समयमै परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविलाई मन्त्री पौडेलको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपति समेत रहेका मन्त्री पौडेलले यो अथवा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका हुन् । ‘कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौं भन्ने विद्यार्थीको गुनासो छ,’ पौडेलले भने, ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस् ।’ सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन् । अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराएका थिए । ‘जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भएपनि समयमा सेवा ग्राहीको काम हुनप¥यो’ पौडेलले भने । देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन प्रशासनसँग मन्त्रीले आग्रह गरे । ‘मार्कसिट विद्यार्थीलाई दिने कुरालाई सिस्टममा तत्काल लैजानुस्’ उनले भने, ‘देशको ठूलो विश्वविद्यालय नयाँ प्रविधिसँग जोडिएन भने अन्य विश्वविद्यालयले के सिक्छन् ? ।’ ‘विद्यार्थीहरुको मानविकि शंकायमा धेरै गुनासो छ, सम्बोधन गर्नुहोस्,’ उनले भने, ‘जनशक्ति थप्ने हाम्रो काम हो सेवाग्राहीलाई त्यो थाहा हुँदैन । गुनासो कम आउने गरी काम गर्नुहोस् ।’ विश्वविद्यालय सिस्टममा नभएको भन्दै भौतिक संरचना एवम् विद्यार्थीलाई दिने सेवा प्रविधिमन्त्री हुनपर्नेमा उनको जोड थियो । परीक्षा नियन्त्रक जोशीले प्रर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र रिजल्ट निकाल्ने बताए । पुराना कर्मचारी रिटायर हुँदा नयाँ कर्मचारीले सिस्टम सिक्ने एक वर्ष लाग्ने जोशीको भनाइ छ । उनले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गरे ।

वैशाखमा एसइई र कक्षा १२ को परीक्षा जेठमा

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी सुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गरे । विद्यार्थीको पढाइ पुर्याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने तयारी गरेको हो । परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

अनलाइन कक्षाका लागि मासिक २८८ रुपैयाँमै डिशहोमको इन्टरनेट

काठमाडौं । नेपालमा कोभिड-१९ को तेस्रो लहर शुरू भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरूले अनलाइन कक्षा शुरू गरेका छन् । यसैबीच विद्यार्थीलाई यस्तो अवस्थामा सिकाई नरोकियोस् भन्ने उद्देश्यले इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाइबर नेटले स्टुडेन्ट अनलाइन क्लास प्याकेज सार्वजनिक गरेको छ । स्टुडेन्ट अनलाइन क्लास प्याकेज अन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २८८ रूपैयाँ, २ जना विद्यार्थीका लागि मासिक ४८८ रूपैयाँ र ३ जना विद्यार्थीका लागि मासिक ५८८ रूपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिने छ । यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गूगल मिट, माइक्रोसफ्ट टिम्स लगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्याण्ड विथ उपलब्ध गराइने छ । अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, २ जना विद्यार्थीलाई १५ एमबीपीएस र ३ जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुने डिशहोमले जानकारी दिएको छ ।