कस्ता विद्यार्थीले पाउँछन् जापानको भिसा ? यस्ताे छ नयाँ नियमहरु

काठमाडौं । जापान सरकारले २०२० को डिसेम्बरदेखि विद्यार्थी भिसामा जापानमा उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीको लागि प्रवेशमा रोक लगाईएकोमा २०२१ नोभेम्वर ०८ बाट प्रवेशको लागि अनुमति दिने निर्णय गरेको छ । यसबाट २०२० मा सिओई प्राप्त गरी ट्युसन फि लगायतका शुल्क तिरेर बसेका विद्यार्थीमा सहजता हुने नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले जनाएको छ । जापान सरकारले २०२० को अप्रिल देखि २०२१ को अप्रिल सम्मका विद्यार्थीलाई २०२१ को नोभेम्वर, डिसेम्वर र जनवरी गरी तिन महिनामा प्रवेशको अनुमती दिने र २०२१ को अप्रिल, जुलाई र अक्टोवरका विद्यार्थीलाई जनवरीपछि सुचना जारी गर्ने जनाएको छ । यसको अर्थ २०२० जनवरी ०१ देखि २०२० मार्च ३१ सम्म सिओई प्राप्त विद्यार्थीले नोभेम्वर २०२१ मा, २०२० जनवरी ०१ देखि २०२० सेप्टेम्वर ३० सम्मका सिओई प्राप्त विद्यार्थीले डिसेमम्वर २०२१ मा र २०२० जनवरी ०१ देखि २०२१ मार्च ३१ सम्म सिओई प्राप्त विद्यार्थीले जनवरी २०२२ मा प्रवेश पाउनेछन । सोहि अनुसार नेपालबाट जापानिज दुतावासमा भिसा आवेदन गरी भिसा प्राप्त गर्न सकिने इक्यानले जनाएको छ । इक्यानको अनुसार नेपालमा भिसा आवेदन पुर्व विद्यार्थीले आफुले अध्ययन गर्न जान चाहेको कलेज, स्कुलबाट माग गरिएको कागजपत्र पेश गरी जापानको शिक्षा मन्त्रालयबाट प्रदान गर्ने सर्टिफिकेट या एक्जामिनेसन स्क्रिनिङ्ग सर्टिफिकेट लिनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । स्क्रिनिङ्ग सर्टिफिकेट प्राप्त विद्यार्थीले मात्र भिसा आवेदन गर्न सक्नेछन । साथै नेपालमा अवस्थित जापानिज दुतावासको नयाँ नियम अनुसार सम्पुर्ण भिसा आवेदन नेपाल अवस्थित भिएफएस ग्लोबल नेपालबाट मात्र लिइने व्यवस्था इक्यानले जनाएको छ ।

विद्यार्थीका लागि जापान र अस्ट्रेलियाकाे सीमा खुला

काठमाडाैं । उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको छ । उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले नेपाली विद्यार्थीहरुले अब जाँदा के–कस्ता सावधानी अपनाउनु पर्छ भन्नेबारे अभिभावक र विद्यार्थीहरुलाई सतर्क गराउने लक्ष्यसहित पत्रकार सम्मेलन गरिएको बताए । उनले अस्ट्रेलियाका तीन शहर बाहेकका अन्य शहरहरुमा जाँदा क्वारेन्टाइन बस्नु पर्ने भएकाले कन्सलटेन्सीहरुसँग बुझेर मात्रै जानु पर्ने बताए । अध्यक्ष पाण्डेले भने, ‘जापान सरकारले केही दिन अघि र अस्ट्रेलिया सरकारले हिजोबाट बोर्डर ओपन गरेर नेपाली लगायत अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लिएर जाने निर्णय गरेको छ, नेपाली विद्यार्थीहरु के के सावधानीसहित के–के कुरा बुझेर, कसरी जानुपर्छ भन्ने विषयमा विद्यार्थी र अभिभावक सजग बनाउने हेतुले हामीले बोलाएका हौँ । अस्ट्रेलिया डिसेम्बर १ पछि जान पाउने भन्ने निर्णय भएको छ, अझै पनि धेरै शहरहरुमा क्वारेन्टाइनमा बस्नु पर्ने बाध्यता छ, नबुझिकन जाँदा विद्यार्थी अलपत्र पर्न सक्छन् भन्ने कुरामा सजग बनाउनलाई हो, तीन वटा राज्यबाहेक अन्य राज्यमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको कारण विद्यार्थीहरुलाई शतर्क बनाउन पत्रकार सम्मेलन गरिएको हो ।’ अध्यक्ष पाण्डेले जापान जाने विद्यार्थीहरुको हकमा भने सिओइ आएकाहरुले पनि एडिशनल स्क्रिनिङ सर्टिफिकेट लिनुपर्ने नियम बनाएको भन्दै त्यसतर्फ सचेत रहन र हतारमा अपोइन्टमेण्ट लिने र सिट बुक गर्ने काम नगर्न आग्रह गरे ।

मंसिर १५ गतेदेखि अस्ट्रेलियाकाे यात्रा प्रतिबन्ध हट्ने

काठमाडौं । डिसेम्बर १ तारिख अर्थात मंसिर १५ गतेदेखि अस्ट्रेलियाको यात्रा प्रतिबन्ध हट्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार डिसेम्बर १ तारिखदेखि यात्रा प्रतिबन्ध हटाइने बताएका हुन् । अस्ट्रेलियाले कोभिड–१९ संक्रमणको कारण दुई वर्षदेखि विदेशी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । यो नयाँ नियमअनुसार अब भिसा भएका कुनै पनि व्यक्ति बिना रोकतोक अस्ट्रेलिया फर्किन पाउनेछन् ।