एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेकाे छ । बाेर्डका प्लस टु तर्फका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले यस्ताे अवस्थामा परीक्षा गराउन सम्भव नभएकाेले परीक्षा स्थगित गरिएकाे जानकारी दिए । उनले यस विषयमा थप बैठकहरु बसिरहेकाे पनि बताए । बाेर्डले जेठ १३ गतेदेखि एसईई र जेठ २६ बाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी तालिका निकालेकाे थियो ।

एक महिने लामो शैक्षिक मेला आयोजना गर्दै प्याब्सन

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) ले नेपाल स्कुल मेला २०२१ आयोजना गर्ने भएको छ । प्याब्सनले कोरोना महामारीमाकै बीच स्कुलमा पढने विद्यार्थीहरुलाई लक्षित गरी नेपालकै पहिलो वृहत शैक्षिक मेला नेपाल स्कुल मेला २०२१ शुरु गर्न लागेको हो । बैशाख २३ गते आर्थात भोलीबाट सुरु हुने उक्त मेला एक महिनासम्म सञ्चालन हुनेछ । उक्त मेलामा प्राइमरीदेखि सेकेन्डरी लेवलसम्मका विद्यार्थी तथा अभिभावकहरुलाई लक्षित गरी उचित सूचना तथा परामर्श सेवा दिईन प्याबसनले जनाएको छ । उक्त मेलामा स्कुलको भर्चुअल भ्रमण, अन्तरक्रिया, विविध क्षेत्रका विज्ञसँगको निशुल्क लाइभ वेवनियारमा सहभागिता, करियर काउन्सेलिङ जस्ता कार्यक्रम लगायत शिक्षा क्षेत्रका जल्दाबल्दा विषयहरुमा अन्तरक्रिया हुने प्याब्सनले जनाएको छ । एनप्याब्सन लगायत विभिन्न शौक्षिक छाता संगठनहरुको समेत सहकार्यमा रहेको उक्त मेलामा ३६० डिग्री क्यामेराबाट खिचिएको स्कुलको ग्राउण्ड, रिसेप्सन, ल्याव, पुस्तकालय, कक्षाकोठा, सेमिनार हल लगायत भौतिकपूर्वाचार सहितको भर्चुअल टुरले विद्याथीए तथा अभिभावक आफै स्कुल पुगेजस्तो महसुस हुनेछ । उक्त भर्चुअल मेलाले विद्यार्थीले शैक्षिक परामर्श, लाइभ वेविनारको माध्यमबाट कोभिड–१९ को कहरले प्रताडित विद्यार्थी तथा अभिभावकहरुलाई उचित परामर्श समेत दिईनेछ । उक्त मेलामा काठमाडौँ उपत्यका सहित बाहिरका करिब १ सय ५० बढी स्कुलहरुले सहभागीता जनाउने भएका छन् भने ५ लाख विद्यार्थी तथा अभिभावकहरुले भ्रमण गर्ने नेपालकै अहिलेसम्मको सबैभन्दा ठूलो र पहिलो शैक्षिक स्कुल भर्चअल मेला हुने व्याब्सनका अध्यक्ष टिकारम पुरी बताउँछन् ।

सङ्क्रमणको जाखिम बढ्यो तर लमजुङकाे ५ तहमा परीक्षा रोकिएन

लमजुङ । सङ्घीय सरकार र जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को जोखिमका कारण शैक्षिक संस्था बन्द गर्न दिएको निर्देशनलाई यहाँका केही पालिकाले पालना गरेका छैनन् । केही विद्यालयले जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेका बेला पनि सङ्क्रमणलाई बेवास्ता गर्दै धमाधम परीक्षा सञ्चालन गरिरहेका छन् । जिल्लाका स्थानीय तहले अटेर गर्दा विद्यार्थी सङ्क्रमणको उच्च जोखिममा परेका बताइएको छ । कोरोनाकै कारण राइनास नगरपालिका– ७ गरमबेसीका ३९ वर्षीया एक महिलाको मृत्यु समेत भइसकेको छ । सङ्क्रमणमा वृद्धि हुन थालेपछि जिप्रकाले एक विज्ञप्ति निकालेर विद्यालयहरू बन्द गर्न निर्देश गरेपनि जिल्लाका सरकारी तथा नीजि विद्यालयले धमाधम परीक्षा सञ्चालन गरिरहेका छन् । जिल्लाका विद्यालयमा त सुरक्षा मापदण्ड नै पालना छ, न त वास्ता नै छ । बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भने, ‘पालिकाका विद्यालयमा धमाधम परीक्षा चलिरहेकाले सबै विद्यालयको परीक्षा सम्पन्न भएपछि मात्र विद्यालय बन्द गर्नेछौ ।’ केहीदिन अघि मात्र बेँसीशहरमा रहेको जनविकास माध्यमिक विद्यालयका ३० वर्षीया शिक्षिकालाई कोरोना पोजिटिभ देखिएको छ । शिक्षिकामा कोरोना देखिए पनि विद्यालयका शिक्षक र विद्यार्थीको भने कन्ट्रयाक्ट ट्रेसिङ नभएको बताइएको छ । सो विद्यालयमा समेत धमाधम परीक्षा सञ्चालन भइरहेको छ । विद्यार्थी सङक्रमणको जोखिम महशुस गर्दै डराइ डराइ हतार हतारमा परीक्षा दिँदै घर फर्किने गरेका बताइएको छ । जिल्लामा आठ स्थानीय तह रहेको छ । तीमध्ये दुधपोखरी, क्व्होलासोथर गाउँपालिका र मध्यनेपाल नगरपालिकाले सबै विद्यालय बन्द गरेपनि अन्य पाँच तहले वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् । जिल्लाका बेँसीशहर, सुन्दरबजार, राइनास नगरपालिका र दोर्दी, मस्र्याङ्दी गाउँपालिकाले धमाधम सङ्घीय सरकार तथा प्रशासनको निर्देशनको पालना नगर्दै परीक्षा सञ्चालन गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जिल्लाको विद्यालय तथा परीक्षा बन्द गर्न डिसिसिएमसीको बैठकले निर्णय गरेको जानकारी दिए । उनले भने, ‘हामीले सबै पालिका प्रमुखहरुलाई राखेर पनि विद्यालय बन्द गर्न निर्देशन दिएका थियौँ । उहाँहरुले पालना नगरी कोरोना सङक्रमणको जोखिमका बीच धमाधम परीक्षा सञ्चाालन गरिरहनुभएको छ ।’ विद्यालय व्यवस्थापन सम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहलाई भएकाले प्रशासनले अनुगमन मात्र गर्न सक्ने उनको भनाइ छ । जिल्लामा दैनिक ११ देखि २४ जनासम्ममा कोरोना पुष्टि हुन थालेको छ । रासस