खाँडाचक्र नगरपालिकाका विद्यालय सञ्चालनमा
मान्मा । खाँडाचक्र नगरपालिकाले नगर क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागाईंले जानकारी दिए । समितिले कोभिडको जोखिम कम रहेका स्थानीयतहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो । ‘नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौँ । जनस्वास्थ्यमापदण्ड पूर्ण पालना गरी विद्यालय सञ्चालन गर्न पत्र पठाएको छ,’ उनले भने,’ स्वास्थ्यमापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका छन् ।’ यसभन्दा अघि नरहरिनाथ र पचाल झरना गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । जिल्लाका नौ स्थानीय तहमध्ये तीन तहले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको र अन्यले तयारी गरेको जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख महेश देवकोटाले जानकारी दिए । ‘जिल्लाका सबै स्थानीय तहले कोभिड–१९ को महामारी अवस्था हेरेर विद्यालय सञ्चालन गर्नका लागि निर्देशन दिएका छौं,” उनले भने,’त्यही आधारमा विद्यालय सञ्चालनमा आउने छन् ।’ विद्यालयमा स्यानीटाइजर र मास्क अनिवार्य गरिएको छ । ‘विद्यार्थी अहिले गोठालो र मेलापातमा जाने क्रम बढेको छ,’ उनले भने, ‘विद्यालय सञ्चालनमा आएको भए विद्यार्थी स्कुल गएर केही ज्ञान त सिक्न पाउँथे ।’ रासस
भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देशन
फाइल फाेटाे काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले कोरोना विरुद्धको खोप उपलब्ध गराएका भौतिक उपस्थितिमा नै परीक्षा लिन निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले खोपको व्यवस्था गरेर परीक्षा सञ्चालन गर्न विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयलाई निर्देशन दिईएको जानकारी दिईन । सो बैठकमा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिमा स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भएको जनाएका थिए । तेस्रो लहरको कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को स्थगित गर्ने निर्णय गरेको हो । गत साउन २३ गते बसेको बोर्डले सो निर्णय गरेको थियो ।
मनाङमा विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब
मनाङ । मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखिएको हो । नेपालको विकट जिल्ला मानिने मनाङको शैक्षिक गुणस्तर वृद्धि र सामुदायिक भवन निर्माण तथा अनुदानमा अनियमितता रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा हालै सार्वजनिक गरिएको ५८औँ लेखा परीक्षण प्रतिवदेनमा आवश्यक कागजात तथा सकल बिल भरपाई पूरा नहुँदा यहाँ अनियमितता बढ्दै गएको पाइएको उल्लेख छ । आर्थिक वर्ष २०७६/०७७ मा सदरमुकाम चामे गाउँपालिकामा दुई करोड २३ लाख ७५ हजार बेरुजु देखिएको छ । त्यसमध्ये असुल गर्नुपर्ने सात लाख ४२ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २१ लाख ९३ र नियमित गर्नुपर्ने एक करोड ९४ लाख ४० हजार बेरुजु रहेको छ । सो प्रतिवेदनमा गाउँपालिकाले लोकप्रिय माविको आवासीय भवन निर्माणका लागि ३९ लाख पेश्कीमा ६१ लाख ७५ हजार भुक्तानी गरेको पाइएको छ । माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा दुई करोड १० लाख १४ हजार बेरुजु देखिएको छ । यसमध्ये असुल गर्नुपर्ने ३८ लाख ९४ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ४८ लाख ६८ हजार र नियमित गर्नुपर्ने एक करोड चार लाख ५२ हजार र पेश्की १८ लाख बेरुजु देखिएको छ । महालेखा परीक्षणका अनुसार ङिस्याङले पनि विद्यालय अनुदानमा बढी भुक्तान गरेको र पेश्की फछ्र्योट नभएको देखाएको छ । मनाङको प्रवेशद्वार नासो गाउँपालिकामा दुई करोड ३५ लाख ७६ हजार अनियमिता भएको पाइएको छ । यसमध्ये असुल गर्नुपर्ने १२ लाख ७१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने एक करोड चार लाख २४ हजार, नियमित गर्नुपर्ने एक करोड १८ लाख ८१ हजार बेरुजु छ । गाउँपालिकाले विद्यालय अनुदानमा ३० लाख ३१ हजार ४३० खर्च गरेकामा बिल भरपाई प्रतिवेदनमा पेश नभएको महालेखा परीक्षणमा देखिएको उल्लेख छ । नासोंको भ्रमण खर्चमा अनियमितता भएको प्रतिवेदनमा देखिएको छ । त्यस्तै हालसम्म पनि सडक सञ्जालले छुन नसकेको गाउँपालिका नार्पा भूमिमा रु दुई करोड ७३ लाख छ हजार बेरुजु भएको प्रतिवेदनले देखाएको छ । त्यसमध्ये असुल गर्नुपर्ने रु २० लाख ३८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने एक करोड दुई लाख ३० हजार, नियमित गर्नुपर्ने रु एक करोड ५० लाख आठ हजार बेरुजु देखिएको छ । गाउँपालिकाले पेश्की फछ्र्योट तथा बेरुजु संपरीक्षण गर्नुपर्ने भए पनि नगरेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । विद्यार्थी नै नभएको विद्यालयका शिक्षकलाई तलब विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त र तलबभत्ता वितरण गरिएको पाइएको छ । महालेखा परीक्षणको ५८औँ प्रतिवदेनका अनुसार विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीको शिक्षक नियुक्त गरिएको पाइएको छ । प्रतिवेदनमा विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीका शिक्षक नियुक्त गर्नुका साथै निकासा गरेको उल्लेख छ । मनाङको फु आधारभूत विद्यालयमा बालविकासबाहेक अन्य विद्यार्थी छैनन् तर गाउँपालिकाले विद्यालयका दुई स्थायी र एक करार गरी तीन शिक्षकको तलबभत्तालगायतका सुविधाका लागि वार्षिक १२ लाख ६५ हजार निकासा गर्दै आएको प्रतिवेदनमा पाइएको छ । त्यस्तै ङिस्याङ गाउँपालिकाअन्तर्गतको ङावल आधारभूत विद्यालयमा विद्यार्थी नै नभएको र विद्यालयका आठ स्थायी शिक्षकका लागि तलबभत्तालगायतका सुविधा दिइएको प्रतिवेदनमा पाइएको छ । शिक्षकको तलबभत्तासहितको सुविधाबापत गाउँपालिकाले वार्षिक ३५ लाख ८६ हजार निकासा गरेको प्रतिवेदनमा देखिएको छ । यी र यस्तै कार्यले गर्दा स्थानीय तहमा बेरुजु बढ्दो देखिएको हो । रासस