असार १ गतेबाट नयाँ शैक्षिक सत्र: परिक्षा मुल्यांकनकाे जिम्मेवारी स्थानिय सरकार र विद्यालयलाई
काठमाडाैं । सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरीय कक्षा संचालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । शैक्षिक सत्र संचालन र व्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ । यस्तै मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिपक शर्माले विद्यार्थीको सिकाईलाई रोक्न नहुने भएकोले भौतिक रुपमा पठनपाठन गर्न सम्भव नभए पनि वैकल्पिक माध्यमबाट सिकाईलाई निरन्तरता दिन शैक्षिक सत्र सुरु गर्न लागेको बताए । विद्यार्थीको परिक्षा मुल्यांकन गर्ने विभिन्न विधि प्रक्रिया अपनाउन स्थानीय सरकार र विद्यालय स्वयंमले निर्णय गर्न सक्ने पनि प्रवक्ता शर्माले बताए । शर्माकाे अनुसार पाठ्यपुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरी व्यवस्था मिलाइनेछ ।
मिदासबाट प्याब्सन र एनप्याब्सनका कर्मचारीलाई १ महिना नि:शुल्क भिडियाे स्वास्थ्य परामर्श
काठमाडौं । प्याब्सन र एनप्याब्सनका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरु घरमै बसेर डाक्टरसँग एक महिनाको निशुल्क भिडियो काउन्सिलिङ सेवा पाउने भएका छन् । दुई संस्थाले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्ना कर्मचारीहरुको लागि यस्तो सेवा ल्याएको जनाएको छ । कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न मिदासले मेराे डाक्टर भिडियाे सेवा सुरु गरेकाे छ । मिदास टेक्नोलोजीजले सञ्चालनमा ल्याएको मेरो डाक्टर मा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध छन् । बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट मेरो डाक्टरमा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्नछन् । मेराे डाक्टरबाट सेवा कसरी लिने ? १। बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट यो टेलिमेडिसीन सेवा लिन सक्नुहुनेछ । २ । यदि एन्ड्राेइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट मेरो डाक्टर‘ एप डाउनलोड गर्न सकिन्छ । ३ । आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर मेरो डाक्टर एप डाउनलोड गर्न सकिन्छ । ४ । ल्यापटप वा डेक्सटपबाट यो सेवा लिन चाहेमा http://www.merodoctor.com टाइप गरेर यो सेवा लिन सकिन्छ । ५ । मेराे डाक्टर कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा http://www.merodoctor.com/help ले तपाईँलाई थप मद्दत गर्नेछ । तपाईँहरूको सजिलोका लागि यो लिंकमा म्यानुअल राखिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयकाे स्थगित परीक्षा अनलाइनबाट हुने
बैतडी । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगन भएका सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा र पठनपाठन कार्य वैकल्पिक माध्यमबाट सञ्चालन हुने भएका छन् । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले गरेको निर्णयानुसार रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट हुने भएका हुन् । स्नातक तह दोस्रो, चौथो र छैटौँ सेमेष्टरका परीक्षा आगामी साउन ५ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्दबल्लभ पन्तले जानकारी दिए । बैठकपछि विश्वविद्यालयको केन्दीय कार्यालयले जारी गरेको सूचनाअनुसार स्नातक दोस्रो, चौथो र छैटौँ सत्रका विद्यार्थीलाई अघिल्लो सेमेष्टरका कक्षा यही जेठ २५ देखि सञ्चालन हुनेछन् । कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञा पनि जारी रहेकाले वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा गरिन लागिएको हो । यद्यपि अवस्था सामान्य भएमा तथा नेपाल सरकारले निर्णय गरेमा कक्षा र निर्धारित परीक्षा भौतिकरूपमै सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ । वैकल्पिक माध्यमबाट सञ्चालन हुने परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालयले जेठ मसान्तभित्र कार्यविधि तयारी पार्ने र असार २० गतेसम्म परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गरिसक्ने जनाएको छ । परीक्षालाई लिखित तथा मौखिक र विद्यार्थीलाई विश्लेषणात्मक उत्तर दिनुपर्ने खालको प्रश्नपत्र तयार पारिनेछन् । अनलाइन प्रविधिबाट परीक्षा तयारी भइसकेपछि विद्यार्थीको ‘मक टेष्ट’ गराइने छ । अहिले विश्वविद्यालयले माइक्रोसफ्ट सफ्टवेयर खरिद गरेकाले सोहीमार्फत परीक्षा सञ्चालन गरिनेछन् । स्नातकोत्तर तहका हकमा दोस्रो सेमेष्टरका विद्यार्थीलाई तेस्रो सेमेष्टरमा राखी जेठ २५ गते र दोस्रो र चौथो सेमेष्टरको परीक्षा साउन २४ गतेदेखि वैकल्पिक माध्यमबाट गरिने सूचनामा उल्लेख गरिएको छ । केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार तयारी थालिएको पाटन बहुमुखी क्याम्पस बैतडीका प्रमुख उत्तम भण्डारीले बताए । उनले भने, ‘कक्षा सञ्चालन र परीक्षा सञ्चालनका लागि हामीले पनि तयारी थालेका छौँ, आइतबार जुम मिटिङ राखेका छौँ ।’