खोटाङको ऐसेलुखर्क गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरी
खोटाङ । ऐसेलुखर्क गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरी जडान गरेर सञ्चालनमा ल्याइएको छ । सात वडा रहेको उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन गरेको पाँच लाख २० हजार बजेटबाट साझा शिक्षा इ–पाटीद्वारा निर्मित शिक्षा केन्द्रित इ–लाइब्रेरी (डिजिटल पुस्तकालय) जडान गरेर सञ्चालनमा ल्याएको हो । गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरी जडान गर्ने लक्ष्यअनुसार इ–लाइब्रेरीको अफलाइन सर्भर जडान गरेर सञ्चालनमा ल्याइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक विनेशकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार त्रिभुवन मावि ऐसेलुखर्क, माक्पा मावि माक्पा, सिम्ले मावि जलेश्वरी, शिशु मावि महेश्वरी, कालिका मावि बाकाचोल, शान्तोद्वय मावि ज्यामिरे, कालिका बालविकास मावि राखाबाङ्देल र जालपा मावि बादेल बाकाचोलमा ई–लाइब्रेरी जडान गरिएको छ । पुरानो शैलीको लाइब्रेरी सञ्चालनमा जनशक्तिसमेत आवश्यक पर्ने तर अहिलेको इ–लाइब्रेरीभित्र धेरै पुस्तक रहने भएकाले विद्यार्थी र अन्यले आफूलाई रुचि भएको कुरा सजिलै खोजेर पढ्न सक्ने भएकाले प्रविधिमा आधारित इ–लाइब्रेरी जडान गरिएकोे गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए । ‘शिक्षक नहुँदा पनि यो लाइब्रेरी खोलेर विद्यार्थी आफैँले आफ्नो रुचिअनुसार अध्ययन गर्न सक्छन्’, उनले भने, ‘इ–लाइब्रेरी व्यवस्थापनले शैक्षिक क्षेत्रमा सुधार हुन्छ भन्ने महसुस गरेर अफलाइन सर्भर भएको लाइब्रेरी जडान गरी सञ्चालनमा ल्याइएको हो ।’ विद्यालयमा जडान गरिएको इ–लाइब्रेरी इन्टरनेटको सुविधा भएको स्थानमा इन्टरनेटको माध्यमबाट र इन्टरनेट नभएको स्थानमा इ–पुस्तकालयको अफलाइन सर्भर जडान गरी इन्टरनेट बिना पनि सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ । जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये प्रविधिमा आधारित इ–लाइब्रेरी कक्षा सञ्चलान गर्ने यो ऐसेलुखर्क पहिलो गाउँपालिका हो । कम्प्युटर, ल्यापटपमा सञ्चालन भइरहेको इ–लाइब्रेरी मोबाइलमा पनि सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत सिजन राईले बताएकी छिन् । किताब हेरेर पढ्दा झन्झट हुने कुरा इ–लाइब्रेरीमा गएर पढ्दै, सुन्दै, हेर्दै अभ्यास गर्दा दिमागले छिटो टिप्ने गरेको विद्यार्थीको भनाइ छ । गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयमा इ–लाइब्रेरी जडान गरिएपछि हिजोआज कक्षागत शिक्षक नहुँदा खाली बस्नुपर्ने समयमा विद्यार्थी एक्लै इ–लाइब्रेरी गएर अध्ययन गर्न थालेका छन् । सरल र सहज तरिकाले चलाउन सकिने इ–लाइब्रेरीमा कक्षा १ देखि कक्षा १० सम्मको पाठ्यक्रम, शिक्षक तथा विद्यार्थीको रुचि र तहअनुसारका सन्दर्भ सामग्री, राष्ट्रिय पाठ्यक्रममा आधारित विषयगत सामग्रीहरुसहित सात हजार ५६५ वटा पुस्तक सङ्ग्रह, दुई हजार ८१९ वटा अडियो सङ्ग्रह, एक हजार ५११ वटा भिडियो सङ्ग्रह र चार हजार ८७ लेख सङ्ग्रह समावेश गरिएको छ । यसैबीच ऐसेलुखर्क गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयको कक्षा कोठालाई धुलोरहित बनाउने अभियानसमेत सुरु गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले ढुङ्गामाटोबाट बनाइएका सबै विद्यालयका कक्षा कोठालाई प्लाष्टर गर्दै धुलोरहित बनाउने अभियान शुरु गरेको हो । चालु आर्थिक वर्षभित्र सबै ४३ सामुदायिक विद्यालयका कच्ची भवनका कक्षा कोठालाई धुलोमुक्त बनाउने गरी काम अघि बढाइएको गाउँपालिका प्रमुख निरौलाले बताए । ‘गाउँपालिकामा २७ प्रावि, आठ आधारभूत र आठ वटा मावि छन्’, उनले भने, ‘पठनपाठनका क्रममा छात्र/छात्राको शरीरमा धुलो र फोहरमैला लाग्नबाट जोगाउँदै स्वच्छ शैक्षिक वातावरण बनाउन गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयका कक्षालाई धुलोरहित बनाउने अभियान चलाइएको हो ।’ गत वर्ष केही विद्यालयको कक्षाकोठा धुलोरहित बनाइएकामा चालु आर्थिक वर्षमा सबै विद्यालयका कक्षाकोठालाई धुलोरहित बनाउने अभियान थालिएको गाउँपालिका प्रमुख निरौलाले बताए । चालु आवमा ३२ विद्यालयको धुलाम्मे कक्षामा प्लाष्टर गर्ने/गराउने तयारी भइरहेको जनाइएको छ ।
प्रभु क्यापिटलले दियो सेयर बजारसम्बन्धी आधारभूत तालिम
काठमाडौं । प्रभु क्यापिटलले चितवनको भरतपुरमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ ।क्यापिटलले गत फागुन २९ गते चितवन स्थित भ्याली स्टेट कलेजको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । भरतपुरको स्मार्ट ब्यांकेटको सभाहलमा आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा भ्याली स्टेट कलेजका प्राध्यापक मन अधिकारीले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमको प्रमुख अतिथि प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले कार्यक्रममा सम्बोधन गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पुँजी बजार सम्बन्धी यस्ता किसिमका कार्यक्रमहरुमा बिजनेस स्कुलहरुसँग सहकार्य गर्दै प्रभु क्यापिटल अगाडि बढेको बताए । साथै, कलेजहरुले आयोजना गर्ने यस्ता कार्यक्रमहरुले वित्तिय साक्षरता अभिवृद्धिमा मद्दत गर्ने बताए । यस्तै कार्यक्रममा अतिथि युनियन लाइफ इन्स्योरेन्सका प्रदेश नं. २ का डेपुटि प्रदेश प्रमुख इन्द्र राज सुवेदिले मोफसलमा यस्ता कार्यक्रमको आयोजना हुनु सुखद पक्ष रहेको र यसले सेयरबजारको बारेमा चेतना अभिवृद्धि गर्ने बताए । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए । कार्यक्रममा नेपालका सेयर बजारको अवस्था, लगानी किन गर्ने, प्राथमिक बजार तथा धितोपत्रको दोश्रो बजार, सेयर बजारलाई प्रभाव पार्ने तत्वहरुका साथै सेयर बजार विश्लेषण गर्ने आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण एवं आफ्नो पोर्टफोलियो कसरी बनाउने, लगानी व्यवस्थापन भनेको के हो लगायतका विषयमा जानकारी सहभागीहरुलाई जानकारी प्रदान गरिएको थियो ।
जाजरकोटकाे प्रत्येक पालिकामा नमूना सामुदायिक विद्यालय
जाजरकोट । सामाजिक विकास कार्यालयले सातै स्थानीय तहमा नमूना विद्यालय निर्माण गरेको छ । प्रतिविद्यालय २० देखि ५० लाखसम्मको लगानीमा नमूना विद्यालय निर्माण गरेको कार्यालय प्रमुख धनबहादुर विष्टले जानकारी दिए । भौतिक पूर्वाधार नहुँदा समस्य भएका विद्यालय नयाँ भवन निर्माणसँगै खुशी छाएको छ । उहाँका अनुसार नलगाड नगरपालिकाको वीरेन्द्र हिमालय माध्यमिक विद्यालय तल्लु, वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्सा, बारेकोट, भेरी नगरपालिकाको दीपेन्द्र माध्यमिक विद्यालय कालाभुर, लक्ष्मी प्राप्ति मावि खुर्पा कुशेमा नयाँ आधुनिक भवन निर्माण भएका छन् । त्यस्तै छेडागाड नगरपालिका–४ मा रामोदय मावि जेवा, जुनिचाँदे गाउँपलिकामा महेन्द्र मावि कोताङ, शिवालय गाउँपालिकामा सरस्वती मावि सीमा र भेरीकै त्रिभुवन मावि खलङ्गामा नयाँ भवन निर्माण गरिएका हुन् । त्यस्तै रु २० लाखमा भेरी नगरपालिकाभित्र रामजनकी प्रावि इउरी, बाल प्रावि कुस्तरामा आधुनिक भवन निर्माण गरिएको छ । त्यस्तैगरी कालिका माध्यमिक विद्यालय छेडागाड, कालिका मावि सेडाखरेमा समेत सुविधायुक्त भवन निर्माण गरिएको कार्यालय प्रमुख विष्टले जानकारी दिए । त्यस्तै २० लाखमा जनता प्रावि थानवाडा, बारेकोट– ३ मुलसामस्थित दीपेन्द्र मावि र नलगाड नगरपालिकामा जुनी बालसंरक्षण माविका भवन निर्माण गरिएका छन् । विद्यालय व्यवस्थापन समितिको सक्रियतामा विद्यालय भवन निर्माण भएका हुन् । भवन निर्माणसँगै विद्यार्थी रमाएर बस्न पाएका छन् । नवनिर्मित भवनको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह, प्रदेश योजना आयोगको टोलीलेसमेत अनुगमन, निरीक्षण गरी गुणस्तर राम्रो भएको बताएको छ । यो वर्षमा नलगाड नगरपालिकाको सिर्के, सिर्के, भेरी नगरपालिकाको त्रिवेणी मावि रिम्ना, छेडागाडको नारायणी मावि कार्कीगाउँ, ज्ञानकुञ्ज क्याम्पस दशेरामा निर्माण कार्य जारी छ । आवश्यकता, विद्यार्थीको चापका आधारमा विद्यालय भवन निर्माण गरिएको प्रमुख विष्टले जानकारी दिए । जाजरकोटमा विद्यालय भवनको अवस्था कमजोर रहेको भन्दै उनले थप विद्यालय भवन निर्माण जारी रहेको बताए । त्यस्तै स्थानीय तहले पनि विद्यालय निर्माण कार्य जारी राखेका छन् । विद्यार्थीलाई खेल मैदानको समस्य भएको ठाउँमा खेल मैदान, विद्यालयमा घेराबारको कामसमेत भएको बताएको छ । प्रदेश सरकारको मतहतमा रहेको सामाजिक विकास कार्यालयले संरचना निर्माण तथा गुणस्तरमा ध्यान दिएको बताएको छ । रासस