कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रावल
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मङ्गल रावल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा रावललाई उपकुलपति नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा रावललाई नियुक्त गरेकाे हो । सिफारिस समितिले प्रतिष्ठानमा कार्यरत सहप्रध्यापक डा रावलसँगै प्रा डा रेशम राना र सहप्रध्यापक डा पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो । गत फागुन १६ गते प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद खाली भएको थियो । तत्पश्चात डा रावलले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका थिए । आइतबार प्रधानमन्त्री ओलीले हुम्ला निवासी डा रावललाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेपछि कर्णालीवासी भने निकै खुशी भएका छन् । त्यसैगरी प्रधानमन्त्री ओलीले आइतबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा डुकबहादुर क्षेत्रीलाई उपकुलपति नियुक्त गरेका छन् । नियुक्त उपकुलपतिहरुको कार्यकाल चार वर्षको हुनेछ । रासस
इसेवाबाट शैक्षिक शुल्क तिर्दा शतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने
काठमाडाैं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशत सम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ । वैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये सय जना भाग्यशाली ग्राहकले एक महिनाका लागि शतप्रतिशत छात्रवृति पाउनेछन् जुन ५ हजारसम्मको हुनेछ । यो योजना नियमित शैक्षिक शुल्क भुक्तानी गर्ने मासिक भुक्तानी, सेमेस्टर फी भुक्तानी, इन्स्टलमेन्ट भुक्तानीमा मात्र लागु हने कम्पनीले जनाएकाे छ । यस योजना अन्तर्गत जसको शैक्षिक शुल्क भुक्तानी भएको छ, सोही व्यक्तिले मात्र छात्रवृति प्राप्त गर्नेछ । एजेन्ट नेटवर्कबाट भुक्तानी गरिएपनि जसको शुल्क भुक्तानी भएको छ, सोही व्यक्तिले नै छात्रवृति प्राप्त गर्नेछ । हाल मुलुकभरका २ हजार भन्दा धेरै विद्यालयहरूमा इसेवा मार्फत शैक्षिक शुल्क भुक्तानी गर्न सकिनेछ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ९० हजार नाघिसकेका छन् ।
शिक्षाको समग्र विकासका लागि गुरुयोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रको समग्र विकास र जनशक्ति उपयोगका लागि गुरुयोजना बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयहरुसहितको प्रतिवेदन हस्तान्तरण गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षाको विद्यमान अवस्था, भावी कार्ययोजना र रोजगारीको आकलनसहित प्रतिबिम्ब हुने गरी गुरुयोजना ल्याउन निर्देश गरेका हुन् । उनले विकासको आधारभूत आधारका रूपमा शिक्षालाई लिइने भएकाले सरकार यसप्रति गम्भीरतापूर्वक योजनाबद्ध कार्यक्रम तर्जुमाका लागि प्रयासरत रहेको जनाएका छन् । प्रधानामन्त्री ओलीले भने, ‘किसानलाई जीवन बदल्ने सूत्र र सीप लिएर हाम्रो शिक्षा उनीहरुको घरघरमा पुग्न सक्नुपर्छ । कलिला बालबालिकालाई अनुत्तीर्ण घोषित गर्ने खालको होइन, सक्षम नागरिक बनाउने शिक्षाको विकास गर्नु आवश्यक छ ।’ उनले सक्षम, सुयोग्य र दक्ष नागरिक नै मुलुकको ठूलो सम्पत्ति भएकाले सरकारले अब शिक्षालाई पछाडि फर्कन नदिने स्पष्ट गरे। प्रधानमन्त्री ओलीले ज्ञान र पूर्वाधार दुवै दृष्टिले शिक्षा सक्षम बनाउन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले आधार तय गर्ने पनि बताए । उनले भने, ‘शिक्षकको गुणस्तर माथि नउठाएसम्म विद्यार्थीको गुणस्तर बढ्न सक्दैन । शिक्षकले आफ्नो ज्ञानलाई सहीरूपमा विद्यार्थीमा हस्तान्तरण गर्नुपर्छ ।’ सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका छनोटका आधार र छानिएका सूचीसहितको प्रतिवेदन हस्तान्तरण गरे । मन्त्री श्रेष्ठले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले योगदान गर्ने विश्वास व्यक्त गरे । मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार सो कार्यक्रमका लागि कूल छ हजार ९२१ विद्यालयले आवेदन दिएकामा ४२५० विद्यालय छनोट भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले छानिएका विद्यालयका लागि कक्षाकोठा, शौचालय, सूचना प्रविधि, ल्याब तथा पुस्तकालय, नवीन प्रविधि, भौतिक पूर्वाधार तथा शैक्षिक विकास, डाटा केन्द्र आदि गरी पाँच अर्ब छ करोड ५० लाखको बजेट विनियोजन गरिएको जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले एकपछि अर्काे नयाँ काम र योजनाको थालनी गरिरहेको उल्लेख गर्दै विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरहराको आउँदो नयाँ वर्षको पहिलो दिन उद्घाटन गर्ने भएकाले जनताका लागि नयाँ वर्षको उपहार त्यही हुने बताए । रासस