भिडभाड नगरी विद्यालय सञ्चालन गर्नु: शिक्षा मन्त्रालय

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को सङ्क्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज मन्त्रालयमा सम्पन्न बैठकले शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्नसक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरी उक्त आग्रह गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सबै प्रकारका शिक्षण संस्थाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालन गर्ने, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने, ज्वरो नाप्ने र कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ को पूर्णरूपमा अनुशरण गर्न तथा शिक्षण संस्थामा सभा, समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न नगराउनसमेत भनिएको छ ।

नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

काठमाडाैं । नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति डा फहाद अलजुलन्दा अल साइदिबीच उनको कार्यकक्षमा भएको भेटघाटमा सहकार्यको सुरुआत कृषि र पर्यटन क्षेत्रका विद्यार्थी आदानप्रदान गर्ने गरी कार्य अगाडि बढाउने सहमति भएको मस्कटस्थित नेपाली दूतावास ओमानले जनाएको छ । अनुसन्धान तथा प्राज्ञिक विषयमा समेत थप सहकार्यका लागि छलफल नियमित गर्ने सहमतिसमेत भएको जनाइएको छ । सो अवसरमा विश्वविद्यालयका अन्तरराष्ट्रिय सहयोगसम्बन्धी सहायक उपकुलपति मोना फहाद अल साइदी, अन्तरराष्ट्रिय सहयोग कार्यालयका उपनिर्देशक फात्माअल खुजैरी र नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापा पनि सहभागी थिए । रासस

यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै काठमाडाैं महानगर

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा शिक्षा विभागले कार्यान्वयनको तयारी थालेको हो । कोरोना भाइरसका कारण यस वर्ष आगामी जेठसम्म शैक्षिक सत्र सञ्चालन हुनेछ । कार्यान्वयनका लागि कामपाले अहिले विद्यालयमा स्थानीय पाठ्यपुस्तक पठाइसकेको छ भने शिक्षक पनि पठाउन थालेको छ । निजी विद्यालयका शिक्षकलाई पनि कामपाले उक्त पाठ्यसामग्री पठनपाठन गर्न सक्ने तालिम सञ्चालन गरिरहेको कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । ‘यस वर्षका लागि शैक्षिक सत्रको समय साढे दुई महिना मात्र बाँकी छ । यस समयमा जे–जति सकिन्छ पठनपाठन कार्य सुरु गर्ने हो’, प्रमुख सुवेदीले भने । यसका लागि पाठ्यक्रम सबै विद्यालयमा पुगिसकेको भन्दै उनले पाठ्यपुस्तक पनि तत्काल पठाइने जानकारी दिए । गत फागुन २८ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र कामपा प्रमुख विद्यासुन्दर शाक्यले सयुक्तरूपमा ‘येँ देय् म्हसीके’ ९काठमाडौँ चिनौँ० नामक स्थानीय पाठ्यपुस्तक विमोचन गरिसकेका छन् । नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा ९२० र ९३० मा मुलुकको हरेक स्थानीय तहबाट आफूमातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक विषय अध्ययन/अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौँ महानगरपालिकाले सोही व्यवस्थाअन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो । कामपा प्रमुख शाक्यले काठमाडौं नेवारहरुको बाहुल्य रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लाका नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उद्देश्यले यस किसिमको पाठ्यक्रम तयार गरिएको जानकारी दिएका छन् । पाठ्यक्रम लेखनमा सुरुदेखि सहभागी हुँदै आएका वरिष्ठ संस्कृतिविद् डा चुन्दा बज्राचार्यले पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, व्यक्ति आदिसम्बन्धी पाठ मात्र समावेश गरिएको बताउँछन् । त्यसैगरी नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । “बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन गरिने छ । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन हुनेछ”, कामपा शिक्षा विभागका प्रमुख सुवेदीले भने, ‘कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत ५० सैद्धान्तिक पठनपाठन हुने व्यवस्था गरिएको छ ।’ यस भाषा पठनपाठन गर्नका लागि कामपाले आफूमातहत रहेका सामुदायिक विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने छ । यसरी राखिने शिक्षकहरु सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ । यही शैक्षिक सत्रदेखि अनिवार्यरूपमा लागू गर्न लागिएको यो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक/एक वा विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जनासम्म शिक्षक राख्ने कामपाको तयारी छ । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयका लागि मात्रै अनिवार्यरूपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ । कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरिएको हो । अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ । कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाका सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् । रासस