सुदूरपश्चिमका एमबिबीएस पढिरहेका विद्यार्थीलाई ९० लाखको छात्रवृत्ति, कसरी दिने आवेदन ?

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एमबिबीएस प्रथम वर्षमा अध्ययनरत प्रदेशभित्रका दलित, आदिवासी जनजाति, सीमान्तकृत, लोपोन्मुख समुदाय तथा पिछडिएको क्षेत्र र जेहन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबिबीएस प्रवेश परीक्षा उत्तीर्ण गरी स्वदेशभित्रका विश्वविद्यालय वा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइने भएको हो । मन्त्रालयका शाखा अधिकृत जयदेव महराका अनुसार प्रतिविद्यार्थी १० लाखका दरले नौ जनालाई छात्रवृत्ति उपलब्ध गराइने छ । छात्रवृत्तिका लागि आगामी पुस १२ गतेसम्म आवेदन दिनका लागि समयसीमा निर्धारण गरिएको छ । छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६ (पहिलो संसोधन)को अनुसूची ४ को ढाँचामा निवेदन र अनुसूची १० बमोजिम कबुलियतनामा दिनुपर्ने छ । छात्रवृत्तिका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, हालको स्थायी बसोबास भएको स्थानीय तहबाट स्थायी बसोबास रहेको व्यहोरा खुल्ने सिफारिसपत्र, विद्यार्थीले कक्षा ८, १० र १२ को अध्ययन पूरा गरेको ग्रेडसिट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, अध्ययन गरेको विद्यालय सामुदायिक वा संस्थागत (सार्वजनिक शैक्षिक गुठी, निजी शैक्षिक गुठी, निजी) भएको व्यहोरा खुल्ने गरी सम्बन्धित विद्यालय र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ वा सम्बन्धित स्थानीय तहको सिफारिसपत्र पेश गर्नुपर्ने छ । यससँगै हाल अध्ययनरत शैक्षिक संस्थामा चिकित्साशास्त्रको स्नातह तह प्रथम वर्षमा अध्ययनरत रहेको र अन्य कुनै पनि छात्रवृत्ति प्राप्त नगरेको व्यहोरा खुल्ने गरी अध्ययनरत क्याम्पसको सिफारिसपत्र, दलित आदिवासी, जनजाति, आदिवासी, पिछडिएको क्षेत्र र वर्ग, लोपोन्मुख वर्ग, सीमान्तकृत समुदायको क्लष्टरभित्र परेको स्पष्ट खुल्ने सम्बन्धित आधिकारिक संस्था, निकायको सिफारिसपत्र पेश गर्नुपर्ने छ । चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबिबीएसको प्रवेश परीक्षामा विद्यार्थीले प्राप्त गरेको अङ्क र विद्यार्थीको अवस्था ‘¥याङ्क’ खुल्ने प्रमाणसमेत पेश गर्नुपर्ने प्रावधान छ ।

मंसिर २५ गते ग्लोबल इन्टरनेशनल कन्फरेन्स हुँदै

काठमाडाैं । ‘तेस्रो ग्लोबल इन्टरनेशनल कन्फरेन्स २०२१’ हुने भएको छ । ग्लोबल कलेज इन्टरनेशनल, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, जिसिआई रिसर्च सेन्टर, ग्लोबल इन्स्टिच्युट फर पोलिसी रिसर्च एण्ड डेभलपमेन्टको संयुक्त आयोजनमा मंसिर २५ गते कन्फरेन्स हुने भएकाे हाे । कन्फरेन्स बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने ग्लोबल कलेज इन्टरनेशनलका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाले बताए । उनकाे अनुसार भर्चुअल माध्यमबाट हुने कार्यक्रममा एक हजार भन्दा बढी सहभागी हुनेछन् । व्यवस्थापन शिक्षामा विश्वव्यापी रुपमा भएको नविनतम परिवर्तन तथा वर्तमान फिचरहरुलाई समेटेर कन्फरेन्स संचालन गरिने उनले बताए । कन्फरेन्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त स्रोत व्यक्तिहरुले म्यानेजमेन्टमा आधारित विभिन्न थिम भएका ३५ भन्दा धेरै रिसर्च पेपरको प्रिजेन्टेसन कार्यक्रममा प्रस्तुत गर्ने बताइएकाे छ ।

अष्ट्रेलियाले विदेशी विद्यार्थीका लागि सीमा खुलाउन पुनर्विचार गर्ने

काठमाडाैं । अष्ट्रेलियाले विदेशी विद्यार्थीका लागि सीमा खुलाउन पुनर्विचार गर्ने भएकाे छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दक्ष आप्रवासी र विदेशी विद्यार्थीका लागि पुन: सीमा खुला गर्ने योजनाको समीक्षा गरिने बताएका हुन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर अष्ट्रेलियाले यस विषयमा पुनर्विचार गर्ने निर्णय गरेकाे हाे । गएकाे २ वर्षदेखि अन्तराष्ट्रिय नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएकाे अष्ट्रेलियाले गत सोमबार मात्रै अन्तर्राष्ट्रिय यात्रुका लागि अष्ट्रेलियाको सिमाना खोल्ने बारे घोषणा गरेकाे थियाे । अष्ट्रेलियाले डिसेम्बर १ देखि सबै अन्तराष्ट्रिय विद्यार्थी लगायत सबै भिसा पाएकाहरुको लागि बाेर्डर खोल्ने निर्णय गरेको थियाे । काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पहिलाेपटक  दक्षिण अफ्रिकामा गत नाेभेम्बर २४ मा देखिएकाे थियाे । त्यसयता याे भेरियन्ट इजरायल, हङकङ, बाेटस्वाना लगायतका देशहरुमा देखिएकाे छ ।