अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षाको माग

फाइल फाेटाे काठमाडौं । राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा कार्यान्वयनको माग गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्ति शिक्षाबाट बञ्चित हुनुपरेकाले महासङ्घले ऐनअनुसार निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग गरेको हो । विद्यालय जाने उमेर समूहका अपाङ्गता भएका बालबालिकामध्ये ४०.५ प्रतिशत आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय बाहिर रहेको र यसका लागि सरकारी निकायबाट पर्याप्त पहल नभएको महासङ्घका महासचिव राजु बस्नेतले बताए । युनिसेफद्वारा प्रकाशित एक प्रतिवेदनअनुसार पाँचदेखि १२ वर्ष उमेरका कूल अपाङ्गता भएका बालबालिकामध्ये ३० प्रतिशत अझै विद्यालयभन्दा बाहिर छन् । सरकारी प्रतिवेदनअनुसार सरकारले सञ्चालन गरेका ३५ हजार ९९३ बाल विकास केन्द्रमा नौ लाख ७३ हजार ९०० बालबालिका अध्ययनरत् छन् । यसमा अपाङ्गता भएका बालबालिकाको सङ्ख्या तीन हजार २७० छ । अपाङ्गता भएका महिलामाथि हुने हिंसामा २१ प्रतिशत शैक्षिक संस्थामा हुने गरेको पाइएको छ । महासङ्घले सङ्घीय, प्रदेश र स्थानीय तहसम्म भएको अपाङ्गतासम्बन्धी ज्ञान, सूचना र जानकारीको अभावलाई पूरा गर्न सरकारले सूचनामूलक जानकारी उत्पादन प्रसारणलगायत कर्मचारी र जनप्रतिनिधिलाई तालिम तथा अभिमुखीकरणलाई निरन्तरता दिनुपर्ने मागसमेत गर्दै आएको छ । विश्वविद्यालय र विद्यालयमा अपाङ्गतासम्बन्धी पाठ्यक्रमहरूलाई प्रवद्र्धन गर्नुपर्ने महासङ्घको भनाइ छ । ऐनमा ऐनबमोजिम अपाङ्गता भएका व्यक्तिको अधिकार उल्लङ्घन गरेमा वा निजप्रतिको दायित्व पूरा नगरेमा त्यस्तो व्यक्तिलाई रु ५० हजारसम्म जरिवाना हुनेछ भनिएको छ । अपाङ्गता परिचपपत्र देखाएर भर्नाका लागि जाँदा विद्यालयले विभिन्न बहानामा फर्काइदिने गरेको अपाङ्गता भएका व्यक्तिको गुनासो छ । नेपाल अपाङ्ग महिला सङ्घका अध्यक्ष टीका दाहालले नियमावली परिमार्जन गर्दै कार्यान्वयनका लागि राज्यले नै सचेतना अभियान सञ्चालन गर्नुपर्ने माग गरे। जनगणना २०६८ सालको प्रतिवेदनमा उल्लेख भएअनुसार कूल जनसङ्ख्याको १.९४ प्रतिशत मात्र अपाङ्ता भएका व्यक्ति छन् । शारीरिक, मानसिक, बौद्धिक र इन्द्रीयसम्बन्धी अवस्थाका आधारमा हुने विभिन्न प्रकारका भेदभाव, दुव्र्यवहार, हिंसा तथा मानवनिर्मित भौतिक संरचना र सूचना तथा सञ्चारमा हुने अवरोधका कारण अपाङ्गता भएका व्यक्ति मानवअधिकारको समान उपयोग, आधारभूत सेवा सुविधाको उपयोग, मौलिक हकको उपयोग तथा अवसरको समान उपयोगमा पछाडि पारिएका छन् ।

४०० नेपालीलाई डेटा फेलोशिपको अवसर, ३९९ डलर बरावर प्रिमियम डाटाक्याम्पमा सदस्यता पाउने

काठमाडौं । ‘कोड फर नेपाल’ ले डेटा सम्बन्धि सीप विकास गर्न डेटा फेलोशिप संचालन गर्ने भएको छ । तीन महिना अवधिको यस फेलोशिपको मुख्य उद्देश्य नेपाली युवाहरुलाई डेटा सम्बन्धि सीप सिकाउने तथा रोजगारी प्रदान गर्ने रहेको सो संस्थाले जनाएको छ । फेलोशिपले यस वर्ष ४०० भन्दा बढी नेपालीहरूको डाटा सीप विकास गरी उनीहरूको जीवनमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ । कोड फर नेपालले डेटाक्याम्पको सहकार्यमा यस फेलोशिप सञ्चालन गर्न लागेको हो । यस फेलोशिपका प्रत्येक सहभागीले ३९९ अमेरिकी डलर बराबरको प्रिमियम डाटाक्याम्प सदस्यता प्राप्त गर्नेछन्। साथै उनीहरुले रोजगारीका विभिन्न अवसरहरु पनि प्राप्त गर्नेछन्। फेलोशिपका सम्पूर्ण सहभागीहरुले प्राप्त गर्ने कार्यक्रमको कुल मौद्रिक मूल्य २ करोड नेपाली रुपैयाँ भन्दा बढी छ । फेलोशिपमा चार चरणहरु हुनेछन् डाटाक्याम्प कोर्स, असाइनमेन्ट, सफ्ट स्किल्स डेभलपमेन्ट, र सपोर्ट। जसमा डाटाक्याम्प कोर्स अन्तर्गत सहभागीहरुले आफ्नो डेटा र डिजिटल सीपहरू बृद्धि गर्नेछन्। यो कोर्स तीन महिनाभित्र सक्नुपर्नेछ। त्यसपछि असाइनमेन्ट अन्तर्गत फेलोहरूले असाइनमेन्टलाई ब्लग पोष्ट, डाटा भिजुअलाइजेशन वा प्रकाशनयोग्य आउटपुटको कुनै पनि रूपको रूपमा पेश गर्नुपर्नेछ। यसरी प्रकाशन भएका प्रत्येक ब्लग पोष्टको ५ हजार रुपैयाँका दरमा प्रदान गरिनेछ । नेपाल भित्र र बाहिर बस्ने नेपालीहरू यस फेलोशिपको लागि आवेदन दिन योग्य छन् । इन्टरनेट र ल्यापटपको पहुँच भएका नेपाली युवाहरूले आफूलाई उपयुक्त हुने समयमा डेटाक्याम्पमा उपलब्ध विभिन्न सिकाई सामग्रीहरु अध्ययन गरेर यस कार्यक्रमको भरपूर फाईदा लिन सक्नेछन्। उच्च माध्यामिक शिक्षा वा माथिको शैक्षिक योग्यता गरेका र साधारण प्रोग्रामिङको ज्ञान भएको नेपालीले डिसेम्बर १५ सम्म आवेदन दिन सक्ने उक्त संस्थाले जनाएको छ ।‘कोड फर नेपाल’ नेपालमा डिजिटल साक्षरता प्रवर्धन गरी ओपन डाटाको प्रयोग बढाएर नेपाललाई डिजिटल रूपमा सशक्त बनाउन सन् २०१४ मा स्थापना गरिएको स्वयंसेवकहरूको एउटा समुदाय हो ।

द ब्रिटिस कलेजले विपन्न विद्यार्थीलाई ‘द ओएचसिटी छात्रवृत्ति’ दिने

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले द ओएचसिटी छात्रवृत्ति कार्यक्रम ल्याएको छ । एकनाम नयाँ विद्यार्थीको सम्पुर्ण खर्च बेहोर्ने गरी कलेजले उक्त छात्रवृत्ति कार्यक्रम ल्याएको हाे । उक्त छात्रवृत्तिले विद्यार्थीको पूर्ण ट्यूशन, विश्वविद्यालय रजिष्ट्रेसन र पढाई अवधिभर परीक्षा शुल्कहरू कभर गर्नेछ कलेजले जानकारी दिएको छ । ओ’हाय परिवारद्वारा प्रदान गरिने यो फेलोसिप ब्रिटिश कलेजमा अन्तराष्ट्रिय शिक्षा लिन चाहने अल्पविपन्न विद्यार्थीलाई मद्दत गर्ने विशेष उद्देश्यका ल्याइएको कलेजले जनाएको छ । कलेजले पढाइरहेकाे स्नातक तहका कोर्सहरु बिबिए, बिएस्सी (हन्स) कम्प्युटिब, बिएस्सी (हन्स) बिजनेश हस्पिटालिटी एण्ड म्यानेजमेन्ट) र ब्राण्ड न्यु कोर्स बिएस्सी (हन्स) साइबर सेक्युरिटी, डिजिटल फरेन्सिक्सका लागि विद्यार्थीले छात्रवृत्ति आवेदन दिन सक्नेछन् । कलेजकाे अनुसार फागुन २ गतेसम्मकाे लागि छात्रवृत्ति आवेदन खुल्ला गरिएकाे छ ।