बैंक अफ काठमाण्डूद्वारा ५ लाखको बीमा दावी भुक्तानी

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके सफलता मुद्दती खाता अन्तर्गत रुद्र प्रसाद वस्तीलाई पाँच लाखकाे बीमा दावी रकम भुक्तानी प्रदान गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँगका सहकार्यमा बैंकले उच्चतम ब्याजदरका साथ एघार लाखसम्मको बीमा सुविधा उपलब्ध गराउदै आईरहेको छ । बैंककाे सुविधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको र १८ प्राणघातक रोगहरुको लागि पाँच लाख तथा औषधी उपचारको लागि एक लाखको बीमा सुविधा रहेको छ । केही समययता प्राणघातक रोगको कारणले उनको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा वस्तीले बैंकबाट उपलब्ध भएको बिमा दावी रकम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरी हाल सफल उपचार पश्चात् स्वास्थ्य लाभ गरी सामान्य जिवनयापन गरीरहेकाे बैंकले जनाएकाे छ ।    

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा, सर्वोच्च अदालतमा रिट दायर

काठमाडाैं ।  त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६ गते आयोगले प्रकाशन गरेको नतिजा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् । समस्या समाधानका लागि आयोगलाई पटक–पटक गरिएको आग्रहको सुनुवाइ नभएकाले अदालतमा जानुपरेको परीक्षार्थीले जनाएका छन् । आयोगको गत कात्तिक २६ गतेको सूचनामा चिकित्साशास्त्र, इञ्जिनीयरिङ, कृषि तथा पशु विज्ञान, विज्ञान तथा प्रविधि, अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र, शिक्षाशास्त्र, व्यवस्थापन सङ्कायका २४० परीक्षार्थीको परीक्षा आयोगको निर्णयानुसार रद्द गरिएको जनाइएको थियो । आयोगले २०७६ कात्तिक २८ देखि २०७६ पुस २ गतेसम्म सञ्चालित विभिन्न अध्ययन संस्थान र सङ्कायका उम्मेदवारको परीक्षामा मर्यादाविपरीत तथा अनियमित कार्य भएको जनाउँदै उत्तरपुस्तिका र परीक्षा रद्द गरेको थियो । उत्तरपुस्तिकालाई विधिविज्ञान प्रयोगशालामा परीक्षण गराई प्राप्त अङ्कका आधारमा नतिजा प्रकाशन गरी पदपूर्तिको प्रक्रिया अघि बढाउन मागसहित यही मङ्सिर १४ गते रिट निवेदन दायर गरिएकामा अदालतले विश्वविद्यालयका पदाधिकारीलाई बोलाइएर सुनुवाइको मिति तय गर्न बाँकी छ । समाजशास्त्र विषयमा नेपाल विद्याभूषण प्राप्त उम्मेदवार अञ्चला चौधरीले आयोगले गर्दै नगरेको गल्ती देखाइ आफूहरुको परीक्षा रद्द गर्ने सूचना प्रकाशन गर्नु न्यायोचित नभएको बताइन् । आफ्नो समूहका सर्वाेत्कृष्ट विद्यार्थीसमेत र लामो समय अध्यापनरतका लिखित परीक्षा रद्द गरी आयोगले अन्याय गरेकाले अयोग्य भनिएका र सफल उम्मेदवारबीचको प्राप्ताङ्कको फरक विवरण पाउन माग गरिएको परीक्षार्थी कपिल खनालले जानकारी दिए । आफ्नो समूहमा ‘इएनटी’ विषयमा सर्वाेत्कृष्ट डा कृपा डङ्गोलले नभएको गल्ती देखाएर सफल हुने सम्भावित उम्मेदवारलाई पाखा लगाउने कोशिश भएको आरोप लगाइन् भने वायोकेमेस्ट्रिमा सर्वाेत्कृष्ट रञ्जीत ठाकुरले धेरै राम्रो भएको विषयको जाँचको उत्तरपुस्तिका रद्द गरिएकोले यो कार्य उपयुक्त नभएको प्रतिक्रिया दिइन् । मनोविज्ञान विषयमा अध्यायपकका लागि परीक्षा दिएका डा नरेन्द्रसिंह ठगुन्नाले आफूहरुको समूहमा एक स्थानका लागि गरिएको विज्ञापनमा १८ जनाले आवेदन र ११ जनाले परीक्षा दिएकामा कुनै पनि उम्मेदवार सफल नभएको नतिजा आउनु आश्चर्यको विषय भएको बताए । यस समूहका परीक्षार्थीले भने आयोगविरुद्ध कानूनी चुनौती दिएका छैनन् । सेवा आयोगका कार्यालय प्रमुख केदारनाथ ढकालद्वारा कात्तिक २६ गते जारी सूचनामा उत्तरपुस्तिकामा मर्यादाविपरीत परीक्षकलाई आफ्नो पहिचान खुलाउने गरी तोकिएको ठाउँभन्दा अन्यत्र आफ्नो नाम/रोल नं/फोन नं लेखी परीक्षाको मर्यादा उल्लङ्घन गरिएको तथा केहीको हलमा अनियमितता भएकाले परीक्षा उद्द गरिएको उल्लेख छ । प्रमुख ढकालले भन], “रिट निवेदनबारे आफूहरुलाई जानकारी नभएको बताए ।” सेवा आयोग त्रिविको स्वायत्त निकाय मानिन्छ । गत कात्तिक २७ गते जारी सूचनामा खुल्ला प्रतियोगिताअन्तर्गत विज्ञापन नं २२६ (२०७५/७६) को कृषि अर्थशास्त्र विषयको परीक्षामा अघिल्लो दिनको सूचनामा त्रुटि भएकाले जनाउँदै संशोधन गरिएको जनाइएको थियो । आयोगका नतिजामा विगतमा पनि अनियमितताका घटना सार्वजनिक भई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी विशेष अदालतमा मुद्दा दायर गरेपछि २०७६ असार १९ मा तत्कालीन अध्यक्ष चैतन्य शर्मा, सदस्यचिव परशुराम कोइराला, सदस्य चिन्तामणि पोखरेलसहित नौ जना निलम्बनमा पर्नुभएको थियो । उनीहरुलाई प्राप्ताङ्क केरमेट गरी परिवर्तन गरिएको, नातेदार परीक्षार्थीलाई उत्तीर्ण बनाउन प्रयास गरिएको आरोप लगाइएको थियो । रासस

विद्यालय सञ्चालनको तरखरमा कञ्चनपुरकाे स्थानीय तह

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीले दुई दिनअघि अभिभावक भेला डाक्यो । गत चैत महिनायता बन्द रहेका विद्यालय सञ्चालनमा ल्याउन स्थानीय तहले अभिभावकको राय सङ्कलन गर्न भनेबमोजिम ग्लोबलले आयोजना गरेको भेलामा अभिभावकका मिश्रित सुझाव आए । यहाँको भीमदत्त नगरपालिकाले विद्यालय सञ्चालनका निजी तथा सामुदायिक विद्यालयलाई आग्रह गरेपछि विद्यालय सञ्चालक र व्यवस्थापन समिति अभिभावकको राय लिन व्यस्त छन् । भेलामा अधिकांश अभिभावकले विद्यालयमा बालबालिकाको भौतिक दूरी कायम, स्वास्थ्य सर्तकतालगायतका मापदण्ड अपनाएर दिनमा दुई पालोमा सञ्चालन गर्न राय दिएपछि नगरपालिकालाई निर्णयसहितको पत्र पठाएको ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्र ओझाले बताए । “अभिभावक भेलाको निर्णय, आवश्यक व्यवस्थापन र शिक्षकलगायतका सबै व्यवस्थापनसहितको निर्णय कपी हामीले नगरपालिकामा पठाएका छौँ”, प्रिन्सिपल ओझाले भने, “नगरपालिकाले केही दिनभित्र विद्यालय सञ्चालनका लागि पत्राचार गर्ने भनेको छ ।” उनले विद्यालयमा भौतिक दूरी, मास्क, स्यानिटाइजरलगायतका व्यवस्थापन गरेर मात्रै अध्यापन गराउने बताए । “बिहान १० देखि दिउँसो १ बजेसम्म पहिलो र १ देखि ४ बजेसम्म दोस्रो सिफ्टमा कक्षा सञ्चालन गर्नेछौँ”, उनले भने, “यसरी गर्दा दुई सिफ्टमा २०० विद्यार्थी स्कूलमा आएर अध्ययन गर्नेछन् ।” उनले लकडाउनअघि विद्यालयमा ४०० विद्यार्थी रहेको बताए । “लकडाउन अवधिमा अनलाइन कक्षा सञ्चालन गरिए पनि सानो कक्षामा त्यति प्रभावकारी हुनसकेन”, ओझाले भने, “कोरोनाले अन्य क्षेत्रजस्तै शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित बन्न पुग्यो ।” त्यसैगरी भीमदत्त–१३ बडैपुरमा रहेको बालविद्या निकेतनले सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर सञ्चालन गरिरहेको छ । “हामीकहाँ अहिले २५ प्रतिशत मात्रै विद्यार्थी अध्ययनरत छन्”, बालविद्या निकेतनका प्रिन्सिपल कृष्ण साउदले भने, “हामीले अभिभावकको भेलाबाट सहमति लिएर स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गरेका हौँ ।” उनले सामाजिक दूरी कायम र नियमित विद्यार्थीको तापक्रममापन, मास्क अनिवार्य र दैनिक विद्यालयमा साबुन पानीले हात धुने व्यवस्थासमेत मिलाइएको जानकारी दिए । शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचा, २०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताए । “निर्देशिकामा विभिन्न सातवटा विकल्प छन्”, सुवेदीले भने, “त्यसमा उपयुक्त विकल्प छानेर सञ्चालन गर्नुपरे सम्बन्धित पालिकामा स्वीकृति लिनुपर्ने भनिएको छ ।” उनले आइतबार जिल्ला विपद् व्यवस्थापन समितिले पनि विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ अनुसार पालिकाको सहमति लिई उपयुक्त विकल्पमा कक्षा सञ्चालन गर्न सक्ने निर्णय गरेको बताए । कञ्चनपुरमा पछिल्लो केही समययता विद्यालय सञ्चालनमा आउने क्रम जारी रहेको सुवेदीले जानकारी दिए । यहाँ २४९ निजी र २६१ सामुदायिक विद्यालय छन् । कञ्चनपुरको वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले पालिकाभित्र विद्यालय सञ्चालनको तयारी भइरहेको जानकारी दिए । उनले आजदेखि कक्षा ९ देखि १२ सम्म र मङ्सिर २१ गतेदेखि सबै विद्यालय सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए । “आजसम्म विद्यालयलाई कुन विधि र विकल्पबाट सञ्चालनमा ल्याउने भनेर अभिभावक भेला, जनप्रतिनिधि र सङ्घसंस्थाको रायसहित निर्णय लिएर आउन भनेका छौँ”, चन्दले भने । वेदकोट नगरपालिकाले विद्यालयमा स्यानिटाइजर र स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने चन्दको भनाइ छ । रासस