यस वर्षको एसईईकाे नतिजा पनि आन्तरिक मुल्यांकनबाटै सार्वजनिक हुने

काठमाडाैं। यस वर्षको एसईईकाे नतिजा पनि आन्तरिक मुल्यांकनबाटै सार्वजनिक हुने भएकाे छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै एसईईकाे नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हाे । कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न सकिने अवस्था नरहेको, विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिँदा विद्यार्थीमा सङ्क्रमण गर्न सक्ने खतरा अत्यधिक रहेको र अनलाइनबाट परीक्षा सञ्चालन गर्दा एसइई परीक्षामा सहभागी हुने सबै विद्यार्थीमा प्रविधिको पहुँच नपुग्ने भएकाले गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ । कोभिडको सङ्क्रमण बढ्दै गएको र बालबालिकालाई थप जोखिम हुने खतरा रहेकाले गत वर्षकै प्रक्रियालाई निरन्तरता दिँदै एसइईको आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको हो । मन्त्रालयले सरकारको निर्णय कार्यान्वयनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई परिपत्र गर्ने भएको छ । बोर्डले यस वर्ष जेठ १३ गतेदेखि एसइई परीक्षा भौतिकरूपमा नै सञ्चालन गर्ने गरी गर्ने परीक्षा तालिका सार्वजनिक गरे पनि कोभिड महामारीका कारण वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको र बालबालिकामा सङ्क्रमण बढेपछि सरकारले वैशाख २७ गते एसइई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । त्यसपछि बोर्डले एसइई परीक्षा सञ्चालन गर्नेबारे शिक्षा विभागका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले परीक्षाका लागि चार वटा विकल्प प्रस्तुत गरेको थियो । एउटा गत वर्षको जस्तो आन्तरिक मूल्याङ्कन गर्ने, दोस्रो विद्यार्थीलाई प्रश्न पत्र दिएर अनलाइनबाट परीक्षा दिलाउने, तेस्रो भौतिक दूरी कायम गर्दै बोर्ड आफैँले सञ्चालन गर्ने वा विद्यालयलाई परीक्षा सञ्चालनको जिम्मा दिने र चौथो भारतमा जस्तै परीक्षा नै नगरी आन्तरिक मूल्याङ्न गर्ने र कक्षा ११ को प्रवेश परीक्षालाई कडाइ पार्दै ती विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदा कडाइ गर्ने विकल्प पेश गरेको बोर्डले जानकारी दिएको छ । यस वर्ष बोर्ड र प्याब्सनका केही पदाधिकारीले भने विद्यालयलाई परीक्षाको जिम्मा दिने गरी निर्णय गर्नुपर्नेमा जोड दिएका थिए तर विद्यालयलाई जिम्मा दिँदा विद्यार्थीमा सङ्क्रमण फैलिए त्यसको जिम्मेवारी को हुने भन्ने सवाल खडा भएको बताइएको छ । यस वर्ष देशभरिबाट करिब पाँच लाख १७ हजार विद्यार्थी एसइई परीक्षाको तयारी छन् । गत वर्ष कोरोना महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले नतिजा दिएको थियो ।  

६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने

netकाठमाडौं । सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै ती जिल्लाका स्थानीय तहलाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ सूचना अनुसार विनासकारी गोरखा भूकम्पबाट अति प्रभावित काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुगां र काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका जिल्लाका सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान हुने जनाइएको छ । सूचनामा १५ दिनभित्र समझदारी पत्रमा हस्ताक्षर गर्न भनिएको छ ।

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न प्रस्ताव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिबाट गराउने तयारी गरेको छ । राष्ट्रिय परिक्षा बोर्डको प्रस्ताव माथि छलफल गर्न सोमबार बसेको मन्त्रालयको बैठकले मन्त्रिपरिषद्को बैठकका उक्त प्रस्ताव लैजाने तयारी गरेको हो । शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालका अनुसार आजको बैठकमा गत वर्षकै विधि अनुसार यस वर्ष पनि एसईई परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । मन्त्रालयमा आवश्यक छलफल गरेर उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने निर्णय भएको हो । कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै हुने भएको छ । शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गरी परीक्षा गर्ने निर्णय गरेको हो । बाेर्डले उक्त परीक्षा तत्काल सञ्चालन गर्न कोभिड–१९ का कारण सम्भव नभएको भन्दै साउन तथा भदौ महिनामा उपयुक्त समय भएको भन्दै मन्त्रालयमा सिफारिस गरिएको छ । शनिबार राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनको मोडालिटी मन्त्रालयमा पेश गरेको थियो । परीक्षा स्थगित भएपछि एसईई र कक्षा–१२ को परीक्षाको मोडालिटी तयार पर्न एक कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको बुझाएको प्रतिवेदन माथि शनिबार राष्ट्रिय परीक्षा बोर्डमा छलफल गरिएको थियो । बोर्डले बुझाएको प्रतिवेदनका आधारमा मन्त्रालयले मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताव लैजाने निर्णय गरेको हो । दोस्रो चरणको कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो । यस्तै बोडले मन्त्रालयमा कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै गर्ने प्रस्ताव पेश गरेको थियो ।