यक्रम र विसं २०७४ देखि सोही तहमा कम्प्युटर इन्जिनीयरिङ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । स्थापना भएको एक दशक अवधिभित्रै कलेजले उल्लेख्य सफलता हासिल गरेको र इन्जिनीयरिङ अध्ययनका लागि निजी क्षेत्रबाट सञ्चालित कलेजहरुमध्ये पहिलो नम्बरमा विद्यार्थीहरुको रोजाइमा परेको कलेजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कलेजका प्राचार्य ई रमेश श्रेष्ठले पत्रकार सम्मेलनमा भन्नुभयो, “हालसम्म करीब ६०० विद्यार्थी अध्ययनरत यस कलेजबाट अध्ययनपुरा गरेका विद्यार्थीले बेरोजगार बस्नु परेको छैन । उनीहरु सरकारी÷गैरसरकारी निकायमा कार्यरत छन् । कोही विद्यार्थी उच्च शिक्षा हासिल गर्नका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गरी अध्ययनरत छन् ।” दुई दशकभन्दा बढी समयदेखि इन्जिनीयरिङ शिक्षा क्षेत्रमा शिक्षक तथा व्यवस्थापकका रुपमा संलग्न उनले भने, “कलेजमा कार्यरत हामी अनुभवी शिक्षकहरु नै यस कलेजका प्रवद्र्धक हौँ, हामी प्रवद्र्धकहरु नै दिनानुदिन विद्यार्थीलाई अध्ययन अध्यापन गराउने कार्यमा संलग्न हुने गर्दछौँ । शिक्षकहरुको साझा भावना, एकता, व्यवस्थापन तथा नेतृत्वबाट नै कलेज सञ्चालित छ र यसको प्रत्यक्ष लाभ विद्यार्थीले प्राप्त गरिरहेका छन् ।” कलेजमा इलोक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, सिभिल इन्जिनीयरिङ, इन्जिनीयरिङ साइन्स एन्ड ह्युम्यानिटिजलगायत विभागमा अनुभवी शिक्षक कार्यरत रहेका पत्रकार सम्मेलनमा जानकारी दिइयो । सगरमाथा ‘करियर सेन्टर’ विश्वविद्यालयद्वारा तोकिएको पाठ्यक्रमको परिधिभित्र मात्र सीमित नराखी विद्यार्थीहरुको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आवश्यक सीपमूलक तालीम, विश्व विज्ञहरुसँग प्रत्यक्ष अन्तरक्रिया, विभिन्न कार्यशाला गोष्ठी तथा प्रतियोगितामा विद्यार्थीलाई सहभागिता गराउने ध्येयले कलेजले ‘सगरमाथा करियर सेन्टर’ स्थापना गरेको छ । सेन्टरले विद्यार्थीका रुचि र चाहनाअनुसार विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै आएको छ । प्राचार्य श्रेष्ठका अनुसार उक्त सेन्टर स्थापना गर्नुको मुख्य उद्देश्य भनेकै विद्यार्थीहरुको व्यावसायिक क्षमता विकास तथा रोजगार निकायको मात्रा र आवश्यकता पहिचान गरी विद्यार्थीलाई आवश्यक रोजगार तथा सीपमूलक तालीम प्रदान गर्नु रहेको छ । कलेजका शैक्षिकत र्फका उपप्राचार्य ई दक्षिणा श्रेष्ठले भनिन्, “विद्यार्थी र रोजगारदाता निकायका बीचमा सेन्टरले भ¥याङका रुपमा काम गरेको छ । साथै कलेज र रोजगारताका बीचमा पनि यसले पुलका रुपमा काम गरको छ ।” सेन्टरका प्रमुख समेत रहेकी उनले भनिन्, “सगरमाथाका स्नातकलाई सैद्धान्तिक ज्ञानका रुपमा मात्र होइन व्यावहारिकरुपमा पनि उँचो बनाउँछौँ ।” प्राविधिक दक्षतका साथ विद्यार्थीलाई बोलीवचन, आफूले जानेका ज्ञानलाई सरल र सहजरुपमा प्रस्तुति, सामाजिकीकरण, आनीबानीमा सुधार ल्याउने विधि र पद्धति पनि सेन्टरमा प्रशिक्षित गराइने उनले जानकारी दिइन् । कलेजले युरोपियन युनियनको ‘इरासमस प्लस प्रोग्राम’ अन्तर्गत युरोप तथा दक्षिण एसियाका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरुसँगको साझेदारीमा कलेजको क्षमता अभिवृद्धि तथा सीप हस्तान्तरणसम्बन्धी विभिन्न परियोजना सञ्चालन गर्दै आइरहेको छ । कलेजका प्रशासनतर्फका उपप्राचार्य ई अरुण पराजुलीले आल्टो युनिभर्सिटी फिनल्यान्ड, टियु डेल्फट नेदरल्यान्ड र केटियु लिथुआनिया र आइआइटी बम्बे भारत, आइआइएस बङ्लोर, रोयल युनिभर्सिटी भूटानलगायत स्पेन, पोर्चुगल, ग्रिस, लाट्भिया, भूटान र नेपालका विभिन्न विश्वविद्यालयको सहकार्यमा विभिन्न परियोजना गर्दै गरेको र यसअघि नै सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी दिए । उनले भने, “इरासमस प्लस प्रोग्रामअन्तर्गत नै शिक्षक, कर्मचारी तथा विद्यार्थी आदानप्रदानसम्बन्धी विभिन्न कार्यक्रम यसअघि नै स्वीकृत भइसकेकाले कोभिडका कारणले उत्पन्न परिस्थिति सहज हुनाका साथै ती मोबिलिटी कार्यक्रमहरुसमेत पुनः सञ्चालन हुनेछन् ।” कलेजलाई गुणस्तरीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने लक्ष्य कलेजले लिएको छ । कलेजका प्राचार्य श्रेष्ठले भने, “शिक्षक तथा विद्यार्थीलाई बढीभन्दा वढी अनुसन्धान क्रियाकलापहरुमा संलग्न गराएका छौँ । सगरमाथा प्राविधिक विश्वविद्यालय बनाउने लक्ष्य लिएका छौँ । ” आवश्यक सम्पूर्ण पूर्वाधारसहितको आफ्नै भवन यथाशक्य छिटो निर्माण गरी कलेज सार्ने उद्देश्यले कलेजले लिएको छ । यसका लागि कलेजले छिट्टै आफ्नो नयाँ भवन बनाउने तयारी अगाडि बढाएको छ । यसका लागि कीर्तिपुर नगरपालिका–६ मा दश रोपनी जग्गा खरीद गरिसकेको उनले बताए । रासस