निजी विद्यालयको बदमासीः महामारीको मुखमा विद्यार्थी बोलाएर लिए प्रिबोर्ड परीक्षा र शुल्क, दिएनन् रिजल्ट

सांकेतिक तस्बीर / काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले विश्वविद्यालय, क्याम्पस र विद्यालयका सबै किसिमका परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्को निर्णयको वेवास्ता गर्दै केही विद्यालयले भने वार्षिक परीक्षा लिएका थिए । यस्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै तहका परीक्षा सञ्चालन नगर्न निर्देशन दिएपनि काठमाडौं उपत्यकाका तीन जिल्लामा सञ्चालित निजी तथा आवाशीय विद्यालयले बैशाख ५ गतेबाट प्रिबोर्ड परीक्षा सञ्चालन गरेका थिए । सरकारको निर्देशन विपरित परीक्षा सञ्चालक गरेका विद्यालयहरुले दुई महिना बितिसक्दा परीक्षाफल प्रकाशित गरेका छैनन् । प्रिबोर्ड परीक्षाको नाममा विद्यार्थीबाट शुल्क लिएर जोखिमपूर्ण अवस्थामा लिइएको परीक्षाको नतिजा भने अहिलेसम्म निकालिएको छैन । यस वर्ष निजी तथा आवाशीय विद्यालयको संगठन (प्याब्सन) ले काठमाडौं उपत्यका भित्रका विद्यालयलाई होम सेन्टरमा प्रिबोर्ड परीक्षा सञ्चालन गर्ने दिएको निर्देशन अनुसार विद्यालयले होम सेन्टरमा परीक्षा सञ्चालन गरेका थिए । विद्यालयहरुले यसको लागि एसइईमा लिइने परीक्षा शुल्क जति नै शुल्क लिएका थिए । तर परीक्षा संचालन भएको करिब दुई महिना पुग्दा पनि विद्यालयहरुले परीक्षाको नतिजा प्रकाशन गरेका छैनन् । यसभन्दा अघिल्ला वर्षहरुमा विद्यालयको प्रिबोर्ड परीक्षा प्याब्सनले लिने गरेको थियो । प्याब्सन तथा एनप्याब्सनले यसअघि परीक्षाको सम्पूर्ण जिम्मा लिने गरेका थिए । तर, यस वर्ष कोरोना भाइरसको कारण देशभरका सबै ठाउँमा परीक्षा संचालन गर्न सम्भव नभएपछि र कति ठाउँमा केही विषयको परीक्षा हुन नसक्दा निजी तथा आवाशीय विद्यालयको संगठन प्याब्सन प्रश्नपत्र बनाउने बाहेका परीक्षा सम्बन्धि सबै काम विद्यालयलाई सुम्पिएको प्याब्सनका महासचिव कुमार घिमिरेले बताए । घिमिरेका अुनसार यसको लागि प्याब्सनले प्रतिविद्यार्थी ४० रुपैयाँ लिएको थियो । त्यसबाहेको सम्पूर्ण जिम्मा जिल्लालाई र सक्ने अवस्थामा विद्यालयलाई दिईएको हो । विद्यालयलाई आन्तरिक मूल्यांकनको आधारमा नतिजा प्रकाशन गर्नु भनेर आफूहरुले मार्कसिटको ढाँचासमेत पठाएको उनले बताए । कलंकीस्थित नेपालय स्कुलका संयोजक घनश्याम भट्टराईले परीक्षाको लागि आफूहरुले प्रतिविद्यार्थी ५ सय रुपैयाँ लिएको बताए । स्कुलले नतिजा सार्वजनिक गरिसकेको उनको भनाई छ । तर उक्त विद्यालयमा पढ्ने केही विद्यार्थीहरुले नतिजा नपाएको बताएका छन् । विद्यालयले आन्तिरक रुपमा नतिजा सार्वजनिक गरेको जनाएको छ । प्रिबोर्ड परीक्षाका लागि उपत्यकाका अधिकांश विद्यालयले प्रतिविद्यार्थी ६ सय रुपैयाँदेखि एक हजारसम्म शुल्क लिने गरेका छन् । तर, यसपाली भने निजी तथा आवाशीय विद्यालयहरुले विद्यार्थीसँग शुल्क लिएर पनि नतिजा प्रकाशित नगरी पैसा खाने उपाय मात्रै निकालेका छन् ।

एसइईको नतिजा साउन दोस्रो साता

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको छ । बाेर्डले यसकाे लागि आवश्यक पर्ने मूल्याङ्न कार्यविधि आइतबार पारित गर्दै असार २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले जानकारी दिए समन्वय समितिले विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्ने भएको छ । असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्नेछ । बार्डले यस वर्ष पनि काेराेनाभाइरस महामारीकाे कारण  आन्तरिक मूल्याङ्कनबाट नै नतिजा सार्वजनिक गर्ने भएकाे छ । यद्यपि पाेहाेर जथभावी अंक दिएकाे भन्दै बाेर्डले यस वर्ष मुख्य विषय शिक्षकहरु गरी पाँच सदस्यीय समिति बनाएर उनीहरुले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।

एसईईको नतिजा असार भित्रै बुझाउन विद्यालयलाई निर्देशन

काठमाडौं । विद्यालयहरुले विद्यार्थीको विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा आगामी असार २० गतेसम्म बुझाउनु पर्ने भएको छ । उक्त नतिजा उनीहरुले सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा बुझाउनुपर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले सो अवधिभित्र विद्यार्थीको एसईईको नतिजा जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने निर्णय गरेको हो । ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गर्दै बोर्डले उक्त नतिजा असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने निर्णय गरेको हो । नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई हुने बोर्डले जनाएको छ । विषय शिक्षकलाई विद्यार्थीको क्षमता बढी थाहा हुने भएकोले उक्त अधिकार विषय शिक्षकलाई दिईएको बोर्डको भनाई छ । भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यसवर्ष पनि विद्यालयहरुको मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।