काठमाडौं महानगरपालिका नेपाल भाषा पढाउनकाे लागि १७२ शिक्षक नियुक्त गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राख्ने तयारी थालेको हो । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयका लागि मात्रै अनिवार्यरूपमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरुप राखिने छ । कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२ जना शिक्षक कामपाले आफ्नै स्रोत साधनबाट राख्न लागेको हो । यसका लागि कामपाले विज्ञापन आह्वान गरिसकेको छ । यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ । आगामी शैशिकसत्रदेखि अनिवार्यरूपमा लागू गर्न लागिएको यो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक, विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जनासम्म शिक्षक राख्ने कामपाको तयारी छ । नेपालमा लिच्छवीकालबाटै नेपाल भाषाकोे प्रयोग हुन थालेको भए पनि मल्लकालमा यस भाषालाई राजकीय भाषाका रूपमा प्रयोग गरिएको नेपाल भाषा केन्द्रीय विभागका प्राध्यापक शरदवीर कंशाकार बताउँछन् । पछिल्लो समय काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला र वाग्मती प्रदेशका १२ जिल्लामा यस भाषाको प्रयोग हुने गरेको प्राध्यापक कंशाकारको भनाइ छ । कामपाले स्थानीय पाठ्यपुस्तक नै बनाएर अनिवार्यरूपमा पठनपाठनको तयारी गर्नु उल्लेखनीय काम भएको उनको भनाइ छ । पठनपाठनमा यस विषयलाई छनोट गर्नुले नेवार समुदायमा रहेका संस्कार, संकृतिका बारेमा जानकारी लिन नयाँ पुस्तालाई ठूलो सयोग पुग्ने प्राध्यापक कंशाकारले बताए ।

फागुन १३ गते ‘डिजिटल लर्निङ डे’ कार्यक्रम हुँदै

काठमाडाैं । सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको विषयमा वकालत गर्न  डिजिटल लर्निङ दिवस फागुन १३ गते हुने भएकाे छ । निमा एजुकेशन फाउन्डेशनले संचालन गर्ने यस कार्यक्रममा शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने विधिहरुकाे बारेमा जानकारी दिइन्छ । फाउन्डेशनले दुई वर्षअघि डिजिटल सिकाइ दिवस शिक्षाविद्, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ यस कार्यक्रमकाे सुरुवात गरेको हो । शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन हाम्रो यो एउटा सानो प्रयास रहेको कार्यक्रम संयोजक नेहा जोशीले बताउँछिन् । ‘यस वर्ष हामी फेरि नयाँ कार्यक्रमको साथ मानिसहरूमा डिजिटल शिक्षाको चेतना जगाउनका लागि आउँदै छौं’, उनले भनिन् । यस वर्षको कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक, लिभिङ विथ आइसिटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन् । जिनियस क्लाउड एकेडेमी इन एसोसिएसनको रूपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रूपमा रहेको छ । यसैगरी कार्यक्रममा भायानेट कम्युनिकेशन र पिक्सल टचको पनि सहकार्य रहेको छ । कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा अन्तक्रिया कार्यक्रमहरू हुनेछन् । यस्तै कार्यक्रममा ‘कि नोट स्पिकर’ को रूपमा समेत अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहनुकाे साथै २ दिन विद्यार्थी तथा शिक्षकहरूका लागि वर्कशप तथा इन्फरमेटिभ सेसनहरू समेत हुनेछ । विभिन्न विज्ञहरूले डिजिटल शिक्षाको बारेमा बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुने जाेशीले जानकारी दिइन् ।

तनहुँ गणित शिक्षा परिषद्मा नयाँ नेतृत्व

गण्डकी । गणित शिक्षा परिषद् तनहुँको छैटौँ जिल्ला अधिवेशनले नरेन्द्रनाथ न्यौपानेको अध्यक्षतामा शनिबार नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । परिषद्को उपाध्यक्षमा श्रीकान्त घिमिरे, सचिवमा कृष्णप्रसाद तिवारी, सहसचिवमा राजु ढकाल, कोषध्यक्षमा पम्फादेवी श्रेष्ठ र सह कोषाध्यक्षमा रामकाजी श्रेष्ठ रहेका छन् । त्यस्तै समितिका सदस्यहरूमा राधा घिमिरे, मोहन बस्ताकोटी, वेदबहादुर थापा र प्रकाश काफ्ले निर्वाचित भएका छन्। अधिवेशनले परिषद्को केन्द्रीय प्रतिनिधिमा सन्तोष न्यौपाने, अनिल श्रेष्ठ, ठाकुरप्रसाद खनाल, हरिश्चन्द्र घिमिरे र मिनबहादुर कार्कीलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा रविराज पोखरेल, कृष्णबहादुर महत, सोमलाल रिमाल र गजेन्द्र पौडेललाई चयन गरेको छ । यसअघि अधिवेशनको उद्घाटन समारोहमा गणित शिक्षा परिषद्का केन्द्रीय महासचिव रमेशप्रसाद अवस्थीले संस्थाले दाताको सहयोगभन्दा पनि आफ्नै साधनस्रोतको उपयोगबाट गणित शिक्षाको समस्या समाधान गर्दै जानेगरेको बताए । सङ्घीय सरकारलाई विषयगत जायज माग राखिए पनि राज्यले त्यसको उचित सम्बोधन नगरेको धारणा राखे । कार्यक्रममा गणित शिक्षा परिषद् तनहुँका संस्थापक अध्यक्ष रमेशचन्द्र हड्खले, परिषद्का केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र न्यौपाने र भोजराज कोइराला, गण्डकी प्रदेश समितिका सचिव शरदचन्द्र खनाल, परिषद्को भक्तपुर जिल्ला समितिका अध्यक्ष कृष्ण गोसाई, तनहुँ जिल्ला अध्यक्ष सन्तोष न्यौपाने लगायतले गणित शिक्षाको जग कमजोर भएको भन्दै यसको सिकाइ उपलब्धि बढाउन आधारभूत तहदेखि नै सिकाइ सहजीकरणमा सुधार गर्दै जानुपर्ने बताए । रासस