चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द
बनेपा । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो । जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो । कतिपय विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको भए पनि उक्त परीक्षा विद्यालय खुलेपछि निरन्तरता दिई सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत सबै विद्यालयलाई नगरपालिकाको १४ गतेको निर्णयअनुसार अनुरोध गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताए ।
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०७८ हुँदै
काठमाडौं । “स्टडी इन अष्ट्रेलिया” भन्ने मूल नाराका साथ आगामी मङ्गलबार राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला आयोजना हुने भएको छ । नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले आगामी पुस २० गते मङ्गलबार बिहान १० बजे देखि ५ बजेसम्म काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शैक्षिक मेला आयोजना गर्न लागेको हो । शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बीमा सेवा समेत गरी १५ वटा संस्थाहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ । प्रथम अष्ट्रेलियन शैक्षिक मेला यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहने नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए । यस वर्षको अष्ट्रेलियन शैक्षिक मेलामा अष्ट्रेलियाबाट कलेज र विश्वविद्यालयहरू, शैक्षिक ऋण प्रदायकको लागि एनएमबी बैंक, आइएलटीएसको लागि आइडीपी आइएलटीएस, शैक्षिक बीमाको लागि एल्लियान्ज पार्टनर्स संस्थाहरुको सहभागिता रहने छ । मेलामा छात्रबृत्ति, पोष्ट स्टडी वर्क (अध्ययन पछि काम) र रिजनल क्याम्पस (क्षेत्रीय क्याम्पस) का बारेमा पनि जानकारी दिइनेछ । एक सय सहभागीहरूलाई निःशुल्क आइएल्टीएस वा पीटीइ कक्षाहरू उपलब्ध गराइनेछ भने र एक भाग्यशाली बिजेतालाई अष्ट्रेलियाको निःशुल्क हवाई भाडा दिइने आयोजकले जनाएको छ । यस वर्षको नोभाद्वारा आयोजित प्रथम अष्ट्रेलियन शिक्षा मेला २०२२ को उद्घाटन फेलिसिटी भोल्क नेपालका लागि अष्ट्रेलियाली राजदूतद्वारा हुने भएको छ । सो मेलामा विद्यार्थीले आफुले अष्ट्रेलियामा जान आवश्यक शैक्षिक परामर्श निःशुल्क लिन पाउने र थुप्रै उपहारहरुका साथै छत्रबृत्तिको समेत व्यवस्था गरिएको जनाएको छ । मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि रहेको छ ।
प्रावि शिक्षकका लागि खुल्यो आवेदन
फाइल फोटो काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन खुलाएको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै १३ हजार ९३ पदका लागि विज्ञापन खुलाइएको जनाएको छ । इच्छुक उम्मेदवारले माघको १३ गतेसम्म तोकिएको दस्तुरमा र माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । यसअघि नै शिक्षक सेवा आयोगले मावि र निमावि तहका लागि विज्ञापन खुलाइसकेको छ । निमावी तहका लागि २ हजार ५९८ शिक्षकका लागि आवेदन खुला गरिएको छ । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । यस्तैगरी माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । आयोगले मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिसकेको छ ।