पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन हुन्छः मन्त्री भट्टराई

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन प्रवद्र्धनका लागि मुलुकका विभिन्न स्थानमा पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन गर्ने बताएका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषयको अध्यापनको शुभारम्भ गर्नुहुँदै उनले भने, “पर्यटनका हिसाबले नेपाल अथाह सम्भावना भएको मुलुक भएकाले यहाँको पर्यटन प्रवद्र्धन र विकासका लागि पर्यटन र पर्वतारोहण सम्बन्धि शिक्षा आजको अवश्यकता हो ।” मन्त्री भट्टराईले हिमालै हिमाल भएको देश नेपालमा हिमाल आरोहणका लागि वर्षेनी हजारौंको सङ्ख्यामा विदेशी पर्यटक आउने र स्वदेशी पर्यटकले समेत हिमाल चढ्ने भएकाले यसमा चासो राख्नेका लागि मुलुकका विभिन्न स्थानमा ती विषयको पठनपाठन सञ्चालन गर्न जरुरी देखिएको बताउँदै मुलुकका केही विद्यालयले यस विषयको अध्यापन शुरु गरिसकेको जानकारी दिए । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नारायणी माध्यमिक विद्यालयबीच कक्षा ११ र १२ मा यो विषयको अध्यापनका लागि शनिबार मात्रै सम्झौता भएको बताइएको छ । स्थानीयस्तरमा नै पर्यटन विषयको पढाइ शुरु हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

कोरोनाको महामारीको समयमा काठमाडौं विश्वविद्यालयले शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडाैं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौं विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार साँझ एक विज्ञप्ति जारी गरी काठमाडौँ विश्वविद्यालयले एक सूचना प्रकाशित गरी शुल्क तिर्न आग्रह गरेको भन्दै आपत्ति जनाएका हुन् । “विश्वविद्यालयमा नियमितरूपमा पठनपाठन नभएको अवस्थामा पनि विभिन्न वहानामा शुल्क मात्र उठाउने काम तत्काल बन्द होस्”, उनले भने । नेविसङ्घले शुल्क उठाउने निर्णयको खारेजको माग गर्दै रिले अनशन बसेका काठमाडौँ विश्वविद्यालयका विद्यार्थीको समर्थनसमेत गरेको छ । कोभिड–१९ को प्रतिकूल अवस्थामा ढिलो गरेर रकम बुझाउने विद्यार्थीलाई विश्वविद्यालयले उल्टै चार्ज लगाउनु आपत्तिजनक भएको नेविसङ्घले जनाएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोभिड–१९ का कारण अप्ठ्यारोमा परेका विद्यार्थीलाई विश्वविद्यालयले विभिन्न वहानामा शुल्क उठाउने काम जायज नभएको बताउनुभयो । काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले राखेका जायज माग तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । रासस

काठमाडौं विश्वविद्यालयका विद्यार्थी अनशनमा

काठमाडौं । काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । अनलाइनबाट पठनपाठन गरेर साविक कक्षा सञ्चालनको जस्तै गरी अतिरिक्त शुल्क उठाउन खोजेको भन्दै विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ साइन्स, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले काभ्रेस्थित विश्वविद्यालयको प्रशासन भवन परिसरमा रिले अनशन थालेका हुन् । आन्दोलित विद्यार्थी शैलेश मिश्रले आफूहरुसँग भएको सहमतिको पनि पालना नभएकाले अनशान गर्न बाध्य भएको बताए । विश्वविद्यालयका स्कल अफ इञ्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपालीले भने विद्यार्थीले उठाएका माग विश्वविद्यलाय प्रशासन बोर्डमा पुर्याइसकिएकाले चाँडै निर्णय हुने जनाए । रासस