लोक सेवाको स्थगित परीक्षाहरु फागुन ७ गते देखि

काठमाडाैं । स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने भएका छन् । आयोगकाे बुधबार बसेकाे बैठकले काेराेना भाइरसकाे कारण स्थगित भएकाे परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेकाे हाे । आयोगले तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह ढप्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।  

त्रिविका स्थगित परीक्षा फागुन १ गतेदेखि हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा फागुन १ गतेदेखि हुने भएको छ । त्रिवि अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै स्थगित परीक्षाको तालिका प्रकाशित गरेको हो । तालिका अनुसार स्थगित परीक्षाहरु फागुन १ गतेबाट हुने भएको छ । कोभिड-१९ संक्रमण तीव्र रुपले बढेपछि त्रिविले माघ मसान्तसम्मको लागि तय भएको सेमेष्टर तथा वार्षिक परीक्षाहरु स्थगित गरेको थियो ।  

दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

दाङ । दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा माघ मसान्तसम्म भीडभाडजन्य कार्यमा रोक लगाएको जानकारी दिए । त्यस्तै डान्सबार, सिनेमा घर, नाच घर, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजारमा समेत रोक लगाइएको छ । यसैबीच तुलसीपुर उपमहानरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले सोमबार सो उपमहानगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयमा अध्ययनरत नौ हजार ५२ जना विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप प्रदान गरेको छ । जनस्वास्थ्य प्रवद्र्धन शाखाका कोभिड फोकल पर्सन बिमल केसीका अनुसार १८ वटा वडामा रहेका विद्यालयमा २१ वटा खोपकेन्द्रबाट छ हजार ७६३ छात्रा र चार हजार ३८९ जना छात्रगरी कूल नौ हजार ५२ जनालाई खोप प्रदान गरिएको हो । १२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका विद्यार्थीलाई विद्यालयमै खोप दिइरहेको र सो खोप आज पनि जारी रहने केसीले जानकारी दिए । कोरोना खोपसँगै विद्यालयका किशोरीलाई आइरन फोलिक एसिड चक्की खुवाउने कार्यक्रम पनि जारी रहेको छ । सो चक्कीले रक्तअल्पताबाट जोगाउन मद्दत गर्दछ । हरेक किशोरीले हप्तामा एक चक्की वर्षमा १३ हप्तासम्म खानुपर्ने उनी बताउँछन् ।