पाटन कलेज फर प्रोफेसनल स्टडिजको तेश्रो दिक्षान्त समारोह सम्पन्न

काठमाडाैं । पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस) कलेजकाे तेश्रो दिक्षान्त समारोह साेमबार सम्पन्न भएकाे छ । बेलायतस्थित प्रसिद्ध बेडफर्डशाईर विश्वविद्यालयसँग आवद्ध यस कलेजकाे तेस्राे दिक्षान्त समारोह साेमबार राजधानीस्थित म्यरिअट हाेटलमा सम्पन्न भएकाे हाे  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ्ग बिबिए विषयसँग सम्बन्धित कूल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र प्राप्त गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रमाणपत्र प्राप्त गर्ने विद्यार्थीहरुलाइ राष्ट्रको समग्र विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताए । साथै उनले शिक्षा ऐनको संसोधन गरी आधुनिक शिक्षा प्रणालीको विकास गर्नका लागि एउटा छुट्टै विशेष कार्यदल बनाएर काम थालिने पनि जानकारी दिए । पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ्ग र बिजनेस एडमिनिस्ट्रेसन् विषयहरुमा स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ । यसैगरी यस कलेजले फुसेमसिंस नामक कम्पनिसँग साझेदारी गरी आर्टिफिसिएल इन्टेलिजेन्स विषयमा माइक्रो डिग्री कार्यक्रम पनि संचालन गरिरहेको छ ।

प्रिमिएर इन्टरनेसनल स्कुलले पायाे विशिष्ठ श्रेणीको विद्यालय सञ्चालनकाे अनुमति

काठमाडौं । ललितपुर महानगरपालिका प्रिमिएर इन्टरनेसनल आईबी वर्ल्ड स्कूल सातदोबाटोलाई ‘क’ श्रेणीको विशेष सुविधायुक्त विशिष्ठ श्रेणीको विद्यालय सञ्चालन अनुमति प्रदान गरेको छ । शिक्षा नियमावली २०५९ को (संशोधन सहित) नियम १५४ को अनुसुचि २१ बमोजिम आफ्नो स्कूल भित्रको शैक्षिक संरचना, पूर्वाधार र गुणस्तर सँग–सँगै विद्यालयले सार्वजनिक शिक्षाको स्तर बढाउनका लागि गर्न सक्ने योगदान र क्षमता हेरी दिइएको उक्त उच्चस्तरीय मान्यताका लागि उक्त अनुमति प्रदान गरिएको हो । प्रिमिएर इन्टरनेसनल आई. बी. वर्ल्ड स्कूलले प्रिमियर एडुकेसन नेटवर्कको अभिन्न अङ्गका रूपमा किन्डरगार्डेन देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई शिक्षा दिँदै आएको छ । प्रिमिएर स्कूल नेपालमा विश्व मान्यता प्राप्त आइबी पिवाइपि र आइबी एमवाइपीको पाठ्यक्रम भित्र्याउने अग्रणी स्कूल हो । स्कुलकी शैक्षिक शाखा प्रमुख प्रविना थापाले यस अनुमतिले स्कूल भित्रको शैक्षिक गुणस्तर, पूर्वाधार र सेवाहरूका साथ–साथै विद्यालयले सार्वजनिक शिक्षाको स्तर बढाउनका लागि थप हौसला प्रदान गरेको बताएकी छिन् ।

नेपाल भाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण सुरु

काठमाडाैं । काठमाडौं महानगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण शुरुआत गरेको छ । यसका लागि कामपाले आफू मातहत रहेका विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको छ । अब ती सबै शिक्षकलाई प्रशिक्षण दिएर कक्षामा पठाउने कामपाको तयारी छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरुपमा १०० नम्बरको एक विषय स्थानीय तहले अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले नेपाल भाषालाई छनोट गरेको हो । कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२ शिक्षक कामपाले आफ्नै स्रोत साधनबाट राख्न लागेको हो । यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ । आगामी शैक्षिक सत्रदेखि अनिवार्यरुपमा लागू गर्न लागिएको सो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक एक जना र विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जना जम्मा शिक्षक राख्ने कामपाको तयारी छ । पहिलो चरणमा कामपाले वडा २२ का ३० शिक्षकलाई यस किसिमको प्रशिक्षणमा सहभागी गराएको छ । नेपाल भाषा व्यवस्था समितिका सदस्य सचिव मोती खनालले “पाठ्यपुस्तकमा कामपाको चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषय समेटिएको बताए । पाठ्यपुस्तकमा काठमाडौँका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । उनका अनुसार बालबालिकालाई सिक्न सजिलो होस भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्गमा १०० नै अभ्यासगत पठनपाठन हुनेछ । त्यस्तै कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको छ । कामपाले आधारभूत कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार गरेको हो । अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयको लागि मात्रै अनिवार्यरुपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ । आगामी शैक्षिक सत्रदेखि कामपामा रहेको ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागु गर्ने गरी पाठ्यपुस्तक तयार गरेको हो । अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुनेछ । कामपाको सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाको सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् । रासस